श्रीलङ्कामा दुर्व्यवहारको आरोपपछि थाई हात्तीलाई स्वदेश फर्काइयो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सन् २००१ मा थाईल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई यातना दिइएको आरोपका कारण दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएपछि स्वदेश फर्काइएको छ।
मुथु राजा नामक उक्त २९ वर्षको हात्ती एउटा व्यावसायिक उडानमार्फत् आइतवार थाईल्यान्ड पुगेको थियो। उक्त उडानका लागि ७ करोड रुपैयाँ खर्च गरिएको छ।
एउटा बौद्ध धार्मिक स्थलमा राखिएको समयमा उक्त जनावरमाथि यातना दिइएको दाबी गरिएपछि ब्याङ्ककले त्यसलाई फर्काइदिन माग गरेको थियो।
श्रीलङ्काका प्रधानमन्त्रीले आफूले औपचारिक रूपमा थाई राजासँग माफी मागेको जनाएका छन्।
चार जना थाई सहयोगी र एक जना श्रीलङ्काका चिडियाघरमा हेरचाह गर्ने व्यक्तिसहित विशेष रूपमा बनाइएको स्टिलको पिँजडामा राखेर उक्त ४,००० किलोको हात्तीलाई विमानमा चियाङ माई पठाइएको थियो।
हात्तीको अवस्था कस्तो थियो
उक्त हात्तीलाई अगाडि पट्टीको बायाँ खुट्टामा लागेको चोटको उपचार हाइड्रोथेरापि विधिबाट गरिने जनाइएको छ।
थाईल्यान्ड र श्रीलङ्का दुवैले हात्तीलाई पवित्र जनावरका रूपमा लिने गर्छन्।
सन् २००१ मा थाईल्यान्डको शाही परिवारले मुथु राजासहित तीनवटा हात्ती श्रीलङ्काको सरकारलाई उपहार दिएको थियो।
महत्त्वपूर्ण धार्मिक सामाग्री ओसार्न ती हात्तीहरूलाई तालिम दिनुपर्ने उसको सुझाव थियो।
मुथु राजालाई देशको दक्षिणी क्षेत्रमा एउटा धार्मिक केन्द्रको रेखदेखमा राखिएको थियो।
पशु अधिकारवादी समूहका अनुसार उक्त हात्तीलाई सो धार्मिकस्थलमा रहेका रुख कटान गर्ने व्यक्तिहरूसँग काम गर्न लगाइएको र लामो समयको चोटलाई बेवास्ता गरिएका कारण उसलाई खुट्टा चलाउन गाह्रो हुँदै आएको थियो।
पशुअधिकारको पक्षमा पैरवी गर्ने श्रीलङ्कामा रहेको एउटा समूह र्याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट (रेअर) ले अघिल्लो वर्षयता थाई सरकारलाई हस्तक्षेप गर्न अनुरोध गर्दै आएको थियो।
श्रीलङ्काको सरकारलाई कदम चाल्न आह्वान गर्दै आफूहरूले गरेको महिनौँको असफल प्रयास भएपछि उक्त कदम चालिएको सो समूहकी संस्थापक पान्चाली पानापितियाले बताइन्।
श्रीलङ्काली वन्यजन्तु अधिकारीहरूले कदम नचाल्दा त्यसले देशको सम्मानमा प्रहार भएको धारणा पानापितियाले राखेको द इण्डिपेन्डेन्टले जनाएको छ।
रेअरले हात्तीमाथि त्यस्तो बेवस्ता गर्ने अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ।

तस्बिर स्रोत, EPA
हात्ती फर्काउने अवस्था किन आयो?
श्रीलङ्काकी वन्यजन्तु मामिलामन्त्रीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै अघिल्लो वर्ष उक्त धार्मिक स्थलको भ्रमण गर्दा थाई राजदूतले हात्तीको स्वास्थ्य अवस्था कमजोर पाए यता थाईल्यान्डले त्यसलाई फर्काउनुपर्ने माग गर्दै आएको बताइन्।
एएफपी समाचार संस्थाका अनुसार उक्त धार्मिक स्थलबाट गएको नोभेम्बरमा अन्यत्र लगिदाँ उक्त हात्ती पीडामा थियो र उसको शरीरमा चोटहरू थिए।
अधिकारकर्मीहरूले सो हात्तीका माउतेका कारण कतिपय घाउ भएका दाबी गर्दै आएका छन्।
उसलाई अस्थायी रूपमा श्रीलङ्काको न्याश्नल जूलोजिकल गार्डेनमा सारिएको थियो। हालका महिनाहरूमा धेरै चोट निको भइसकेका छन्।
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुनावर्दनेले जुन महिनामा संसद्मा बोल्दै आफूले थाई नरेश महा वजिरालङकोर्नसँग मुथु राजालाई दुर्व्यवहार गरिएका आरोपका सन्दर्भमा माफी मागेको बताएका थिए।
उनले दुई देशबीच ‘पुन विश्वास कायम गर्न सफल भएको’ पनि उल्लेख गरेका छन्।
अभियानकर्ताहरूले विरोध जनाएपछि थाई सरकारले तीन वर्ष यता देश बाहिर हात्तीहरू पठाउन रोक लागेको थियो।
बैंककको वन्यजन्तु विभागले पहिल्यै विदेश पठाइएका थाई हात्तीको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ।








