आकाशबाट गरिएको निगरानीले अमेरिका-चीन सम्बन्धमा निम्त्याएको नयाँ चिसोपन

राष्ट्रपति सी र राष्ट्रपति बाइडनबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति सी र राष्ट्रपति बाइडनबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो
    • Author, बारबरा प्लेट असर
    • Role, अमेरिकी विदेश मन्त्रालय संवाददाता, बीबीसी न्यूज

अमेरिकाकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनको भ्रमण स्थगित गर्नुभन्दा अगाडी नै संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध हालसम्मकै चिसो विन्दुबाट गुज्रिरहेको थियो।

उक्त सम्बन्धमा कुन तहको चिसोपन थियो भन्ने कुरा विदेश मन्त्री ब्लिङ्कनको भ्रमणको एक दिनअघि सन्दिग्ध ठानिएको चिनियाँ जासुसी बलुनले उनले सम्बोधन गर्न चाहेको समस्यालाई थप जटिल बनाइदिएको छ।

अन्ततः चिनियाँ विदेश मन्त्रालयले उक्त मानवरहित बलुन मौसमको अनुसन्धानका लागि प्रयोग गरिने गरेको र त्यो निर्धारित बाटो बिराएर त्यहाँ पुगेको प्रतिक्रिया दियो।

अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेकोमा खेद व्यक्त गर्दै बेइजिङले उक्त घटनाले पाँच वर्षपछि पहिलो पटक हुन लागेको अमेरिकी विदेशमन्त्रीको भ्रमणलाई छायामा नपारोस् भन्ने चाहेको सङ्केत दिन्थ्यो।

तर उक्त घटनाले क्षति पुर्‍याइसकेको थियो।

चीनले माफी मागेको केही घण्टामै अमेरिकी विदेश मन्त्रालयले उक्त भ्रमण स्थगित गरिएको घोषणा गर्‍यो।

गुमेको उच्च तहको छलफलको अवसर

अमेरिकी विदेशमन्त्री

तस्बिर स्रोत, EPA

सम्बन्ध कुन तहमा चिसिएको छ भने, भ्रमण हुने तथ्यलाई नै एउटा प्रसन्नताका रूपमा हेरिएको थियो।

तर अहिले त्यो गुमेको अवसर बन्न पुगेको छ।

अमेरिकी अधिकारीहरूले कुनै महत्त्वपूर्ण निर्णय नहुने बताएका थिए। उक्त भ्रमणको उद्देश्य कुराकानी मात्रै थियो।

विदेश मन्त्री ब्लिङ्कन “प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न चाहन्छन्।”

“त्यस्तो गर्नका लागि एउटा उपाय भनेको राम्रोसँग आपसी सञ्चार कायम हुने अवस्था सुनिश्चित गर्नु हो,” उनले अघिल्लो महिना एउटा सम्बोधनमा भनेका थिए।

त्यसको अर्थ नियमित सम्पर्कलाई पुनः कायम राख्नु र काम गर्ने सिद्धान्तहरू स्थापित गर्न चाहेको रूपमा लिन सकिन्छ।

“मलाई लाग्छ शितयुद्धको जस्तो अहिलेको अवस्थालाई द्रुत रूपमा सहज चरणतर्फ डोर्‍याएर क्युबाको क्षेप्यास्त्र सङ्कट टारेको जस्तै अवस्था बनाउने उद्देश्य थियो,” वासिङ्टन डिसीस्थित सेन्टर फर स्ट्रयाटिजिक एन्ड इन्टरन्याश्नल स्टडिजका चीन विज्ञ जुड ब्ल्यान्चेट भन्छन्।

विश्वका दुई अर्थतन्त्रबीचको सम्बन्धमा हालैका वर्षहरूमा कैयौँ चुनौती देखिएका छन्।

ट्रम्पकालीन व्यापार युद्ध, ताइवानलाई लिएर तनाव र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा अघि बढेको आक्रामक चीनले हालैका वर्षमा सम्बन्धलाई पछि धकेलिदियो। युक्रेनमाथिको रुसी हमलालाई निन्दा गर्न चीनले अस्वीकार गरेपछि उक्त सम्बन्धमा थप तिक्तता देखापर्‍यो।

त्यसपछि गएको नोभेम्बरमा विश्वका प्रमुख अर्थतन्त्रहरू सहभागी जी २० को शिखर सम्मेलनको मौका पारेर राष्ट्रपति जो बाइडन र राष्ट्रपति सीबीच भेटवार्ता भयो।

दुई नेताले द्वन्द्वलाई टार्ने इच्छा व्यक्त गरे र आफ्नो अभिव्यक्तिको आक्रामकता कम गरे।

विदेश मन्त्री ब्लिङ्कन त्यसलाई थप अघि बढाउन चाहन्थे।

सम्बन्धमा देखिएको नयाँ अन्योल

बलुनले नयाँ विवाद निम्त्याउनु अघिसम्म पनि चीन अमेरिका सम्बन्धमा धारणा राख्ने शैली भन्दा अन्य विषयमा खासै ठोस परिवर्तन देखा परेको थिएन।

अमेरिकीहरूले निरन्तर आर्थिक प्रतिबन्धहरू जारी राख्दै सो क्षेत्रमा सैन्य प्रभाव विस्तार कायम राखेका थिए जसले बेइजिङलाई क्रुद्ध बनाएको थियो।

हालैका हप्तामा जापान र द नेदरल्याण्ड्सले चीनमा निर्मित अत्याधुनिक चीप उत्पादन सम्बन्धि उपकरण निर्यात कटौती गर्ने सम्झौता वासिङटनसँग गरेका थिए।

यो बेइजिङको संवेदनशील सेमिकन्डकटर प्रविधिसम्मको पहुँचलाई सीमित तुल्याउने अमेरिकाको पछिल्लो प्रयास थियो। माइक्रोचीप आपूर्ति प्रणालीबाट चीनलाई अलग गर्न उक्त कदम अघि बढाइएको थियो।

“यसले के देखाउँछ भने प्रविधि हस्तान्तरणको सवालमा अमेरिका एकदमै कठोर धारणा लिइरहेको छ र आफ्ना साझेदारहरूलाई विश्वासमा लिएर अघि बढ्न खोजेको छ,” अमेरिका र चीनबीच चीप प्रविधिलाई लिएर उत्पन्न तनावका बारेमा पुस्तक लेखेका अन्तर्राष्ट्रिय इतिहासका प्राध्यापक क्रिस मिलर भन्छन्।

बलुन "गैर सैनिक" भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उक्त बलुन "गैर सैनिक" भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ

पछिल्ला केही दिनमा अमेरिकी सेनाले फिलिपिन्समा आफ्नो उपस्थिति विस्तार गर्न लागेको घोषणा गरेको थियो।

ताइवानमा तनाव देखापर्नसक्ने चिन्ता माझ क्षेत्रीय गठबन्धन निर्माण गरेर चीनलाई चुनौती दिन चालिएका कैयौँ कदमहरूमध्ये त्यो एक थियो।

तर बाइडन प्रशासन अझै पनि कुराकानी गर्न चाहन्थ्यो।

ब्ल्यान्चेटका अनुसार ह्वाइट हाउसले त्यसका लागि यो उपयुक्त समय भएको ठानेको थियो किनभने उसले आफ्ना पूर्ववर्ती डोनल्ड ट्रम्पका कदम भन्दा पर गएर बेइजिङसँग कठोर रहने नीतिलाई स्थापित गरेको थियो।

चीनप्रति आक्रामक अमेरिकी संसद्‌बाट पनि बाइडन प्रशासनले एक किसिमको समर्थन पाएको थियो।

तर बलुन प्रकरणले रिपब्लिकनहरूलाई चीनविरुद्ध कदम चाल्न आफ्नो सरकारसँग माग गर्ने मौका दिएको छ। उनीहरूले उक्त गतिविधिलाई ‘अमेरिकी सार्वभौमसत्ताप्रतिको निर्लज्ज उपेक्षाका’ रूपमा व्याख्या गरेका छन्।

विदेश मन्त्रालयका अधिकारीहरूले उनीहरूले आश नमारिसकेको र कूटनीतिक सम्पर्क माध्यमहरूबाट अर्को बैठकका लागि प्रयास हुनेमा जोड दिएका छन्।

तर उनीहरूले कुनै नयाँ मिति दिएका छैनन् जसले महत्त्वपूर्ण सम्बन्धमा देखिएको अन्योललाई सङ्केत गर्छ।

टेसा वङको थप रिपोर्टिङ