'राजारानीको मूर्ति बनाएर घर फर्कँदै थिएँ, बाटोमै उनीहरूको हत्याको खबर सुन्नुपर्‍यो'

काठका पुलमा मूर्ति

तस्बिर स्रोत, DALSINGH TARUWA

तस्बिरको क्याप्शन, काले तिरुवाले जुम्लाका हिमा र तिला नदी तर्न काठका साँघुहरूमा बनाएका विभिन्न व्यक्ति र देवीदेवताहरूका मूर्तिहरू
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

विसं २०५८ साल जेठ २० गते। काठमाण्डूमा अघिल्लो राति भएको दरबार हत्याकाण्डमा राजारानीसहित थुप्रैले ज्यान गुमाइसकेका थिए।

त्यसको भोलिपल्ट जुम्लाका काले तिरुवाले बल्ल त्यो भयावह घटनाबारे सुने।

उनी चिउरी नुवागाउँमा हिमा नदी तर्न बनाइएको काठे साँघुमा त्यस बेलाका राजारानी वीरेन्द्र र ऐश्वर्यका काठका मूर्तिहरू कुँदेर घर फर्किँदै थिए।

त्यो अप्रिय खबर सुन्दा उनी छाँगाबाट खसेझैँ भए।

"साह्रै दु:ख लाग्यो। अघिल्लो राति नै घटना भएको रहेछ, भोलिपल्ट साँझ ५ बजेतिर मात्र थाहा भयो," उनले भने।

"बाँचेका भए मैले बनाएका आफ्ना मूर्तिहरू हेर्न आउँथे कि?"

तत्कालीन गाउँ विकास समितिले ६० हजार रुपैयाँमा बनाएको साँघुका दुवैतिरका खम्बाहरूमा उनले राजा रानी र उनीहरूका अङ्गरक्षकका मूर्तिहरू बनाएका थिए।

"कसैले भनेर राजारानीका मूर्ति बनाएको थिइनँ," ७१ वर्षीय तिरुवाले भने।

"मनमा के सोचाइ आयो कुन्नि? देशका नायक राजा नै हुन्। आउने पुस्ताले पनि राजाको राज्य थियो कुनै बेला भन्ने कुरा थाहा पाऊन् भन्ने सोचेर साँघुमा मूर्ति बनाएँको थिएँ।"

आउँदो पुस्तालाई थाहा होस्

काले तिरुवा

तस्बिर स्रोत, DALSINGH TIRUWA

तस्बिरको क्याप्शन, काठका मूर्तिहरू बनाउने कलामा निपुण ७१ वर्षका काले तिरुवा

त्यति बेला सङ्कटकाल थियो। गाउँमा जताततै माओवादीहरू देखिन्थे।

"माओवादीहरू आएर राजाको राज्यसत्ता ध्वस्त गर्न हामी लागेका छौँ, तपाईँ भने राजा मान्नु हुँदो रहेछ" भनेर उनलाई धम्क्याए। उनी भन्छन्, धम्कीले उनलाई पटक्कै डर लागेन।

"राजाको भक्त भएर होइन, मान्छे मरे पनि, सत्ता गए पनि आउँदो पुस्तालाई नेपाल कुनै बेला राजाको राज्य थियो भन्ने कुरा थाहा होस् भनेर मूर्ति बनाएँ," उनले निर्धक्कसँग जबाफ फर्काए।

कसैले सिकाएर, तालिम लिएर नभई आफ्नै हठले १२–१३ वर्षको हुँदा मूर्ति बनाउन सिकेको उनले बताए। "त्यति बेला तालिम लिने वा सिक्ने भन्ने चलन नै थिएन।"

काठका मूर्तिका साथै अरू भाँडाकुँडा लगायत सामग्रीहरू पनि उनी बनाउँछन्।

जुम्लाका दुई ठूला नदीहरू हिमा र तिलामा पहिला मूर्तिहरू नराखिएका साँघु थिए।

काले तिरुवाले नै २०५८ सालपछि हरेक साँघुमा राजा रानी, सुरक्षा गार्ड, मन्दिर, समय दिने घडी, देवी देवताका मूर्तिहरू बनाएका थिए।

उति बेला सुनेको भरमा अनुमान गरेर मूर्तिहरू बनाएका उनले अहिले भने फोटो हेरेर दुरुस्तै काठमा आकृति बनाउँछन्।

राजारानीबाहेक अरूका पनि मूर्ति

गत वर्षको कात्तिक महिनामा निर्माण भएको साँघुमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री प्रचण्ड, उनीहरूका सुरक्षा गार्डजस्ता आकृति देखिने मूर्तिहरू बनाएका छन्।

भगवान् शिव, खस महिला र शहीदहरूको समेत मूर्ति उनले बनाएका छन्।

खस महिलाको मूर्ति बनाएका उनी भन्छन्, "खस महिलाको लवाइखवाइ र पहिरन मात्र झल्काउन खोजेको हुँ।"

मूर्ति बनाइसकेपछि उनले हरेक मूर्तिहरूमा रङ पोत्छन्। त्यसपछि मूर्तिहरू निकै आकर्षक देखिने उनी बताउँछन्।

तिला र हिमा नदी तर्ने जति काठे साँघुहरू छन्, ती सबैमा आफूले नै मूर्तिहरू बनाएको उनको दाबी छ।

पारिश्रमिक लिन सङ्घर्ष

ध्यार सल्लाबाट साँघुहरू बनाइन्छ।

साँघु अड्याउन २०–२५ मिटर अग्लो काठका धेरै वटा खाँबो गाडिन्छ र ती प्रत्येक खाँबोहरूमा एक-एक जनाको मूर्ति कुँदिन्छ।

पहिला खापा खोलेर साँघुलाई अड्याइन्छ। त्यसपछि साँघु अड्याउन जमिनमा गाडिएको काठको माथिल्लो भागमा मूर्ति बनाइन्छ।

मूर्ति बनाउँदा धेरै मेहनत गर्नु परे पनि पारिश्रमिक लिन भने सङ्घर्ष गर्नु परेको उनी गुनासो गर्छन्।

कहिलेकाहीँ त प्रहरीसँग उजुरी गरेर पैसा लिनु परेको अनुभव उनी सुनाउँछन्।

कतिपयले नबुझे पनि धेरै मान्छेहरूले कलाको सम्मान र तारिफ गर्दा खुसीको अनुभूति हुने गरेको उनी बताउँछन्।

मूर्ति बनाउने सीपले आफूलाई जीवन धान्न सघाएको उल्लेख गर्दै तिरुवा हरेक वर्ष २–३ लाखदेखि ४–५ रुपैयाँ कमाउने गरेको बताउँछन्।

उनी अर्डर अनुसार मूर्तिहरू बनाउँछन्। घरहरूमा राख्ने मूर्तिहरू पनि बनाउने उनी भन्छन्, "नियमित आम्दानी भइरहने भएकाले खानालाउन, परिवार पाल्न, छोराछोरी पढाउन सजिलो भएको छ।"

काँठका पुलमा मूर्ति

तस्बिर स्रोत, PRAKASH PANT/BBC

राज्यले सम्झिदिए पुग्छ

"राज्यले सम्झिदिए मात्र पुग्छ केही गर्नु पर्दैन। सक्छ भने मेरो सीपलाई गाउँ गाउँमा विस्तार गर्न सहयोग गरे हुन्थ्यो," उनले भने।

उनले आफ्नो सीप अरूलाई पनि सिकाइरहेको बताउँछन्।

आफू मरेर गए पनि अरूले सिकून् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछन्।

उनका दुई जना छोरीहरूको विवाह भइसकेको छ।

जेठो छोराले उनकै सीपलाई पछ्याउँदै काठको काम गरेर जीवन निर्वाह गरिरहेका छन् भने कान्छो छोरा इन्जिनियरिङ पढ्दै छन्।

आँखा मूर्तिमा टक्क अडिन्छ

नाग्म रारा सडक र नाग्म जुम्ला सदरमुकाम जाने सडक हिमा र तिला नदी तर्न बनाइएका काठे साँघुहरूमा मूर्तिहरू देख्न सकिन्छ।

हेर्दा एकदमै आकर्षक ती साँघुमा आउने जाने मान्छेहरूका आँखा टक्क अडिन्छन्।

अनि उनीहरू गाडीबाट झरेर साँघु र साँघुका मूर्तिहरूसँग फोटो खिच्छन् र सेल्फी लिएर रमाउँछन्।

पुरानो इतिहासलाई जोगाइ राख्नको लागि गत वर्ष ३२ लाख रुपैयाँ खर्च गरेर चिउरी नुवागाउँमा मूर्तिसहितको साँघु निर्माण गरिएको हिमा गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाही भन्छिन्, "पुर्खाको इतिहासलाई आउँदो पुस्ताले देखेर गर्व गर्न सकून् भनेर साँघुहरूको मर्मत सम्भार र पुनर्निर्माणमा जुटेका छौँ।"

जुम्लामा पुलहरूमा मात्र होइन घरहरूका लिस्नोहरूमा समेत काठका अद्भुत कला बनाउने चलन छ।

काँचो काठमा मूर्ति कुँद्न कठिन हुन्छ।

नदीहरूका विभिन्न ठाउँमा काठका साँघुहरू हटाएर अहिले झोलुङ्गे र पक्की पुलहरू निर्माण हुँदै छन्।

त्यसैले अहिले तिला र हिमा नदीमा बनेको केही पुराना पुल मात्र छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।