लेपर्ड टू ट्याङ्कहरू युक्रेन पठाइने जर्मनीको घोषणा

तस्बिर स्रोत, Getty Images
जर्मन चान्स्लर ओलाफ शोल्ट्सले युक्रेनमा १४ वटा लेपर्ड टू ट्याङ्क पठाइने पुष्टि गरेपछि आफ्नो देशका सांसदहरूलाई सम्बोधन गरेका छन्।
संसद्मा बोल्ने क्रममा उक्त निर्णयबाट चिन्तित जर्मनहरूलाई उनले उक्त 'निर्णय सही भएको' बताउँदै ‘आफूलाई विश्वास’ गर्न आग्रह गरे।
अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले दर्जनौँ एम वान एब्रम्स् ट्याङ्कहरू पठाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ।
क्रेमलिनले प्रतिक्रिया स्वरूप एक चेतावनी दिँदै यदि 'पश्चिमा ट्याङ्कहरू युक्रेनलाई दिइए ती युद्ध भूमिमा नष्ट' हुने जनाएको छ।
ती खबरहरूलाई अमेरिकाका लागि रुसी राजदूतले "अर्को स्पष्ट उत्तेजना फैलाउन कार्य" भनेका छन्।
दबाब

तस्बिर स्रोत, Reuters
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले युद्धमा रुसलाई पराजित गर्न कम्तीमा ३०० ट्याङ्कहरू आवश्यक पर्ने बताउँदै आएका छन्।
युक्रेनी अधिकारीहरूले ती सम्भावित ढुवानीले रुसविरुद्धको युद्धमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने बताएका छन्।
वाशिङ्टन र बर्लिन दुवैलाई युक्रेनलाई अस्त्र दिने घोषणा गर्न कैयौँ सातादेखि आन्तरिक र बाह्य दबाब परिरहेको छ।
वाशिङ्टनले अत्याधुनिक प्रविधियुक्त एब्रम्स् ट्याङ्कका लागि व्यापक प्रशिक्षण र मर्मत आवश्यक पर्ने बताउँदै आएको छ।
बर्लिनले नेटो रुससँगको युद्धमा प्रत्यक्ष पक्ष बनिरहेको कुरामा सचेत गराएको थियो।
नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले बुधवार युक्रेनमा एब्रम्स् एम वान ट्याङ्कहरू पठाउने घोषणा हुने जनाएका छन्।
एकजना नाम नखुलाइएका अधिकारीले द न्यूयोर्क टाइम्सलाई ३० देखि ५० वटा ट्याङ्कहरू पठाउन सकिने बताएका छन्।
यद्यपि कुनै पनि सम्भावित ढुवानीको मिति स्पष्ट छैन।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार जर्मन अधिकारीहरूले अमेरिकीहरूलाई अनौपचारिक रूपमा अमेरिकाले यदि एब्रम्स् एम वान ट्याङ्कहरू दिएमा उनीहरू पनि लेपर्ड टू दिन तयार हुने बताएका थिए।
तर दुवै देशका अधिकारीहरूले दुई देशले ट्याङ्क पठाउने निर्णयमा कुनै सम्बन्ध भएको अस्वीकार गरेका छन्।

जर्मनीको निर्णय
जर्मन चान्सलर ओलाफ शोल्ट्सले युक्रेनमा लेपर्ड टू ट्याङ्कहरू पठाउने र अन्य देशहरूलाई पनि त्यसै गर्न अनुमति दिने निर्णय गरेको बताएका छन्।
लेपर्ड टू ट्याङ्क जर्मनीमा बनाइन्छन् र बर्लिनले ती ट्याङ्क निर्यातका लागि अनुमति दिन आवश्यक हुन्छ।
पोल्याण्डको सरकारले आफूसँग रहेका २५० लेपर्ड टू ट्याङकमध्ये १४ वटा युक्रेनलाई दिन तयार रहेको जनाएको छ।
रुससँग द्वन्द्व बढ्नसक्ने चिन्ताका कारण जर्मनीले आफैँले त्यस्ता ट्याङ्कहरू पठाउन वा अन्य राष्ट्रहरूलाई पठाउन अनुमति दिन हिचकिचाइरहेको छ।
अन्तर्राष्ट्रिय दबाबपछि अहिले जर्मन चान्सलरले कम्तीमा १४ वटा त्यस्ता ट्याङ्कहरू पठाउने निर्णय गरेका हुन्।

तस्बिर स्रोत, Reuters
कसले कति पठाउन चाहेका छन्?
एक कम्पनीले सामान्यतः १४ वटा नै ट्याङ्कहरू पठाउन चाहेका छन्।
लेपर्ड्स पोल्यान्डले १४ वटा नै पठाउन चाहेको छ भने यूकेले पनि सोही सङ्ख्यामा च्यालेन्जर टू ट्याङ्क युक्रेनलाई दिने प्रतिबद्धता जनाइसकेको छ।
इन्टरन्याशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडिज्का अनुसार कम्तीमा १६ वटा युरोपेली र नेटो देशहरूसँग लेपर्ड टू ट्याङ्क रहेका छन्।
सबैले युक्रेनमा ट्याङ्क पठाउने छैनन् तर जर्मन चान्सलरको स्पष्ट निर्णयको अर्थ उनीहरूले चाहेका बेलामा पठाउन सक्छन्।
जर्मन चान्सलरको निर्णयसम्बन्धी समाचार जर्मनीमा डेर स्पिगलले सबैभन्दा पहिले लेखेको थियो।
उसले अरुले पुष्टि हुनुअघि नै सरकारी स्रोतहरूलाई उदृत गर्दै त्यसबारे खबर बाहिर ल्याएको थियो।
अधिकारीहरू के भन्छन्?
बुधवार चान्सलरले जर्मन संसद्लाई सम्बोधन गरेका हुन्।
जर्मन संसद्को रक्षा समितिको अध्यक्षता गर्ने उदारवादी एफडीपी पार्टीकी म्यारी-एग्नेस स्ट्र्याक-जिम्मरम्यानले उक्त खबरको स्वागत गरेकी छन्।
"निर्णय कठिन थियो, यसले धेरै लामो समय लियो तर अन्तमा यो अपरिहार्य थियो," उनले भनिन्।
उनले उक्त निर्णयले "साहसी युक्रेनी जनता"लाई राहत दिने बताइन्।
जर्मन संसद्को तल्लो सदनका उपाध्यक्षमध्ये एक तथा ग्रीन राजनीतिज्ञ क्याट्रिन गोरिङ-एकार्डले अङ्ग्रेजीमा ट्वीट गरेर उक्त कदममा खुसी हुँदै "लेपर्ड मुक्त भयो!" भनेकी छन्।

तस्बिर स्रोत, Getty Images
साझेदारको दबाब
जर्मन साझेदार राष्ट्रहरू युक्रेनमा सशस्त्र ट्याङ्क पठाउन जर्मनीले अनिच्छा देखाएपछि हालैका दिनमा निराश बनेका थिए।
पोल्यान्डका प्रधानमन्त्री मङ्गलवार बीबीसीसँग जर्मनीले युक्रेनलाई सहयोग गर्ने "विशेष जिम्मेवारी" रहेको बताएका थिए।
उनले जर्मनीले युद्धअघि उसको ग्यास खरिद गरेर रुसका लागि "ठूलो रुसी कोष" खडा गरिदिएको दाबी गरेका थिए।
पोल्यान्डका प्रधानमन्त्रीले जर्मनीलाई "ढिलो गर्ने, चकित पार्ने, बुझ्न गाह्रो हुने तरिकामा काम गरेको" आरोप पनि लगाएका थिए।
जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले यसअघि नै बर्लिनले अन्य राष्ट्रहरूलाई युक्रेनीलाई लेपर्ड टू ट्याङ्क प्रयोग गर्न तालिम दिन अनुमति दिएको बताएका थिए तर ती ट्याङ्कहरू पठाउने प्रतिबद्धता जनाएका थिएनन्।
ब्रिटेनका लागि जर्मनीका राजदूतले मङ्गलवार बीबीसीलाई "समाचार चक्रद्वारा" निर्णयहरू सञ्चालित नहुने बताए।








