साम्प्रदायिक तनाव नियन्त्रण गर्न गुप्तचर परिचालन, सरकारका अरू रणनीति यस्ता

वीरगन्जस्थित घण्टाघर क्षेत्रमा हुस्सु लागेको बेला खाली सडकमा सुरक्षाकर्मीहरूर एउटा एम्बुलेन्स
तस्बिरको क्याप्शन, धनुषाको घटनापछि वीरगन्ज आइतवारदेखि तनावग्रस्त छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पछिल्लो समय मधेशका कतिपय जिल्लामा साम्प्रदायिक विवादहरू सतहमा आएका विवरणका माझ अधिकारीहरूले सम्भावित घटनाक्रमहरू रोक्न निश्चित कार्यतालिका बनाएर र आकस्मिक घटनाक्रम रोक्न गुप्तचरसहित अन्य सुरक्षा निकायहरूको प्रयोग गरेर आफूहरूले प्रयास गरिरहेको बताएका छन्।

गएको शनिवार सामाजिक सञ्जालमा टिकटकमा राखिएको एउटा सन्देशलाई देखाउँदै आक्रोशित समूहहरूले धनुषाको कमला नगरपालिकाको एउटा प्रहरी चौकी घेराउ गर्दै एउटा मस्जिद तोडफोड गरेका थिए।

प्रहरी अधिकारीहरूले 'अश्लील र सद्भाव बिथोल्ने खालको' सन्देश सम्प्रेषित गर्नेहरूलाई नियन्त्रणमा लिएको र त्यहाँको अवस्था सामान्य बनिसकेको बताएका छन्।

तर मस्जिदमा भएको तोडफोडकै विषयमा सोमवार पर्सामा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले वीरगन्जका विभिन्न ठाउँमा साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगायो। सोमवार निषेधाज्ञा उल्लङ्घन गरेर प्रदर्शन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मङ्गलवार बिहान "सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै" प्रशासनले कर्फ्यू आदेशलाई दिउँसो १ बजेसम्मका लागि निरन्तरता दियो। दिउँसो कर्फ्यू साँझ ६ बजेसम्म लम्ब्याउने निर्णय आयो।

चिन्ता

वीरगन्जमा माइकिङ्गमार्फत कर्फ्यूको जानकारी दिदैँ एक महिला सुरक्षाकर्मी।

तस्बिर स्रोत, Madhuri Mahato

विश्लेषकहरूले नेपालको अस्थिर राजनीति र छिमेकी भारतमा देखिएको हिन्दूत्ववादी राजनीतिको लहरको असर सीमावर्ती जिल्लाहरूमा देखा परिरहेको भन्दै यस्ता घटना बेलैमा नियन्त्रणमा लिन नसकिए त्यसले दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

तराईका कतिपय जिल्लाहरूमा देखिएका असहज परिस्थितिप्रति चिन्ता जनाएका मुस्लिम आयोगका कार्यवाहक अध्यक्षले मिलेर बसेको नेपाली समाजमा फाटो ल्याउने कुनै पनि प्रयासविरुद्ध एकताबद्ध ढङ्गले उभिनुपर्नेमा जोड दिएका छन्।

पर्सामा साम्प्रदायिक सद्भाव कायम राख्ने उद्देश्यले सुरक्षा अधिकारीहरूले हिन्दू र मुस्लिम समुदायका अगुवाहरू, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूसँग मङ्गलवार संयुक्त छलफल गरेका छन्।

सरकार के गर्दै छ

गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक

तस्बिर स्रोत, Ministry of Home Affairs

तस्बिरको क्याप्शन, गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक

गृह मन्त्रालयका अधिकारीहरू आफूहरूले पछिल्लो घटनालाई 'संवेदनशील' रूपमा हेरिरहेको र 'साम्प्रदायिक सद्भावलाई बढावा दिने' कार्यक्रमहरू आयोजना गर्न अनुरोध गरिएको बताउँछन्।

धनुषामा मस्जिदमा तोडफोडको घटना प्रकाशमा आएसँगै आइतवार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। मुस्लिम समुदायका अगुवाहरूसँग पनि गृहमन्त्री अर्यालले छलफल गरेका थिए।

मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्ले भन्छन्, "यस्ता खालका घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने निर्देशन भएको छ र सम्बन्धित निकायहरूले प्रक्रियाहरू बढाइसकेको अवस्था छ।"

सोमवार मन्त्रालयले तराईका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेको थियो। तीनै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरू समेत उपस्थित उक्त छलफलमा साम्प्रदायिक सद्भाव कायम गर्न 'प्रदेश र स्थानीय तहहरूसँग पनि समन्वय' गरेर जाने भन्नेमा सहमति भएको थियो।

गृहमन्त्री अर्याल र सुरक्षा निकायका प्रमुखहरूले मुस्लिम आयोगसहित विभिन्न तीनवटा संवैधानिक आयोगका प्रमुखहरू र राष्ट्रिय मानव अधिकार आयोगका सचिवसँग छलफल गरेका थिए।

मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीका अनुसार चारवटा निकायहरूबीच साम्प्रदायिक सद्भाव कायम गर्न संयुक्त अपील जारि गर्ने सहमति भएको छ।

उनले भने, "दहीजस्तो जमेर बसेको समाजमा अहिले बीचमा आएर केही उच्छृङ्खल तत्त्वहरूले (गरेका गतिविधि)ले केही असहज बनाएको छ। हामी सबै मिलेर हामीहरूबीच रहेको धार्मिक सहिष्णुतालाई कायम राख्दै मित्रता र एकतालाई एकजुट भएर कायम राख्नुपर्छ।"

उनले थपे, "जसले कानुनलाई तोडेको छ, राज्यले त्यसलाई समात्ने र कानुनी कारबाही गरेर अघि बढ्नुपर्छ। कुनै व्यक्तिले व्यक्तिगत रूपमा गरेको अपराधलाई सामुदायीकीकरण गर्नुहुन्न। धार्मिक रङ्ग पनि दिनुहुँदैन्। कसैको दबावमा नपरी निष्पक्ष ढङ्गले यिनको सम्बोधन गर्‍यो भने समाजिक सद्भाव कायम हुन्छ।"

सुरक्षा रणनीति कस्तो छ

वीरगन्जमा मंगलवार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ

तस्बिर स्रोत, Madhuri Mahato

अधिकारीहरूले धनुषाको पछिल्लो घटनालाई 'आकस्मिक' प्रकृतिको साम्प्रदायिक तनावका रूपमा चित्रण गरेका छन्।

विगतमा विभिन्न समुदायका चाडपर्वआसपासको समयमा तराईका कतिपय जिल्लामा तनाव देखा परेपछि त्यससँग जुझ्ने नीति तय गरिएको अधिकारीहरू बताउँछन्।

गृह मन्त्रालयका प्रवक्ता काफ्ले भन्छन्, "हामीले यस्ता घटनालाई दुईवटा ढङ्गले हेर्छौँ। कुनै चाडपर्वको समयमा एउटा पक्ष र अर्को पक्षबीच हुने झडपका जुन कुराहरू छन्, त्यसलाई हामी एउटा ढङ्गले हेर्छौँ। नियमित रूपमा हुने कुराहरूलाई 'क्यालेन्डर' नै बनाएर त्योभन्दा अघि नै जिल्लाहरूमा समन्वय बैठकहरू गर्छौँ, जसले गर्दा सबै पक्षहरूलाई संयमित बनाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास हो"

उनले थपे, "आकस्मिक रूपमा आइलाग्ने कतिपय घटनाक्रमहरू हुन्छन्, जसले वातावरणलाई अलिकति धमिल्याउने काम गर्छ।"

सामाजिक सञ्जालहरूको सम्भावित दुरुपयोग रोक्न आफूहरूले निगरानी बढाएको बताउने गरेका अधिकारीहरू साम्प्रदायिक सद्भाव कायम राख्न गुप्तचर निकायको पनि सहयोग लिने गरिएको बताउँछन्।

काफ्लेले थपे, "पहिलो कुरा, सबै जनाले संवेदनशीलता, सद्भाव र सतर्कता अपनाउनुपर्ने अहिलेको अवस्था हो। हामीले हाम्रा सुरक्षा निकायहरूलाई पनि सामाजीक सञ्जालमा जुन आइरहने कुराहरू छन्, त्यसलाई मिहिन ढङ्गले निगरानी गर्न निर्देशन दिएका छौँ।"

"हाम्रो सूचना संयन्त्र 'एनआईडी' (राष्ट्रिय अनुसन्धान विभाग)लाई यस्ता सूचनाहरू महत्त्वपूर्ण भएकाले त्यहीअनुसार सूचना लिने र त्यस्ता गतिविधिमा संलग्न भएका व्यक्तिहरूलाई सूचना प्राप्त भइसकेपछि अलिकति दण्डनीय बनाउनेतर्फ लैजानुपर्छ भन्ने नै हाम्रो (धारणा) हो।"

सुरक्षा अधिकारीहरूले तराईका कतिपय जिल्लामा विभिन्न धार्मिक आवरण भएका समूहहरू हालैका वर्षहरूमा सक्रिय भएका र तिनले खास गरी बेरोजगार युवाहरूलाई आफ्नो निसानामा पारेको भन्दै चिन्ता जनाउने गरेको पाइन्छ।

धनुषाको घटना के हो

वीरगन्जका सडकमा परिचालित सुरक्षाकर्मी

तस्बिर स्रोत, Madhuri Mahato

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बमका अनुसार एकअर्कालाई आक्षेप लगाउने खालका सन्देशहरू टिकटकमा राखिएसँगै कमला नगरपालिका-६ सखुवा मरानमा तनाव चुलिएको थियो।

उनका अनुसार दुई समूहले एकअर्कालाई 'हिन्दुस्तान' 'पाकिस्तान' भनेर टिप्पणी गरेका थिए, जसले विवादलाई साम्प्रदायिक रङ्ग दिएको थियो।

"केही अपशब्दसहितको पोस्ट टिकटकमा हालेको छ, यिनीहरूलाई पक्राउ गर्नुपर्‍यो भनेर त्यहाँका हिन्दुहरूसहित लगभग तीनचार सय जना नजिकैको प्रहरी चौकीमा गएका रहेछन्। त्यस्तो पोस्ट हेरिसकेपछि प्रहरीले पनि तीनलाई खोजतलास गर्न थाल्यो। त्यसका लागि सोधपुछ गर्दा गर्दै बाहिरबाट केही समूह गएर मस्जिदमा तोडफोड गरिदिएका रहेछन्।"

बमले 'एक्कासि त्यस्तो घटना भएको' र सदरमुकामबाट थप मद्दत घटनास्थलमा पुग्न नपाएको उल्लेख गर्दै थपे, "म आफैँ पनि त्यहाँ गएँ। मुस्लिम समुदायका अगुवाहरूसँग पनि छलफल गरेर उहाँहरूलाई आश्वस्त पार्‍यौँ। (त्यस बेलासम्म) टिकटकमा पोस्ट हाल्ने दुई जनालाई हामीले समातिसकेका थियौँ। हामीले मस्जिद तोडफोड गर्ने समूहको एक जनालाई ल्याएर यहाँ मुद्दा दर्ता गरिसकेका छौँ।"

प्रहरीका अनुसार सखुवा टोलमा अवस्थित मस्जिदमा तोडफोड गर्ने समूहले त्यहाँ रहेका कागजपत्र निकाली धार्मिक ग्रन्थहरू समेत जलाएको पाइएको छ।

दुवै कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिताको धर्मसम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको अधिकारीहरू बताउँछन्।

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय धनुषाले समाजिक सञ्जालको दुरुपयोग गरी 'निश्चित समुदाय एवं धर्मलक्षित' सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिप्रति ध्यानाकर्षण भएको बताएको छ।

उसले कुनै पनि गैरकानुनी गतिविधिप्रति 'प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने' प्रतिक्रिया दिँदै साम्प्रदायिक सद्भाव कायम गर्न अनुरोध गरेको छ।

विवाद वीरगन्जसम्म कसरी पुग्यो

शनिवार धनुषामा भएको घटनासँग जोडिएका तस्बिर र भिडिओ सामाजिक सञ्जालमार्फत् बाहिर आएसँगै आइतवारयता वीरगन्जमा दुई फरक धार्मिक समुदायले प्रदर्शन गर्दै आएका छन्।

दुई समूहले एकअर्काविरूद्ध नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बन्न सक्ने देखेर सुरुमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको थियो।

तर अवस्था पूर्ण रूपमा सामान्य नबनेपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सोमवार साँझबाट मङ्गलवार बिहानसम्म लागु रहने गरी केही क्षेत्रमा कर्फ्यू लगाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, "अहिलेको परिस्थितिमा विभिन्न समूहहरू विभिन्न ठाउँमा बैठक गरिरहेको भन्ने हामीलाई जानकारी आएको छ। त्यसैकारणले रातको अवस्थामा केकस्तो हुन्छ भनेर परिस्थितिलाई मध्यनजर गरेर बिहान ८ बजेसम्मलाई कर्फ्यूको आदेश जारी गरेका हौँ।"

उनले मङ्गलवार बिहान नागरिक समाजसहित विभिन्न दलका प्रतिनिधिहरूलाई सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफलका लागि बोलाइएको बताए।

वीरगन्जमा केही महिनापहिले पनि दुई धार्मिक समुदायबीच विवाद र झडप भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो।

त्यस बेला हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई पक्राउ गरी कारबाही गर्ने, अन्तरधार्मिक, साम्प्रादायिक सद्‌भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्‍याउनेसहितका सहमति भएको थियो।

साम्प्रदायिक तनावका घटना किन

तराईमा कतिपय धार्मीक पृष्ठभूमिका दल र संस्थाका गतिविधि बढेका छन्। पहेलोँ झन्डा बोकेको समूहका युवाहरू सम्मीलित एउटा नेपालगन्जमा आयोजित र्‍यालीको फाइल तस्बीर

तस्बिर स्रोत, Bimala Chaudhary

ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक एवं समाजशास्त्री वीरेन्द्रप्रसाद साह तराईका जिल्लामा वर्षेनि तीनचार वटा यस्ता घटनाहरू हुनु गम्भीर चिन्ताको विषय भएको बताउँछन्।

उनले भने, "अहिलेको राजनीति पनि यस्ता घटना हुनुको एउटा कारण हो। सीमावर्ती क्षेत्रमा छिमेकीको पनि केही स्वार्थ छ कि भन्ने विभिन्न घटनाक्रमहरूले देखाउँछ। सीमापारि हुने घटनाहरूका प्रभाव पनि यसमा देखिन्छ। (नेपाललाई) हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने कुरा खास गरी भारतका नेता र कतिपय बुद्धिजीवीबाट आउने गरेको छ। केही हिन्दूवादी दलहरू पनि यहाँ खुलेका छन्।"

उनले भारतमा भएको हिन्दूवादी सङ्गठनको 'दुरुस्त नक्कल' गरिएका संस्थाहरू नेपालको सीमा क्षेत्रमा पनि स्थापना गरिएका भन्दै तिनले सङ्गठित रूपमा काम गरिरहेको शङ्का गरे।

उनले भने, "जुन भारतको आरएसएस (हिन्दू स्वयंसेवक सङ्घ) छ, त्यसको ठ्याक्कै नक्कल गरिएका सङ्गठनहरू यहाँ पनि बनाइएका छन्। यहाँका एकदमै पढेलेखेका व्यक्तिहरू तिनको नेतृत्वदायी भूमिकामा देखिन्छन्। त्यसै गरी मुस्लिम समुदायका युवाहरूमा गणतन्त्रात्मक व्यवस्थामा हाम्रो पनि धार्मिक स्वतन्त्रता छ भन्ने सोच देखिन्छ र उनीहरूका गतिविधि पनि बढेका देखिन्छन्। यो क्षेत्र दुवै समूहमा रहेका केही पुरातनपन्थीहरूको एक किसिमको क्रीडास्थल बन्न थालेको म पाउँछु।"

उनले यस्ता गतिविधिहरू बढ्नु 'दुर्भाग्यपूर्ण' भएको भन्दै त्यसले तराई क्षेत्रलाई नै अस्थिर बनाउन सक्ने भन्दै सावधानी अपनाइनुपर्नेमा जोड दिए।

"तपाईँले हेर्नुभयो भने त्यो जुलुसमा जम्मै युवाहरू देखिन्छन्। त्यही भएर दुवै पक्षका जोजो नेताहरू छन्, उहाँहरू तत्कालै बसेर यस्ता घटनालाई सम्बोधन गर्नुपर्छ। जो दोषी छ, उसलाई कारबाही गर्नुपर्छ। यस्ता घटना हुन नदिन राज्य र प्रशासन संयन्त्रले पूर्वतयारीमा पनि जोड दिनुपर्छ।"

नेपालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ। तर कतिपय प्रमुख दलभित्र नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुन: कायम गर्नुपर्ने आवाज उठ्ने गरेको पाइन्छ।

वीरगन्जबाट माधुरी महतोको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।