फेरि धुर्बे हात्तीको डर, बेलाबेला जङ्गली मत्ता र ढोई किन उन्मत्त बन्छन्

जङ्गली हात्ती
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

मानवबस्तीमा पसेर ‘उत्पात’ मच्चाउने गरेको एउटा जङ्गली हात्तीले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका क्षेत्रमा फेरि दुःख दिन थालेको अधिकारीहरूले बताएका छन्।

सूचना जारी गर्दै निकुञ्जले उक्त हात्तीले आक्रमण गर्न सक्ने क्षेत्रका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

निकुञ्जका अधिकारीहरूका भनाइमा उक्त मत्ता हात्तीलाई नियन्त्रणमा लिन प्राविधिकसहितको टोली पनि खटाइएको छ।

‘धुर्बे’ नामले चिनिने उक्त हात्तीले झन्डै एक दशक अघिदेखि पर्सा र चितवन राष्ट्रिय निकुञ्जवरपर घरहरू भत्काउँदै र मानिसहरूलाई आक्रमण गर्दै हिँड्ने गरेको छ।

तर केही समयदेखि शान्त रहेको धुर्बेले फेरि अहिले ‘विध्वंस’ गर्न थालेको बताइएको छ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा डर

अधिकारीहरूका अनुसार धुर्बे हात्तीले अहिलेसम्म २२ जनाभन्दा धेरैको ज्यान लिइसकेको छ।

ऊ फेरि बस्तीतिर पस्न थालेपछि स्थानीयवासी भयभीत बनेका छन्।

त्यो हात्ती करिब दुई सातादेखि चितवनको माडी क्षेत्र र भरतपुर महानगरपालिका वडा नम्बर २३ र २४ मा देखिन थालेको बताइएको छ।

हात्ती
तस्बिरको क्याप्शन, फाइल तस्बिर

हात्तीले बस्तीमा पसेर घरगोठ भत्काउने, थन्काएर राखेको अन्नबाली नष्ट गर्ने जस्ता काम गरेको गुनासो आएको चितवन राष्ट्रिय निकुञ्जकाका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बीबीसीलाई बताए।

“पहिलेदेखि ध्रुबे हात्ती शान्त नै थियो तर अहिले ऊ उन्मत्त भएको छ र बस्तीमा पस्न थालेको छ। हामीले सकेसम्म चाँडै त्यसलाई नियन्त्रणमा लिएर क्षति कम गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने।

चितवन राष्ट्रिय निकुञ्जको योजना

निकुञ्जका अधिकारीहरूका अनुसार करिब दुई सातादेखि हात्ती नियन्त्रणका लागि प्राविधिकसहितको टोली परिचालन गरिएको छ।

हात्ती देखिएमा नियन्त्रण गर्न लट्ठाउने औषधि प्रयोग गरी ‘डार्ट’ गर्ने प्रयासमा आफूहरू रहेको पुनले जानकारी दिए।

“त्यसका लागि जहाँ पायो त्यहाँ ‘डार्ट’ गर्न मिल्दैन, हात्ती पनि सुरक्षित हुनुपर्‍यो अनि हामी पनि सुरक्षित हुनुपर्‍यो,” उनले भने।

हात्ती

“त्यसका लागि समथर खालको भूमि र जङ्गल नभएको क्षेत्र सबैभन्दा उत्तम हुन्छ। हात्तीलाई अहिलेसम्म त्यस्तो स्थानमा फेला पार्न सकिएको छैन।”

‘डार्ट’ गरेसँगै उक्त हात्तीमा ‘स्याटलाइट कलर’ जडान गर्ने तयारी भएको उनले जानकारी दिए।

त्यस्तो उपकरण जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनको भनाइ छ।

उक्त हात्ती खोज्न निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी र मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधिहरूले गस्ती गरिरहेको बताइएको छ।

उत्पात मच्चाउँदै आएका अरू जङ्गली मत्ता

पुनका अनुसार विशेष गरी चितवन र पर्सा क्षेत्रमा ‘धुर्बे’, ‘गोबिन्दे’ र ‘रोनाल्डो’ नामका हात्तीले विध्वंस मच्चाउँदै आएका छन्।

यद्यपि अहिले गोबिन्दे र रोनाल्डो शान्त देखिएका छन् भने ध्रुबे उन्मत्त भएको छ।

“धुर्बेको जस्तो गतिविधि अहिले अरूको देखिएको छैन तर अन्य हात्ती पनि उन्मत्त हुन सक्ने भएकाले हामीले सतर्कता अपनाउन भनेका छौँ,” उनले भने।

उनका अनुसार उन्मत्त भएको हात्तीले स्थानीयवासीका घरहरू भत्काउने र बालीनाली सखाप पारिदिने गरेका छन्।

त्यसले गर्दा मानिसहरू हात्तीलाई धपाउन खोज्ने तर त्यसले हात्ती अझ बिच्किने गरेका उदाहरणहरू रहेको बताउँछन्।

झापादेखि कञ्चनपुरसम्मै जङ्गली हात्तीको डर

नेपालका अन्य क्षेत्रमा पनि बारम्बार जङ्गली हात्तीको डरले स्थानीयवासीहरू त्रसित हुने गरेको विवरण आउने गरेका छन्।

त्यस्तै क्षेत्रमध्ये पूर्वी नेपालको झापा पनि पर्छ। झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, हल्दीबारी लगायतका क्षेत्रमा जङ्गली हात्तीले अन्नबाली नष्ट गरेका खबर प्राय: आइरहने गर्छ।

पूर्वी नेपालमा झापापछि सुनसरी, उदयपुर र सिन्धुलीसम्म पनि हात्तीले विध्वंस मच्चाउने गरेका घटनाहरू भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत रमेशकुमार यादव बताउँछन्।

“पूर्वी क्षेत्रमा विशेष गरी झापामा र त्यसपछि अन्यत्र यस्तो हुने गरेको छ। असार साउन महिनामा र मङ्सिर-पुस महिनामा धेरै त्यस्ता घटना हुने गर्छन्,” उनले भने।

हात्तीको प्राकृतिक वासस्थान र बाटोमा भएको अतिक्रमणले त्यस्तो अवस्था धेरै आएको उनको भनाइ छ।

यसैबीच जङ्गली हात्तीको आवागमन बढेपछि सुदूरपश्चिम नेपालको कञ्चनपुरका चुरेफेदीका सामुदायिक वनमा मानिसहरूलाई प्रवेश निषेध गरिएको खबर आएको छ।

सरकारी समाचारसंस्था राससले जनाएअनुसार मानवीय क्षति हुन नदिनका लागि त्यस क्षेत्रका वनभित्र प्रवेशमा रोक लगाइएको हो। त्यहाँ हाल ३० देखि ३५ वटासम्म जङ्गली हात्ती रहेको अनुमान गरिएको छ।

हात्तीको बथानले वनसँगै नजिकका बस्तीमा ओहोरदोहोर गरिरहेकाले वन क्षेत्रमा प्रवेश निषेध गरिएको वैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले राससलाई बताएका छन्।

हात्तीको बाटोमा अवरोध

अध्यक्ष महराले प्रजननका बेला मत्ता अर्थात् भाले हात्ती आक्रामक हुने भएकाले वन क्षेत्रमा मानिसको प्रवेश रोकिएको बताए। उनका अनुसार सार्वजनिक सूचना नै निकालेर मानिसहरूलाई सचेत गराइएको छ।

उक्त क्षेत्रमा भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हात्तीका बथान आउने गरेका छन्।

यद्यपि पहिले मौसमी रूपमा आउने गरेका हात्तीहरू अहिले चुरे क्षेत्रकै जङ्गलमा बस्न थालेका र त्यही प्रजनन गर्न थालेकाले स्थानीयवासीमा त्रास बढेको उनको भनाइ छ।

त्यस्तै हात्ती हिड्ने पुरानो बाटोमा अतिक्रमण गरेर बस्ती बसेपछि हात्तीले आफ्नो बाटो हिँड्ने क्रममा बस्ती र बालीनालीलाई क्षति पुर्‍याएको अधिकारीहरू बताउँछन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत रहेको कोशी संरक्षण केन्द्रका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम भन्छन्, “हात्ती र बाघलाई ठूलो जङ्गल चाहिन्छ तर अहिले उनीहरूको वासस्थान र बाटोमा अवरोधहरू उत्पन्न भएका छन्। त्यसले पनि हात्तीले विध्वंस मच्चाएको देखिएको छ।”

हात्ती कहिले धेरै उन्मत्त हुन्छ

अधिकारीहरूका अनुभवमा जङ्गली हात्तीले असार-साउन र मंसिर-पुस महिनाका बेला धेरै उत्पात मच्चाउने गरेका छन्।

“यो दुइटा मौसममा हात्तीहरू बढी सक्रिय भएर बालीनाली नष्ट गर्ने र आक्रमण गर्ने गरेको पाइन्छ,” यादव भन्छन्, “त्यसको एउटा कारण भनेको असार-साउनमा हरियो घाँससँगै हरियोपरियो बाली धेरै हुँदा त्यो खाने क्रममा हात्तीको बथान खेतहरूमा प्रवेश गर्नु हो।”

“मङ्सिरपछि सुक्खा लाग्छ र जङ्गलमा घाँस हुँदैन अनि हात्तीहरू हरियोपरियोको खोजीमा खेतमा प्रवेश गर्छन्।”

बालीनाली सखाप पार्ने भएकाले स्थानीयवासीले हात्तीलाई बिच्क्याउने र बिच्किएका हात्तीले अन्धाधुन्ध आक्रमण गर्ने गरेको पनि पाइएको यादवले बताए।

सौराहास्थित हात्तीसारमा
तस्बिरको क्याप्शन, सौराहास्थित हात्तीसारमा पालिएका हात्तीसँग संसर्ग गर्न जङ्गली मत्ताहरू आउने गरेका छन् (फाइल तस्बिर)

गौतमका भनाइ हात्तीले मकै, धान, गहुँ र उखु खान मन पराउँछन्। त्यसैले गर्दा मकै पाक्ने असार-साउन तथा धान र उखु भित्र्याउने बेला भएकाले मङ्सिरतिर धेरै घटना हुने गरेका छन्।

त्यस्तै हरियो गहुँ खान खेतमा हात्ती प्रवेश गर्ने बेला भएकाले पुस-माघमा पनि मानवीय क्षति भएको पाइएको गौतमले बताए।

“जाडोका बेलामा हुस्सु लाग्ने र हात्ती नदेखिने भएकाले पनि मान्छेसँग जम्काभेट हुँदा घटना हुन्छ,” उनले भने।

धुर्बे हात्ती किन फेरि उग्र बन्यो

नेपालमा हुने हात्ती आक्रमणका घटनामध्ये कतिपयमा बस्तीमा पसेका हात्तीका बथानको संलग्नता हुने गरेको छ।

तर सबैभन्दा धेरै विध्वंस चाहिँ धुर्बे, गोबिन्दे वा रोनाल्डोजस्ता बथानमा नबस्ने र उन्मत्त हात्तीसँग सम्बन्धित घटनाहरूमा भएको देखिएको अधिकारी तथा विज्ञहरू बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख पुनका भनाइमा धुर्बे हात्ती लामो समयदेखि बथानबाट अलग रहँदै आएको छ।

“हात्ती सामुदायिक प्राणी हो। तर भाले हात्ती समुदायबाट अलग रहे उन्मत्त बन्दो रहेछ,” उनले भने।

सन् २०१७ मा राप्ती नदीको किनारमा हिँड्दै धुर्बे हात्ती

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१७ मा राप्ती नदीको किनारमा हिँड्दै धुर्बे हात्ती

हात्तीमा विद्यावारिधि गरेका वन्यजन्तुविद् डा. नरेन्द्रमानबाबु प्रधानका अनुसार प्रजननको समय वा भाले हात्तीले ढोईसँग संसर्ग गर्न चाहेका बेलामा पनि ऊ उन्मत्त हुने गर्छ।

त्यस्तै हात्तीलाई ‘मात लागेका बेला’ पनि उसले विध्वंस गर्ने गरेको प्रधान बताउँछन्। विशेष गरी पौष्टिक आहारा खान पाउने समयमा हात्तीलाई ‘मात' लाग्छ।

“धुर्बे हात्ती उग्र हुनुको कारण चाहिँ अरू केही होइन, उसलाई मानिसहरूले गरेको दुर्व्यवहार नै प्रमुख कारण हो जस्तो लाग्छ। यत्रो वर्षदेखि उसलाई पटकपटक दुर्व्यवहार गरिएको छ। कुट्नेपिट्नेदेखि गोली हान्नेसम्म भएको छ,” उनले भने।

“हात्तीलाई जति दुर्व्यवहार गरिन्छ ऊ उस्तै धेरै उग्र बन्दै जान्छ।”

प्रधानका अनुसार हात्तीको बथानमा खासै वयस्क भालेहरू बस्दैनन्। बथानको नेतृत्व पनि बजै पुस्ताका पोथी हात्तीले नै गर्छन्।

“हात्तीको बथानमा १०/१२ वर्षसम्मका भाले बच्चा मात्र हुन्छन्। वयस्क हुनेबित्तिकै प्राय: भाले हात्तीले बथान छाडेको हामी देख्छौँ। अनि त्यसरी एक्लिएको हात्तीलाई बिच्क्याइदिएपछि उसले विध्वंस गर्छ,” उनी भन्छन्।

“बथानमा भएका हात्तीसँग बच्चाहरू हुन्छन्। हात्ती सामाजिक र समझदार प्राणी भएकाले बथानमा रहेका बेला आफ्नो बच्चाको सुरक्षाका लागि पनि मान्छेसँग जोरी खोज्ने काम गर्दैनन्। एक्लो भएपछि मत्त भएर पनि आक्रमण गर्छन्।”

हात्ती

कति छन् नेपालमा जङ्गली हात्ती

उनका भनाइमा हात्तीको आक्रमण बढ्नुको अर्को कारण भनेको हात्ती हिँड्ने परम्परागत र प्राकृतिक बाटोको खण्डीकरण हो।

“पहिले पूर्व मेचीबाट पसेका हात्ती जङ्गलैजङ्गल हिँडेर महाकालीबाट निस्किन सक्थे। अहिले त्यो बाटोमा अवरोध नै अवरोध उत्पन्न भए। हात्तीको बाटोमा सहर बसेपछि मान्छे र हात्तीबीच द्वन्द्व बढेको हो।”

नेपालमा करिब २०० वटा जङ्गली हात्ती रहेको अधिकारी तथा विज्ञहरू बताउँछन्।

निकुञ्जमा संरक्षणका काम र पर्यटनका लागि पालिएका घरपालुवा हात्तीहरूको सङ्ख्या पनि त्यसकै हाराहारीमा रहेको छ।

जङ्गली हात्तीको सबैभन्दा ठूलो सङ्ख्या बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बताइन्छ। त्यहाँ झन्डै १०० जङ्गली हात्ती छन्। शुक्लाफाँटामा जङ्गली हात्तीको सङ्ख्या पाँचदेखि सात रहेको बताइन्छ।

पर्सा-चितवन निकुञ्ज क्षेत्रमा करिब ६० वटा जङ्गली हात्ती विचरण गर्ने अनुमान छ। पूर्वी नेपालको झापामा झन्डै १५ वटा जङ्गली हात्ती रहेको बताइन्छ। कोशी टप्पुमा पनि सात वटाजति जङ्गली हात्ती भएको अनुमान छ।

प्रधानका अनुसार हात्तीको सङ्ख्या तलमाथि भइरहन्छ किनभने हात्तीको बथान एक ठाउँबाट अर्को ठाउँमा गइरहन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।