लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन, बेइजिङ आक्रोशित

अमेरिका

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति बाइडनले उक्त बलुन खसाल्न आदेश दिएका थिए

अमेरिकाले आफ्नो देशका महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा विशाल चिनियाँ बलुनलाई खसालेको छ।

अमेरिकी रक्षा मन्त्रालयले उसका लडाकु विमानहरूले अमेरिकी समुद्री क्षेत्रमा सो बलुन खसालेको बताएको छ।

राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बलुनलाई गोली हानेर खसाइदिने अमेरिकी पाइलटहरूलाई बधाई दिएका छन्।

पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको छ। तर चीनले मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको उक्त बलुनलाई खसाल्ने कार्यप्रति गहिरो असन्तुष्टि जनाएको छ।

बेइजिङले अमरिकाको कदमलाई 'आवश्यकताभन्दा चर्को प्रतिक्रिया' भनेको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले त्यस्तै खालको परिस्थितिमा चीनले पनि आवश्यक कदम चाल्ने अधिकार राख्ने बताए।

उनले त्यसको व्याख्या भने गरेनन्।

क्षेप्यास्त्र र लडाकु जेटको प्रयोग

उक्त बलुन "गैर सैनिक" भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उक्त बलुन "गैर सैनिक" भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताउँदै आएको थियो

अमेरिकी टेलिभिजनहरुमा देखाइएका भिडिओमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसिरहेको देखिन्छ।

एउटा क्षेप्यास्त्रको सहाराले आकाशमा रहेको उक्त बलुन विरुद्ध F-22 लडाकु जेटले कारबाही अघि बढाएको थियो।

रक्षा अधिकारीहरूले अमेरिकि सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जनाएका छन्।

निशाना लगाइए लगत्तै त्यो सिधै समुद्रमा खसेको थियो र अमेरिकी अधिकारीहरूले झन्डै ११ किलोमिटरको क्षेत्रफलमा फैलिएको त्यसको भग्नावशेष खोज्ने प्रयास गरिरहेको जनाइएको छ।

भग्नावशेष सङ्कलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको छ।

साउथ क्यारोलाइनाका अधिकारीहरूले यसअघि मानिसहरूलाई आफ्नै राइफल प्रयोग गरी उक्त बलुनलाई खसाल्ने प्रयास नगर्न अनुरोध गरेका थिए।

उक्त बलुन संवेदनशील क्षेत्रहरूको जासुसी गर्न प्रयोग गरिएको पेन्टागनको विश्वास छ।

खासै गहिरो नरहेकाले उक्त कारबाहीका लागि लामो समय नलाग्ने उनीहरूले अपेक्षा गरेका छन्।

बाइडनको बधाई, चीन आक्रोशित

राष्ट्रपति बाइडनले लडाकु पाइलटहरूलाई सफलतापूर्वक बलुनलाई खसालिदिएकोमा बधाई दिएका छन्।

उनले बुधवार नै उक्त आदेश दिएका थिए। तर पेन्टागनले जमिनमा रहेका मानिसहरूलाई अनावश्यक खतरामा नपार्ने भन्दै उक्त बलुन पानीमाथि नपुगुन्जेलसम्म कुर्ने निर्णय लिएको थियो।

अमेरिका

तस्बिर स्रोत, Reuters

बेइजिङले उक्त बलुन गैरसैनिक मौसम अनुगमन उपकरण भएको र बाटो बिराएर त्यहाँ पुगेको जनाएको थियो। त्यसरी अमेरिकाले बल प्रयोग गरेकोमा चीनले आक्रोश व्यक्त गर्दै “गम्भीर असन्तुष्टि र विरोध” जनाएको छ।

“चिनियाँ पक्षले निरन्तर अमेरिकी पक्षलाई उक्त बलुन गैरसैनिक प्रयोजनका लागि भएको र त्यो बाटो बिराएर त्यहाँ पुगेको बताएको थियो। त्यो पूर्ण रूपमा दुर्घटना थियो,” चिनियाँ विदेशमन्त्रालयले भनेको छ।

चिनियाँ प्रतिक्रियाले दुईदेशबीचको सम्बन्धमा थप चिसोपन देखिएको जनाउँछ।

अमेरिका-चीन सम्बन्धमा थपिएको अविश्वास

शुक्रवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकी हवाई क्षेत्रमा उक्त बलुन देखिएपछि चीनको भ्रमण स्थगित गरेका थिए।

पेन्टागनले उक्त घुसपैठ अमेरिकी सार्वभौमसत्तामाथिको ‘अस्वीकार्य हस्तक्षेप’ भएको प्रतिक्रिया दिएको छ।

यसअघि ब्लिङकनको भ्रमणले वासिङटन र बेइजिङबीचका तनावलाई केही सहज बनाउने अपेक्षा गरिएको छ।

अमेरिकी विदेशमन्त्रीले चीनको भ्रमण रद्द गरेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अमेरिकी हवाई क्षेत्रमा उक्त बलुन देखिएपछि ब्लिङ्कनले चीनको भ्रमण स्थगित गरेका थिए

शनिवार बेइजिङले उक्त विशाल बलुनका कारण उत्पन्न परिस्थितिलाई ‘ठन्डा दिमाग’ ले सम्बोधन गर्न आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले बेइजिङले "कहिल्यै पनि कुनै सार्वभौम देशको भौगोलिक तथा हवाई क्षेत्रमा हस्तक्षेप नगरेको" जनाएको थियो।

अमेरिकी विदेशमन्त्री ब्लिङकनसँग यो विषयमा छलफल भएको भन्दै चीनले "अप्रत्याशित अवस्थाहरूलाई शान्त र विश्वसनीय ढङ्गले हल गर्न" सबै तहका सम्पर्कका माध्यमहरू सुचारु राख्नु महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ।

उसले अमेरिकाका कतिपय राजनीतिज्ञ र सञ्चारमाध्यमहरूले यो घटनालाई चीनमाथि आक्रमण गर्न र चीनलाई बदनाम गराउन प्रयोग गरेको टिप्पणी गरेको छ।

त्यसअघि अमेरिकाले दोस्रो बलुन ल्याटिन अमेरिकामा उडिरहेको देखिएको जनाएको थियो।