युक्रेन युद्ध: ‘युक्रेनलाई ध्वस्त पार्न असफल भएपनि पुटिनले रुसलाई ध्वस्त पारे’

तस्बिर स्रोत, Ilya Barabanov/BBC
- Author, इल्या बाराबानोभ
- Role, बीबीसी न्यूज रसिअन
रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्दै गर्दा बीबीसीका रुस संवाददाता इल्या बाराबानोभले आफू सहित लाखौँ मानिसहरूको जीवनमा अपरिवर्तनीय उथलपुथल ल्याएको द्वन्द्वको समीक्षा गरेका छन्।
सन् २०२२ को सुरुवात असहजताले भरिएको थियो तर मेरो सन्दर्भमा यो आसन्न युद्धको कुरासँग जोडिएको थिएन।
एभ्गेनी प्रिगोझिनको 'वाग्नर समूह' का दुई भाडाका सैनिकहरूले म विरुद्ध मानहानिको मुद्दा हालेका थिए। म र मेरी श्रीमतीले हामीले रुस छाड्नु पो पर्ने हो की भन्ने विषयमा छलफल गरिरहेका थियौँ।
भविष्यमा कस्तो परिस्थिति निम्तिँदै थियो भन्ने विषयबारे हामी जानकार थिएनौँ।
सन् २०१९ - २०२०मा लिवियामा रुसी भाडाका सैनिकहरूको उपस्थितिलाई केलाउँदै बीबीसी अरेबिक सेवाका सहकर्मी नादेर इब्राहिम र मैले अनुसन्धान गरेका थियौँ।
हामीले उनीहरूले त्यहाँ जनरल खलिफा हफ्तारलाई सघाउँदै संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको सरकार विरुद्ध युद्धमा सङ्लग्न मात्रै नभएर सर्वसाधारण प्रभावित हुने युद्ध अपराधका घटनाहरूमा समेत मुछिएको प्रमाण प्रकाशमा ल्याएका थियौँ।
त्यसबारे भिडिओ रिपोर्ट अनि समाचार सार्वजनिक भएसँगै ती सामग्रीमा नाम उल्लेख गरिएका दुई जना भाडाका सैनिकले बीबीसी र मलाई मस्कोको अदालतमा पुर्याए।
सन् २०२२को ज्यानुअरीमा उक्त मुद्दा चलिनै रहेको थियो। दक्ष वकिलको सहायता लिए पनि मुद्दा लम्बिइरहन सक्ने कुराले म चिन्तित थिएँ। आफ्नो प्रतिष्ठा वा स्वतन्त्रताको रक्षा मैले गर्न सक्छु / सक्दिन भन्ने कुराले म चिन्तित थिएँ।
आफू 'वाग्नर समूह'को कहिल्यै सदस्य नरहेको दाबी गरेका एक जना वादीको 'वाग्नर' ले परिचालन गरेको सैनिकका रूपमा युक्रेनमा लड्ने क्रममा ६ महिनापछि मृत्यु भयो। मुद्दा दायर गर्ने अर्का व्यक्तिले हामी विरुद्धको मुद्दा हारे।
यद्यपि मैले रुस छाड्नु पर्यो। तर त्यसको कारण भने निकै फरक थियो।
सन् २०२२को फेब्रुअरीमा युक्रेनसँगको सीमामा रुसी सैन्य उपस्थिति बढिरहेको र युद्धबारे कुराकानी चर्किँदै गर्दा उक्त तनावबारे समाचार तयार पार्न म किएभ आइपुगेँ।
तर भित्री मनमा मलाई युद्ध हुन्छ भन्ने लागेको थिएन। दुई साता पछि मस्कोस्थित घर फर्कने मैले मेरी श्रीमतीलाई बताइरहन्थेँ।
फेब्रुअरी १४ तारिखमा बीबीसीका अर्का संवाददाता स्लाभा खोमेन्को र म रुससँगको सीमा नजिकै रहेको खार्किभ क्षेत्रस्थित भोभ्चान्स्क सहरमा गयौँ।
दश दिनपछि त्यो सहर रुसको नियन्त्रणमा पुग्यो। तर हामी त्यहाँ पुग्दा स्थानीयबासीहरूले त्यस्तो सम्भावना देखेका थिएनन्।
स्लाभा र मैले आक्रमण भइहाले के गर्नुहुन्छ भनेर बारम्बार जिज्ञासा राखेपछि उनीहरूले भने: ''हामी जर्मनहरूबाट कुनै न कुनै तरिकाले जोगियौँ।'' उनीहरूले दोस्रो विश्व युद्धबारे कुरा गरेका थिए।
किएभ फर्कने क्रममा पेरेमोहा सहर जाने बाटोमा रहेको एउटा साइनबोर्डमा हामी रोकियौँ । त्यहाँ हामीले तस्बिर पनि लियौँ।
हामी दुबैलाई युद्ध हुन्छ भन्ने नलागेकाले त्यो तस्बिरले त्रासदीले भरिएका दिनहरूको स्मरण गराउने छ भन्ने हामीले ठानेका थियौँ।

तस्बिर स्रोत, Ilya Barabonov/BBC
फेब्रुअरी २४ तारिखमा किएभस्थित एक होटेलमा त्यहाँका कर्मचारीले ढोका ढकढक्याएपछि म उठेँ। ''सर हामी बम हमलामा पर्यौँ जस्तो छ,'' उनले भने। युद्ध सुरु भइसकेको थियो।
त्यसपछि म बमबाट जोगिन होटेलले तयार पारेको आश्रय स्थलमा पुगेँ र बाहिर भइरहेको घटनालाई रोचक मान्दै खेलिरहेका स्पेनका पर्यटकहरूका बच्चा बच्चीलाई हेर्दै बसेँ।
हवाई आक्रमण अघि चेतावनी दिनका लागि बजाइने सङ्केत अनि आफूहरू किन बाहिर निस्कन पाएका छैनन् भन्ने कुरा उनीहरूले बुझेका थिएनन्।
त्यसपछिका केही दिन निकै समय मैले किएभका एक जना साथीको फ्ल्याटमा बिताएँ। त्यहाँ कैयौँ पत्रकारहरू जम्मा भएका थिए र उनीहरूले कुराकानी अनि सूचना एकअर्कालाई बताइरहेका थिए।
त्यो फ्ल्याट भरिभराउ थियो। तर सामान्यतया व्यस्त रहने पोडीलसहित किएभका अन्य भागहरू भने सुनसान देखिएका थिए।
मेरो साथीको फ्ल्याटमा उत्तर तर्फ फर्किएको बार्दली थियो जहाँ उभिएर हामी बुचा, होस्तोमेल अनि इर्पिन तिर हेर्थ्यौँ। हामीले हतियारहरूको आवाज सुनिरहेका थियौँ र रुसी सेनाले ती क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको विषयबारे जानकार थियौँ।
''सदाशयताको सङ्केत स्वरूप'' छ हप्तापछि जब रुसी सेनाहरू ती सहर र गाउँहरूबाट फिर्ता भए उनीहरूले त्यहाँ गरेका क्रूर युद्ध अपराधहरूको बारेमा विश्वले थाहा पाउने अवस्था सृजना भयो।
यद्यपि रुसी अधिकारीहरूले उनीहरूको लामो समयदेखि चलेको परम्परालाई पछ्याउँदै यो "पश्चिमी सुरक्षा निकायहरूद्वारा तयार पारिएको" मिथ्या कथा रहेको भनेर दाबी गर्नेछन्।

तस्बिर स्रोत, Ilya Barabonov/BBC
फेब्रुअरी २८ तारिखमा युक्रेन हुँदै म मोल्डोभा पुगेँ।
मस्कोमा रहेको घर पुग्न लगभग असम्भव छ भन्ने कुरा मैले महसुस गरिसकेको थिएँ। रुसले युक्रेनमाथि गरेको आक्रमणको तथ्यपरक रिपोर्टिङ गरेका कारण वर्षौँसम्म जेल पर्न सक्ने जोखिम थियो।
मोल्डोभा युक्रेनी शरणार्थीहरूले भरिएको थियो र त्यहाँका स्थानीय बासिन्दाहरू उत्सुकतासाथ समाचार पछ्याउँदै थिए।
पुटिनका सेना ओडेसा पुगे उनीहरूको सानो देशलाई रुसले नियन्त्रणमा लिन सक्ने चिन्ता धेरैको थियो। त्यसबेला मस्कोको आक्रामक व्यवहारलाई युक्रेनले प्रतिरोध गर्न सक्छ / सक्दैन भन्ने कुरा स्पष्ट भइसकेको थिएन।
मोल्डोभाबाट म रुमेनिया जाने रेल चढेँ। त्यहाँ पनि थुप्रै शरणार्थीहरू थिए। चार वर्षकी एक बालिकाले मसँग सोधिन: ''हामी छिट्टै घर फर्कनेछौँ होइन त?'' त्यसको उत्तर मसँग थिएन।
स्टेसनमा रेल रोकिएपछि रेल भित्रको रेस्टुरेन्टमा रहेको बारमा काम गर्ने एक व्यक्ति र म प्ल्याटफर्ममा धूमपान गर्दै थियौँ।
''यी सबै मानिसहरू,'' निकै घोत्लिएर उनले भने ''भाग्न खोजिरहेका, शरणार्थीहरूले भरिएको रेल। पुटिनले यो युद्धबाट आफूले कसलाई मद्दत गर्न चाहेको ठानेका छन्?''
त्यसबारे त्यति बेला के भन्ने मलाई थाहा थिएन। अहिले पनि थाहा छैन।
बुखारेस्ट, बेलग्रेड, इस्तानबुल, भिएना, प्राग, रीगा -- सन् १९१७मा बोल्सेभिक क्रान्तिका बेला रुस छाड्ने मानिसहरूले प्रयोग गरेको बाटोसँग मेरो बाटो मिल्दोजुल्दो थियो।
एक सय वर्ष भन्दा पहिले त्यसरी अन्यत्र जानेमा कुलीन वर्गका मानिसहरू अनि 'ह्वाइट गार्ड' का अधिकारीहरू थिए। यस पटक भने त्यस्तो गर्नेहरूमा सूचना प्रविधि सम्बन्धी विषयका विशेषज्ञ, चिकित्सक र सञ्चारकर्मीहरू थिए।
आक्रमण सुरु भएयता रुसले स्वतन्त्र पत्रकारितालाई प्रतिबन्ध लगाउने कानुनहरू अपनाएको छ। युद्ध सुरु भएको एक वर्ष हुँदा के कुरा स्पष्ट छ भने भ्लादिमिर पुटिन युक्रेनलाई नष्ट गर्ने आफ्नो मुख्य उद्देश्यमा असफल भएका छन्।
यद्यपि उनी रुस, त्यहाँका मध्यमवर्ग, बुद्धिजीवी र सांस्कृतिक रूपमा सम्भ्रान्त वर्गलाई ध्वस्त पार्न भने सफल भएका छन्। हामी युद्ध अघिको जस्तो मस्कोमा कहिल्यै फर्कन सक्नेछैनौँ।
तर म पुटिनपछिको रुसमा फर्कन निकै उत्सुक छु।
र त्यसपछि युद्ध पश्चात् रुसको अधीनमा नरहेका डोनेट्स्क, मारिऊपोल र क्राइमिया जान चाहन्छु।








