धादिङ बस दुर्घटनामा विदेशीसहित १८ जनाको मृत्यु

दुर्घटनाग्रस्त बस

तस्बिर स्रोत, shiva silwal

तस्बिरको क्याप्शन, ज्यान गुमाउनेमा चार
    • Author, ईश्वर जोशी
    • Role, बीबीसी न्यूज नेपाली
    • Reporting from, नारायणगढ
  • पढ्ने समय: २ मिनेट

धादिङमा गए राति भएको यात्रुवाहक बस दुर्घटनामा विदेशी नागरिकसहित १८ जनाको मृत्यु भएको घटनास्थलबाट त्यहाँका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट काठमाण्डूतर्फ गइरहेको उक्त बस धादिङको बेनीघाट रोराङ्ग-५ मा सडकबाट त्रिशूली नदी छेउमा खसेको थियो।

घटनास्थल पृथ्वी राजमार्ग अन्तर्गतको चरौँदी बजार नजिक पर्छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए।

उनका अनुसार दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी उपचारको लागि पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार बस सडकको आफ्नै साइडबाट तल खसेको छ।

तर बस दुर्घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।

उद्धारमा समस्या

तथ्याङ्क

दुर्घटना रातको करिब १ बजे भएको र ज्यान गुमाउनेमा महिला यात्रुहरू पनि रहेको बताइएको छ।

बस त्रिशूली नदी किनारमा खसेको र त्यो ठाउँ ठाडो भिरालो भएकाले घाइतेहरूलाई नदीको एक किलोमिटर जति तल्लो भागमा पुर्‍याएर उद्धार गर्न सकिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।

उपचारको लागि काठमाण्डू पठाइएकाहरू मध्ये कतिपय घाइतेहरूको अवस्था गम्भीर रहेको प्रशासनले जानकारी दिएको छ।

पछिल्लो बस दुर्घटनाको कारणबारे केही बताइएको छैन।

पृथ्वी राजमार्ग खण्डमा बस दुर्घटना पटक पटक हुने गर्छ। तर दुर्घटनाको यकिन कारण खुल्ने गरेको पाइँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।