स्टारलिङ्क: अर्बपति इलोन मस्कको इन्टरनेट युक्रेनका लागि किन अति महत्त्वपूर्ण छ?

स्टारलिङ्कबाट उपलब्ध हुने इन्टरनेटको युक्रेनी फौजमाझ व्यापक प्रयोग हुने गरेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्टारलिङ्कबाट उपलब्ध हुने इन्टरनेटको युक्रेनी फौजमाझ व्यापक प्रयोग हुने गरेको छ

स्टारलिङ्क मार्फत युक्रेनलाई सित्तैमा दिइँदै आएको इन्टरनेट सेवा कटौती गर्ने चेतावनी दिएका फोर्ब्स अर्बपति इलोन मस्कले आफूले युक्रेनीहरूका लागि इन्टरनेटको पैसा तिरिरहने बताएका छन्।

भूउपग्रहबाट सञ्चालन हुने यो इन्टरनेट प्रणाली युक्रेनी सेना र सरकारका लागि महत्वपूर्ण साधन भएको छ।

स्टारलिङ्क के हो र यसले कसरी काम गर्छ?

स्टारलिङ्कले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ।

यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ।

स्टारलिङ्कको सेवा हाल ३६ वटा देशमा पुगेको बताइन्छ

तस्बिर स्रोत, Starlink

तस्बिरको क्याप्शन, स्टारलिङ्कको सेवा हाल ३६ वटा देशमा पुगेको बताइन्छ

स्टारलिङ्कका भूउपग्रहहरू एक अर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन्।

स्टारलिङ्कले सन् २०१८ यता करिब ३,००० भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ।

प्रविधि सम्बन्धी वेबसाइट पकेट-लिन्टका सम्पादकीय निर्देशक क्रिस हल यो परियोजनाअन्तर्गत भविष्यमा १०,००० देखि १२,००० भूउपग्रहहरू राखिन सक्ने बताउँछन्।

"भूउपग्रहको प्रयोगले दुर्लभ स्थानहरू, मरुभूमि र हिमालहरूमा इन्टरनेट सञ्जालको समस्या समाधान गर्छ," उनी भन्छन्।

"यसका लागि ती क्षेत्रहरूमा पुग्नका लागि तार बिछ्याउनुपर्ने र खम्बाहरू गाड्नुपर्ने जस्ता धेरै पूर्वाधार बनाउनुपर्ने कुराहरू जरुरत पर्दैन।"

स्टारलिङ्कले युक्रेनलाई कसरी सहयोग गरिरहेको छ?

युक्रेनमा आक्रमणका लागि प्रवेश गरेका रुसी फौजहरूले युक्रेनको इन्टरनेट सेवा र मोबाइल सेवा अवरुद्ध गरे लगत्तै मस्कले युक्रेनमा स्टारलिङ्क सेवा उपलब्ध गराउन सुरु गरेका हुन्।

उनले करिब २० हजार थान रिसिभर, डिसहरू र राउटरहरू युक्रेनमा पठाइएको बताएका छन्।

युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभले रुसी क्षेप्यास्त्र आक्रमणपछि अत्यावश्यक सेवाहरू पुन:सञ्चालनका लागि स्टारलिङ्कले महत्वपूर्ण काम गरेको बताएका छन्।

"ऊर्जा र सञ्चार पूर्वाधारहरूमा १०० भन्दा बढी क्रुज क्षेप्यास्त्र प्रहार भएका छन्। तर स्टारलिङ्कको सहयोगले संवेदनशील स्थानमा सम्पर्क पुन:स्थापित गर्न हामी सफल भएका छौँ," उनले ट्विट गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के इन्टरने‍ट बन्द गर्न सकिन्छ?

युक्रेनले रणभूमिमा पनि स्टारलिङ्कको प्रयोग गरिरहेको छ।

"युक्रेनी सैनिकहरूले मुख्यालय र मैदानमा खटिएका टुकडीहरूबिच सञ्चारका लागि पनि यसको प्रयोग गरिरहेका छन्," लन्डनस्थित किङ्स कलेजमा रक्षा अध्ययनकी अनुसन्धाता मरिना मिरोन भन्छिन्।

"साधारण रेडिओ सङ्केतहरू जस्तो यसका सङ्केतहरू अवरुद्ध हुँदैनन्। यसको उपकरण जडानका लागि पनि जम्मा १५ मिनेट मात्रै लाग्छ।"

इलोन मस्कले किन युक्रेनमा स्टारलिङ्क बन्द गर्ने धम्की दिए?

यो महिनाको सुरुमा मस्कले ट्विट गर्दै युक्रेनलाई क्राइमियाको विलय स्विकार्न अनि रुसले अतिक्रमण गरेका क्षेत्रमा जनमत सङ्ग्रह गराउन सुझाव दिएका थिए।

क्रेम्लिनले ती सुझावप्रति सकारात्मक प्रतिक्रिया दिएको थियो।

स्टारलिङ्कको भूउपग्रह

तस्बिर स्रोत, Getty Images

तर जर्मनीका निम्ति युक्रेनी राजदूत आन्द्रिज मेल्निकले ट्वीटमार्फत् अश्लील शब्दसमेत प्रयोग गर्दै मस्कलाई युक्रेनबाट जान भनेका थिए।

मस्कले प्रतिक्रियामा रुसले युक्रेनमा युद्ध सुरु गरेयता युक्रेनलाई इन्टरनेट सुविधा प्रदान गर्न र त्यसलाई अवरुद्ध गर्ने रुसी प्रयासबाट जोगाउन ८ करोड डलर खर्च भइरहेको र अब त्यो खर्च आफूले धान्न नसक्ने बताएका थिए।

उनले अमेरिकी सरकारलाई त्यो खर्च उपलब्ध गराउन आग्रह गरेका थिए।

त्यसपछि उनले फेरी ट्विटरमा लेखेका छन्,"स्टारलिङ्कले पैसा गुमाए पनि र अन्य कम्पनीहरूले करदाताहरूको अर्बौँ डलर पाइरहे पनि हामी युक्रेन सरकारलाई सित्तैमा सहयोग गरिरहनेछौँ।"

स्टारलिङ्क विश्वका अरू कुन ठाउँमा प्रयोग हुन्छ?

स्टारलिङ्कले उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया तथा न्युजिल्याण्ड क्षेत्र सहितका ४० देशमा घरायसी र व्यावसायिक प्रयोजनका लागि सेवा उपलब्ध गराइरहेको छ।

स्तरीय इन्टरनेट प्रदायकको तुलनामा स्टारलिङ्कको इन्टरनेट सस्तो चाहिँ छैन।

यसको खर्च प्रतिमहिना ११० डलर अर्थात् करिब १४,००० नेपाली रुपैयाँ पर्छ।

स्याटलाइटसँग सम्पर्कका लागि चाहिने यसको उपकरणका लागि ५४९ डलर अर्थात् करिब ७५ हजार नेपाली रुपैयाँ पर्छ।

फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट ४९ वटा स्टारलिङ्कका भू-उपग्रहहरू पठाएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट ४९ वटा स्टारलिङ्कका भू-उपग्रहहरू पठाएको थियो

स्टारलिङ्कले हालसम्म सात लाख प्रयोगकर्ताहरूसँग सम्झौता भएको बताएको छ।

"अधिकांश विकसित विश्व राम्रोसँग जोडिइसकेको छ," लन्डन विश्वविद्यालयको इन्स्टिच्युट अफ स्पेस पोलिसि एण्ड ल का प्राध्यापक शइन मोस्टेशर भन्छन्।

"उनीहरू आम्दानीका लागि बजारको सानो हिस्सामा आश्रित छन्।"

आगामी वर्ष स्टारलिङ्कले इन्टरनेटको पहुँच फितलो भएका अफ्रिका, दक्षिण अमेरिका र एशियामा आफ्नो पहुँच थप बढाउने योजना अघि सारेको छ।

"अफ्रिकामा धेरै घरायसी प्रयोगकर्ताहरूलाई स्टारलिङ्कको मूल्य महँगो हुन सक्छ," क्रिस हल भन्छन्।

"तर यसले त्यहाँको दुर्गम क्षेत्रमा रहेका विद्यालय र अस्पतालहरूलाई जोड्न मद्दत गर्न सक्छ।

स्टारलिङ्कले अन्तरिक्षमा भद्रगोल निम्त्याएको हो?

पृथ्वीको तल्लो कक्षमा भूउपग्रहहरू राखेर इन्टरनेट सेवा दिने स्टारलिङ्क मात्रै एक्लो होइन।

एमेजनले पनि आफ्ना हजारौँ क्वीपर भूउपग्रहहरू पृथ्वीको तल्लो कक्षमा राख्ने योजना बनाइरहेको छ र प्रतिस्पर्धी वनवेबले पनि यो कक्षमा भूउपग्रहहरू राखेको छ।

प्राध्यापक मोस्टेशर तल्लो कक्षमा धेरै भूउपग्रहहरू राख्दा समस्या निम्तिने बताउँछन्।

"यसले अन्तरिक्षलाई ठक्करको जोखिमबाट निकै कम सुरक्षित बनाउँछ," उनी भन्छन्।

"भूउपग्रहहरू अरू यानहरूमा गएर ठोक्किन्छन् र भग्नावशेषका टुक्राहरू तीव्र गतिमा उड्दा अझै धेरै क्षति पुर्‍याउन सक्छन्।"

स्टारलिङ्कका भू-उपग्रहहरू तस्बिरमा समेत देखिन्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्टारलिङ्कका भू-उपग्रहहरू तस्बिरमा समेत देखिन्छन्

हालै स्टारलिङ्कका भूउपग्रहहरू ठक्करको नजिक पुगेका घटनाहरू देखिइसकेका छन्।

जसमध्ये एउटा चिनियाँ अन्तरिक्ष स्टेशनमा झन्डै ठोक्किएको थियो।

"त्यहाँ धेरै टुक्राहरू भए भने त्यसले पृथ्वीको तल्लो कक्षलाई भविष्यमा प्रयोग गर्नै नमिल्ने बनाउँछ," पोर्टस्‌माउथ विश्वविद्यालयका अन्तरिक्ष परियोजना व्यवस्थापक डा. लुसिन्दा किङ्ग भन्छन्।

"र हामी तल्लो कक्षबाट दूरसञ्चार र नेभिगेसनल भूउपग्रह रहेका माथिल्लो कक्षसम्म जान पनि नसक्ने अवस्थामा पुग्न सक्छौँ।"

स्टारलिङ्कका भूउपग्रहहरूले अन्तरिक्ष यात्रीहरूका लागि पनि समस्या सिर्जना गरिरहेका छन्।

सूर्योदय र सूर्यास्तमा तिनीहरू नाङ्गो आँखाले देख्न सकिने हुन्छन् किनभने तिनीहरूको पङ्खामा घामको प्रकाश टल्किन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी र अमेरिकी अन्तरिक्षयात्रीको सहयात्रा