तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धादिङ बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु
- Author, ईश्वर जोशी
- Role, बीबीसी न्यूज नेपाली
- Reporting from, नारायणगढ
- पढ्ने समय: ३ मिनेट
धादिङमा आइतवार मध्यरातपछि भएको यात्रुवाहक बस दुर्घटनामा विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार पोखराबाट काठमाण्डूतर्फ गइरहेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने सडकबाट त्रिशूली नदीको किनारमा खसेको थियो।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या १९ पुगेको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि धादिङको गजुरी लगिएका एक र काठमाण्डू लगिएका अर्का घाइतेको पनि मृत्यु भएको हो।
घटनास्थल पृथ्वी राजमार्ग अन्तर्गतको चरौँदी बजारनजिक पर्छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए।
प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ।
उनका बस सडकको आफ्नै साइडबाट तल खसेको थियो। तर बस दुर्घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको कलङ्कीस्थित न्याश्नल अस्पताल उपचार भइरहेको जनाएको छ।
राष्ट्रिय समाचार समितिका अनुसार ट्रमा सेन्टरमा उपचार भइरहेकामध्ये एक चिनियाँ महिला पनि छिन्।
माछापुच्छ्रे टूर्स एन्ड ट्राभल्सको उक्त बस आइतवार साँझ ७ बजे पोखराबाट ३४ यात्रु लिएर हिँडेको जानकारी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले राष्ट्रिय समाचार समितिलाई दिएका छन्।
उद्धारमा समस्या
दुर्घटना मध्यरातपछि १ बजेतिर भएको र ज्यान गुमाउनेमा महिला यात्रुहरू पनि रहेको बताइएको छ।
बस त्रिशूली नदी किनारमा खसेको र त्यो ठाउँ ठाडो भिरालो भएकाले घाइतेहरूलाई नदीको एक किलोमिटर जति तल्लो भागमा पुर्याएर उद्धार गर्न सकिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।
उपचारको लागि काठमाण्डू पठाइएकाहरूमध्ये कतिपय घाइतेहरूको अवस्था गम्भीर रहेको प्रशासनले जानकारी दिएको छ।
अधिकारीहरूले बस दुर्घटना कसरी भयो भन्ने खुलाएका छैनन्।
पृथ्वी राजमार्ग खण्डमा बस दुर्घटना पटक पटक हुने गर्छ। तर दुर्घटनाको यकिन कारण खुल्ने गरेको पाइँदैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।