अनुमतिबिनै ठाउँठाउँमा पूर्वाधार नभएका 'मिनी चिडियाखाना'

चिडियाखाना
    • Author, ‏माधव नेपाल
    • Role, बुटवल, बीबीसी न्यूज नेपाली

बुटवलको फूलबारी पार्कमा बिहान १० नबज्दै सुरु हुने मानिसहरूको भिड साँझसम्म पनि उस्तै हुन्छ।

यसबीचमा दर्जनौँ स्पीकरबाट चर्को आवाजमा गीत बज्न थाल्छ अनि मानिसहरू नाच्न थाल्छन्।

बुटवलको फूलबारी पार्कमा नियमित रूपमा यस्तै दृश्य देखिन्छ।

मानिसहरूको भिड र कोलाहल दिनभरि हुँदा पार्कको एउटा कुनामा केही निरीह प्राणी खोरभित्र देखिन्छन्।

'बानी परिसक्यो'

"एनिमल कर्नर" वा "मिनी चिडियाखाना" मा राखिएका ती प्राणीहरू न बोलेर भिड र चर्को आवाजको विरोध गर्न सक्छन् न त भागेर आफ्नो वासस्थानमा पुग्न नै सक्छन्।

त्यहाँ खरायो, बाँदर, भालु, चितुवा, अजिङ्गर, घोरल, हरिण, नीलगाई जस्ता १५० भन्दा बढी वन्यजन्तु छन्।

वन्यजन्तुको हेरचाह गर्दै आएका फूलबारी पार्कका एक कर्मचारी टेकराज पौडेलले वन्यजन्तुलाई कोलाहलमा बस्ने बानी परिसकेको दाबी गरे।

उनी भन्छन्, "यिनीहरूलाई कुनै बाधा हुँदैन। बानी लागिसक्यो राति शान्तसँग बस्छन्।"

फूलबारी पार्कमा जस्तै तिलोत्तमाको शङ्करनगर वनवाटिकामा पनि यसरी नै विभिन्न वन्यजन्तु थुनेर राखिएको छ।

चिडियाखाना

वन्यजन्तुसँग 'अन्याय'

शङ्करनगर वनवाटिका पनि बुटवलको फूलबारीमा जस्तै वनभोज गर्ने स्थलका रूपमा विकास गरिएको हो। त्यहाँ रमाइलो गर्न आउने मानिसको भिड र गीतको चर्को आवाजमा वन्यजन्तुहरू बस्न बाध्य छन्।

"अहिले त्यस्ता स्थानहरूमा वन्यजन्तु थुन्ने देशैभरि एक किसिमको लहरजस्तो देखिएको छ," डिभिजन वन कार्यालय रूपन्देहीका अधिकृत बोधराज सुवेदी भन्छन्।

"मान्छेको भिडभाड र आवाजले वन्यजन्तुहरू दिक्क हुन्छन्। त्यसैले यो गर्नै नहुने काम हो मैले एक-दुई स्थानमा सञ्चालकहरूलाई सचेत पनि गराएको छु।"

वन अधिकारीहरूका अनुसार कतिपय सामुदायिक वनदेखि लिएर स्थानीय स्तरमा बनाइएका बगैँचा तथा पार्कमा त्यहाँ आउने दर्शकहरूलाई मनोरञ्जन दिन तथा वनमा बस्ने वन्यजन्तुका बारेमा जानकारी गराउने उद्देश्यले वन्यजन्तुलाई राखिएको पाइएको छ।

बुटवलको फूलबारी तथा तिलोत्तमाको वनवाटिकाका संरक्षक बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका हुन्।

ती पार्क सञ्चालनको जिम्मा स्थानीय स्तरमा बनाइएका समितिहरूलाई दिइएको छ। त्यहाँ प्रवेश गर्नेदेखि लिएर वनभोजको कार्यक्रम गर्नका लागि निश्चित शुल्क पनि तिर्नुपर्छ।

वन्यजन्तुविज्ञ तथा संरक्षणकर्मी डा. शान्तराज ज्ञवाली यस्तो चलनबाट वन्यजन्तुसँग अन्याय भएको ठान्छन्।

उनले भने, "शान्तसँग जङ्गलमा बस्ने जनावरलाई मान्छेको नजिक ल्याएर थुन्नु भनेको वन्यजन्तुमाथि गरिएको ठूलो अन्याय हो।"

कानुनमा कस्तो व्यवस्था छ?

वन अधिकृत बोधराज सुवेदीले प्रदेश सरकारहरूले चिडियाखानाको अवधारणा ल्याए पनि त्यससम्बन्धी कानुन भने बनिनसकेको बताए।

उनी भन्छन्, "व्यावहारिक रूपमा घाइते तथा टुहुरा वन्यजन्तुलाई उपचार तथा संरक्षणको लागि राख्ने कुरा ठिक हो। तर मानिसलाई देखाउन कै लागि पाल्ने भन्ने कानुनमा कतै व्यवस्था छैन।"

फूलबारी पार्कका अध्यक्ष खेमप्रसाद लुइँटेलले वन्यजन्तु पाल्ने कानुन नभएको हुँदा अहिले वन्यजन्तुलाई "उद्धार गरेर ल्याइएको रूपमा" त्यहाँ पालिएको बताउँछन्।

उनका अनुसार वन्यजन्तु पाल्नका लागि सरकारबाट अनुमति भने लिइएको छैन।

तर वन तथा वातावरण मन्त्रालयमा वन्यजन्तुपालनसम्बन्धी केही नीति रहेको सो मन्त्रालयका सहसचिव मेघनाथ काफ्लेले बताए।

उनले भने, "वन्यजन्तु पाल्न खोज्ने केहीलाई अनुमति पनि दिएका छौँ। तर धेरैले अनुमति नलिई पालेको कुरा आएको छ। अनुमति नलिई पाल्ने कुरा नियम सम्मत भएन। उनीहरूमाथि कारबाही हुन्छ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुक्खाले आक्रान्त पूर्वी अफ्रिकामा वन्यजन्तु र पशुचौपायाको बिजोग