युक्रेन युद्धः किएभले अमेरिका र पश्चिमा देशहरूसँग किन सयौँ नयाँ ट्याङ्क मागेको हो

सोभियतकालीन ट्याङ्क छेउमा युक्रेनी सैनिक

तस्बिर स्रोत, Getty Images

    • Author, जेरमी होवल र टम स्पेन्सर
    • Role, बीबीसी न्यूज

रुसले कब्जामा लिएको आफ्नो भूभाग फिर्ता लिन सहयोग पुग्ने भन्दै युक्रेनले सहयोगी राष्ट्रहरूसँग सयौँ ट्याङ्क मागेको छ।

यूके, जर्मनी र संयुक्त राज्य अमेरिकाले युक्रेनलाई केही ट्याङ्क दिने घोषणा गरेका छन्। अरू देशले सहयोगको प्रस्ताव गर्न नै बाँकी छ।

रुस र युक्रेनसँग कति ट्याङ्क छन्

लडाइँ सुरु हुँदा युक्रेनसँग टी-७२ जस्ता झन्डै ९०० वटा ट्याङ्क थिए। ती ३० वर्षभन्दा अघि बनेका थिए।

अहिले ती ट्याङ्क पुराना भइसकेका छन्। त्यसको प्रभाव युद्धमा पनि देखा परिरहेको छ।

लन्डनको किङ्स कलेजकी प्रतिरक्षा अनुसन्धानकर्ता डा. मारिन मिरनका अनुसार कैयौँ युक्रेनी ट्याङ्कहरू सम्भवतः काम नलाग्ने भइसकेका छन्।

ती ट्याङ्क राम्रोसँग मर्मत गरेर राखिएको थिएन।

ट्याङ्क

रुसले ३,००० वटाभन्दा बढी ट्याङ्क प्रयोग गरेर युक्रेनमा आक्रमण गर्‍यो। उससँग अझ धेरै ट्याङ्क आवश्यक पर्दा प्रयोग गर्न मिल्ने अवस्थामा छन्।

युक्रेनले पश्चिमा देशहरूलाई आफूलाई कम्तीमा ३०० वटा आधुनिक ट्याङ्क उपलब्ध गराउन आग्रह गरेको छ।

ती हतियारले रुसले वसन्तयाममा कब्जा गरेका भूभागहरूमाथि पुनः नियन्त्रण जमाउने प्रयासमा प्रयोग हुनसक्ने ठानिएको छ।

"स्थलसेनालाई रुसको प्रतिरक्षा सीमा भङ्ग गर्न ट्याङ्कहरू चाहिन्छ किनभने त्यस्ता क्षेत्रमा भारी हातहतियारसहितको सुरक्षा व्यवस्था छ," रोएल यूनाइटेड सर्भिस इन्स्टिट्यूटका वरिष्ठ अनुसन्धान फेलो डा. ज्याक वाट्लिङ भन्छन्।

पश्चिमा देशहरूले युक्रेनलाई कस्ता ट्याङ्क दिन लागेका छन्?

युद्ध सुरु हुँदा पश्चिमा देशहरूले युक्रेनलाई प्रतिरक्षा अस्त्रहरू जस्तै ट्याङ्कभेदी क्षेप्यास्त्रहरू मात्रै उपलब्ध गराएका थिए।

आक्रमणका लागि प्रयोग हुने ट्याङ्क जस्ता हतियार पठाउन रुस उत्तेजित हुने र त्यसले लडाइँलाई चर्काउने उनीहरूको चिन्ता थियो।

अघिल्लो वर्ष युक्रेनलाई २०० वटा टी-७२ ट्याङ्क पोल्यान्ड, स्लोभाकिया र चेक गणतन्त्रले दिएका थिए।

यूके अत्याधुनिक ट्याङ्क उपलब्ध गराउने घोषणा गर्ने पहिलो देशमध्येमा पर्छ। उसले १४ वटा च्यालेन्जर-टू ट्याङ्क दिने घोषणा गरेको। ती ट्याङ्क अचुक निसाना भएका बन्दुकका कारण परिचित छन्।

च्यालेन्जर टु

तर च्यालेन्जर-टूका लागि नेटोमा प्रयोग गरिने अरू ट्याङ्कभन्दा फरक किसिमको गोलीगट्ठा चाहिन्छ। त्यसैले यो ट्याङ्क चलाउन सजिलो नहुनसक्छ।

डा. मिरन भन्छिन्, "युक्रेनले च्यालेन्जर ट्याङ्कका लागि गोलीगट्ठा आपूर्तिको लागि आफ्ना अरू ट्याङ्कभन्दा अलग्गै आपूर्ति प्रणाली स्थापना गर्नुपर्ने हुन्छ।"

युक्रेनी आग्रहलाई स्वीकार गर्दै जर्मनीले १४ वटा लेपड-टू ट्याङ्क उपलब्ध गराउने घोषणा गरेको छ।

कम तौलका ती ट्याङ्कको गति द्रुत हुन्छ र तिनमा साधारणतया प्रयोग गरिने गोलीगट्ठा नै प्रयोग हुन्छ। धेरै देशले आफ्नो अस्त्रभण्डारबाट गोलीगट्ठा उपलब्ध गराउन सक्छन्।

ट्याङ्क

संयुक्त राज्य अमेरिकाले पनि ३१ वटा शक्तिशाली एम-वन एब्राम्स ट्याङ्क उपलब्ध गराउने बताएको छ।

त्यो विश्वकै अत्याधुनिकमध्येको ट्याङ्क हो। जर्मनीले ट्याङ्क पठाउने घोषणा गरेपछि अमेरिकाले पनि युक्रेनको अनुरोध स्वीकार गरेको हो।

पोल्यान्ड र फिनल्यान्डले जर्मनीबाट लेपड-टू ट्याङ्क खरिद गरेका थिए। उनीहरूले युक्रेनलाई कुल २५ वटा ट्याङ्क दिन सक्ने बताएका छन्।

युक्रेनलाई आफ्नो भण्डारबाट ट्याङ्क उत्पादन गर्न चाहने अरू युरोपेली देशलाई उत्पादक राष्ट्र जर्मनीले त्यसो गर्ने अनुमति दिइसकेको छ।

केही समयअघि यूकेका रक्षामन्त्री बेन वालेसले युक्रेनलाई हतियार उपलब्ध गराइरहेका देशहरूले ट्याङ्कसम्बन्धी युक्रेनी माग सन् २०२३ मा सम्बोधन गरिने अपेक्षा आफूले गरेको बताएका थिए।

जर्मनी र अमेरिकाले किन युक्रेनलाई किन ट्याङ्क दिन समय लगाए?

डाक्टर मिरनका अनुसार अरू पश्चिमा देशले नदिईकनै ट्याङ्कजस्ता अस्त्र आपूर्ति गर्ने विषयमा जर्मनी चिन्तित थियो।

"रुसले उसलाई तोकेर नै 'तिमीले सीमा नाघ्यौ, अब हामी तिमीलाई दण्डित गर्छौँ' भन्छ भन्ने चिन्ता उसमा ‌थियो।"

अमेरिकाको हकमा चाहिँ व्यावहारिक कारणले उसले सुरुमा एब्राम्स ट्याङ्क नपठाएको डा .वाट्लिङ बताउँछन्।

ट्याङ्क

"यो ट्याङ्‌कका लागि धेरै इन्धन चाहिन्छ र युक्रेनमा इन्धनको अभाव छ। अनि एब्राम्सलाई निरन्तर मर्मत गरिरहनुपर्छ।"

त्यही भएर आफूले ट्याङ्क पठाउनुअघि अमेरिकाले युक्रेनलाई पहिला च्यालेन्जर र लेपड ट्याङ्क चलाएर हेर्न भनेको हुनसक्ने मिरनको आकलन छ।

पश्चिमा ट्याङ्कहरूले युक्रेनलाई कस्तो सहयोग पुग्न सक्छ?

पश्चिमा ट्याङ्कहरू रुसी ट्याङ्कभन्दा गह्रुङ्गा छन् र त्यहीँ कारण तिनको प्रयोगमा सीमितता रहेको डा. वाट्लिङ बताउँछन्।

"युक्रेनका अधिकांश पुल तर्न ती एकदमै भारी छन्। त्यही भएर तिनलाई पुल तार्न सघाउने विशेष खालका साधनहरू पनि चाहिन्छन्।"

मिरनका अनुसार यसको अर्थ युक्रेनले ती ट्याङ्क एकदमै सीमित क्षेत्रमा मात्रै प्रयोग गर्न सक्छ।

"युक्रेनले कम नदीहरू भएका क्षेत्रमा चाहिँ ती ट्याङ्क प्रयोग गर्न सक्छ," उनले भनिन्।

उनले हिलो भएका ठाउँहरूमा पनि ती ट्याङ्क चलाउन गाह्रो हुने बताइन्।

पश्चिमा देशहरूले पठाएका ट्याङ्कहरू तुरुन्तै निसानामा पर्ने आशङ्का गर्दै उनले भनिन्, "रुसीहरूले यी नयाँ ट्याङ्कहरूलाई खोजीखोजी नष्ट गर्ने प्रयास गर्नेछन्।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्रूज क्षेप्यास्त्र निस्फल पार्ने युक्रेनी पाइलटहरू