जसले ज्यान जोगाए उनैबाट सारस किन 'खोसियो'

तस्बिर स्रोत, SHUBHAM VERMA/BBC
एउटा दुर्लभ सारसलाई उ घाइते भएका बेला उपचार गरेर नजिकको मित्र बनेका व्यक्तिबाट फिर्ता लिइएको छ। पन्छी र मानवबीचको त्यो मित्रताको भिडिओ भाइरल बनेको थियो।
भारतको उत्तर प्रदेशका अधिकारीहरूले संरक्षण सूचिमा रहेको त्यो चरोलाई वन्यजन्तु संरक्षण क्षेत्रमा लगेका छन्।
एक वर्ष अगाडि खेतमा घाइते अवस्थामा फेला परेको चरो सन्चो भएपछि आफ्नो वासस्थान फर्केला भन्ने अपेक्षा राखिएको भए पनि त्यो उपचार गरेका व्यक्तिसँगै बस्ने गरेको थियो।
रिपोर्टहरूमा उक्त सारस उसको नयाँ घरबाट उडेर अन्तै गएको भनिएको छ तर संरक्षण क्षेत्रका अधिकारीहरूले चरो हराएको अस्वीकार गरेका छन्।
भाइरल भएको चरोलाई खाना दिइएको भिडिओ देखाउँदै स्थानीय सञ्चारमाध्यमले उक्त चरो गाउँलेहरूले फेला पारेको बताएका छन्।
के भन्छन् अधिकारी?
तर अधिकारीहरूले त्यो समाचार अस्वीकार गर्दै सारस समसपुर पन्छी अभयारण्यको “सीमा क्षेत्रभित्रै” रहेको बताएका छन्।
एकजना वन्यजन्तु अधिकारी रुपेस श्रीवास्तवले बीबीसी हिन्दीलाई भने, “त्यसलाई एउटा कोठामा राखिएको होइन, संरक्षित क्षेत्रमा छोडिएको हो। उसले आफ्नो खाना आफैँ पनि खोजिरहेको छ र हामीले पनि गहुँ, पाउरोटी र पानी दिइरहेका छौँ।”
उत्तर प्रदेशमा कम्तीमा १७ हजार सारसहरू रहेको तथ्याङ्क छ। सारस उत्तर प्रदेशको औपचारिक “राज्यको पन्छी” पनि हो।
भारतमा कुनै पनि व्यक्तिले सारस क्रेनलाई घरमा पाल्नु वा तिनलाई खाना खुवाउनु गैर कानुनी मानिन्छ। उनीहरूले वन्यजन्तु विभागबाट चरो समात्ने आदेश आएको बताएका थिए।


सारस फर्कने विश्वास
घाइते अवस्थामा उक्त चरो गत वर्ष फेला पारेका किसान मोहम्मद आरिफका अनुसार सरकारी अधिकारीहरू मङ्गलवार उनको घरमा आएर त्यो चरो अब उनीसँग बस्न नसक्ने बताएका थिए।
“मलाई वन्यजन्तु कानुनबारे थाहा छैन। म एक किसान हुँ। मैले त्यसलाई थुनेर राखेको थिइनँ, बाँधेर राखेको पनि थिइनँ। उसलाई कतै जान रोकेको पनि थिइनँ। त्यसो गरेको भए अधिकारीहरूले चरा लग्ने कुरा म बुझ्थेँ होला,” उनले भने।
“तपाईँले देख्नुभएकै थियो कि सारस यता उता उड्थ्यो, मन लागेका बेला फिर्ता आउँथ्यो। तपाईँले कहिल्यै मैले उसको गतिविधि रोकेको देख्नुभएको थियो र?”
यो महिनाको सुरुमा बीबीसी हिन्दीले तयार पारेको भिडिओ कुराकानीमा आरिफले घाउ सन्चो भएपछि चरो आफूलाई छोडेर जाला भन्ठानेको तर दिउसो यता उता उडे पनि बेलुका आरिफकहाँ नै फर्केर आउने र उनीहरूसँगै बस्ने बताएका थिए।
आरिफले उक्त चरो समसपुर संरक्षण क्षेत्रमा लग्दा आफू चरो राखिएको वाहनको पछि पछि गएको बताए।
‘‘त्यसपछि उनीहरूले मलाई भगाइदिए। मलाई थाहा छैन उनीहरूले सारसलाई कस्तो अवस्थामा राखेका छन्। उनीहरूले पक्का पनि त्यसलाई बन्द गरेर राखेका होलान्। नत्र त चरो उडेर मकहाँ आइहाल्थ्यो,'' उनले भने।
''म त्यसलाई स्वतन्त्र छोडियोस् भन्ने चाहन्छु। त्यो म कहाँ फर्केर आउँछ भन्ने मलाई थाहा छ।’’
राजनीतिक रङ

तस्बिर स्रोत, ANI
कथामा राजनीतिक रङ पनि मिसिन पुगेको छ।
उत्तर प्रदेशका मुख्य विपक्षी नेताले सरकारलाई बदलाको भाव लिएर काम गरेको आरोप लगाएका छन्।
अखिलेश यादवले एक पत्रकार सम्मेलनमा आफू उक्त चरो भएको ठाउँमा गएको र फोटो खिचेका कारण चरो किसानबाट खोसिएको बताए।
त्यसबारे राज्य सरकारको प्रतिक्रिया प्राप्त भएको छैन।
वन्यजन्तु विज्ञ समीर कुमार सिन्हाले संरक्षण क्षेत्रमा चरो पुर्याउनु सही काम भएको बताए। उनी वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाको सारस क्रेन कन्जरभेसन प्रोजेक्टका प्रमुख समेत हुन्।
‘‘संरक्षण र करुणा दुई फरक कुरा हुन्। समस्यामा परेको चरोलाई तपाईँ उद्धार गर्न सक्नुहुन्छ तर त्यसपछि त्यसको कानुन अनुसार व्यवस्था गर्नुपर्छ।’’
त्यस्तो नगरे अरू पनि जङ्गली जनावरलाई घरेलु बनाएर राख्न प्रेरित हुने सिन्हा बताउँछन्।
‘‘वन्य जन्तुको चरित्र जङ्गली हुन्छ। चराले कसैलाई आक्रमण गरिहाले के होला?’’










