अन्तरिक्षः जुत्ताको बट्टा जत्रा भू-उपग्रहहरूले यी छ तरिकाबाट विश्व बदल्ने कोशिश गरिरहेका छन्

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीनवटा क्युबस्याटस् छुटेका छन्

तस्बिर स्रोत, NASA

    • Author, क्लेयर बेट्स
    • Role, बीबीसी विश्व सेवा

क्युबस्याट सानो भए पनि एक प्रकारको प्रविधि हो। जुत्ताको बट्टा जत्रो आकार भएका यी साना भू-उपग्रहको आविष्कार प्राध्यापक बब ट्वीग्सले सन् १९९९ मा गरेका थिए। उनले यो विद्यार्थीका लागि एउटा शैक्षिक प्रयोजनका लागि गरेका थिए।

"उनीहरूले यसमा धेरै कुरा राख्न सकेनन् जुन साँच्चैको चुनौती थियो। उनीहरूको नमुनमा थप केही नराख्न उनीहरूलाई दबाव पर्‍यो," बबले हाँस्दै भने।

परम्परागत भू-उपग्रहहरू भन्दा सस्तोमा र छिट्टै बन्ने यस्ता भू-उपग्रहहरू अहिले सयौँको सङ्ख्यामा पृथ्वी वरिपरि घुमिरहेका छन्। यिनीहरूको निर्माण विश्वविद्यालयहरू, स्टार्ट-अप र सरकारहरूले गरेका छन्।

हामी यहाँ विश्व बदल्न सक्ने क्षमता भएका त्यस्ता छ वटा त्यस्ता परियोजनाहरूबारे कुरा गर्दैछौँ...

:न फडानीमा रोक

अमेजन जङ्गलमा भएको फडानी

तस्बिर स्रोत, Getty Images

विश्वभरि वन फडानीको समस्या सँग जुध्नका लागि नर्वे सरकारले भू-उपग्रहसम्बन्धी कम्पनी प्लानेटसँग साझेदारी गरेको छ।

प्लानेटसँग १८० वटा क्युबस्याटहरूको समूह रहेको छ जसले पृथ्वीका तस्बिरहरू निरन्तर रुपमा लिइरहेका छन्।

"नर्वे सरकारले ६४ वटा उष्ण देशहरूमा वन फडानी के कति भइरहेको छ भन्ने विवरण राख्नका लागि रकम उपलब्ध गराएको छ," प्लानेटका प्रमुख कार्यकारी अधिकृत विल मार्सलले भने।

"हामी ती देशका वन मन्त्रीहरूलाई कहाँ वन फडानी भइरहेको छ भन्ने जानकारी दिन्छौँ। त्यसपछि उनीहरूले वन फडानीलाई रोक्ने सम्झौता कति अवलम्बन गर्छन् भन्नेमा आधारित भएर नर्वेले उनीहरूलाई रकम दिने वा नदिने निर्णय गर्छ।"

: सङ्कटमा रहेका जनावर

केन्यामा हात्ती

तस्बिर स्रोत, Getty Images

सन् २०२१ को सुरुमा, इटली र केन्याका विद्यार्थीहरूको समूहले वन्यजन्तु निगरानी सम्बन्धी एक कार्यक्रम सुरु गरे। यो कार्यक्रम अन्तगर्गत क्युबस्याटले केन्याको राष्ट्रिय निकुञ्जम रहेका पक्षी र स्तनधारी जनावरको अनुगमन गर्छ।

"हामीले मानव र वन्यजन्तुबीच द्वन्द्व भएको देखेका छौँ। उदाहरणका लागि हात्तीले किसानहरूले लगाएको बालीमा अतिक्रमण गर्छ र कहिलेकाहिँ मानिसको ज्यानै लिन्छ," नैरोबीमा रहेका इन्जिनियरिङका विद्यार्थी डेनियल केइरीले बताए।

"त्यसैले हामी जनावरहरूको आवतजावत बारे पूर्व जानकारी दिएर त्यहाँका मानिसलाई मद्दत गरिरहेका छौँ ताकि उनीहरूले गाउँमा जनावर आउनु अघि नै धपाउन सकुन्।"

उनीहरूले जनावरमा 'रेडियो ट्याग' जडान गर्ने पनि योजना गरेका छन् जसबाट स्थानबाहेक अन्य जानकारी पनि लिन सकिने उनीहरूको आशा छ।

"हात्तीको दाँत र गैँडाको सिङको लागि हुने शिकार केन्याको साझा समस्या हो," डेनियलले भने।

"हामीलाई लाग्छ कि यी ट्यागहरूले जनावरको मुटुको धड्कन पनि हेर्न सक्छन् र त्यसले जनावर जीवित रहेको वा नरहेको पनि छुट्याउन सकिन्छ।"

क्युबस्याट आफ्नो तीन वर्षे मिसनमा छ। क्युबस्याटहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर नष्ट हुनुअघि दुईदेखि पाँच वर्षसम्म टिक्छन्।

: आधुनिक दासता उघार्दै

नटिङ्घम विश्वविद्यालयस्थित राइट्स ल्याबले भू-उपग्रहबाट खिचिएका तस्बिरहरू दासताको गोप्य संसारबारे जान्नका लागि प्रयोग गर्छ।

हालै क्युबस्याटले खिचेका तस्बिरहरू ग्रीसस्थित अस्थायी शिविरमा रहेर फलफूल टिप्ने बांग्लादेशीहरूको अवस्था थाहा पाउन प्रयोग भएको थियो।

"यी अनौपचारिक बन्दोबस्त समयसँगै कसरी परिवर्तन भएका छन् भनेर हामीले हेर्नसक्छौँ," यो परियोजनाको नेतृत्व गरेका प्राध्यापक डोरीन बोएडले भनिन्।

"जमिन कहिले खाली भयो र नयाँ बन्दोबस्त कहाँ गरियो भन्ने हामीले थाहा पाउँछौँ।"

यो टोलीले एउटा स्थानीय गैरसरकारी संस्थासँग काम गरेको थियो र उनीहरूले त्यसैगरि पत्ता लागेका शिविरहरूको भ्रमण गरेका थिए।

: अन्तरिक्षका फोहोर सफा गर्दै

एल्सा-डी भू-उपग्रह

तस्बिर स्रोत, Astroscale

रुसले हालै आफ्नो एउटा पुरानो जासुसी भू-उपग्रहमा क्षेप्यास्त्र परीक्षण गर्दा निस्केका हजारौँ अवशेषहरू पृथ्वीको कक्षमा खस्दा त्यसले अन्तर्राष्ट्रिय रुपमा आक्रोश उत्पन्न गराएको थियो।

एउटा विश्वव्यापी सञ्जालले पृथ्वी वरपर घुम्दा झण्डै ३० हजार अन्तरिक्षका पत्रु सामानहरू फेला पारेको थियो। ती फोहोरमा निष्क्रिय उपग्रहहरू पनि थिए। यद्यपि, अन्य थुप्रै साना अवशेषहरूलाई फेला पार्नुपर्नेछ जुन भू-उपग्रहहरू वा अन्तरिक्षयानमा रहेका यात्रीलाई त्रसित बनाउन काफी हुन्छ।

अन्तरिक्षका पत्रु सामानहरू सफा गर्नेबारे थुप्रै समस्या छन् र कुन उपकरण कुन देशको हो भनेर पत्ता लगाउन समेत गाह्रो छ।

यद्यपि, क्युबस्याटका कारण नै वैज्ञानिकहरूले अन्तरिक्षमा तीव्र गतिमा रहेका वस्तुलाई कसरी पक्रिन सकिन्छ भन्ने जस्ता व्यवहारिक समस्याको समाधान फेला पार्ने दिशामा नजिक पुगेका छन्।

एउटा परिक्षणका क्रममा सन् २०१८ मा दुईवटा क्युबस्याटहरूलाई जाली र हारपूनको प्रयोग गरेर समात्न सफलता हात लागेको थियो।

सन् २०२१ मा एउटा जापानी कम्पनीले त्यस्तो अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो जसले चुम्बकीय प्रणाली प्रयोग गरेर सफलतापूर्वक क्युबस्याटलाई समातेको थियो।

: विन्ड टरबाइनको मर्मत गर्न

अस्ट्रेलियामा समुद्र नजिकैको पहाडमा रहेको Wind turbines

तस्बिर स्रोत, Getty Images

थुप्रै क्युबस्याटहरूको सञ्जालले मानिसहरूलाई सेन्सर राखिएका र विश्वभरि ग्रामीण क्षेत्रमा रहेका विभिन्न बस्तुहरूसँग जोड्न सक्छन्।

केही किसानहरूले सेन्सरको प्रयोग गरेर भौतिक उपस्थिति बिना नै दूरदराजमा रहेका जनावरका खाने ठाउँ वा भण्डारको रेखदेख गर्छन्।

तिनीहरूलाई नवीकरणीय उर्जा थप प्रभावकारी बनाउन पनि प्रयोग गर्न सकिन्छ। विन्ड टरबाइनहरूको मर्मतका लागि वर्षमा दुईपटक तिनीहरूको अवलोकन गरिन्छ । यदि तिनको पातामा क्षति पुगेको छ भने महिनौँअघि नै पत्ता लाग्छ र त्यसको मर्मत गरिन्छ।

पिङ सर्भिसेस नामक कम्पनीले एउटा सेन्सर बनाएको छ जसले विन्ड टरबाइन घुम्दा निस्कने ध्वनीको अनुगमन गर्छ। उक्त सेन्सरले पातामा क्षति पुगेर ध्वनीमा आउने परिवर्तन पत्ता लगाउँछ र क्युबस्याट सञ्जालमार्फत टरबाइन सञ्चालकलाई सूचना पठाउँछ। यसको अर्थ टरबाइनमा समस्या आए छिट्टै पत्ता लाग्छ र समस्या समाधान हुन्छ।

: गहिरो अन्तरिक्षको अन्वेषण

क्युब स्याट

तस्बिर स्रोत, NASA

धेरै क्युबस्याटहरूले पृथ्वी तर्फ हेरिरहँदा केहीलाई भने ताराहरूतर्फ फर्काइएको छ।

सन् २०१८ मा नासाले आफ्नो पहिलो क्युबस्याट गहिरो अन्तरिक्षमा पठायो।

नासाले थप १० क्युबस्याट आफ्नो आर्टेमिस १ रकेटमा राखेर पठाउने भएको छ।

उक्त मिसनले गहिरो अन्तरिक्षको विकिरणले जीवित प्राणीमा गर्ने असरहरू र चन्द्रमाको दक्षिणी ध्रुवमा सञ्चित पानीको अध्ययन गर्नेछ।

चित्रण