'उपलब्धि ठूलो कि प्रचारबाजी धेरै?': हुम्ला सडक सञ्जालमा जोडिएपछि उठेको प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली आइतवार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटनपश्चात् नेपाली सेनाको ट्रक

तस्बिर स्रोत, RSS

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

हुम्लाको चुवाखोलामा बेलिब्रिज जडान भएपछि उक्त विकट हिमाल पनि जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यससँगै देशका सबै जिल्लामा सडक सञ्जाल पुगेको छ।

कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा हुँदै हुम्ला जाने सडकमा पर्ने उक्त खोलामा पक्की पुल निर्माण हुन समय लाग्ने भएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हुम्लामा सडक सञ्जाल विस्तार भएपछि खास गरी त्यहाँका मानिसलाई आवागमनमा सहज हुने र भारत र चीन जोडिने यो सडकका कारण त्रिदेशीय 'कनेक्टिभिटी'बाट फाइदा पुग्ने दाबी गरेका छन्। तर कर्णाली प्रदेशका भूतपूर्व मुख्यमन्त्री जीवनबहादुर शाही अहिले ४० प्रतिशत मात्रै काम सकिएको र ६० प्रतिशत काम बाँकी भएको औँल्याँउछन्।

हुम्ला खार्पुनाथ निवासी रङ्गमती शाही बेलिब्रिज बनेर सडक जोडिएपछि खुसी छिन्। उनलाई अब पहिलाको भन्दा बढी सुविधा हुने भए पनि सडकको अवस्थाले बाह्रै महिना सुविधा हुन सक्ला भन्ने चाहिँ लाग्दैन।

विगतमा प्राय: सिमकोटबाट विमानमै आउजाउ गर्ने उनी केही दिनअघि सुर्खेतबाट गाडी चढेर हुम्ला गएकी थिइन्। तर वर्षा हुनासाथ सडकको अवस्था बिग्रिएको देख्ने साक्षी उनी बनिन्।

"पानी पर्नेबित्तिकै पहिरो आउने ढुङ्गा खस्ने गर्छ। कच्ची सडक छ, गाडीबाट झरेर दौडादौड गरेर हिँड्नुपर्छ। पानी आएको बेला त यो सडकमा यात्रा गर्न असम्भव नै छ," उनले भनिन्।

"सडक पुगेर मात्र भएन। नियमित रूपमा गाडी चल्नुपर्‍यो।"

हुम्लाको सदरमुकाम सिमकोटसम्म जाने बाटो कच्चीमा पहिरो खसेपछि ढुङ्गा पन्साउँदै दुई व्यक्ति

तस्बिर स्रोत, KAMLESH KUMAR LAHA

तस्बिरको क्याप्शन, हुम्लाको सदरमुकाम सिमकोटसम्म जाने बाटो कच्ची भएको र सानै पहिरोले पनि बाटोमा अवरोध पुग्ने गरेको छ

फाइदा कस्ता

हुम्लाकी रङ्गमती शाहीले यस्तो अनुभव सुनाइरहँदा आइतवार बेलिब्रिजको उद्घाटनमा हुम्ला जिल्लाको खार्पुनाथ पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सदरमुकाम सिमकोटसँग सडक सञ्जाल जोडिएपछि अब कर्णाली विकट नरहेको दाबी गरे।

"त्यहाँका जनतालाई आवागमनमा सहज हुने त छँदै छ। त्यसबाहेक यसका दुईवटा फाइदाहरू छन्," उक्त बाटो जोडिएपछि बीबीसीसँग बोल्दै उनले भने।

"त्यो क्षेत्रबाट भारत र चीनलाई जोड्ने सडक भएपछि यसले त्रिदेशीय 'कनेक्टिभिटी'लाई जोड्ने छ। अब कर्णाली पनि सुगम बन्यो, यो विकट रहेन। पिछडिएको कर्णाली पनि विकासको 'स्ट्यान्डर्ड'मा पुग्यो भन्न सकिन्छ।"

तर कतिपय मानिस पक्की पुल निर्माणाधीन नै रहेको अवस्थामा वैकल्पिक रूपमा ल्याएको बेलिब्रिजलाई सरकारले धेरै प्रचार गरेको ठान्छन्। तीमध्ये हुम्ला घर भएका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही हुन्।

"अहिले जुन खालको तामझाम भयो त्यो आवश्यक थियो जस्तो त लाग्दैन। यत्रो वर्ष भइसक्यो यो जोडियो भनेर ठूलो कुरा होइन," बीबीसीसँग कुरा गर्दै उनले भने।

"तलको बाटोमा ठाउँ ठाउँमा बनाउनुपर्ने छ, मर्मत गर्नुपर्ने छ, बाटो दुई लेनको बनाउनुपर्ने छ, कालोपत्रे गर्नुपर्ने छ। यो कुराचाहिँ महत्त्वपूर्ण हो।"

यो सडक निर्माणको काम सङ्घीय सरकारले गरेको हुनाले आफू कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा सरकारलाई झकझक्याउने काम गरेको उनी दाबी गर्छन्। विसं २०७९ प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका बेला आफूहरूले हुम्लालाई सडक सञ्जालमा जोड्न दबाव दिएको उनी बताउँछन्।

अहिलेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल हुम्ला सडक सञ्जालमा जोडिएको विषयमा अलिकति बढी प्रचार भएको भन्ने कुरा आंशिक रूपमा स्वीकार गर्छन्।

"चीन र भारतलाई जोड्ने कारणले गर्दा यसलाई हामीले अलि महत्त्व दिएका कारण अलि बढी प्रचारित पनि भएको छ। तर गर्दै नगरेको अवस्था होइन कि? सातवटा सडक सञ्जालबाट हामी कर्णालीलाई सम्बोधन गर्छौँ।"

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा निर्माण भएको बेली ब्रिजको उद्घाटन कार्यक्रममा

तस्बिर स्रोत, RSS

महत्त्व दिनुको कारण

उनले अहिले उद्घाटन भएको बेलिब्रिजसँगै बन्नुपर्ने तर बन्न बाँकी पक्की पुल पनि छिट्टै निर्माण हुने दाबी गरे।

"त्यो पुल हामी छिट्टै बनाउँछौँ। त्यसका केही प्राविधिक समस्या रहेछ वा भुक्तानीको कुरा बाँकी रहेछ भने पनि त्यसलाई अगाडि बढाएर छिट्टै सम्पन्न गर्छौँ।"

तर उनका अनुसार कति समय लाग्छ भनेर अहिले तोक्न नसकिने बताए।

भारतीय सहर रुपईडीहाबाट चीनको स्वशासित तिब्बतको हिल्सासम्मको दूरी करिब ५०५ किलोमिटर छ।

अहिले हुम्लाको सिमकोट सदरमुकामसम्म पुग्न कर्णाली कोरिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ।

निर्माण सुरु भएको २६ वर्षमा यो सडक जोडिए पनि यसमा थुप्रै काम गर्न बाँकी रहेको मन्त्री दाहालले बताए।

चुवाखोलाबाट सिमकोटतर्फ अगाडि बढ्दा एउटा अप्ठ्यारो ठाउँमा करिब ८०० मिटर बाटो फराकिलो बनाउन असाध्यै कठिन रहेको आफूलाई जानकारी आएको मन्त्री दाहालले बताए। उक्त बाटो बन्न सके अहिलेको घुमाउरो बाटोले छिटो निकास पाउने उनले बताए।

"आठ सय मिटर [भात] एकदमै कठिन चट्टान भएको कारणले नेपाली सेनालाई बनाउन जिम्मेवारी दिएका छौँ। केही महिनाभित्र त्यो पनि छिचोलिन्छ," उनले भने।

कर्णाली करिडोरको सिमकोट जोड्ने सडक

तस्बिर स्रोत, KAMLESH KUMAR LAHA

'प्राथमिकतामा कर्णाली'

मन्त्री दाहालले कर्णाली प्रदेशलाई प्राथमिकता दिएर सरकारले सातवटा सडक बनाउँदै गरेको बताए।त्यसमा अहिले सडक जोडिएको कर्णाली कोरिडोर एउटा हो भने अर्को कर्णाली राजमार्ग हो।

कर्णाली राजमार्गमा सुर्खेत, खुलालु, मान्म, नाग्म हुँदै जुम्ला पुग्छ। त्यस्तै मध्यपहाडी राजमार्ग पनि रुकुम जाजरकोट हुँदै दैलेख राकम जाने बाटो पनि रहेको छ।

मदनभण्डारी राजमार्ग सल्यान, सुर्खेत हुँदै जाने र त्यसबाहेक राप्ती राजमार्ग र भेरि करिडोरलगायत सातवटा सडकका कारण कर्णालीलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए।

तर यी सडकहरूमध्ये साँघुरो र मर्मतसम्भार राम्ररी नभएका कारण केहीमा बारम्बार दुर्घटना हुने गरेका घद्टना बेलाबेला सुनिन्छ।

अहिले कर्णाली राजमार्गमा पनि एउटा पहिरोका कारण तीन सातादेखि बाटो अवरुद्ध रहेको भन्ने विवरण आएको छ। यस्तो अवस्थामा हुम्लाका मानिसलाई आवागमनमा सहज हुने भनिएको कर्णाली कोरिडोरको बाटो कति सुरक्षित हुन सक्ला त?

"कमभन्दा कम सडक दुर्घटना हुने गरी त्यस्ता प्रावधानहरू अपनाएर त्यसमा छुट्टै बजेट छुटाएर कामहरू गरिरहेका छौँ," मन्त्री दाहालले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।