के नेपालमा पनि हिन्दुत्वको राजनीतिले जरा गाडिरहेको छ?

नरेन्द्र मोदी र केपी शर्मा ओली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नरेन्द्र मोदी र केपी शर्मा ओली/फाइल तस्बिर
    • Author, रजनीश कुमार
    • Role, बीबीसी हिन्दी, जनकपुर

नेपालको जनकपुरस्थित जानकी मन्दिरपछाडि एउटा मस्जिद छ। भनिन्छ, जानकी मन्दिर निर्माण गर्ने कालिगडहरू मुस्लिम थिए र उनीहरूले आफूले प्रार्थना गर्नका लागि त्यो मस्जिद बनाएका थिए।

तीनदेखि चार प्रतिशत मानिस मात्र मुस्लिम भएको जनकपुरमा यो मस्जिद अझै छ।

जानकी मन्दिर जनकपुर वडा नम्बर ६ मा छ। सन् नब्बेको दशकमा सइद मोमिन यहाँका वडाध्यक्ष थिए। पछि मोहम्मद इद्रिस त्यो पदमा पुगे।

विवाह पञ्चमीको बेलामा जानकी मन्दिर र राम मन्दिरमा जम्मा हुने भक्तजनहरूको नेतृत्व सइद मोमिन र मोहम्मद इद्रिस दुवैले गरे।

जनकपुरका वरिष्ठ पत्रकार रोशन जनकपुरी आफू सानो छँदा मोमिन र इद्रिसले विवाह पञ्चमीमा जानकी मन्दिरको अगुवाइ कसरी गर्थे भन्ने कुरा आफ्नै आँखाले देखेको बताउँछन्।

जानकी मन्दिर परिसरमा मोहर्रमको ताजिया पनि बनाइएको रोशन जनकपुरीको भनाइ छ।

जानकी मन्दिरको ढोका मुस्लिमहरूका लागि कहिल्यै बन्द भएन। न त मुस्लिमहरूले यो आफूले नचिनेको धर्मको मन्दिर हो भन्ने महसुस गरे।

जनकपुर मस्जिद

तस्बिर स्रोत, KIRAN KARNA

तस्बिरको क्याप्शन, जनकपुर मस्जिद

कुनै समय थियो जब मुस्लिमहरू जानकी मन्दिरको भण्डारमा काम गर्थे र त्यहाँको लागि तरकारी खेती गर्थे।

तर अहिले जानकी मन्दिर र मस्जिदबीच पर्खाल बनाइएको छ र दूरी बढेको छ। अब सइद मोमिन र मोहम्मद इद्रिसको पुस्ता पनि रहेनन्।

अहिले विवाह पञ्चमीको अवसरमा अयोध्यादेखि मानिसहरू धाउन थालेका छन्। जन्ती स्थानीयबाट अन्तर्राष्ट्रिय बने र उत्तिकै राजनीतिक पनि। सन् २०१८ मा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तामझामसहित जनकपुर पुगेका थिए।

रोशन जनकपुरी भन्छन्, “योगीको प्रवेशपछि जानकी विवाहमा सइद मोमिन र मोहम्मद इद्रिसहरूका लागि ठाउँ साँघुरियो। सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि नेपालमा पनि गहिरो प्रभाव पर्‍यो। जनकपुरको कुरा गर्ने हो भने सन् २०१८ मा मोदीको जनकपुर भ्रमण अघि र पछि धेरै परिवर्तनहरू भएका थिए।“

redline
  • नेपालमा झन्डै ८० प्रतिशत मानिसले आफू हिन्दू धर्म मान्ने बताउँछन्
  • बौद्ध धर्मावलम्बीहरू सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदाय हुन्
  • नेपालमा मुस्लिम जनसङ्ख्या ५ प्रतिशत मात्रै छ
  • नेपालमा हिन्दू स्वयम् सेवक सङ्घ आरएसएस, एचएसएसको नाममा काम गर्छ
  • विवाह पञ्चमीमा जनकपुरधाममा आयोजना हुने समारोहमा योगी आदित्यनाथले अयोध्याबाट विवाह यात्रा निकालेका थिए
  • प्रधानमन्त्री मोदीको स्वागतका लागि नेपालको एउटा सहरका पर्खालहरूमा गेरु रङ लगाइएको थियो
  • नेपालमा एचएचएसका १२ वटा संस्था सक्रिय छन्
redline

सहर र सोचमा असर

हनुमानको मुकुट लगाएका मानिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

बिहानको दश बजेको छ। जानकी मन्दिर भित्रबाट ‘हरे राम र सीताराम’ भनिरहेको सुमधुर आवाज आइरहेको छ। हनुमानको मुकुट लगाएका एक व्यक्ति मन्दिर वरपर घुमिरहेका छन्। बच्चाहरू तिनै हनुमानजीसँग सेल्फी खिच्न झुम्मिइरहेका छन्।

हामीलाई क्यामेरासहित देखेर एक जना ४० वर्षीय मानिसले प्रश्न तेर्स्याए, "कहाँबाट आउनु भयो?" मैले दिल्लीबाट आएको बताएँ। त्यसपछि उनले प्रधानमन्त्री मोदी त्यहाँ पुगेको प्रसङ्ग निकाले।

मैले उनलाई प्रश्न गरेँ, तपाईँको प्रधानमन्त्री त प्रचण्ड हो नि? ती व्यक्तिले भने- “हो, तर मोदीजी पनि त छन्।“

त्यहाँ मसँगै उपस्थित थिए नेपालको पहाडी क्षेत्रका पत्रकार र जनकपुरका एक मुस्लिम पत्रकार- दुवै हाँस्न थाले। उनीहरूमध्ये एक जनाले भने- अब बुझ्नुहोस् मोदी नेपाल आएपछि कसरी र कति प्रभाव परेको छ।

redline
यो पनि पढ्नुहोस्
redline

मैले आफूसँग भएका मुस्लिम पत्रकारसमक्ष मन्दिरका महन्तसँग कुरा गर्ने इच्छा व्यक्त गरेँ। उनले महन्त हालसालै अयोध्या गएका र मुख्य पुजारीसँग भेट सम्भव भएको जानकारी दिए।

मैले उनलाई सोधेँ – “तपाईँ मन्दिर प्रवेश गर्न मिल्छ?”

उनले सरल जवाफ दिए, ''सर, यो जनकपुर हो। मोदीको असर परेको छ तर नेपालमा अवस्था अझै राम्रो छ। जाऔँ पुजारीजीलाई भेटौँ।“

उनले ढोकाबाहिर आफ्नो जुत्ता खोले र मलाई मुख्य पुजारीकहाँ लगे। पुजारीले मुस्लिम पत्रकारलाई नम्रताका साथ हालखबर सोधे र मसँग कुरा अघि बढाए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१८ मा जनकपुर पुगेका थिए। प्रधानमन्त्री मोदी जनकपुर आउनुअघि र पछि सहरमा धेरै परिवर्तनहरू भए।

लालकिशोर साह
तस्बिरको क्याप्शन, सन् २०१८ मा जनकपुरका तत्कालीन मेयर लालकिशोर साह। उनले मोदी भ्रमणको क्रममा धेरै विवादास्पद निर्णयहरू लिएका थिए

प्रधानमन्त्री मोदीको स्वागतमा जनकपुर उपनगरपालिकाका तत्कालीन मेयर लाल किशोर साहले सहरका अधिकांश पर्खालहरूमा गेरु रङ लगाएका थिए। जनकपुर उपमहानगरपालिकाको नाम फेरेर जनकपुरधाम बनाइएको थियो।

नगरपालिकाका कर्मचारीहरूलाई गेरु रङकै पोसाक तय गरिएको थियो। कर्मचारी कार्यालय पुग्ने समयमा ‘जय जनकपुर धाम’ बोलको गीत बजाइएको हुन्थ्यो। त्यति बेला नसीम अख्तर नाम गरेका एक मुस्लिम कर्मचारीले मेयरको निर्णय मान्न अस्वीकार गरे।

लाल किशोर साहसँग यस्तो निर्णय गर्नुको कारणबारे सोध्दा उनले भने,”हामीले जनकपुरलाई केसरनगर बनाउन खोजेका थियौँ। त्यसैले सरकारी पैसाले जनताको घरमा समेत केसर रङ लगायौँ। सीताजीलाई पनि केसर निकै मन पर्थ्यो।“

नसीम अख्तर

तस्बिर स्रोत, HADIS KHUDDAR

तस्बिरको क्याप्शन, मेयर रहेका साहको निर्णय अस्वीकार गरेका नसीम अख्तर

यी निर्णयहरूबाट मोदी खुसी भए त?

साह भन्छन्, “मैले प्रधानमन्त्री मोदीलाई विमानस्थलमै पुगेर स्वागत गरेँ। उनलाई त्यहाँबाट जानकी मन्दिरमा ल्याइयो। त्यसपछि मोदीजीलाई रङ्गभूमि मैदानमा नागरिक अभिनन्दन गरियो।“

"प्रधानमन्त्री मोदीलाई छोड्न जाँदा उनले भनेका थिए- मेयर साहब, तपाईँले जनकपुरलाई एक किसिमको रङ दिनुभएको छ। मैले त्यो मेरै निर्णय भएको सुनाएँ। उनले त्यसको प्रशंसा गरे।“

नेपालमा हिन्दुत्व राजनीतिको प्रभाव

डेनमार्कका लागि नेपालका पूर्व राजदूत तथा काठमाण्डूमा ‘सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरेलिज्म’ (सीईआईएसएफ) नामक थिङ्‍कट्याङ्क चलाउने विजयकान्त कर्णका अनुसार नरेन्द्र मोदीलाई हेर्नकै लागि जनकपुरमा हजारौँ मानिसको भिड उर्लेको थियो।

उनी भन्छन्, “मोदीलाई हेर्न र सुन्न विदेशमा यति ठूलो सङ्ख्यामा मानिस कहिल्यै आएका थिएनन्। डबली पूरै भरिएको थियो। उनी विदेशी भूमिमा बोलिरहेको जस्तो लागेन।“

“मोदी प्रधानमन्त्री भएपछि नेपालमा हिन्दुत्वको राजनीति बलियो भएको” कर्णको विचार छ। तर, धर्मको राजनीतिक प्रयोग हुन थाल्यो भने अवस्था बिग्रने उनी ठान्छन्।

कर्ण भन्छन्, "नेपालमा अधिकांश मुस्लिम मधेस क्षेत्रमा छन्। यो क्षेत्र भारतसँग जोडिएको छ। यसले नेपालको सुरक्षा मात्र होइन, भारतको सुरक्षामा पनि नराम्रो असर पार्नेछ।"

"नेपालको सिमानालाई एलओसी र बाङ्गलादेश सँगको सिमानाजस्तै बनाउने काम भारतले गर्दैन। यी दुवै सीमा क्षेत्रको सुरक्षाका लागि भारतले अर्बौँ रुपैयाँ खर्च गर्छ, तर नेपालसँगको सिमानामा अहिलेसम्म त्यस्तो गरेको छैन।"

नेपालमा आरएसएस

आरएसएसले नेपालमा हिन्दू स्वयम् सेवक सङ्घको रूपमा एक संस्था खोलेको छ जसलाई एसएसएस भनिन्छ। वीरगन्जका रञ्जित साहले हिन्दू स्वयंसेवक सङ्घको जनकपुर शाखाको कार्यवाहक नेतृत्व सम्हालिरहेका छन्।

वीरगन्ज बिहारको रक्सौलसँग जोडिएको छ। म रञ्जित साहलाई भेट्न उनको वीरगन्जस्थित कार्यालयमा गएको थिएँ। उनी बसेको कोठाको भित्तामा आरएसएसका संस्थापक केशव बलिराम हेडगेवार र आरएसएसका दोस्रो सरसंघचालक एमएस गोलवलकरको तस्बिर टाँसिएको छ।

तपाईँ हेडगेवार र गोलवलकरबाट प्रेरित हुनुहुन्छ हो? भन्ने प्रश्नमा रञ्जित साहले हाँस्दै भने, "म सङ्घको स्वयंसेवक न हुँ। अरू कोबाट प्रेरणा लिन्छु होला?"

रञ्जित साहले नेपालमा मधेसी र पहाडीहरू बीचको लडाइँ, भारत-नेपाल सीमा विवादलगायतका सबै समस्याका लागि मुस्लिम समुदायलाई जिम्मेवार ठहर्‍याए।

रञ्जित साह
तस्बिरको क्याप्शन, रञ्जित साह

के यो सङ्घ नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउन चाहन्छ? रञ्जित साह यस प्रश्नको जवाफमा भन्छन्,“हरेक हिन्दू यही चाहन्छन्। यो इच्छा हरेक हिन्दूको मनमा गडेको छ। यसका लागि आवश्यक पहल भइरहेको छ। प्रयासको नतिजा पनि देखिन थालेको छ। भविष्यमा यो देश पक्कै हिन्दू राष्ट्र हुनेछ। यो बाटोमा केही राजनीतिक तथा अन्य व्यक्तिहरू बाधक बनेका छन्।“

नेपाल फेरि हिन्दू राष्ट्र भयो भने के उपलब्धि हुन्छ? भन्ने मेरो प्रश्नमा उनी प्रतिप्रश्न गर्छन्,”पाकिस्तान मुस्लिम राष्ट्र हो। त्यहाँ के उपलब्धि भएको छ?”

त्यसपछि रञ्जित साहले अस्ट्रेलिया इसाई देश भएको बताए। यथार्थमा त्यो धर्मनिरपेक्ष राष्ट्र हो। उनले कुनै पनि सही उदाहरण रोज्न नसकेपछि आफ्नो विचार सही प्रमाणित गर्न भने, “जबसम्म नेपाल हिन्दू राष्ट्र थियो, सामाजिक विभेद थिएन। अल्पसङ्ख्यकहरू सबैभन्दा सुरक्षित थिए। धर्मनिरपेक्ष भएपछि यहाँ असुरक्षा बढेको छ।“

"जुन क्षेत्रमा अल्पसङ्ख्यक समुदायको बाहुल्य छ त्यहाँका आदिवासी जनजाति प्रभावित छन्। वीरगन्जमा हिन्दूहरूको बाहुल्यता छ तर दाहसंस्कार गर्ने ठाउँ एउटा मात्र छ। तर सीमित अल्पसङ्ख्यकले विगत पाँच वर्षमा करिब १० वटा चिहान र इदगाह बनाएका छन्।

जानकी मन्दिर

तस्बिर स्रोत, JANAKI TEMPLE/FB

तस्बिरको क्याप्शन, जानकी मन्दिर/फाइल तस्बिर

सहरमा एउटा मात्र घाट रहेको रञ्जित साहको दाबीलाई वीरगन्जका स्थानीय हिन्दूहरूले खण्डन गरेका छन्। हिन्दूहरुले दाहसंस्कार गर्ने यस्ता ठाउँ धेरै वटा रहेको स्थानीयवासीले बताएका छन्।

भारतमा आरएसएसको दल बीजेपी हो नेपालमा कुन पार्टी छ? रञ्जित साह भन्छन्, ‘यहाँ सबै दलको जनतासँग राम्रो सम्बन्ध छ। अयोध्यामा रामको मूर्ति बनाउन गण्डकी क्षेत्रको कालीगण्डकी नदीबाट ढुङ्गा निकालिएको छ।

"उक्त ढुङ्गा लिएर देवशीला यात्रा सुरु हुँदा गण्डकी प्रदेशमा कम्युनिस्ट सरकार थियो।"

भारतमा आरएसएसको पाञ्चजन्य नामक मासिक पत्रिका निस्कन्छ। नेपालमा त्यस्तै हिमाल दृष्टि नामक पत्रिका छ। भारतमा आरएसएसले सरस्वती शिशु मन्दिर र नेपालमा पशुपति शिक्षा मन्दिर नामका विद्यालयहरू सञ्चालन गरेको छ। भारतमा जस्तै नेपालमा पनि हिन्दुत्वको पक्षधर थुप्रै सङ्घसंस्थाहरू छन्।

redline

रञ्जित साहका अनुसार नेपालमा आरएसएसका १२ वटा संस्था सक्रिय छन्। ती हुन्-

  • धर्म क्षेत्रको लागि विश्व हिन्दू परिषद्
  • आदिवासी कल्याण आश्रम (गुदा केन्द्र)
  • पशुपति शिक्षा मन्दिर
  • प्राज्ञिक विद्यार्थी परिषद्
  • नीति अनुसन्धान फाउन्डेसन
  • विश्व संवाद केन्द्र
  • हिमाल दृष्टि
  • एकल विद्यालय अभियान
  • हिन्दू स्वयंसेवक सङ्घ नेपाल
  • राष्ट्रिय मजदुर सङ्घ
  • राष्ट्र सेवक नेपाल
  • धर्म जागरण मञ्च (घर फिर्तीका लागि)
redline

फेरि हिन्दू राष्ट्र?

सन् २०१५को सेप्टेम्बरमा नेपालले नयाँ संविधान जारी गर्‍यो। उक्त संविधानले नेपाल हिन्दू राष्ट्र नरहने घोषणा गरेको थियो। त्यसपछि नेपाल संवैधानिक रूपमा धर्मनिरपेक्ष राज्य बन्यो।

भारतमा हिन्दू राष्ट्रको वकालत गर्ने भारतीय जनता पार्टीको नरेन्द्र मोदी नेतृत्वको सरकार सत्तामा हुँदा नेपालमा यस्तो घोषणा गरिएको थियो। सन् २००६मा तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहले माओवादीको दबावमा नेपालले हिन्दू राष्ट्रको रूपमा आफ्नो पहिचान गुमाउनु नहुने बताएका थिए।

नेपाल धर्मनिरपेक्ष राज्य बनेपछि जनकपुरका मुस्लिमहरूको जीवनमा कस्तो प्रभाव पर्‍यो?

वीरगन्जका ३५ वर्षीय शेर मोहम्मद अन्सारी भन्छन्, ‘‘साँच्चै भन्ने हो भने हामी हिन्दू राष्ट्रमा निकै सुरक्षित थियौँ। त्यति बेला धर्मको कुरा कसैले गर्दैनथे। हिन्दू राष्ट्र भए पनि धर्मको कुरा कसैले गर्दैन थिए। त्यति बेला पनि हामीलाई कुनै घाटा थिएन। हिन्दू राष्ट्र नरहेपछि हामीले केही अधिकार पाएका छौँ। उदाहरणका लागि हाल मुस्लिमहरूले इद र बकरिदको अवसरमा बिदा पाउँछौँ। हिन्दू राष्ट्र हुँदा यो छुट्टी हुँदैन थियो।’’

शेर मोहम्मद अन्सारी भन्छन्, ‘‘भारतको हिन्दूवादी राजनीतिको प्रत्यक्ष प्रभाव नेपालका मुस्लिमहरूमा परेको छ। यो राजनीतिक रूपमा नदेखिन सक्छ तर मुस्लिमहरूमा एक किसिमको हलचल उत्पन्न भएको छ। ओवैसी सन् २०१४ अघि नेपालका मुस्लिमहरू माझ लोकप्रिय थिएनन् तर अहिले यहाँका कतिपय युवा मुस्लिमले उनको भाषण निकै ध्यान दिएर सुन्छन्।’’

जब नेपाल हिन्दू राष्ट्र थियो के मुस्लिमहरू साँच्चै सुरक्षित थिए?

वीरगन्जको मस्जिद नजिक शेर मोहम्मदले यी सबै कुराहरू भनिरहेका थिए। उनकै छेउमा उभिइरहेका जैमुनिउद्दीन अन्सारीले भने, ‘‘हाम्रा मुस्लिम दाजुभाइहरूको अनावश्यक हत्या हुँदा हामी प्रभावित हुन्छौँ। हाम्रो नेपालमा यस्तो हुँदैन। भारतमा मुस्लिमहरूलाई अलि बढी नै हैरान पारिएको सुनिन्छ।’’

‘‘राजाले अल्पसङ्ख्यकलाई संरक्षण दिएर त्यसमा आफ्नो वैधानिकता खोज्छन्। तर लोकतन्त्रमा बहुमतवाद लागू हुन्छ। जसका कारण धेरै मत हुनेले बढी महत्त्व पाउन थाल्छ। यही कारणले गर्दा नेपालका कतिपय मुस्लिमहरू आफ्नो लागि राजतन्त्र धेरै ठिक रहेको बताउँछन्। यो अल्पसङ्ख्यक मानसिकता हो,’’ नेपालका एक जना टिप्पणीकार सिके लालले भने।

सन् २०१४ पछि मधेसमा आरएसएस र हिन्दुत्वको राजनीति बलियो भएको उनी बताउँछन्।

राजा र हिन्दुत्वको प्रचार गरिरहेका व्यक्तिहरू

तस्बिर स्रोत, Getty Images

उनी भन्छन्, ‘‘वीरगन्जमा व्यवसायीहरूको बाक्लो जनसङ्ख्या छ र उनीहरूको हिन्दुत्व राजनीतिसँगको सम्बन्ध भारतको जस्तै छ। नेपालमा आरएसएस र हिन्दुत्वको राजनीतिले यसरी नै गति लिँदै गरे आगामी दिनमा द्वन्द्व झन् बढ्छ भन्ने मलाई लाग्छ। यसबाट नेपाल प्रभावित हुने भए पनि यसले भारतमा राम्रो असर पार्दैन।’’

चन्द्र किशोर झा वीरगन्जस्थित वरिष्ठ पत्रकार हुन्। नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेपछि नेपालको राजनीति र समाजमा परेको प्रभावहरू उनले पनि महसुस गरिरहेका छन्।

redline
यो पनि पढ्नुहोस्
redline

यी परिवर्तनहरूलाई रेखाङ्कित गर्दै झा भन्छन्, “नेपालमा हिन्दू र मुस्लिमबीचको सम्बन्धको व्याकरण परिवर्तन हुँदै छ। मोदी प्रधानमन्त्री बनेपछि भारतका सञ्चारमाध्यमहरूमा पनि परिवर्तन आएको छ। नेपालमा बढी मात्रामा भारतका हिन्दी समाचार च्यानलहरू हेरिन्छ। यी समाचार च्यानलहरूमा मुस्लिमहरूलाई जुन रूपमा देखाइन्छ त्यसले प्रभाव पार्नु अचम्मको कुरा होइन।’’

‘‘हिन्दूहरूमा अतिवाद बढ्दै गएको छ भने नेपालका मुस्लिम पनि प्रतिक्रिया स्वरूप अतिवादतर्फ लागेका छन्। भारतमा हिन्दुत्वको पक्षमा हुने प्रचारप्रसारबाट नेपाल पनि अछुतो छैन। युवा पुस्ता यस विषयमा अलि बढी आक्रामक छन्।

नेपालमा आरएसएसले नेपालकै हिसाबले काम गरिरहेको छ। भारतको राजनीतिमा जसरी हिन्दू-मुस्लिम कार्ड खेलिराखिएको छ त्यसले यहाँका मुस्लिमहरूमा पनि हलचल मच्चिएको छ।’’

भारतमा पनि हिन्दुत्वको प्रचार राजनीतिक दलका नेताहरूले गर्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालमा राजतन्त्रको वकालत गर्ने र हिन्दुत्वको राजनीति गर्ने दुवै एउटै भएको बताएका छन्।

उनी भन्छन्, ‘‘नेपालको संसद्‌मा राजतन्त्रको वकालत गर्ने र हिन्दुत्वको राजनीतिसँग नजिक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ। नेपालमा हिन्दुत्वको राजनीति बलियो भयो भने नेपालको सार्वभौमसत्ताका लागि घातक हुन्छ भन्ने मलाई लाग्छ।’’

नेपालको राजतन्त्रसँग आरएसएसको पुरानो सम्बन्ध छ

सन् १९६४मा राजा महेन्द्रलाई राष्ट्रिय स्वयम् सेवक सङ्घले नागपुरमा मकर सङ्क्रान्ति र्‍यालीलाई सम्बोधन गर्न आमन्त्रित गरेको थियो।

उक्त निमन्त्रणा राजा महेन्द्रले स्वीकार गरेका थिए। भारतको तत्कालीन कांग्रेस सरकारले राजा महेन्द्रको रवैयाप्रति निकै असहज महसुस गरेको थियो।

त्यति बेला आरएसएसको कमान्ड गोलवलकरको हातमा थियो र उनले नै राजा महेन्द्रको आगमनको घोषणा गरेका थिए।

आरएसएसको निमन्त्रणा स्वीकार गर्नुअघि राजा महेन्द्रले दिल्ली सरकारसँग छलफल गरेका थिए वा थिएनन् भन्ने स्पष्ट छैन।

सन् १९६०को दशकमा नेपालका लागि भारतका राजदूत श्रीमान् नारायणले ‘इन्डिया एन्ड नेपाल: एन एक्सरसाइज इन ओपन डिप्लोमेसी’ किताबमा लेखेका छन्, ‘‘राजा महेन्द्रले आरएसएसको निमन्त्रणा त्यति बेला स्वीकार गरेका थिए जब उनको दिल्लीको कांग्रेस सरकारसँग राम्रो सम्बन्ध थिएन।

अर्कोतर्फ आरएसएसले नेपाल र नेपालका राजालाई हिन्दू राज्यको रूपमा हेर्ने गर्थ्यो। आरएसएसले नेपाललाई मुस्लिम शासकहरूको आक्रमणबाट 'अपवित्र' नभएको रामराज्यको उदाहरणको रूपमा हेरेको थियो। आरएसएसको सपनामा नेपाल अखण्ड भारतको हिस्सा रहेको थियो।’’