अमेरिकी आकाशमा जासुसी ठानिएको बलुन 'मौसम उपकरण': चीन

बलुन

तस्बिर स्रोत, Reuters

यसै साता अमेरिका र क्यानडाको आकाशमा देखिएको एक सन्दिग्ध बलुन "गैर सैनिक" भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ।

जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो।

चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उक्त बलुन "अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै खेद व्यक्त" गरेको छ।

यसअघि पेन्टागनका अधिकारीहरूले आफूहरू "उच्च स्थानमा उड्ने उक्त निगरानी बलुन चीनकै भएकोमा विश्वस्त रहेको" बताए।

अमेरिकी सैनिक नेतृत्वले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको थियो। तर गोली हानेर खसाल्दा त्यसमा जडित उपकरणहरूको टुक्राबाट जमिनमा रहेका मानिसहरूलाई क्षति पुग्न सक्ने जोखिम औँल्याइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ।

ह्वाइट हाउसले उक्त बलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ-२२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको पहिचान गोप्य राख्ने सर्तमा एक जना रक्षा अधिकारीले जानकारी दिए।

उक्त उड्डयन सामग्री बुधवार निकै कम जनसङ्ख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखियो। त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ।

पेन्टागनका अधिकारीहरूका अनुसार बुधवार खतराको आकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली लगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठक बसेका थिए।

सैन्य कमान्डरहरूले बलुनविरुद्ध "गति केन्द्रित कारबाही" नगर्न सल्लाह दिए। त्यसो गर्दा त्यसको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय छ।

अमेरिका र चीनको झन्डा

तस्बिर स्रोत, Getty Images

"त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएका"ले अमेरिकी गुप्तचरविरुद्ध "उल्लेखनीय रूपमा खतरा" नभएको वरिष्ठ रक्षा अधिकारीले बताए।

बलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा "धेरै" माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको उनले बताए।

अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जानकारी दिए।

"हामीले यस मुद्दालाई गम्भीरताका साथ लिएको बारे उनीहरूलाई जानकारी गराएका छौँ," अधिकारीले भने।

वासिङ्टन डिसीस्थित चिनियाँ दूतावासले यस विषयमा तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा प्रतिक्रिया जनाएन।

सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको अधिकारीहरूले बताए।

पेन्टागनमा बिहीवार भएको ब्रिफिङका क्रममा भने अधिकारीहरूले उक्त बलुन अहिले कहाँ छ भन्ने कुरा खुलाउन चाहेनन्। उनीहरूले त्यसको आकारसहित थप विवरणहरू उपलब्ध गराउन समेत अस्वीकार गरे।

"आकाशमा धेरै माथि भए पनि विमानचालकहरूले त्यसलाई देखेको विवरण आएका छन्," नाम नखुलाएका रक्षा अधिकारीले भने। "त्यसैले यो ठूलो छ।"

उनका अनुसार विगत केही वर्षहरूयता अमेरिकाको आकाशमा यस्तै बलुनहरू देखा परेका छन्।

तर अहिले देखिएको बलुन "लामो समयको लागि यताउता गरिरहेको देखिन्छ" र अघिल्ला जासुसी उपकरणहरूभन्दा "बढी दृढ" रहेको छ।

यो अमेरिकाको विशेष क्षेत्रमै किन देखियो भन्ने कुरा स्पष्ट छैन। बिलिङ्स माल्मस्ट्रोम एअर फोर्स बेसको करिब ४०० किलोमिटर दक्षिणपश्चिम भेगमा पर्छ। यो एअर बेस ती तीन अमेरिकी हवाई अड्डाहरूमध्ये एक हो जहाँ पारमाणविक योग्यता भएको माइन्यूटम्यान थ्री अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र राखिएको छ।

पेन्टागनका अधिकारीहरूले त्यही हवाई अड्डा निगरानी गर्ने उद्देश्य थियो कि भन्ने कुरा पुष्टि गर्न अस्वीकार गरे। तर "हालको उडान मार्ग प्रयोग गरेर निकै संवेदनशील क्षेत्रहरूमा जान सक्ने" कुरामा सहमत भए।

कथित जासुसी उपकरणहरूले बुधवार मोन्टानाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अन्योलमा पारेको छ।

मानिसहरूले आकाशमा पहेँलो गोलो वस्तुको तस्बिरहरू साझा गरे जुन चन्द्रमाबाट पर देखिन्थ्यो। अन्य केहीले उक्त क्षेत्रमा अमेरिकी सैन्य विमानहरू देखेको बताए।

फलस्वरूप, उड्डयन अधिकारीहरूले बिलिङ्स लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ग माइल एअरस्पेस दुई घण्टाको लागि बन्द गरे। यो घटना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको चीन भ्रमण अघि घटेको हो।

यी शीर्ष अमेरिकी कूटनीतिज्ञ अर्को साता बेइजिङमा सुरक्षा, ताइवान र कोभिड-१९ लगायतका विभिन्न विषयहरूमा वार्ता गर्न जाने बताइएको छ।