रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

तस्बिर स्रोत, Getty Images
- Author, म्याट मर्फी
- Role, बीबीसी न्यूज
युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुन सक्ने चेतावनी दिएका छन्।
अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गत वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन "केही प्रयास" गर्न सक्ने बताए।
फेब्रुअरी २३ मा सेनाहरूप्रति समर्पित उत्सव मनाइने रुसी डिफेन्डर अफ फादरल्यान्ड डेकै सेरोफेरोमा युक्रेनमाथि आक्रमण सुरु भएको थियो।
रेज्निकोफका अनुसार मस्कोले आक्रमण गर्नका लागि करिब ५००,००० सेना परिचालन गरेको थियो।
गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ३००,००० जगेडा सेनाको आंशिक परिचालनको घोषणा गरेका थियो। उक्त कदम “भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको” उनले बताएका थिए।
तर भर्ती भएका र युक्रेनमा तैनाथ गरिएको वास्तविक सैन्य सङ्ख्या अझै बढी हुनसक्ने रेज्निकोफले बताए।
"उनीहरूले आधिकारिक रूपमा ३००,००० जगेडा सेना परिचालन गर्ने बताए। तर, सीमा क्षेत्रहरूमा देखिने सेनाको सङ्ख्या अझै बढी भएको हाम्रो मूल्याङ्कन छ,” उनले फ्रान्सेली बीएफएम नेटवर्कसँग भने।
यद्यपि, बीबीसी यस तथ्याङ्कको स्वतन्त्र पुष्टि गर्न सक्दैन।
किन गरियो 'ठूलो आक्रमण'को अनुमान?
पूर्वी डोनबास क्षेत्रमा लडाइँ तीव्र रूपमा जारी रहे पनि युक्रेनले दक्षिणी सहर खेअरसनलाई पुनः आफ्नो नियन्त्रणमा लिएपछि हालैका महिनाहरूमा युद्धको गतिमा केही सुस्त बनेको छ।
सोलेदार सहर रुसले नियन्त्रणमा लिए बाहेक दुवै पक्षले कुनै ठूलो भौगोलिक प्रगति गरेका छैनन्।
तर लामो समयदेखि रुसी ‘स्प्रिङ’ आक्रमण र युक्रेनी प्रत्याक्रमण सम्भावित ठानिएको छ। हालै अमेरिकास्थित युद्ध अध्ययन संस्था आइएसडब्ल्यूले मस्कोले "निर्णायक कदम चाल्न" र पूर्वमा "ठूलो आक्रमण" गर्न खोज्न सक्ने बताएको छ।
रेज्निकोफले युक्रेनका कमान्डरहरूले युद्धमा रुसको कथित प्रगतिअघि "आफ्नो मोर्चालाई स्थिर बनाउने र प्रत्याक्रमणको लागि तयारी" गर्ने बताए।
"सन् २०२३ सैन्य जितको वर्ष हुन सक्ने मेरो विश्वास छ," उनले भने। उनले युक्रेनी सेनाले पछिल्ला केही महिनाहरूमा गरेको "सुधार गुमाउन नसक्ने" बताए।
रक्षामन्त्री रेज्निकोफ थप हवाई प्रतिरक्षाका निम्ति आवश्यक एमजी-२०० र्याडरहरू खरिद् गर्ने सम्झौता गर्न फ्रान्समा थिए। ती र्याडरले "विङ्ग्ड तथा बलिस्टिक क्षेप्यास्त्रहरू र विभिन्न किसिमका ड्रोनलगायत हवाई निशानाहरू पत्ता लगाउन सशस्त्र सेनाको क्षमतामा उल्लेख्य वृद्धि गर्ने" उनले बताए।
युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति पुटिनले आफ्ना सेनालाई आउँदो वसन्त यामको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको दाबी गरेसँगै रेज्निकोफले पछिल्लो टिप्पणी गरेका हुन्।

तस्बिर स्रोत, Getty Images
सीमा क्षेत्रमा रुसी सेना सक्रिय
तर सोमवार नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले पुटिनले युक्रेनको पूर्वी क्षेत्रहरू कब्जा गर्न आफ्नो सैन्य लक्ष्य सीमित गरेको कुनै सङ्केत नभएको बताए।
"उनीहरूले सक्रिय रूपमा आफ्नो उत्पादनमा जोड दिएर नयाँ हतियार तथा बम, बारुदहरू थपिरहेका छन्। साथै इरान र उत्तर कोरियाजस्ता अन्य अधिनायकवादी देशहरूबाट पनि हतियारहरू प्राप्त गरिरहेका छन्," स्टोलटेनबेर्गले भने।
"सबैभन्दा महत्त्वपूर्ण, राष्ट्रपति पुटिनले युक्रेनलाई नियन्त्रणमा लिने आफ्नो लक्ष्य परिवर्तन गरेको कुनै सङ्केत हामीले देखेका छैनौँ। त्यसैले जबसम्म यस्तो अवस्था रहन्छ तबसम्म हामी तयार रहनुपर्छ।"
यसैबीच युक्रेनकी उपरक्षा मन्त्री हान्ना मल्यारले डोनबास क्षेत्रमा तीव्र लडाइँ जारी रहेको जानकारी दिएकी छन्। त्यहाँ रुसी सेना र वाग्नर समूहका जगेडा सैनिकहरूले बाख्मुत सहर कब्जा गर्न खोजिरहेका छन्।
मस्कोका सेनाहरूले गत अक्टोबरमा युक्रेनी सेनाले पुनः नियन्त्रणमा लिएको पूर्व रुसी सैन्य सञ्चालन केन्द्र लिम्यान पनि कब्जा गर्न खोजिरहेको उनले बताइन्।
"रुसी सेनाहरू सक्रिय रूपमा डोनेट्स्क र लुह्यान्सकको सीमा क्षेत्रहरूमा पुग्न प्रयासरत छन्," उनले टेलिग्राममा लेखिन्।
"हाम्रा सैनिकहरूले युक्रेनको हरेक भूभागको रक्षा गर्छन्," उनले भनिन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार रातिको सम्बोधनमा द्वन्द्वको स्थितिले आफ्नो सेनाको परीक्षण गरिरहेको चेतावनी दिए।
"हाम्रो देशको पूर्वी भागमा कब्जा गर्न खोज्नेहरूको आक्रामक कार्य बढेको छ र स्थिति अझै गम्भीर हुँदै गएको छ,” जेलेन्स्कीले भने।
डोनेट्स्क क्षेत्रको एक सहर क्रामाटोर्स्कमा आवासीय भवनमा रुसी क्षेप्यास्त्र प्रहार भएपछि दुई जना सर्वसाधारणको मृत्यु भएको छ र सात जना घाइते भएको त्यहाँका गभर्नरले जानकारी दिए।








