दक्षिण कोरियाका पूर्वराष्ट्रपतिले किम जङ-अनले उपहार दिएका कुकुरहरू त्याग्दै

तस्बिर स्रोत, Reuters
दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे-इनले आफूलाई उत्तर कोरियाली नेता किम जङ-अनले उपहार स्वरूप दिएको कुकुरको एउटा जोडी त्याग्ने योजना बनाएको बताएका छन्।
त्यस्तो निर्णय उनी र वर्तमान सरकारबीच ती कुकुरहरूको रेखदेखका लागि कसले पैसा दिने भन्ने मतभिन्नताबिच देखा परेको देखिन्छ।
किमले सन् २०१८ मा भएको एक द्विपक्षीय सम्मेलनपछि मुनलाई उक्त उपहार दिएका थिए।
मे महिनामा कार्यकाल सकिएपछि ती कुकुरहरू मुनको रेखदेखमा थिए। तर ती अब राज्यलाई फिर्ता दिइने देखिएको छ।
ती सेता पुङसान कुकुरहरू – गोमी र सोङगाङ – कानुनतः सरकारी सम्पत्तिको रूपमा राष्ट्रपतीय सङ्ग्रहका रूपमा वर्गीकृत हुन्छन्।
तर मुनको कार्यालयका अनुसार एउटा अभूतपूर्व कदमका रूपमा पद छाडेपछि पनि उनी ती कुकुरहरूको रेखदेख गर्न पाएको जनाएको छ।
आन्तरिक मामिला मन्त्रालयसँग भएको भनिएको एक सम्झौतामा जनाइए अनुसार ती कुकुरहरूको रेखदेखमा आवश्यक पर्न खर्च र सामानहरू सरकारी बजेटबाट पुर्ति गर्न सकिन्छ।
स्थानीय सञ्चारमाध्यमहरूले प्रस्तुत गरेका विवरणमा त्यस्तो खर्च प्रतिमहिना झण्डै १,८०० अमेरिकी डलर हुन आउँछ।
तर अहिले मुनको कार्यालयका अनुसार उक्त सम्झौता यतिखेर काम नगर्ने भएको छ।
उनीपछिका राष्ट्रपति योन सुक-योलको प्रशासनले कुनै व्याख्याबिनै त्यस्तो प्रावधानलाई अस्वीकृत गरेपछि उक्त अवस्था सिर्जना भएको हो।
मुनको कार्यालयले फेसबुकमा लेखेको छ, "राष्ट्रपति कार्यालय ती पुङसान कुकुरहरूको व्यवस्थापन पूर्व राष्ट्रपति मुनबाट ढुक्कसाथ हुनेमा नकारात्मक देखिएको छ।"
"यदि त्यस्तो कुरा हो भने, हामी यसमा सहज हुन सक्छौँ किनकि त्यस्तो काम दुवै पक्षको सद्भावमा आधारित हुन्छ… तर उनी घनिष्ठ साथ रहेका जनावरसँग यो तोड्नु दुखद् छ।"
युनको कार्यालयले भने सम्बन्धित निकायहरूबीच यसबारे छलफल भइरहेको भन्दै त्यसमा आफूले हस्तक्षेप नगरेको जनाएको छ।
योनहप समाचार संस्थाले मार्च महिनामा जनाए अनुसार नयाँ राष्ट्रपतिसँग अहिले नै चारवटा कुकुर र तीनवटा बिराला छन्।









