दक्षिण अफ्रिकी जलसेनाले किन रुस र चीनसँग सैन्य अभ्यास गर्न लागेको हो

रुसी युद्धपोतहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एड्मिरल गोर्शकोभको नेतृत्वमा अरू रुसी युद्धपोतहरू

दक्षिण अफ्रिकाले रुस र चीनसँग एउटा संयुक्त सैन्य अभ्यासमा भाग लिन लागेको छ।

जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको छ। संयुक्त राज्य अमेरिकाले त्यसको आलोचना गरेको छ।

दक्षिण अफ्रिका, रुस र चीनले के गर्दैछन्?

जलसेनाहरूको १० दिने संयुक्त अभ्यास फेब्रुअरी १७ देखि दक्षिण अफ्रिकाको तटनजिकै हिन्द महासगरमा हुनेछ।

दक्षिण अफ्रिकाको राष्ट्रिय डिफेन्स फोर्स (एसएएनडीएफ) ले उसको सशस्त्र बलका ३५० सदस्यहरू उक्त अभ्यासमा सहभागी हुने जनाएको छ।

रुसले जर्कन हाइपरसोनिक क्षेप्यास्त्रहरू बोक्ने एड्मिरल गोर्शकोभ नामक युद्धपोत पठाउने घोषणा गरेको छ। ती क्षेप्यास्त्रको वेग ध्वनिको भन्दा नौगुना बढी छ र तिनको मार हान्न सक्ने क्षमता १,००० किलोमिटर परसम्म छ।

दक्षिण अफ्रिकाको इन्स्टिट्यूट फर सेक्युरिटी स्टडीजका डेनिस रेभाका अनुसार मस्कोले "युक्रेन युद्धमा खेप्नुपरेको क्षतिका बाबजुद आफ्ना सशस्त्र बल अझै शक्तिशाली" छन् भनेर देखाउन खोज्नेछ।

एसएएनडीएफले उक्त अभ्यासबारे धेरै कुरा बताएको छैन। तर सन् २०१९ मा तीनवटा देशले संयुक्त सैन्य अभ्यास गर्दा सातवटा जहाजहरू संलग्न थिए।

त्यसमा प्रत्येक देशबाट एउटा युद्धपोत र इन्धन तथा निगरानीका लागि अरू पानीजहाजहरू प्रयोग गरिएका थिए।

उनीहरूले तटीय क्षेत्रमा लाग्न सक्ने आगलागी र आउन सक्ने बाढी र समुद्रमा हुने डकैती नियन्त्रणबाट पानीजहाजलाई फिर्ता ल्याउने विषयमा अभ्यास गरेका थिए।

यो संयुक्त अभ्यास दक्षिण अफ्रिकाका लागि किन विवादास्पद छ?

ह्वाइट हाउसका प्रवक्ताले ज्यानुअरीमा भनेका थिए, "युक्रेनविरुद्ध रुसले क्रुर युद्ध थालेकाले रुससँग अभ्यास गरिरहेका कुनै पनि देशप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ।"

विगतमा युक्रेन आक्रमणलाई निन्दा गर्दै राष्ट्रसङ्घले आयोजना गरेको मतदानमा दक्षिण अफ्रिका अनुपस्थित रहेको थियो।

उसले अमेरिका र युरोपसँग मिलेर रुसविरुद्ध प्रतिबन्धात्मक कदम कार्यान्वयन गर्न पनि अस्वीकार गरेको थियो।

हङ्‌कङमा राखिएको नोर्ड सुपरयाट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हङ्‌कङमा राखिएको नोर्ड सुपरयाट

प्रतिबन्ध लगाइएका रुसी धनाढ्य एलेक्सेइ मोर्डाशोभसँग जोडिएको नोर्ड सुपरयाटले केपटाउनमा बिसाउन अनुमति पाएको छ।

त्यसबाहेक रुसी मालवाहक पानीजहाज लेडी आरलाई दक्षिण अफ्रिकी जलसेनाको एउटा अखडामा सामान ओराल्न अनुमति दिइएको थियो। सरकारले त्यसमा पहिले नै खरिद गरिएको गोलीगट्ठा भएको बताएको थियो।

दक्षिण अफ्रिकाले सन् २०११ यता आफूले संयुक्त राज्य अमेरिकासँग चारवटा र फ्रान्स अनि जर्मनीसँग पनि अभ्यास गरेको जनाएको छ।

"सबै देशहरूले विश्वव्यापी रूपमा रहेका आफ्ना मित्रहरूसँग सैन्य अभ्यास गर्ने गर्छन्," दक्षिण अफ्रिकी विदेशमन्त्री नालेडी पान्डोरले ज्यानुअरी महिनामा रुसी राष्ट्रपति सर्गेइ लाभ्रोभको भ्रमणका क्रममा भनेकी थिइन्।

उनले कुनै देशले यस्ता अभ्यास गर्न पाउने र अरूले नपाउने भन्ने खालका अन्तर्राष्ट्रिय "दोहोरो मापदण्ड" को आलोचना गरेकी थिइन्।

दक्षिण अफ्रिकालाई रोक्न खोज्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुने उनको तर्क थियो।

यो सैन्य अभ्यासमा दक्षिण अफ्रिका किन सहभागी हुन लागेको हो?

दक्षिण अफ्रिकाका सशस्त्र बलहरूसँग पर्याप्त बजेट नरहेको तर बढी खट्नुपरिरहेकाले उनीहरू यो अभ्यासमा सहभागी हुन लागेको साउथ अफ्रिकन इन्स्टिट्यूट अफ इन्टरन्याश्नल अफेअर्सकी प्रमुख एलिजाबेथ सिडिरोपुलोस बताउँछिन्।

उनले जलसेनाको प्राथमिकता घरेलु जलक्षेत्रमा मत्स्यपालनको रक्षा गर्नु र हिन्द महासागरमा डाँकुहरूसँग जुझ्नु रहेको बताइन्।

"आफ्नो तटभन्दा परका सामुद्रिक डकैतीजस्ता विषयसँग जुझ्न अरू देशसँग मिलेर उसले आफ्नो क्षमता बढाउनुपर्ने हुन्छ," उनले भनिन्।

रुसी विदेशमन्त्रीसँगको पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकी विदेशमन्त्रीले उक्त अभ्यासको प्रतिरक्षा गरेकी थिइन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसी विदेशमन्त्रीसँगको पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकी विदेशमन्त्रीले उक्त अभ्यासको प्रतिरक्षा गरेकी थिइन्

देशको सत्तारूढ दल अफ्रिकन न्याश्नल कङ्ग्रेसको रुससँग लामो सम्बन्ध पनि रहेको छ।

लन्डनस्थित एउटा थिङ्कट्याङ्क च्याटम हाउसका डा. एलेक्स भाइन्सका अनुसार त्यो सम्बन्ध सन् १९९४ को अल्पसङ्ख्यक श्वेतशासनभन्दा अघिको समयबाटै अस्तित्वमा छ।

"एएनसीका पाका नेताहरू भावनात्मक रूपमा मस्कोसँग नजिक छन् किनभने रुसले निरन्तर उसको सङ्घर्षलाई साथ दिएको छ," उनले भने। "त्यही भएर युक्रेनलाई लिएर दक्षिण अफ्रिकाले रुसलाई पिठ्यूँ फर्काउन गाह्रो हुन्छ।"

रुस, चीन र दक्षिण अफ्रिकाको आधुनिक सम्बन्ध पनि छ। उनीहरू सबै ब्रिक्स गठबन्धनका सदस्य हुन्।

ब्रजिल र भारतलाई पनि समेट्ने उक्त गठबन्धनले विश्वका अग्रणी अर्थतन्त्रहरूलाई समेट्ने गर्छ।

रुस र चीन के चाहन्छन्?

सिडिरोपुलोसका अनुसार यो वर्षको अभ्यासबाट रुसलाई नै धेरै फाइदा हुने देखिन्छ।

"रुसले आफ्नो शक्ति बाहिर पनि रक्षा गर्न सक्छ र उसका साझेदारहरू संसारभरि छन् भन्ने यसले देखाउँछ।"

"यसले उनीहरूलाई पूरै विश्व रुसविरुद्ध उभिएको छैन भनेर भन्न मौका दिनेछ। मात्रै पश्चिमा जगत् रुसविरुद्ध छ भन्ने अवसर उनीहरूले पाउनेछन्।"

डा. भाइन्सका अनुसार चीन आफ्ना बन्दरगाहबाट अफ्रिकास्थित गन्तव्यका लागि निस्किने पानीजहाजको मार्ग खुल्ला रहोस् भन्ने पनि चाहन्छ।

ऊ अफ्रिकी तटनजिकै हिन्द महासागरमा पनि आफ्नो जलसेनाको प्रभाव कायम राख्न चाहन्छ।

"त्यो अन्तर्राष्ट्रिय पानीमा आफ्नो नाविकहरूलाई पठाउने कुरा हो। चीनले अहिले नै डाँकुहरूसँग जुध्न जिबुटीलाई पूर्वी अफ्रिकी तटको जलसेनाको आधारशिविरका रूपमा प्रयोग गरिरहेको छ र सम्भवतः उसले थप शिविरहरू प्राप्त गर्ने अपेक्षा गरिरहेको छ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्धका ३०० दिनमा रुसको आक्रमण र युक्रेनको प्रतिरक्षा