मलाई हुर्काउने हात्तीको ऋण मैले तिर्नु छ

पोथी हात्ती

तस्बिर स्रोत, SUNETH PERERA

तस्बिरको क्याप्शन, घरमा पालिएका हात्तीमध्ये सबैभन्दा कान्छी 'मानिके' मलाई धेरै मन पर्थ्यो
    • Author, सुनेथ परेरा
    • Role, बीबीसी विश्व सेवा

म हुर्किँदै गर्दा मेरो घरमा कुकुर वा बिरालो नभई हात्ती पालिएको थियो।

रड्यार्ड किप्लिङको पुस्तक 'जङ्गल बुक'मा चर्चित काल्पनिक चरित्र मुग्लीलाई ब्वाँसाहरूले हुर्काए जस्तै जनावरहरूले मेरो बाल्यकालमा अभिन्न भूमिका निर्वाह गरेका छन्।

म हात्तीहरूलाई अङ्कमाल गर्दै हुर्किएँ। उनीहरूसँग बात मारेँ, उनीहरूका फलफूल खाएँ र ती भीमकाय जीवबाट कैयौँ कुराहरू सिकेँ पनि।

मुग्ली बघिरा नामक कालो चितुवा र बालू नामक भालु चढे जस्तै म पनि सात वर्षको उमेरदेखि नै प्रत्येक साँझ ती जीव दिन सूर्यास्तमा नुहाएर फर्कँदा तिनको सवारी गरेर फर्किन्थेँ। हात्तीहरू मेरा लागि केवल जनावर थिएनन्, हामीबीच गहिरो भावनात्मक सम्बन्ध पनि थियो।

दुई करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्काको दक्षिणमा पर्ने रत्नपुरस्थित घरमा मेरो परिवारले हात्तीहरूको एउटा बथान पालेको थियो।

मेरा हजुरबुवाले पालेका पाँच हात्तीमा दुई ढोई र तीन मत्ता थिए। तीमध्ये 'एकदन्त' नामक मत्ताको एउटा मात्र दाह्रा थियो थियो। उसलाई बथानको गौरव मानिन्थ्यो।

एकदन्त नामक हात्ती

तस्बिर स्रोत, SUNETH PERERA

तस्बिरको क्याप्शन, मेरा बुवा र हजुरबुवा एकदन्तको स्याहार गर्दै

दक्षिण एशियामा हात्तीलाई मूल्यवान् र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। तर सबै एशियाली मत्ताको दाह्रा हुँदैन।

श्रीलङ्काको वन्यजन्तु विभागका अनुसार त्यहाँ केवल दुई प्रतिशत दाह्रा भएका हात्तीहरू छन्। अफ्रिकी हात्तीका मत्ता र ढोई दुवैको दाह्रा पलाउँछ।

तर मलाई एकदन्तप्रति आकर्षण थिएन। म सधैँ सबैभन्दा कान्छी ढोई मानिकेको सवारी गर्थेँ। निस्सन्देह मलाई ऊ मन पर्थ्यो।

‘मानिके’ शब्दको अर्थ बहुमूल्य वा सम्मानित महिला हो।

हात्तीसँग नुहाउँदा

प्रत्येक साँझ हात्तीहरू मेरो घरनजिकै रहेको नदीमा नुहाउन जान्थे। हजुरबुवाले मलाई त्यो हेर्न लिएर जानुहुन्थ्यो।

उमेर बढ्दै गएपछि म त्यहाँ हात्तीहरूलाई हेर्न मात्रै होइन माहुतेको निगरानी पनि गर्न थालेँ। माहुतेले हात्तीलाई अङ्कुश लगाएर दुःख नदिऊन् भनेर मैले हेर्नुपर्थ्यो।

मानिके भुइँ सुतेपछि उसको माहुते प्रेमरत्नले पानी छर्केर नरिवलको जटाले उसको शरीर माडदिन्थे। पहिलो पटक पानी छर्किनुअघि प्रेमरत्नले दुई हात जोडेर मानिकेलाई नमस्कार गर्थे।

अधबैँसे प्रेमरत्न होचो कदकाँठीका थिए। उनको अगाडिको एउटा दाँत थिएन। मानिकेले झुक्किएर लात्ती हान्दा दाँत झरेको थियो।

हात्तीलाई नुहाउँदै माहुते

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हात्तीलाई नुहाउँदै माहुते

प्रेमरत्नले विरलै अङ्कश प्रयोग गरे। उनी हात्तीलाई हिँड वा सुतेको ठाउँबाट उठ भन्ने आदेश दिन बिस्तारै ‘दाहा’ भन्थे। तर मानिके उक्त आदेशको पालना गर्दिनथी। त्यसपछि माउते चर्को आवाजमा कराउँथे। तैपनि ऊ सुनेकोनसुन्यै गर्थी।

प्रेमरत्न रिसाए जस्तो गर्थे र उसलाई कुट्नलाई लौरो खोजे जस्तो गर्थे।

रिसाउँदै उनी भन्थे, “म फेरि भन्दिनँ । हे ईश्वर.... के यो ढोई बहिरी भई?"

तर उनले मानिकेलाई चोट पुर्‍याउँदैनन् भन्नेमा म ढुक्क थिएँ। कम्तीमा मेरा अगाडि उनले त्यसो गर्नै सक्दैनथे।

नदीको किनारामा एउटा ढुङ्गामाथि बसेर दिनैपिच्छे त्यो नाटक हेर्नु त्यतिबेला मेरो रमाइलो नित्यकर्म बनेको थियो।

प्रेमरत्नले १० देखि १५ मिनेट कराउने र चिच्याउने गरेपछि मानिकेले अन्तत: आत्मसमर्पण गर्थी। ऊ उभिन्थी, आफ्नो शरिरभरि पानी छ्याप्थी र घर हिँड्न तयार हुन्थी।

“मानिके, मलाई तिम्रो हात देऊ,” म विनम्र भएर भन्थे। उसले आफ्नो अगाडिको खुट्टा उठाउँथी र मलाई आफूमाथि चढ्न दिन्थी।

उसको शरीर भिजेको भए पनि घर पुग्दासम्म मेरा लुगा सुकिसक्ने हुनाले म मानिकेमाथि बसेर घर जान्थेँ।

तर बेलाबेलामा उसका रौँ मेरो सुरुवालभित्र पस्थ्यो र तिनले मलाई सियोले घोचेजस्तै घोच्थे।

त्यो यात्राको समयमा मानिसहरू हामीलाई हेर्दै आश्चर्य व्यक्त गर्थे। घर पुगेपछि मानिकेले आफ्नो अघिल्लो खुट्टा फेरि उठाउँथी र मैले केही नभनीकनै मलाई ओर्लन दिन्थी।

प्रतिष्ठाको प्रतीक

एकदन्त

तस्बिर स्रोत, SUNETH PERERA

तस्बिरको क्याप्शन, हात्तीहरू श्रीलङ्कामा प्रतिष्ठाका प्रतीक हुन्

श्रीलङ्कामा हात्तीलाई धनाढ्य सम्भ्रान्त वर्गको सामाजिक प्रतिष्ठा देखिने गर्ने महत्त्वपूर्ण सङ्केत लिने गरिन्थ्यो।

त्यसबाहेक मानिसहरूले काम गराउन र बौद्ध धार्मिक समारोहमा प्रयोग गर्न पनि पाल्ने गरेको पाइन्छ।

सन् १९७० मा गरिएको घरपालुवा हात्तीको राष्ट्रिय गणनामा ३७८ जनाले कुल ५३२ हात्ती पालेको देखाएको थियो।

तर अहिले श्रीलङ्कामा जम्मा ४७ जनाको स्वामित्वमा ९७ वटा घरपालुवा हात्ती पालकहरूको एउटा सङ्गठनले जनाएको छ।

श्रीलङ्काका अरू बालबालिकाले जस्तै म पनि व्यग्रतापूर्वक नववर्ष मनाइने र लामो बिदा हुने एप्रिल महिना कुरेर बस्थेँ।

मेरा साथीहरू नयाँ लुगा र उपहारहरू कुरेर बस्थे। तर मलाई चाहिँ काठ बोक्न रूख कटान गर्ने ठाउँमा लगिएका हाम्रा प्यारा हात्तीहरू घर फर्किने कुराले भिन्न खालको उत्साह दिन्थ्यो।

हात्ती

तस्बिर स्रोत, SUNETH PERERA

तस्बिरको क्याप्शन, मशीनहरू पुग्न नसक्ने ठाउँमा काठ ओसार्न हात्तीको प्रयोग हुन्थ्यो

चाडपर्वको समयमा त्यस्ता कटान गरिने ठाउँ पनि अस्थायी रूपमा बन्द हुन्थे र कहिलेकाहीँ दुर्गम ठाउँबाट केही साता लाग्ने यात्रापछि हात्तीहरू घर आइपुग्थे।

घरनजिकै आइपुगेपछि उनीहरू छिटोछिटो हिँड्थे। तिनका सिक्री र घाँटीमा बाँधिएका घण्टीको आवाज अझ चर्को हुँदै जान्थ्यो।

उनीहरूलाई केरा, उखु, नुन र इमलीजस्ता खानेकुराले मूलढोकामा स्वागत गरिन्थ्यो। उनीहरू आफ्नो सुँड घरभित्र छिराउँथे र हामीलाई सुँघ्थेँ। सुँडको टुप्पो ठड्याएर उनीहरू अरू स्वादिष्ट कुराको प्रतीक्षा गर्थे।

एशियाली हात्ती

तस्बिर स्रोत, Getty Images

मानिके सधैँ मतर्फ ढल्किन्थी र केही दियो भने स्नेहपूर्वक बिस्तारै कान हल्लाउँथी।

हात्तीको गोबर र पिसाबको गन्धबाट मेरो बिदा सुरु हुन्थ्यो।

उनीहरू केही सातासम्म घरपछाडिको हात्तीसारमा बस्थे। उनीहरू घरमा आफूलाई सुरक्षित महसुस गर्थे र घुर्दै सुतेर घण्टौँ बिताइदिन्थे। मलाई तिनले कान हल्लाउँदा आएको आवाज र घुराइ निकै मन पर्थ्यो।

चन्द्रमा देखिएका साँझ म परैबाट हात्तीको टाउकोमा रहेका डल्लो छुट्याउन सक्थेँ।

सिक्रीमा बाँधिएको जीवन

हात्ती बन्धनमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बन्धनमा हात्ती

घरपालुवा हात्तीहरूले आफ्नो सम्पूर्ण जीवन सिक्रीमा बाँधिएर नै बिताउनुपर्छ।

श्रीलङ्कामा हात्तीहरू पूर्वजन्ममा मानिस रहेको विश्वास गरिन्छ र उनीहरू आफ्नो मालिकप्रति ऋणी रहेकाले काम गरेर त्यसलाई तिर्नुपर्ने ठान्ने गरिन्छ।

म पाँच वर्षको हुँदा एकदन्तको मृत्यु भयो। ऊ बिरामी थियो। महिनौँ उपचार गर्दा पनि उसलाई बचाउन सकिएन।

हाम्रो घर पछाडि नै उसलाई गाडिएको थियो।

रेखा
रेखा

हात्ती सफारी

हात्ती चढेका पर्यटक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्कामा हात्ती सफारी सन् १९९० को दशकको अन्त्यमा लोकप्रिय भएको थियो

रूख कटान हुने ठाउँको कठोर परिश्रमलाई चाँडै नै नयाँ रोजगारीले प्रतिस्थापित गर्‍यो।

सन् १९९० को अन्त्यबाट पर्यटकहरूका लागि हात्ती सफारी लोकप्रिय हुन थाल्यो। म आठ कक्षामा पढिरहँदा मानिकेलाई मेरो घरबाट २०० किलोमिटर टाढा पर्ने उत्तरी श्रीलङ्काको हबरिना पठाइएको थियो।

त्यसअघि ऊ कहिल्यै पनि लरी चढेकी थिइन।

सधैँ जस्तै प्रेमरत्नले कराएर उसलाई लरीभित्र प्रवेश गराए। तर त्यसपालि उसले नसुनेको जस्तो गरिन किनभने ऊ निकै डराएकी थिई।

उसले बारम्बार मलमूत्र त्याग गर्दै तनावमा रहेको झल्को पनि दिएकी थिई।

हात्ती

तस्बिर स्रोत, Getty Images

आफ्नो पछाडिको खुट्टा लरीमा राख्न ऊ हिचकिचाएकाले उसलाई चढाउन घण्टौँ लागेको थियो।

त्यस बेला उक्त दृश्य हेर्न मानिसहरूको घुइँचो लागेको थियो।

मानिके लरी चढेर गएको मैले निकै बेर हेरेको थिएँ।

अन्तिम वर्ष

हामी वर्षमा एक वा दुई पटकसम्म मानिकेलाई भेट्न पुग्थ्यौँ। बानी परिसेकेकीले ऊ प्रत्येक एप्रिलमा केही साताका लागि लरी चढेर फेरि घर आउने गर्थी।

ऊ साठी वर्ष पुग्न लागेकी थिई। हात्तीको हकमा अवकाशको विशेष उमेर हुँदैन। अन्तिम अवस्था आउँदाा पनि उनीहरू कैयौँ काम र सांस्कृतिक गतिविधिमा संलग्न हुन्छन्।

तर मेरो बुवाले अन्तत: मानिकेलाई घर ल्याउने निर्णय गर्नुभयो। पाल्न खर्चिलो भए पनि हामीले उसलाई काममा पठाएनौँ।

सन् २००६ को अन्त्यमा हामीले घरबाट ३० किलोमिटर पर रहेको नरिवल खेतीमा उसलाई पठायौँ। त्यहाँ उसका लागि नरिवलका पात र अरू आहारा उपलब्ध हुन्थ्यो।

यो उसको अन्तिम यात्रा हो या होइन हामी दुवैलाई थाहा थिएन।

केही दिनपछि मानिके बिरामी परी। हामी तुरुन्त उसलाई हेर्न गयौँ र उपचारको प्रबन्ध मिलायौँ।

नरिवलको एउटा अग्लो वृक्षमुनि ऊ पल्टिरहेकी थिई।

मृत हात्तीको अनुहार सेतो कपडाले ढाकिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्कामा हात्तीको ज्यान जाँदा गहिरो शोक मनाउने गरिन्छ

उठ्न मानिकेको शरीरमा बल थिएन। तर उसले हामीलाई सुँघी र खानेकुरा माग्दा पहिला गर्ने व्यवहार जस्तै सुँड तेर्स्याई।

मेलै उसको निधारमा छोएर ढाडस दिने कोसिस गरेँ। उसलाई चाँडै निको होला भन्ने अपेक्षासहित हामी अँध्यारो भएपछि घर फर्कियौँ।

भोलिपल्ट हामीले टोलिफोनमा एउटा दुःखद खबर सुन्यौँ।

“मानिके हामीबाट ऋणमुक्त भई।"

म एक्लै उसको अन्तिम संस्कारमा सहभागी भएँ। बौद्ध भिक्षुहरूलाई अन्तिम संस्कार गर्न निम्तो गरियो। मानिके नरिवलको रूखमुनि एक्लै लडिरहेकी थिई र एउटा सेतो कपडाले उसको मुख ढाकिएको थियो।

एउटा युगको अन्त्य

हात्तीलाई अङ्कमाल गर्दै र उनीहरूसँग फलफूल खाँदै मेरो बाल्यकाल बित्यो

तस्बिर स्रोत, SUNETH PERERA

तस्बिरको क्याप्शन, हात्तीलाई अङ्कमाल गर्दै र उनीहरूसँग फलफूल खाँदै मेरो बाल्यकाल बित्यो

मानिके मेरा लागि अभिन्न साथी थिई। आमाबुवाले परिश्रम गरेर मलाई हुर्काउने र पढाउने काम गरे पनि त्यसका लागि पसिना बगाउने काम उसले गरी।

मेरो शरीरमा हात्तीको रगत नहोला तर म आफूलाई हात्तीले नै हुर्काएको अनुभव गर्छु।

म मानिकेलाई यो धर्तीमा फेरी भेट्टाउन सक्दिनँ। तर लन्डनका व्यस्त चोकहरू हुँदै बीबीसीको कार्यालय आउँदै गर्दा ग्रामीण भेगसँग जोडिएको बाल्यकालको सम्झनाहरू ताजा हुन्ने गर्छन्।

मानिकेको अनुहारले मेरो मनमस्तिष्कलाई तरङ्गित पार्छ र ममा आत्मग्लानि र निराशा पनि हुन्छ।

म उसलाई त्यति माया गर्थेँ। उसो भए किन मैले उसलाई बाँधेर राखेँ?

मानिकेसँग २० वर्ष बिताएको भए पनि मैले कहिल्यै पनि ऊसँग तस्बिर नखिचाएकोमा मलाई ज्यादै दुःख लाग्छ।

यदि उससँग फेरि भेट हुन्थ्यो भने म तस्बिर खिचाउने मात्र हैन, उसलाई बन्धनमुक्त पनि गर्थेँ अनि स्वतन्त्र भएर बाँच्न दिन्थेँ।

अन्तिम पटक उसको आँखामा हेरेर धन्यवाद पनि भन्थेँ।

अनि मृत्युपछि अर्को जीवन हुन्छ भने म उसलाई आफूले तिर्नपर्ने ठूलो ऋण तिर्न थाल्थेँ।

अलबिदा, मानिके।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।