रुसी वायुसेनाबाट भागेका अधिकारी भन्छन्, 'अपराधको मतियार बन्न मानिनँ'

पैदलै रुस छाडेका वायुसेनाका एक कर्मचारीले बीबीसीलाई दिएको एक दुर्लभ अन्तर्वार्तामा रुसी सेना अति धेरै क्षति र न्यून मनोबलमा गुज्रिरहेको चित्रण गरेका छन्।
रुसी वायुसेना छाडेका २६ वर्षे लेफ्टिनन्ट दिमित्री मिशोभले आफूलाई राजनीतिक शरण दिन लिथुएनियाका अधिकारीहरूलाई आग्रह गरेका छन्।
एउटा सानो झोला बोकेर यस्तो नाटकीय ढङ्गबाट रुसबाट भाग्नु आफ्नो अन्तिम विकल्प भएको उनको भनाइ छ।
लड्नका लागि युक्रेन जानु नपरोस् भनेर रुसबाट भाग्ने सैनिक अधिकारीहरूको सानो समूहका पछिल्लो सदस्य मिशोभ बीबीसीको जानकारीमा आएका एक मात्र त्यस्ता वायुसेनाकर्मी हुन्।
लेफ्टिनन्ट मिशोभ अट्याक हेलिकप्टर न्याभिगेटरका रूपमा रुसको उत्तरपश्चिमी भागमा रहेको प्स्कोभ क्षेत्रमा कार्यरत थिए। उनको हेलिकप्टरलाई युद्धका लागि तयार गर्न थालिएपछि उनले पूर्वाभ्यास मात्र नभई साँच्चै नै लडाइँ सुरु हुन लागेको थाहा पाए।
सन् २०२२ को ज्यानुअरीमै उनले वायुसेना छाड्न खोजेका थिए, तर सोही वर्षको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्ने दिनसम्म पनि उनले त्यसका लागि आवश्यक कागजात मिलाउन सकेनन्। बरु उनलाई सैन्य सामग्री बोकेको हेलिकप्टर उडाउन लगाएर बेलारुस पठाइयो।


भाग्ने बाटो खोज्दै
आफू युक्रेन भने कहिल्यै पनि नगएको उनी बताउँछन्। उनको यस भनाइलाई हामीले पुष्टि गर्न त सकेनौँ, तर उनका कागजातहरू सही नै देखिन्छन्। उनका प्राय: भनाइहरू हामीले अन्य स्रोतबाट पाएका जानकारीसँग मिल्छन्।
सन् २०२२को एप्रिलमा रुसको आफ्नो कार्यस्थल फर्किएपछि उनले आफ्नो बहिर्गमनको तयारीलाई निरन्तरता दिने सोचेका थिए। लामो प्रक्रिया अन्तिम चरणमा पुग्न लागेको थियो, तर सोही वर्षको सेप्टेम्बरमा राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक सेना परिचालनको घोषणा गरे। मिशोभलाई देश छाड्न दिइएन।
ढिलो होस् वा चाँडो, आफूलाई युक्रेन पठाइन्छ भन्ने उनलाई थाहा थियो। त्यसैले उम्कने बाटो निरन्तर जारी राखे।
"म एक सैनिक अधिकारी हुँ, मेरो जिम्मेवारी आफ्नो देशलाई आक्रमणबाट बचाउनु हो। तर म अपराधको मतियार बन्नुहुँदैन। यो युद्ध किन सुरु भयो, हामी युक्रेनीहरूमाथि किन आक्रमण गर्दै छौँ र उनीहरूका सहर किन ध्वस्त पार्दै छौँ भनेर कसैले पनि हामीलाई बुझाएको छैन।"
उनका अनुसार सेनाभित्रका सदस्यहरूको मनस्थिति मिश्रित छ। कोही युद्धलाई समर्थन गर्छन् भने कोही यसका पूर्ण विरोधी। एकदमै थोरैलाई मात्र आफू रुसलाई वास्तविक खतराबाट बचाउन लडेको भन्ने विश्वास छ।
रुसमाथिको आक्रमण रोक्नका लागि "विशेष सैन्य कारबाही"मा उत्रनुपरेको रुसी सरकारको आधिकारिक धारणा स्थापित भएको लामो समय भइसकेको छ।
तर अत्यधिक सैन्य कर्मचारीहरूमा थोरै तलबमा काम गर्नुपर्दाको बेखुसी साझा रहेको मिशोभको दाबी छ।
उनका अनुसार वायुसेनाका अनुभवी अधिकारीहरूलाई युद्धपूर्वकै करारबमोजिम ९० हजार रुबल अर्थात् एक हजार ९० अमेरिकी डलर तलब दिइएको छ। तर आधिकारिक तथा सार्वजनिक विज्ञापनहरूमा नयाँ सैनिकलाई दुई लाख चार हजार रुबल अर्थात् दुई हजार चार सय ६५ अमेरिकी डलर दिने बताइएको छ।
युक्रेनप्रति सैन्य अधिकारीको धारणा फरकफरक भए पनि मोर्चामा सबै कुरा ठीकठाक रहेको र हताहती न्यून भएको सरकारी प्रतिवेदनको कसैले विश्वास नगर्ने लेफ्टिनन्ट मिशोभको भनाइ छ।

"सेनाभित्र कसैले पनि सरकारी अधिकारीको विश्वास गर्दैन। वास्तवमा के हुँदै छ उनीहरू आफैँ देख्छन्। उनीहरू टेलिभिजन हेरेर बस्ने सर्वसाधारण होइनन्। सैनिकले आधिकारिक प्रतिवेदनको विश्वास गर्दैनन् किनकि तिनीहरू सही छैनन्।"
युद्धका सुरुवाती दिनहरूमा रुसी सैन्य नेतृत्वले कोही हताहत नभएको र कुनै उपकरण पनि नाश नभएको दाबी गरे पनि आफूले चिनेकै केही सैनिकहरू मरेको मिशोभ बताउँछन्।
युद्धअगाडि उनको युनिटसँग ४०-५० ओटा हेलिकप्टर थिए। युक्रेनमाथि रुसी आक्रमण सुरु भएको केही दिनमै छ ओटा ध्वस्त बनाइए भने तीन ओटा जमिनमै नष्ट भए।
सैन्य हताहतीबारे रुसी अधिकारीले विरलै बताउँछन्। सन् २०२२ को सेप्टेम्बरमा रुसी रक्षा मन्त्री सेर्गेइ शोइगुले आफ्नो देशका करिब छ हजार सेना मारिएको बताएका थिए, जुन रुसी सरकारको समर्थन गर्ने सैन्य ब्लगरलगायत प्राय: विश्लेषकका अनुसार वास्तविकताभन्दा कम हो।
युक्रेनविरुद्धको युद्धमा मारिएका रुसी सैनिकहरूको पहिचान गर्ने अनुसन्धान परियोजनाको पछिल्लो प्रतिवेदनमा बीबीसी रसियनकी ओल्गा इभ्शिनाले २५ हजार नामको सूची बनाएकी छिन्; धेरैको दर्जा र पद पनि खुलेको छ। हराइरहेका र ज्यान गुमाएकाहरूको वास्तविक सङ्ख्या एकदमै धेरै भएको उनको विश्वास छ।
वायुसेनाका कर्मचारीतर्फको क्षति अत्यन्त धेरै भएको लेफ्टिनन्ट मिशोभको भनाइ छ। ओल्गा इभ्शिनाले गरिरहेको अनुसन्धानको तथ्यसँग यो सूचना मिल्छ। अनुसन्धानअनुसार रुसले लामो र महँगो तालिम आवश्यक पर्ने विमान चालक र प्राविधिकलगायत उच्च सीपयुक्त सयौँ सैनिकहरू गुमाइसकेको छ।
"हेलिकप्टर त नयाँ ल्याउन सकिएला, तर पर्याप्त पाइलट छैनन्," मिशोभ भन्छन्, "सन् १९८० को दशकमा अफगाानिस्तानमा भएको युद्धसँग तुलना गर्ने हो भने सोभियत सङ्घले त्यस बेला ३३ हेलिकप्टर गुमाएको थियो। हामीले एक वर्षमै त्यति क्षति ब्यहोरिसक्यौँ भन्ने मलाई विश्वास छ।"

ठूलो मुक्ति
लेफ्टिनन्ट मिशोभलाई यस वर्षको ज्यानुअरीमा "मिशनमा खटाउन लागिएको" जानकारी दिइयो।
यसको एक मात्र अर्थ युक्रेन जानु भएको बुझेका उनले आत्महत्याको प्रयाससमेत गरे। त्यसपछि स्वास्थ्यसम्बन्धी कारण देखाएर आफूलाई निस्कन सजिलो हुने उनको आशा थियो।
तर त्यसो भएन।
अस्पतालमा स्वास्थ्यलाभ गरिरहँदा उनले प्स्कोभ क्षेत्रका एक २७ वर्षे पूर्वप्रहरी अधिकारीले लाट्भियाबाट सफलतापूर्वक भागेकोबारे एक लेख पढे। मिशोभले पनि त्यसलाई पछ्याउने निधो गरे।
"मैले सेनामा सेवा गर्न अस्वीकार गरेको थिइनँ। यदि मेरो देशले वास्तविक जोखिम भोगेको भए म सेवा गर्थेँ। खालि मैले अपराधको मतियार बन्न चाहिँ मानिनँ।"
"त्यो हेलिकप्टर उडाएको भए मैले कम्तीमा पनि दर्जनौँ मानिसको ज्यान लिने थिएँ। मैले त्यसो गर्न चाहिनँ। युक्रेनीहरू हाम्रा शत्रु होइनन्।"
ईयूको सीमा क्षेत्रमा रहेका जङ्गल हुँदै निस्कने बाटो खोज्नका लागि टेलिग्राम च्यानलहरूमा आफूले सहयोग खोजेको उनी बताउँछन्। त्यसपछि सकेसम्म हलुका झोला बोकेर उनी निस्किए।
जङ्गलको बाटो हिँड्दा सीमामा खटिएका सुरक्षाकर्मीले रोक्लान् कि भनेर आफूलाई खुबै डर लागेको उनी बताउँछन्।
"यदि पक्राउ परेको भए म लामो समय थुनिने थिएँ।"
यात्राका क्रममा दुई पटक दुई ओटा विमान आफूनजिकै आएको र तिनमा आफूलाई पछ्याइरहेका सुरक्षाकर्मी हुने आशङ्कामा आफू दौडिएको उनी बताउँछन्।
"म कहाँ जाँदै छु थाहा थिएन, मेरो सोच्ने क्षमता भद्रगोल भएको थियो।"
त्यसपछि उनी एउटा तारबारमा आइपुगे र त्यसलाई नाघे। आफ्नो योजना सफल भएको उनले तत्कालै थाहा पाइहाले।



"त्यसपछि मैले बल्ल निर्धक्क सास फेरेँ।"
अब रुसी अधिकारीहरूले आफूविरुद्ध आपराधिक मुद्दा दर्ता गर्ने भए पनि सेनामा रहेका आफ्ना साथीहरूले आफ्नो उद्देश्य बुझ्ने उनको विश्वास छ।
केहीले उनलाई रुसमै लुक्न सुझाव दिएका थिए, तर उनलाई त्यति ठूलो देशमा पनि आफू सेनाबाट भागेबापत पाउने सजायबाट उम्कन सक्छु भन्ने विश्वास भएन।
अब आफूमाथि के कारबाही हुन्छ उनलाई थाहा छैन।
तर आफ्नो देशमा सधैँ त्रासमा बस्नुभन्दा अब आफू ईयूमै बसेर नयाँ जिन्दगी सुरु गर्ने प्रयास गर्ने लेफ्टिनन्ट मिशोभ बताउँछन्।








