पेन्टागन लीक्सः अमेरिकाले राष्ट्रसङ्घका महासचिवमाथि जासुसी गरेको सङ्केत

राष्ट्रसङ्घ महासचिव

तस्बिर स्रोत, AFP

    • Author, पोल एडम्स
    • Role, बीबीसी कूटनीतिक संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको धारणा संयुक्त राज्य अमेरिकाको राखेको सङ्केत भर्खरै इन्टरनेटका विभिन्न माध्यममा चुहिएका गोप्य दस्तावेजहरूले गरेका छन्।

ती दस्तावेजले वाशिङ्टनले एन्टोनियो गुटेरसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत पनि गरेका छन्।

केही दस्तावेजमा गुटेरस र उनका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समाविष्ट छन्।

चुहिएका गोप्य दस्तावेजमध्ये सबैभन्दा पछिल्लोमा यस्तो विवरण सार्वजनिक हुँदा अमेरिकी अधिकारीहरू ती कसरी सार्वजनिक भए भनेर खोज्न थालेका छन्।

ती दस्तावेजमा युक्रेन युद्ध र कैयौँ अफ्रिकी नेताहरूका बारेमा गुटेरसको धारणा उल्लेख गरिएका छन्।

राष्ट्रसङ्घका महासचिवबारे के भनिएको छ

एउटा चुहिएको दस्तावेज विश्वव्यापी खाद्यान्न सङ्कटको भयका माझ राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा गरिएको ब्ल्याक सी अन्न सम्झौताबारे केन्द्रित छ।

दस्तावेजमा "प्रतिबन्धित निकाय वा व्यक्ति सम्बन्धित भएको अवस्थामा समेत" राष्ट्रसङ्घका महासचिव गुटेरसले "निर्यात गर्ने रुसको सामर्थ्य सुधार गर्ने आफ्नो प्रयासमा जोड दिए” भनिएको छ।

ती दस्तावेजमा गरिएको विश्लेषणअनुसार फेब्रुअरी महिनामा उनका गतिविधिले "युक्रेनमा चालेको कदमका लागि मस्कोलाई उत्तरदायी बनाउने बृहत् प्रयासलाई अवमूल्यन" गरेको थियो।

रेखा
रेखा

के छ राष्ट्रसङ्घको प्रतिक्रिया?

महासचिव गुटेरस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीहरूले आक्रोश व्यक्त गरेका छन्।

गुटेरसको प्रयासमाथिको अमेरिकी व्याख्याप्रति राष्ट्रसङ्घका कर्मचारीहरू स्पष्ट रूपमा खुसी छैनन्।

अनि उनीहरूले गुटेरसले रुसी युद्धप्रतिको आफ्नो विरोध स्पष्ट रूपमा व्यक्त गरेको बताउँदै आएका छन्।

यद्यपि चुहिएका दस्तावेजका बारेमा प्रतिक्रिया नजनाउने भन्दै एक वरिष्ठ अधिकारीले "विश्वका सबैभन्दा गरिब वर्गमा युद्धले पार्ने प्रभाव कम गर्नुपर्ने आवश्यकताका आधारमा" राष्ट्रसङ्घ अघि बढेको बताए।

“त्यसको अर्थ हामीले खाद्यान्नको मूल्य घटाउन के गर्न सक्छौँ त्यो गर्नुपर्छ भन्ने हो,” उनले भने। “अनि रासायनिक मल अत्यावश्यक रहेका देशलाई त्यसमा पहुँच दिनुपर्छ भन्ने हो।”

युक्रेन युद्ध

तस्बिर स्रोत, Reuters

रुसले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले आफ्नो अन्न र रासायनिक मल आपूर्तिलाई नकारात्मक असर गरिरहेको बारम्बार गुनासो गरिरहेको छ।

उसले आफ्ना चासोहरू सम्बोधन नगरिए ब्ल्याक सी ग्रेन इनिशटिभसँगको सहकार्य स्थगित गर्ने चेतावनी दिएको छ।

रुसमा उत्पादित अन्न र मलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध छैन तर रुसले ढुवानी र बीमामा समस्या भोगिरहेको जनाएको छ।

अफ्रिकी नेताको विषय के हो?

मध्य फेब्रुअरीको अर्को दस्तावेजमा गुटेरस र उनकी उपमहासचिव अमिना जे मोहम्मदबीचको कुराकानी उल्लेख गरिएको देखिन्छ।

त्यसमा गुटेरसले युरोपेली आयोगकी अध्यक्षले युरोपले थप अस्त्र तथा गोलिगट्ठा उत्पादन गर्नुपर्ने भन्ने धारणा राखेकोमा "असन्तुष्टि" व्यक्त गरेका छन्।

दुई जनाबीच केही समयपहिले भएको अफ्रिकी नेताहरूको सम्मेलनबारे समेत छलफल भएको थियो त्यसमा अमिना मोहम्मदले केन्याका राष्ट्रपति "संवेदनाहीन भहेको" र आफूले उनलाई "विश्वास नगर्ने" बताएकी थिइन्।

राष्ट्रसङ्घमाथि नियमित रूपमा जासुसी गर्ने देशमा अमेरिका पनि पर्छ भन्ने विषय धेरैलाई थाहा छ।

तर उक्त जासुसीको परिणामस्वरूप तयार कागजपत्र बाहिरिएपछि त्यो ज्यादै लाजमर्दो हुने र त्यसले क्षतिसमेत निम्त्याउने सम्भावना रहन्छ।

अमेरिकी प्रतिक्रिया

बीबीसीले पुष्टि गर्न सकेका यी दस्तावेज सबैभन्दा पहिले डिस्कर्ड नामक सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए जुन अनलाइन खेल खेल्ने मानिसहरूमाझ लोकप्रिय छ।

त्यसपछि यो कैयौँ अरू छलफलहरूका च्यानलमा शेअर गरिएको थियो।

डिस्कर्डले उक्त चुहावटका बारेमा कानुन कार्यान्वयन गर्ने निकायहरूसँग सहकार्य गरिरहेको जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले ती चुहावटका गहिराइसम्म पुग्ने प्रयास भइरहेको बताएका छन्।

प्रवक्ता जन किर्बीले पेन्टागन लीक्सलाई खतरनाक चुहावटको सङ्ज्ञा दिँदै यसले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा विश्लेषण भइरहेको र फौजदारी अनुसन्धान अघि बढाइएको बताए।