पुटिनको युद्धविराम घोषणामाझ थप लडाइँ, मस्को र किएभद्वारा एकअर्कालाई दोष

तस्बिर स्रोत, Kramatorsk City Council
रुसी राष्ट्रपनि भ्लादिमिर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा घोषणा गरेको ३६ घण्टे युद्धविरामका बखत पूर्वी युक्रेनमा थप लडाइँ भएका विवरणहरू आएका छन्।
युक्रेनले यसअघि नै पुटिनको युद्धविराम घोषणाप्रति अविश्वास प्रकट गर्दै खारेज गरिदिएको थियो।
युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
मस्को समय अनुसार शुक्रवार दिउसो १२ बजेबाट युद्धविराम शुरू भएको छ जुन समय रुसी 'अर्थोडक्स' क्रिसमसको समयसँग जुध्छ।
रुसी 'अर्थोडक्स' गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन्।
एक अर्कालाई दोष

तस्बिर स्रोत, Reuters
रुसद्वारा एकतर्फी रूपमा आह्वान गरिएको युद्धविरामको असर युद्धग्रस्त क्षेत्रमा निकै कम देखिएको छ।
कैयौँ क्षेत्रमा अधिकारीहरूले एक अर्कालाई पहिले हमला सुरु गरेको आरोप लगाएका छन्।
रुसी हमलामा परेर एकजना युक्रेनी उद्धारकर्ता मारिएका छन् भने रुसी सरकारी टेलिभिजनले डोनेत्स्क सहरमा हमला भएको जनाएको छ।
रुसी रक्षा मन्त्रालयले मुडभेड भएका स्थानहरूमा पूरा समय युद्धविरामलाई मनन गरिनेमा जोड दिएको छ।
तर उसले किएभलाई रुसीहरू रहेका ठाउँ र अधीनस्थ युक्रेनी भूभागका बस्तीमा बमवारि गरेको आरोप लगाएको छ।
प्रस्तावित युद्ध विराम सुरु भएको केही बेरमै युक्रेनभर हवाई हमलाको चेतावनी दिने साइरनहरू बजेको खबरहरू आएका छन्।
जसक्रममा रुसी कब्जाबाट मुक्त पारिएको खेअर्शन सहरस्थित एक अग्निनियन्त्रकको कार्यालयमा हमला हुँदा एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए।
पूर्वी युक्रेनी सहर क्रामतोर्क्समा समेत हमला हुँदा झण्डै एक दर्जनको सङ्ख्यामा भवनहरू ध्वस्त भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
युद्धविरामको उद्देश्य

तस्बिर स्रोत, EPA
“किरिलले गर्नुभएको अपिललाई ध्यानमा राख्दै राष्ट्रपतिले रुसी महासङ्घको रक्षा मन्त्रालयलाई युक्रेनी युद्धमोर्चामा ३६ घण्टाका लागि युद्धविराम गर्न निर्देशन दिनुभएको हो,” राष्ट्रपति कार्यालय क्रेम्लिनले एउटा विज्ञप्तिमार्फत् भनेको छ।
युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ।
रुसी अर्थोडक्स गिर्जाघरले ज्यानुअरी ७ तारिखमा क्रिसमस मनाउने गरेको छ।
सङ्घर्ष चलिरहेका क्षेत्रमा ठूलो सङ्ख्यामा बस्दै आएका धर्मावलम्बीहरूले शुक्रवार क्रिसमसको पूर्वसन्ध्या र शनिवार क्रिसमस मनाउन सकून् भनेर पुटिनले युक्रेनलाई पनि तत्तत् गर्न आग्रह गरेका थिए।
तर रात्रिकालीन भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन्।
मस्कोद्वारा बेवास्ता

तस्बिर स्रोत, KRAMATORSK CITY COUNCIL
“त्यसबाट आखिर उनीहरूले के पाउने छन्? उनीहरूको कुल क्षतिमा फेरि अर्को क्षति त थपिने हो।”
जेलेन्स्कीले आफ्नो संबोधनको यो अंश चाहिँ अस्वाभाविक रूपमा रुसी भाषामा बोलेका छन्।
राष्ट्रपति जेलेन्स्कीका युद्धविराम प्रस्तावहरूलाई मस्कोले निरन्तर बेवास्ता गर्दै आएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन्।
युक्रेनी राष्ट्रपतिका सल्लाहकारले अधिनस्थ क्षेत्रबाट रुसी फौजहरू फिर्ता नभएसम्म “अस्थायी युद्धविराम” नहुने बताएका छन्।
पुटिनले “केही राहत खोज्ने प्रयत्न गरेको” संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले टिप्पणी गरेका छन्।








