विवाहको उल्लासमा वज्रपात: कसरी भयो बस दुर्घटना, ज्यान गुमाउनेहरू को हुन्

तस्बिर स्रोत, BBC /Prakash Parki
- Author, प्रकाश पार्की
- Role, डडेलधुरा
- पढ्ने समय: ४ मिनेट
बझाङको बित्थडचिर गाउँपालिका-७ का शङ्करदत्त जोशी बिहीवार बेलुकी नवविवाहित छोराबुहारीसहित जन्ती लिएर बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट घर फर्किँदै थिए।
विवाहको उल्लास, नातेदार र इष्टमित्रसँगको रमाइलो र घर फर्केर नयाँ बुहारीको भित्र्याउने उत्साह उनमा थियो। तर यात्रा सुरु भएको १५-२० मिनेटमै पुर्चौडी नगरपालिका-७ बढ्गाउँको मोडमा पुगेपछि अकल्पनीय दुर्घटना भयो। धेरैको जीवनमा वज्रपात भयो।
विवाहको खुसी त्रास, कोलाहल र अन्ततः शोकमा बदलियो। जन्ती गएका ४९ जना चढेको बस बाटोबाट तल खसेपछि १३ जनाले मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा पर्दा शङ्करदत्त जोशीको खुट्टामा चोट लागेको छ। अहिले उनी डडेलधुरा अस्पतालमा उपचार गराउँदै छन्। उनका अनुसार बेहुला र बेहुली चढेको गाडी केही अगाडि थियो र उनीहरू सकुशल छन्। उनी किंकर्तव्यविमूढ देखिन्छन्।
प्रहरी र अस्पतालका अनुसार घटनास्थलमा आठ र उपचारका क्रममा पाँच जनाको मृत्यु भएको हो। प्रहरीले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको बताएको छ।
दुर्घटनामा परी घाइते भएका २३ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते सात जनालाई धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए। सामान्य घाइते चार जनाको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस कसरी भीरबाट खस्यो

तस्बिर स्रोत, BBC /Prakash Parki
"बाटो अलि भिरालो र उकालो थियो। चालकले मोडमा काट्न सकेनन्," अस्पतालको शय्याबाट शङ्करदत्त जोडीले भने, "त्यसपछि बस सीधै पछाडि गयो र भीरबाट खस्यो।"
दुर्घटनामा घाइते भएकामध्ये पुर्चौडी नगरपालिका अवस्थीगाउँकी चन्द्रा अवस्थी पनि हुन्। उनको पनि डडेलधुरा अस्पतालमै उपचार भइरहेको छ। उनी स्वयंसेविका हुन्।
घटनाबारे बीसीसी न्यूज नेपालीसँग उनले भनिन्, "चालकले अनियन्त्रित तरिकाले चलाइरहेको थियो। साँघुरो घुम्तीमा बस ठोकियो अनि बस पछाडि सर्यो। चालकले घुम्तीमा मोड्न नै सकेन र बस खसिहाल्यो। त्यसपछि थाहा नै भएन।"
उनले जन्तीको बस हिँडेको १५-२० मिनेटमै दुर्घटनामा परेको बताइन्। उक्त बस सुदूरपश्चिम प्रदेशमा दर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीले मृतकहरूको नाम सार्वजनिक गरेको छ।
सुदूरपश्चिममा किन हुन्छ घातक सडक दुर्घटना

तस्बिर स्रोत, Naresh BK
सुदूरपश्चिम प्रदेशमा विगत छ वर्षको अवधिमा सवारी दुर्घटनामा १,०४६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १८७, आव ०७८/७९ मा १९६, ०७९/८० मा १७७, ८०/८१ मा १७३, आव २०८१/८२ मा १९२ जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको हालसम्म १२२ जनाको ज्यान गइसकेको डीएसपी जोराले बताए।
"सुदूरपश्चिमका पहाडी जिल्लामा चालकको लापरबाहीले नै बढी दुर्घटना हुने गरेको देखिन्छ। यहाँ ८० प्रतिशतजति दुर्घटना चालकको गल्तीले भएको छ," उनले भने।
"कच्ची सडक पनि दुर्घटनाको अर्को कारण हो। बैतडीमा हिजो भएको दुर्घटनामा पनि चालककै लापरबाही देखिन्छ।"
मृतकहरू अधिकांश बेहुलाका नजिकका आफन्त
मृतकहरू अधिकांश बेहुलाका नजिकका आफन्त रहेका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४२ वर्षीय नरेन्द्रराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्।
उनीहरू बेहुलाका काका हुन्। एउटै घरका दुई खम्बा एकैपटक ढलेपछि जोशी परिवारमाथि ठूलो वज्रपात भएको छ। नरेन्द्रराज बित्थडचिर गाउँपालिकामा प्राविधिक सहायकका रूपमा कार्यरत थिए भने विष्णुदत्त महादेव माध्यमिक विद्यालयका शिक्षक थिए।
उनीहरूका भतिजा ३५ वर्षीय वसन्तराज जोशीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। उनी कृषि प्राविधिक थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बलाँचमा वडासचिवको जिम्मेवारीमा थिए।
बझाङको केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्टको पनि सोही दुर्घटनामा निधन भएको छ। बाबुछोरा नै जन्ती गएका उनीहरूको शव एकैसाथ घर फर्किँदा गाउँ नै शोकमा डुबेको छ।
दुर्घटनामा बेहुलीका आफ्नै १४ वर्षीय भाइ सुशील जोशीको पनि ज्यान गएको छ। दिदीको विवाहको खुसीमा जन्तीसँगै बस चढेका थिए।
'बसबाट हाम फालेर रूखमा अड्किएँ'

तस्बिर स्रोत, BBC /Prakash Parki
बस दुर्घटनामा घाइते भएका अमरराज जोशीले आफू दुर्घटनाको क्षणमा उनले बसको ढोकाबाट हाम फालेका थिए र नजिकै रहेको उत्तिसको रूखमा अड्किएपछि उनको ज्यान जोगिएको हो।
उनले आफू अझै बाँचेको, परिवारको माया फेरि महसुस गर्न पाएको र नयाँ बिहानी देख्न पाउनुलाई संयोग नभई "दैवीकृपा" ठानेका छन्।
"यो घटनाले जिन्दगी धेरै नाजुक रहेछ भन्ने सिकायो। रिस, घमण्ड र द्वेष केही काम नलाग्ने रहेछ, माया, सद्भाव र विश्वास मात्रै साथ जाने रहेछ," जोशीले भावुक हुँदै सुनाए।
जोशीले आफूले सधैँ सबैलाई माया, सम्मान र सहयोग गर्दै आएको अनि सकारात्मक कर्मकै फलस्वरूप आज जीवन फेरि पाएको जस्तो अनुभूति भइरहेको बताए।
"भगवान्, धन्यवाद। मलाई अझै केही राम्रो काम गर्न बाँकी रहेछ भन्ने सङ्केत दिनुभएकोमा आभारी छु," उनले फेसबुकमा लेखेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















