युक्रेन युद्ध: द्वन्द्वका कारण यसरी रुसी परिवारभित्रै देखा पर्दैछ मतभेद

तस्बिर स्रोत, Anastasia Popova
- Author, बीबीसी आई इन्भेस्टिगेशन्स
- Role, वर्ल्ड सर्भिस
भाइको शवपेटिका भुइँमा राखेसँगै उल्याना रुन थाल्छिन्।
उनका २३ वर्षीय भाइ भान्या युक्रेनमा युद्धको अग्रपङ्क्तिमा मारिएका रुसी सैनिक थिए। उल्याना उनको अन्तिम संस्कारमा सहभागी हुन गइन्।
"त्यहाँ उनीहरूले एक नायकको मृत्यु भएको बताए," उनले भनिन्।
"मेरो मनमा प्रश्न उठ्यो 'यहाँ नायक भन्नुको अर्थ के हो?' यो निरर्थक छ। म मेरो दिवङ्गत भाइका लागि कुनै उपाधि वा उपनाम चाहन्नँ।"
उनका बुबा बोरिस पुत्रशोकमा छन्। यद्यपि उनी भने भान्याले देशको निम्ति लड्दै गर्दा ज्यान गुमाएकोमा गर्व गर्छन्।
उनका लागि द्वन्द्व भनेको "फासीवादको प्रचार गर्ने सरकार"विरुद्धको लडाइँ हो।
यो विचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका शब्दहरूको झल्को पाइन्छ।
पुटिनेल युक्रेनलाई नाजीवादबाट मुक्त गर्न सहयोग गरिरहेको दाबी गर्दै आएका छन्।
उनले युक्रेन सरकारले नरसंहार गरेको आरोप लगाउँदै आएका छन्। तर त्यस्तो आरोप पुष्टि गर्ने प्रमाण भने छैन।
"भान्याको मृत्यु हुनुअघि हामीले कहिल्यै पनि युद्धको विषयमा छलफल गरेका थिएनौँ," उल्याना बुबासँगको आफ्नो सम्बन्धबारे चर्चा गर्दै भन्छिन्, "तर भाइको मृत्युपछि हामीबीच यस विषयमा निकै कडा बहस भयो।"
बीबीसी स्टोरीभिलको एउटा नयाँ फिल्मका लागि यी बुबा र छोरीले युद्धको बारेमा बहस गरेका छन्। उनीहरूबीच भएको जस्तै छलफल आज रुसका धेरै परिवारमा चलिरहेको छ।
कानुनले सेनालाई बदनाम गर्ने वा सैन्य कारबाहीलाई "विशेष सैन्य कारबाही"को साटो युद्धको रूपमा चित्रण गर्ने टिप्पणीहरूलाई निषेध गरेको छ।
त्यसैले युक्रेनविरुद्ध रुसको आक्रमणबारे त्यहाँका सर्वसाधारणले के महसुस गर्छन् भन्ने अनुमान गर्न गाह्रो छ।
तर एउटा स्वतन्त्र रुसी अनुसन्धान समूहद्वारा सन् २०२२ को नोभेम्बरमा प्रकाशित एक सर्वेक्षणको नतिजाले युद्धले भिन्नाभिन्नै पुस्तामा मतविभाजन गरिदिएको देखाउँछ।
उमेरले ४० वर्ष र त्यसभन्दा माथिका ७५ प्रतिशत सहभागीले युद्धको समर्थन गरे। त्यस्तै १८ देखि २४ वर्ष उमेर समूहका ६२ प्रतिशत सहभागीहरूको मत भने फरक छ।

तस्बिर स्रोत, Anastasia Popova
रुसी चलचित्र निर्माता अनास्तासिया पोपोभाले वृत्तचित्र छायाङ्कन गर्न देशभरिको यात्रा गर्ने क्रममा उक्त अध्ययनको नतिजा आफ्नो धारणासँग मेल खाएको बताइन्।
"मैले परिवारका सदस्यहरूबीच धेरै मतभेद भएको देखेँ। हरेक क्षण राज्यद्वारा सञ्चालित टीभी हेर्ने सोभियत सङ्घको समयमा हुर्किएको पुस्ताले युद्धलाई समर्थन गरेको पाएँ। उनीहरूका छोराछोरीहरू भने प्रायः युद्धविरुद्ध थिए। मेरो आफ्नो परिवारमा पनि उस्तै विभाजन उत्पन्न भएको छ," उनले आफ्नो बुबाले सैन्य कारबाहीलाई समर्थन गरेको बताउँदै भनिन्।
समाचारका लागि राज्यद्वारा सञ्चालित टीभीमा भर पर्नु भनेको दैनिक रुसको सरकारी आधिकारीहरूको कथ्यमा ध्यान केन्द्रित गर्नु हो।
उल्याना र उनको उमेर समूहका अन्यले भने यूट्यूब र सामाजिक सञ्जालजस्ता माध्यमबाट जानकारी सङ्कलन गर्ने सम्भावना बढी हुन्छ।
"माफ गर्नुहोस्, तर म आफूले महसुस गरिरहेको पीडा अलिकति पनि अभिव्यक्त गर्न सक्दिनँ," उल्यानाले भनिन्।
युद्धले मानिसहरूलाई परिवर्तन गरेको उनको बुझाइ छ।
"म मस्कोमा गुड्ने मेट्रोमा मानिसहरूलाई हेर्छु। उनीहरू समाचार पढ्छन्, त्यसपछि पर हेर्छन्। अब त एउटा मान्छेले अर्को मान्छेको आँखामा हेर्न छोडेको छ," उनले भनिन्।
पोपोभाले ठूला सहरबाहिर उल्लेख्य सङ्ख्यामा मानिसहरूले युद्धको समर्थन गरेको कुरामा जोड दिइन्।
मस्कोबाट ९७ किलोमिटर टाढा रहेको आफ्नो गाउँ आर्कान्जेल्स्कोमा भान्याको अन्तिम संस्कारको छायाङ्कन गर्दै गर्दा यो कुरा स्पष्ट भएको उनी बताउँछिन्।

तस्बिर स्रोत, Anastasia Popova
उल्याना आफ्नो भाइलाई नायकको मान्यता दिइएको क्षणबारे पनि बोल्छिन्।
"मैले ती मानिसहरूलाई नियालिरहेकी थिएँ। तब मलाई उनीहरूले आफूले बोलेका शब्दहरूमा साँच्चै विश्वास गर्छन् भन्ने लाग्यो," उनी भन्छिन्,"उनीहरूले भान्या एक सच्चा देशभक्त भएको र आफ्नो मातृभूमिको रक्षा गर्दागर्दै नायक बनेर मरेको बताएका थिए।"
"मलाई थाहा छ केही अनुचित कुरा भइरहेको छ। युद्धमोर्चामा कसलाई बचाउन हामी होमिनुपर्ने हो? हाम्रा युवाहरू केका लागि मरिरहेका छन्? मैले मेरो भाइलाई कफिनमा ल्याइनेछ भन्ने कुरा कल्पना समेत पनि गरेकी थिइनँ।"
भान्या चार भाइबहिनीमध्ये कान्छो र एक मात्र छोरा थिए।
"ऊ निकै लोकप्रिय थियो," उल्याना भन्छिन्।
"ऊ निकै उदार वातावरणमा हुर्किएको थियो," बोरिस भन्छन्। "कला र सङ्गीत सिक्ने विद्यालय, खेलकुद... मैले आफूले देखेको सपना सबै उसलाई हस्तान्तरण गरेको थिएँ।"
घरबाट निस्किएपछि भान्या सिर्जनशील लेखन पढ्न मस्कोको एउटा साहित्यिक संस्थानमा गएका थिए।
उनले बोल्शोई नाट्यशालासहित अन्यको प्रयोगात्मक प्रस्तुतिहरूमा अभिनय पनि गरेका थिए।
बोरिसका अनुसार विवाह गर्न नचाहने एउटी युवतीसँग प्रेममा परेपछि भान्याको निकै पीडामा परेका थिए।
"यो संसार जीवनबारे आफ्नै दृष्टिकोण र नैतिक मापदण्डसहितको रङ्गमञ्च हो। पारिवारिक मूल्यहरूका बाबजुद पुरुष र महिलाले खुला रूपमा सम्बन्ध राख्छन्," बोरिस भन्छन्।

तस्बिर स्रोत, Ivan
भान्या नाट्यकर्ममा निकै खुसी देखिएको उल्याना बताउँछिन्। तर उनीहरूका बुबाले भने रङ्गमञ्चका कारण छोरा केही समस्यामा परेको बताए।
"ऊ उनीहरूको संसारप्रतिको बुझाइबारे सन्तुष्ट थिएन। उनीहरू रुसबारे सधैँ नकारात्मक छन्। उनीहरूका लागि रुसीहरू कोही होइनन्। उनीहरू आफ्ना पुर्खा र रुसको सम्पूर्ण इतिहास नै निरर्थक ठान्छन्। तर उसको विचार त्यस्तो थिएन। हामीले यसबारे कुरा गरेका थियौँ।"
त्यसैले आफू र भान्या उनले सेनामा भर्ती हुने निष्कर्षमा पुगेको बोरिस बताउँछन्।
"सिर्जनात्मक कलाको क्षेत्रमा तपाईँलाई जीवन उपयोगी अनुभव चाहिन्छ," बोरिस भन्छन्।
"त्यस्तो अनुभव कहाँ पाइन्छ भनेर खोज्दै जाँदा हामीले महान् लेखकहरूको सुझाव पछ्याउने निर्णय गर्यौँ। र उनीहरूको सुझाव थियो - सेनामा भर्ती हुनू।"
भान्या अनिवार्य सेवाको निम्ति सेनामा भर्ती भएका थिए। त्यसपछि थप रोचक चुनौतीहरूको खोजीमा थप सैन्य सम्झौता गरे।
उनी गत वर्ष फेब्रुअरीमा युक्रेनका सहरहरूमा व्यापक आक्रमण गर्दा रुसले कब्जा गरेको क्राइमियाको सेभास्टोपोल सहरमा खटिएका सैनिक थिए।
युक्रेनको बन्दरगाह सहर मारिऊपोल पठाउनुअघि उनलाई आफ्नो परिवारसँग बिदा माग्न भनिएको थियो।
"हामीले लामो समयसम्म कुरा गरेका थियौँ, एक घण्टाभन्दा बढी," उल्याना भन्छिन्।
"उसको आँखामा आँसु थियो। मैले उसलाई भनेको थिएँ 'भान्या, मलाई तिम्रो वरपर के छ देखाऊ।' उसले मलाई मशीनगन देखायो। ठ्याक्कै त्यसरी नै जसरी उसले सानो छँदा मलाई आफ्नो खेलौना देखाउने गर्थ्यो।"
बोरिसले उनलाई भान्याले पठाएको भिडिओ सन्देश देखाए। "हाम्रो कार्य न्यायोचित छ," भान्याले भनेका छन्। "सबैलाई सम्झना। म त्यहाँ पुगेपछि लेख्नेछु। अँगालोभरिको माया।"

तस्बिर स्रोत, Anastasia Popovaa
"त्यो नै उसले बोलेका अन्तिम शब्दहरू थिए," बोरिसले भने।
उनको गत मार्च १५ मा मारिऊपोलको एजोभ्स्टल स्टील उद्योगनजिकै मृत्यु भएको थियो।
उनको मृत्युपछि उल्याना र बोरिसमा युद्धबारे भिन्न धारणा देखियो।
बोरिसले उल्याना सोभियत गणतन्त्रहरूको "भाइचारा" बुझ्न उमेरले निकै सानो भएको टिप्पणी गरे।
सोभियत सङ्घको पतनले "धेरै पुस्ताको मानसिकतामा प्रभाव पारेको र रुसीहरू उनीहरूका शत्रु थिए भन्ने कुरा स्थापित गरिदिएको" उनको तर्क छ।
उनको बोलीमा राष्ट्रपति पुटिनको झझल्को आउँछ जसले सोभियत साम्राज्यको पतनलाई "बिसौँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप"को सङ्ज्ञा दिएका छन्।
युक्रेनले सन् १९९१ मा सोभियत सङ्घको पतन हुनुभन्दा केही समयअघि नै स्वतन्त्रता घोषणा गरेको थियो।
रुसी राष्ट्रपति पुटिन युद्धको दोष नेटो र पश्चिमा देशहरूलाई दिन्छन्।
उनीहरूले रुसलाई कमजोर बनाउन र अन्त्यमा नष्ट पार्न खोजिरहेको पुटिनको आरोप छ। बोरिसले पनि सोही कथ्यलाई आफ्नो विचारको आधार बनाएका छन्।
"आजको सन्दर्भमा 'युद्धलाई वर्जित गर्नु'को अर्थ एउटै छ - 'रुसीहरूको मृत्यु।' यो रुसी विश्वका लागि, रुसी मनहरूका लागि र हाम्रो संस्कृतिको लागि गर्नुपर्ने सङ्घर्ष हो," बोरिसले उल्यानालाई भने।
उल्याना यस्तो धारणा राख्दिनन्। यद्यपि कहिलेकाहीँ उनी पनि केही बहकिन्छिन्।

तस्बिर स्रोत, Ivan
पोपोभाले उल्याना जोर्जामा छुट्टी मनाउन गएको बेलाको दृश्य खिचेकी छन्।
प्रतिबन्धका कारण रुसीहरूले भ्रमण गर्न सक्ने सीमित देशहरूमध्ये जोर्जा पनि पर्छ। त्यहाँ उल्याना र उनका साथीहरूले खाना खाँदै गर्दा युद्धको विषयमा छलफल गर्छन्। त्यहाँ उल्यानाले तथ्यहरूमाथि प्रश्न गर्न थाल्छिन्।
"म मेरो भाइले व्यर्थमा ज्यान गुमाएको होइन भन्ने कुरामा विश्वास गर्न चाहन्छु। तपाईँ हारको औचित्य पुष्टि गर्न खोज्नुहुन्छ। यो धेरै पीडादायी छ। तपाईँको भरोसाको केन्द्र केही त हुनुपर्छ," उल्याना आफ्नो विचार राख्छिन्।
भान्याको घरमा परिवारले उनको नाममा एउटा स्मारक बनाएको छ। त्यहाँ उनको मृत्यु भएको मारिऊपोलको माटो राखिएको छ। कहिलेकाहीँ बुबा र छोरी त्यसको अघिल्तिर एकसाथ उभिएको देखिन्छन्।
उल्याना तमाम मतभेदहरूका बाबजुद आफ्नो बुबासँग राम्रो सम्बन्ध कायम राख्न चाहन्छिन्।
"म आफ्नै बुबाको विरुद्ध लड्न सक्दिनँ। म उहाँलाई 'हाम्रा असहमतिहरूका कारण तपाईँलाई घृणा गर्छु भन्न सक्दिनँ।' म यति मात्र भन्न सक्छु - बुबा, म तपाईँको तर्कमा सहमत छैन।"

यो पनि हेर्नुहोस्









