सङ्गठित अपराध र 'बुलडग ब्रीडिङ'को यस्तो छ सम्बन्ध

धेरै लुँदा भएको छाला वा ठूलो र मांसल शरीरजस्ता अस्वाभाविक गुण हुनेगरी नयाँ नस्लको अमेरिकन बुली र बुलडगको प्रजनन भइरहेको छ।
अपराधीहरूले सम्पत्ति शुद्धीकरण गर्न र मोटो रकम कमाउन प्रायः पशुकल्याणलाई बेवास्ता गरी यी कुकुरहरूको प्रजनन गराइरहेको र बेचिरहेको चेतावनी रोयल सोसाइटी फर द प्रिभेन्शन अफ क्रूअल्टी टु एनिमल्स (आरएसपीसीए) ले दिएको छ। आरएसपीसीएले इङ्ग्ल्यान्ड र वेल्समा पशुकल्याणको क्षेत्रमा काम गर्छ।
'एक्स्ट्रिम डग ब्रीडिङ' भनिने कुकुरको चरम प्रजननसँग सम्बन्धित व्यापारको अनुसन्धान गर्न संवाददाता साम पोलिङ गुप्त रूपमा गइन्।

थोमस रेमन्टको नाममा रहेको फेसबुकबाट मेरो फोनमा एउटा सन्देश आएको देख्दा म स्तब्ध भएँ। 'काउन्टी लाइन्स' लागुपदार्थ विक्रेता ठहर भएपछि उनी जेल परेको मलाई थाहा थियो।
"हाई। तपाईँलाई भाले चाहिएको हो कि पोथी। हामीसँग कुकुरका केही छाउराछाउरी छन्।"
महिनौँसम्म मैले मिथ्या नाम प्रयोग गरिरहेकी थिएँ। बुलडग मन पराउने व्यापारी 'स्टीफन डेलानी'को छद्म परिचयमा म बुलडग र अमेरिकन बुलीबारे बनाइएका फेसबुक पेजमा समय बिताइरहेकी थिएँ।
मेरो उद्देश्य कुकुरको चरम प्रजनन गराउने संसारका मुख्य खेलाडीहरू को हुन् भन्ने थाहा पाउनु थियो।
अब त्यसको प्रतिफल आउन थाले जस्तो देखिएको थियो।
रेमन्ट सन् २०२१ देखि छ वर्षका लागि कारागारमा छन्। विभिन्न स्थानमा लागुपदार्थ ओसारपसार गर्ने एउटा बलियो गिरोह सञ्चालन गरेको र उत्तरी इङ्ग्ल्यान्डमा हेरोइन र क्र्याक कोकेन पठाएको अभियोगमा उनी दोषी ठहर भएका थिए।
तर के जेलभित्र बसेर उनले कुकुर व्यापारको सम्बन्धित सम्झौता गरिरहेका हुनसक्छन्?

रेमन्ट 'मसलटोन बुलीज यूके' नामक एउटा ठूलो अन्तर्राष्ट्रिय कुकुर प्रजनन व्यवसायको यूके शाखा आफूले चलाइरहेको दाबी गर्छन्। 'अमेरिकन बुली' सञ्जालका अरू मुख्य व्यक्तिहरूले उनलाई आफ्नो पोस्टमा बारम्बार ट्याग गरिरहेका हुन्छन्।
उनको फेसबुक खाताबाट मलाई दुईवटा 'एक्स्ट्रिम अमेरिकन बुली' का तस्बिर पठाइयो - ब्र्यान्डन ब्लकहेड र क्लिओले भर्खरै बच्चा जन्माएका थिए।
"यो प्रशिक्षित 'गोरिला' कुनै ठट्टा हैन, यो अधिकतम मात्रामा उग्र हुन्छ," रेमन्टको वेबसाइटमा ब्र्यान्डन ब्लकहेडबारे लेखिएको छ। उसको "टाउको निकै सानो बान्कीमा हामीले अहिलेसम्म देखेकामध्ये एउटा उत्कष्ट खालको" छ।
उसका दुवै कानका टुप्पा काटिएको छ। यूकेमा त्यसो गर्नु गैरकानुनी हो।
त्यसो गरेको खण्डमा पशुलाई पीडा दिएको अभियोगमा पाँच वर्षसम्मको जेल हुनसक्छ। महिनौँसम्म गरेको अनुसन्धानका क्रममा मैले त्यस खालको अभ्यास बारम्बार भएको पाएकी छु।

विगत तीन वर्षमा गैरकानुनी रूपमा कानका टुप्पा काट्ने १,००० वटाभन्दा घटना भएको विवरण आरएसपीसीएसँग छ।
केही व्यापारीहरू त्यस्तो काम कुकुरहरूलाई लट्ठ्याउने औषधि नदिईकनै आफैँ गर्छन्। अधिकांश घटना अमेरिकन बुलीमा भएको देखिन्छ।
यस प्रकारको कुकुरको चरम ब्रीडिङ गराउने काम ठूलो व्यवसाय बनेको छ।
मसलटोन बुलिज वेबसाइटमा छाउराहरू दशौँ हजार पाउन्डमा विक्री हुन्छन्।
रेमन्टको अकाउन्टसँग केही सन्देश आदानप्रदान गरेपछि मैले आफ्नो छद्म फेसबुक अकाउन्टमा व्यग्रतासाथ पर्खिरहेको एउटा सन्देश पाएँ।
सम्झौताबारे छलफल गर्न स्टीफन डेलानीलाई विगनमा भेट्न बोलाइयो।
आफूलाई स्टीफनकी प्रेमिकाको रूपमा चिनाउने र स्टीफन आउन ढिलो भए भन्ने मेरो योजना थियो।
म उक्त ठाउँमा पुगेँ। त्यो एउटा कुकुर फर्टिलिटी क्लिनिक थियो। एक व्यक्तिले मलाई भित्र लगे र यताउता देखाए। उनको नाम र्यान हावर्ड थियो। उनले आफू रेमन्टको व्यापारिक साझेदार भएको बताए।
मैले रेमन्टबारे दोधारमा परे जस्तो गरेँ। त्यही बेला हावर्डले कुरा चुहाए।
"टम यहाँ छैनन्, किनभने उनी जेलमा छन्," उनले भने।
"म सबैलाई भन्दिनँ। तर तपाईँलाई उनी को हुन् भन्ने थाहा छ, त्यसैले म ढाँट्दिनँ। तपाईँले टमीसँग कुराकानी गर्नुभएको थियो।"

हावर्डले आफ्नो व्यवसायमा झन्डै १२० वटा कुकुर भए पनि आफूले चाहिँ केवल १५ वटाको स्याहार गर्ने गरेको बताए।
अरू कुकुरहरू भने सञ्जालमा "सहस्वामित्व"मा राखिएको छ। त्यसरी मिलेर पाल्दा मुख्य व्यवसायीले अरूको घरमा कुकुरहरू राख्न पाउँछन्।
ती मानिसहरूले त्यसरी कुकुरका छाउराहरू विक्री भएपछि निश्चित प्रतिशत रकम पाउँछन्।
त्यसको अर्थ मुख्य व्यवसायीको कुकुरहरूको विशाल सञ्जाल हुनसक्छ।
त्यसले गर्दा अधिकारीहरूलाई उनीहरूसँग कति कुकुर छन् भन्ने हेक्का समेत हुँदैन तर उनीहरूले त्यसबाट ठूलो नाफा कमाइरहेका हुन्छन्।
बीबीसीलाई दिएको एउटा वक्तव्यमा मसलटोन बुलीज यूकेले भनेको छ:
"हामी कुकुरको स्वास्थ्य वा स्वस्थ जीवनमा खलल नपुर्याईकन उच्च गुणस्तरका एक्स्ट्रिम अमेरिकन बुली ब्रीडिङ गराउन चिनिएका छौँ। थोमस रेमन्टले कसैसँग गैरकानुनी रूपमा संवाद गरेका छैनन् र उनको सामाजिक सञ्जालहरू अरूले सञ्चालन गरिरहेका छन्। गैरकानुनी रूपमा कान काट्ने कुरामा हामी सहभागी भएका छैनौँ र त्यसका लागि माफी माग्दैनौँ।"
उक्त विज्ञप्तिमा उक्त व्यवसायले "कहिल्यै अनुमति दिने अधिकारीहरूलाई छलेर कसैसँगको सहस्वामित्वमा काम नगरेको" बताएको छ।
तर आरएसपीसीएका विशेष अपरेशन्स यूनिटका प्रमुख अनुसन्धानकर्ता इयन मुटिटले विगत पाँच वर्षमा सङ्गठित आपराधिक समूहहरू बढ्दो रूपमा 'एक्स्ट्रिम डग ब्रीडिङ' को व्यवसायमा संलग्न भइरहेको बताएका छन्।

तस्बिर स्रोत, RSPCA
तर कुकुरको व्यापारमा अपराधीहरूलाई के कुराले तानिरहेको छ त?
उनका अनुसार प्रथमतः यो निकै आकर्षक छ। दोस्रो कुरा, यो सम्पत्ति शुद्धीकरणका लागि प्रयोग भइरहेको छ।
"यसले गैरकानुनी धन तानेको छ। त्यसैले लागुपदार्थ, हतियार र अन्य सङ्गठित अपराध।"
" यो (सम्पत्ति) कुकुरको विक्रीबाट शुद्धीकरण गर्न सकिन्छ वा त्यो अर्को क्रममा हुन सक्छ।"
यसको गम्भीर कानुनी जोखिम निकै कम हुन्छ। मुटिटका अनुसार लागुऔषध कारोबारको तुलनामा जनावरलाई यातना दिने अपराधको सजाय निकै कम हुन्छ।
मैले स्टीफन डेलानीको छद्म फेसबुक खाताबाट अन्तिम पटक लगआउट गरेँ।
मैले उजागर गरेको यो सञ्जाल विशाल मात्र छैन, निकै जटिल पनि छ। त्यसैले नाफा कमाउने उद्देश्य राख्ने व्यापारीहरूले स्वास्थ्यलाई धनलाई भन्दा माथि राख्दा अधिकारीहरूलाई यो व्यवसायलाई नियन्त्रण गर्न निकै कठिन बनाउनेछ।
यो पनि हेर्नुहोस्











