बम विस्फोटनमा युद्ध समर्थक सैन्य ब्लगरको मृत्यु, के भन्छ रुस

तस्बिर स्रोत, VLADLEN TATARSKY/TELEGRAM
सेन्ट पिटर्सबर्गको एक क्याफेमा भएको विस्फोटनमा परेर एक प्रभावशाली रुसी सैन्य ब्लगर भ्लाद्लेन तातार्स्कीको मृत्यु भएको रुसको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ।
उनी युक्रेनमाथि रुसले सुरु गरेको युद्धको प्रखर समर्थक थिए।
उक्त घटनालाई "हत्या" मानेर अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।
त्यहाँको स्ट्रीट फुड बार नम्बर वनमा भएको विस्फोटनमा कम्तीमा २५ जना घाइते भएको बताइएको छ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा विस्फोटन भएको र घाइते मानिसहरू देखिन्छ।
तर उक्त घटनाका लागि को जिम्मेवार छ भन्ने चाहिँ अझै स्पष्ट हुन सकेको छैन।


रुसको युद्धका प्रखर समर्थक
भ्लाद्लेन तातार्स्की (वास्तविक नाम मास्किम फोमिन) युक्रेनमा जारी रुसी युद्धका समर्थक थिए।
विस्फोटन हुँदा उनी उक्त क्याफेद्वारा आयोजित एउटा कार्यक्रममा अतिथि वक्ताका रूपमा सहभागी हुन गएका थिए।
विस्फोटक वस्तुका बारेमा रुसी सञ्चारमाध्यममा फरकफरक विवरणहरू आएका छन्।

तस्बिर स्रोत, ICRF PRESS SERVICE/ EPA
रुसी सरकारी सञ्चारमाध्यममा आन्तरिक मन्त्रालय स्रोतहरूलाई उद्धृत गरिँदै जनाइएअनुसार तातार्स्कीलाई एउटा बाकसमा मूर्ति उपहार दिइएको थियो जसभित्र बम लुकाइएको थियो।
विस्फोटनपछि टेलिग्राममा फैलिएको भिडिओमा उनलाई मूर्ति हस्तान्तरण गरिएको र त्यसबारे ठट्टा गरिएको देख्न सकिन्छ।
तर बीबीसीले त्यसमा विस्फोटक पदार्थ थियो भन्ने कुराको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।


'अरूभन्दा भिन्न'
अन्य रुसी सैन्य ब्लगर र युक्रेनमा रहेका सरकारी सञ्चारमाध्यमका पत्रकारभन्दा तातार्स्की अलिक भिन्न थिए। उनी सैन्य कारबाहीहरूमा हतियार बोकेर सहभागी भएको बीबीसी रसियन संवाददाता ओल्गा इभ्शिना बताउँछिन्।
उनले युक्रेनस्थित युद्धमोर्चाहरूबाट रिपोर्टहरू लेखेका छन्। गत वर्ष क्रेम्लिनभित्र खिचिएको एउटा भिडिओ राखेपछि उनी निकै आलोचित बनेका थिए।
उक्त भिडिओमा उनले भनेका थिए: "हामी सबैलाई परास्त गर्ने छौँ, हामी सबैलाई मार्ने छौँ, आवश्यक परे हामी सबैलाई लुट्ने छौँ। हामीलाई मन लागे जसरी।"

तस्बिर स्रोत, EPA
आंशिक रूपमा चारवटा अधीनस्थ युक्रेनी भूभागलाई रुसमा गाभेपछि त्यतिबेला राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेम्लिनमा एउटा कार्यक्रम आयोजना गरेका थिए।
युक्रेनी भूमिलाई रुसमा गाभेको रुसी घोषणाको अन्तर्राष्ट्रिय स्तरमा चर्को निन्दा भएको थियो।
आइतवार के भयो
आइतवार विस्फोटन भएको क्याफे त्यसअघि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर ग्रूपका प्रमुख येभ्गेनी प्रिगोजिनको स्वामित्वमा रहेको जानकारी सेन्ट पिटर्सबर्गको समाचार साइट फोनटान्काले दिएको छ।
सेन्ट पिटर्सबर्ग राष्ट्रपति पुटिनको गृहनगर हो। त्यहाँबाट नै उनको राजनीतिक उदय भएको हो।
तातार्स्कीको टेलिग्राममा पाँच लाखभन्दा धेरै फलोअरहरू छन्। त्यहाँ उनी र अन्य सैन्य ब्लगरहरूले युक्रेनमा जारी रुसी अभियानका केही पक्षको आलोचना गरेका छन्।
'साइबर फ्रन्ट जेड' भनिने तथा टेलिग्राममा आफूलाई "रुसको सूचना फौज" का रूपमा चिनाउने समूहले घटना भएको साँझकa लागि उक्त क्याफे आफूले भाडामा लिएको जनाएको छ।
"त्यहाँ आतङ्कवादी आक्रमण भयो। हामीले केही सुरक्षा उपाय अपनाएका थियौँ तर दुर्भाग्यवश त्यो पर्याप्त भएन," टेलिग्राममा उसले लेखेको छ।

तस्बिर स्रोत, Reuters
"उत्कृष्ट युद्ध संवाददाता र हाम्रा साथी भ्लाद्लेन तातार्स्कीलाई चिन्ने सबैप्रति समवेदना।"
गत अगस्टमा मस्कोमा भएको एउटा कार बम आक्रमणमा पत्रकार तथा रुसी सेनाकी प्रखर समर्थक डार्या डुगिनाको मृत्यु भएको थियो।
उनी पुटिनका निटक सहयोगी तथा उग्रराष्ट्रवादी दर्शनशास्त्री अलेक्जान्डर डुगिनकी छोरी थिइन्।
तातार्स्कीबारे हामीलाई अरू के थाहा छ
बीबीसीकी ओल्गा इभ्शिनाका अनुसार भ्लाद्लेन तातार्स्कीले सन् २०१४ मा रुसी पृथक्तावादी फौजमा काम गरेका थिए। त्यतिखेर उक्त फौजले पूर्वी युक्रेनमा पर्ने डोनेत्स्क र लुहान्स्कको एउटा भागलाई कब्जा गरेको थियो।
उनको जन्म डोनेत्स्क क्षेत्रको माकिइभ्कामा भएको थियो।
तातार्स्की स्वयंका अनुसार उनी सशस्त्र लुटपाटको अभियोगमा जेल परेका थिए अनि त्यहाँबाट मुक्त भएपछि डोनेत्स्कका विद्रोहीहरूसँग मिलेका थिए।
डोनेत्स्क रुसले आफ्नो देशमा गाभेको दाबी गरेको एउटा भूभाग हो।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा अतिक्रमण सुरु गरेपछि तातार्स्की पनि युद्धभूमिमा फर्किए अनि सामाजिक सञ्जाल र रुसी सरकारी टेलिभिजनमा प्रतिक्रियाहरू दिन थाले।
उनले आफूले सैन्य ड्रोनहरू उडाउन र सैन्य सुदृढीकरणमा सहयोग गरेको दाबी गरेका थिए।



तस्बिर स्रोत, Reuters
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले तातार्स्कीको प्रशंसा गर्दै उनी युक्रेनका लागि "खतरनाक रहेको" र "अन्त्यसम्म उनले आफ्नो कर्तव्य वीरतापूर्वक निर्वाह गरेको" टिप्पणी गरेकी छन्।
टेलिग्राममा लेख्दै उनले पश्चिमा देशहरूले उनीमाथि भएको आक्रमणको निन्दा नगरेको भन्दै तितो पोखेकी छन्।
युक्रेनी राष्ट्रपतिका एक सल्लाहकारले ट्वीट गर्दै रुसभित्र राजनीतिक अन्तर्द्वन्द्व बढेको र उक्त विस्फोटनले रुसमा "आन्तरिक आतङ्कवाद" फैलिन थालेको दाबी गरेका छन्।
गत वर्ष अगस्टमा डार्या डुगिनालाई लक्ष्य गरी भएको विस्फोटनमा युक्रेनको हात भएको भन्ने आरोपको मिखाइलो पोदोल्याकले खण्डन गरेका थिए।











