हात्ती आतङ्क : हुल बाँधेर आउने हात्तीबाट जोगिएर बस्ने स्थायी उपाय के होला?

तस्बिर स्रोत, DEVENDRA KHAREL
- Author, उमाकान्त खनाल
- Role, झापा
केही दिनदेखि नेपाल-भारत सीमा क्षेत्र झापाको बाहुनडाँगीका बासिन्दालाई भारततर्फबाट हुल बाँधेर आउने हात्तीको त्रास छ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ स्थानीय बासिन्दा विजय दाहालको घरमा केही दिनअघि तीनवटा हात्ती आए।
हात्तीले घरको पर्खाल मात्रै भत्काएनन् भण्डारण गरेर राखिएको धानसमेत खाइदिए।
त्यही दिन झापा गाउँपालिकाका अन्य तीनवटा घर पनि हात्तीले भत्काइ दिए।
स्थानीयमा त्रास
यसरी दिनदहाडै वा साँझमा हात्ती गाउँमा पस्नथालेपछि स्थानीय बासिन्दा कसरी अन्नवाली जोगाउने र आफूहरू पनि सुरक्षित हुने भन्ने त्रासमा छन्।
विगतमा त्यसरी गाउँ पस्ने हात्तीलाई मानिसहरूले मिलेर भगाउन खोज्दा हात्तीले आक्रमण गर्ने गरेका थुप्रै घटना भएका छन्। केही सर्वसाधारणको त ज्यानसमेत गएको छ।
२०३४ सालदेखि हालसम्म बाहुनडाँगीमा मात्र हात्तीको आक्रमणबाट १७ जनाको ज्यान गएको वडाध्यक्ष अर्जुन कार्की बताउँछन्।
त्यस्ता घटना भएपछि हात्तीलाई छेक्न विद्युतीय तारबार लगाइयो। तर ती तारबारले काम गर्न छोडेपछि अहिले फेरी विगतमा जस्तै त्रासमा स्थानीय बासिन्दा छन्।
पछिल्ला दिनमा सीमा क्षेत्रमा हात्ती दिन नबिराइ आउने गरेको स्थानीयबासिन्दा हरि उप्रेती बताउँछन्।
उनी भन्छन्, "दिउँसै पनि एक/दुईवटा आउँछन्। साँझदेखि त हुल बाँधेरै आउन सुरु हुन्छ।"
उनका अनुसार अरुबेला भन्दा जेठ असार महिनामा हुल बाँधेर आउने हात्तीहरू नेपाल पस्न खोज्छन्।
सोही क्षेत्रमा बसोबास गर्ने मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की पनि साँझदेखि करिब डेढ/दुई सयको सङ्ख्यामा हात्ती नेपाल आउन थालेका छन्।
उनी भन्छन्, "विद्युतीय तारबार नाघेर वा भत्काएर हात्ती मानव वस्तीमा पस्न थालेका छन्। तारबार लगाउनुभन्दा अगाडिको स्थितिमा पुगिसक्यो।"
तारबारले काम गर्न छाडे
करिब ८ वर्षअघि इलामको जिर्मलेस्थित दुधे टोलबाट बाहुनडाँगी हुँदै झापाको नकलबन्धा भेट्ने गरी मेची नदीको नेपाल पट्टिको किनारमा तारबार लगाइएको थियो।
हात्तीले मानवबस्ती पसेर दुख दिएपछि त्यतिबेला विश्व बैंकको आर्थिक सहयोगमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाइएको हो।
एक करोड ५० लाख रुपैयाँको लागतमा बनेको उक्त तारबारले काम गर्न छोडेको स्थानीयबासिन्दाको भनाइ छ।
रेखदेख भरपर्दो नभएका कारण तारबारले काम गर्न छोडेको गुनासो गरिरहँदा मेचीनगर ४ का वडाध्यक्ष कार्की मर्मतका लागि सामान नपाइएको बताउँछन्।
उनका अनुसार सामान दक्षिण भारतमा मात्र पाइने भएकाले समयमा मर्मत हुन नसक्दा तारबारले काम गर्न नसकेको हो।
डिभिजन बन कार्यालय झापाका प्रमुख युवराज मास्के भने स्थानीयबासिन्दाको लापरवाहीका कारण तारबारमा कहिलेकाहिँ करेन्ट नहुने गरेको बताउँछन्।
उनले भने, "कहिले ब्याट्री चोरी हुने, कहिले मानिस वारपार गर्दा करेन्टको तार निकालिदिने गरेकाले पनि तारबारले काम नगरेको हो।"

तस्बिर स्रोत, SHANKAR LUINTEL
नेपालमा कहाँ-कहाँ छन् हात्ती छेक्न लगाइएका तारबार?
हात्ती आउने विशेषगरि छिमेकी मुलुक भारतबाटै हो।
नेपालका पनि केही स्थानमा हात्ती छन्। चितवन, पर्सा, बर्दियालगायत स्थानमा हात्ती बस्ने गरेका छन्।
हात्ती हिँड्ने बाटोमा मानव बस्ती बसेपछि हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने भएकाले केही स्थानमा विद्युतीय तारबार लगाइएको छ।
जङ्गलमा बस्ने जनावरलाई जङ्गलमै राखेर मानव बस्तीमा पस्न नदिन सरकारले विशेषगरि तीन स्थानमा विद्युतीय तारबार लगाएको छ।
चितवन, झापा तथा बर्दियामा हात्ती छेक्न भन्दै विद्युतीय तारबार लगाइएका छन्।
तर ती तारबार नाघेर वा भत्काएर हात्ती हिँड्न थालेका हात्तीसम्बन्धी डा. नरेन्द्रमान प्रधान बताउँछन्।
उनी भन्छन्, 'तारबार लगाइएको स्थानमा केही समय हात्ती रोकिए। उनीहरूका लागि त्यो नयाँ संरचना भयो। तर त्यो संरचनालाई कसरी भत्काउन सकिन्छ भन्ने कुरा हात्तीले सोच्न थालिहाल्छ। अन्ततः त्यो संरचना भत्काएरै छाड्छ।'
उनका अनुसार त्यस्ता तारबार रुख ढालेर भए पनि हात्तीले भत्काएका उदाहरण छन्।
अन्य क्षेत्रभन्दा झापाको बाहुनडाँगी नै हात्तीको समूह नेपाल प्रवेश गर्ने मुख्य नाका भएको प्रधान बताउँछन्।
मानव बस्ती जोगाउन समाधान के?
जङ्गली जनावरलाई एक ठाउँमा छेकबार गर्ने काम 'मूर्खतापूर्ण' हुने वन्यजन्तु क्षेत्रमा काम गर्नेहरू बताउँछन्।
जति छेक्न खोज्यो त्यति नै ती जनावर आक्रामक बन्ने उनीहरूको बुझाइ छ।
अहिलेसम्म सरकारले हात्ती छेक्न भन्दै जति पैसा खर्च गरे पनि त्यो उपायले केही समयका लागि मात्र काम गरेको वन मन्त्रायलयका पदाधिकारीको स्वीकारोक्ति छ।
मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेका अनुसार हात्ती छेक्ने कामभन्दा पनि अब हात्ती र मान्छे कसरी सँगै बस्ने भन्ने कुराको चेतना सर्वसाधारणमा दिनुपर्छ।
काफ्ले भन्छन्, "अहिलेसम्म गरिएका काम अस्थायी समाधान मात्र हुन्। तारबार लगाएर हात्ती छेक्न खोज्नु स्थायी समाधान होइन। पर्यावरणीय काम केही गरेनौं। यसको समाधान त पर्यावरणको क्षेत्रमा काम गरेर मात्र हुन्छ।"
पर्यावरणमा हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतना सर्वसाधारणलाई दिनुपर्ने उनको भनाइ छ।
भौतिक पूर्वाधार निर्माणमा अब खर्च गर्न नहुने उनको बुझाइ छ।
हात्तीसम्बन्धी विज्ञ प्रधान पनि मान्छे र हात्तीसँगै बस्ने उपायको खोजी गरिनुपर्ने बताउँछन्।









