युक्रेन युद्ध: जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयविरूद्ध रुसमा ठूला प्रदर्शन

तस्बिर स्रोत, Getty Images
रुसमा युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने मस्कोको निर्णयविरुद्ध देशभर जारी प्रदर्शनबीच सयौँ मानिसहरूलाई पक्राउ गरिएको एउटा स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ।
ओभीडी-इन्फोका अनुसार ७२४ जना मानिसहरू शनिवार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ परेका थिए।
राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन्।
पूर्वस्वीकृति बिनाका र्यालीहरू रुसी कानुन अन्तर्गत प्रतिबन्धित छन्।
तर नागरिकलाई सेनामा भर्ती गर्ने पुटिनको कदमले सहरी क्षेत्रमा ठूला प्रदर्शनहरू निम्त्याएका छन्।
विरोधमा के भनिएको छ?
गत साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए।
समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा "हामी तोपको चारा होइनौँ" भन्दै चिच्याएको देखिएको थियो।
र रुसको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई "म पुटिनका लागि युद्धमा जान चाहन्न" भनेका थिए।
७० वर्षीय नताल्या दुबोभाले एएफपीसँग कुरा गर्दै आफू युद्धको विपक्षमा उभिएको बताइन्।
उनले लडाइँमा पठाउने आदेशले "युवाहरू चिन्तित बनेको" बताइन्।
दबाव
शनिवार पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाइएको र सुरक्षा नियन्त्रणमै रहेका बेला उनीहरूलाई भर्ती केन्द्रहरूमा जान भनिएको बताइएको छ।
क्रेमलिनले गत साताको सुरुमा यस अभ्यासको प्रतिरक्षा गर्दै "त्यो कानुन विपरीत नभएको" जनाएको थियो।

तस्बिर स्रोत, Getty Images
मस्कोले भर्तीपछि जिम्मेवारी पालन नगरेको आरोप लाग्नेहरूमाथि कठोर सजायको व्यवस्था समेत स्वीकृत गरेको छ।
शनिवार पुटिनले हस्ताक्षर गरेको आदेशमा आत्मसमर्पण गर्ने, जिम्मेवारी छाड्ने वा लड्न अस्वीकार गरेको पाइएका मानिसहरूलाई १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ।
विदेशीलाई समेत खुला
राष्ट्रपतिद्वारा जारी आदेशमा आफ्नो देशको सेनामा एक वर्ष काम गर्न चाहने जुनसुकै विदेशी नागरिकलाई रुसी नागरिकता दिने समेत जनाइएको छ।
जानकारहरूका दृष्टिमा यस आदेशले मस्कोसामु रहेको गम्भीर सैन्य सङ्कटको अवस्था देखाउँछ।
यसअघि रुसी नागरिक हुन त्यहाँ पाँच वर्ष बसेको हुनुपर्थ्यो।
देश छाड्ने लहर
अन्यत्र युवा रुसीहरू सैन्य सहभागिताबाट भाग्न देश छाड्न खोजिरहेका छन्।
जोर्जियासँगको सीमामा रुसी कारको लहर ३० किलोमिटरभन्दा लामो देखिएको थियो।
र आन्तरिक मामिला मन्त्रालयले मानिसहरूलाई यात्रा नगर्न भनेको थियो।
देश छाड्न खोज्ने कारहरूको सङ्ख्या उल्लेख्य रहेको कुरा स्थानीय रुसी अधिकारहरूले समेत स्विकारेका छन्।
एउटा जाँच विन्दुमा झन्डै २,५०० कारहरू पालो पर्खेको पाइएको थियो।
त्यस्तो स्वीकारोक्ति क्रेमलिनले यसअघिको अभिव्यक्तिभन्दा फरक हो।
बिहीवार उसले रुसीहरू देश छाडेका समाचारहरूलाई 'झुटो' बताएको थियो।
छिमेकी देशहरूमा चिन्ता
फिनल्यान्डमा समेत उक्त देश प्रवेश गर्न चाहने रुसीहरूको सङ्ख्यामा उच्च वृद्धि देखा परेको जनाइएको छ।
देशको बोर्डर गार्डका एकजना प्रवक्ताका अनुसार गत सातायता फिनल्यान्ड आउने रुसीहरूको सङ्ख्या दोबरभन्दा धेरै पुगेको छ।
शुक्रवार त्यहाँको सरकारले रुसी पर्यटकहरूलाई आफ्नो देश प्रवेश गर्न रोक्ने योजनाहरू घोषणा गरेको छ।
अन्य कैयौँ छिमेकी देशहरूले समेत भर्ती छल्नका लागि शरण लिन चाहने रुसीहरूलाई शरण दिने विषय खारेज गरेका छन्।
बुधवार पुटिनले सूचना प्रविधि क्षेत्रका कर्मचारीहरू, ब्याङ्कर सरकारी सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले त्यस्तो परिचालनमा सहभागी हुनु नपर्ने घोषणा गरेका थिए।
तर केहीले क्रेमलिनको त्यस्तो दाबीको सत्यतामाथि शङ्का व्यक्त गरेका छन्।
र केही समाचारहरूमा भर्तीको मापदण्ड पूरा नगरेका व्यक्तिहरूलाई समेत स्थानीय भर्ना गर्नका लागि तोकिएका अधिकारीहरूले बोलाइरहेको जनाइएको छ।









