नारायणगढ-बुटवल सडकमा दिनहुँ बर्खाको अवरोध, तेस्रो पटक थपिएको म्याद सकिँदै गर्दा ठेकेदारद्वारा 'थप ५२६ दिन' माग

नारायणगढ-बुटवल सडकको दाउन्ने खण्ड
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नारायणगढ-बुटवल सडक खण्डमा कहिले विनयी खोलाको डाइभर्सन बगाएर त कहिले दाउन्नेको उकालो सडकमा हिलो भएर दिनहुँ यात्रा जोखिमयुक्त एवं अनिश्चित बन्न थालेपछि पश्चिम र मध्य नेपालबाट राजधानी आउने यात्रुवाहक सवारी साधनहरू पोखरा हुँदै थप ७-८ घण्टा लामो रुट प्रयोग गर्न थालेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष साँघुरो सिद्धार्थ राजमार्गमा अतिरिक्त सफर गर्नु बाध्यकारी विकल्प भएको र त्यसको मारले चालकहरू थकित हुने गरेको गुनासो गर्छन्।

"वैकल्पिक बाटोहरूमा पनि पहिरो जाने जस्ता बर्खाका अन्य समस्या त छँदैछन्," महासङ्घ अध्यक्ष विजय स्वाँरले बीबीसीसँग भने, "गाडीलाई पुग्ने क्षति मात्र नभएर जीवन नै दाउमा राखेर हिँड्नु परिरहेको अवस्था छ।"

त्यस्तोमा तीन पटकसम्म लम्ब्याउँदै २०८२ साउनसम्ममा सक्ने गरी म्याद थपिए तापनि उल्लेख्य काम अझै बाँकी रहँदा ठेकेदार पक्षबाट फेरि चौथो पटक ५२६ दिनका लागि म्याद थपको माग गरेको छ।

साउनमा सकिन लागेको म्यादमा सरकार भने झण्डै ३५० दिन थप्ने गरी तयारी गरिरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बीबीसीलाई बताएका छन्।

सम्झौता अनुसार २०७९ सालको साउन महिनाभित्रै पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको सो सडक खण्डको काम सम्पन्न भइसक्नु पर्ने थियो।

अधिकारीहरूले बर्खाअगावै कम्तीमा दोहोरो लेनको बाटो बनिसक्ने भने पनि त्यहाँको सबैभन्दा जटिल मानिएको दाउन्ने पहाडको १४ किलोमिटर उकालो-ओरालो बाटोमा काम हुन नसक्दा त्यसको मार अझै पूरै राजमार्गले यस बर्खामा समेत झेल्ने देखिएको छ।

तेस्रो पटक म्याद थप्दा आधाजसो मात्र भौतिक प्रगति भएको उक्त बाटोमा हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति भएको सडक विभागका प्रवक्ता झाले बीबीसीलाई बताएका छन्।

"बाँकी रहेको प्रमुख काम भनेको एकतर्फी पिच गर्नुपर्ने काम हो भने धेरै खण्डहरूमा केही सहायक कामहरू समेत छन्," उनले भने।

कस्तो समस्या

एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको सो सडकको गत साउनमा तेस्रो पटक म्याद थप हुँदा आधाजसो मात्र काम सकिएको थियो।

राजमार्ग नै अवरुद्ध हुने गरी जटिल भनिएको यस सडकको अधिकांश भाग नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा पर्छन्।

"खासगरी दाउन्ने खण्डमा ग्राभेल गर्दै बाटो चिप्लो हुन नदिने गरी काम भइरहेको थियो फेरि पानी परेर हिलो भएपछि अवरुद्ध भएको हो। हुन त हामीले केही दिनदेखि यात्रुवाहक गाडीलाई मात्र त्यो बाटो प्रयोग गराइरहेका थियौँ," नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने।

"पानी पर्नेबित्तिकै फेरि बगाइहाल्ने अवस्था बन्दा सडक अनिश्चित बनिरहेको हो तर कम्तीमा एक साता वर्षा नभए ग्राभेल गरेर सडक सुचारु गरिरहन सक्ने अवस्था बन्ने ठेकेदार पक्षले बताइरहेका छन्," प्रजिअ रेग्मी भन्छन्।

"वर्षा रोकिँदाको अवस्थामा ग्राभेल बिछ्याउनका लागि अन्य समस्या छैन। ग्राभेल जुटाएर राखिसकिएको छ भने उपकरणहरू पनि तम्तयार अवस्थामा छन्।"

नारायणगढ-बुटवल सडक

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले दाउन्नेका अधिकांश मोड फराकिलो पारिसकेको अवस्था रहँदा र त्यसमा ग्राभेल पूरा गरिसक्दा पोहोरजस्तो सकस यस पटक नहुने बताउँछन्।

त्यसबाहेक उक्त सडक खण्डमा हाल रहेको मुख्य समस्या दुम्कीबासको विनयी खोलामा पुल नहुनुमा छ। उक्त खोलामा बनाइएको डाभइर्सन करिब १ दर्जन पटक बगाइसकेको अवस्था छ।

करिब पाँच महिनाअघि विनयीमा अत्यधिक भारका कारण पुरानो पुल भत्किएपछि त्यहाँ बन्दै गरेको अर्को पुल बर्खाअगावै सक्न जोडबल लगाइएको थियो।

"उक्त पुलको निर्माण सकिएपछि पनि २८ दिनसम्म अवलोकन गर्नु पर्ने प्रावधानमा ठेकेदार अडिग रहेपछि केही ढिलो भएको हो। यसै साता त्यो खुल्ने सम्भावना छ," सचिव शर्मा भन्छन्।

ठेकेदारसँगको जटिलता

दाउन्नेमा बर्खामा काम हुन नसक्दा ग्राभेल विछ्याएर सडक सञ्चालन गर्ने तयारी छ

तस्बिर स्रोत, DoR

तस्बिरको क्याप्शन, दाउन्नेमा बर्खामा काम हुन नसक्दा ग्राभेल विछ्याएर सडक सञ्चालन गर्ने तयारी छ

यस सडक खण्डको स्तरोन्नति सुस्त बन्ने स्थितिको सुरुवात 'विदेशी कम्पनी आएर समेत कम रकममा बोलकबोल' गरेबाट भएको विज्ञ तथा अधिकारीहरू बताउँछन्।

सडक विभागका प्रवक्ता झाले गत वर्षयता ठेकेदारले ठूलो आर्थिक अभाव सामना गरेपछि त्यस समस्यासँग जुध्न कैयौँ पटक उसको मुख्यालयसँग कुराकानी गरिएको बताउँछन्।

"ठेकेदारलाई आइतवारको बैठकमा समेत काम सक्ने सुनिश्चितताका लागि समय थप गर्नेबारे विचार गरिराखिएको बताइएको छ। जस क्रममा उसलाई आवश्यक स्रोतसाधन परिचालन गर्दै थपिने अवधिभित्र काम सम्पन्न गर्न सजग गराइएको छ," प्रवक्ता झा भन्छन्।

निर्माणको समय घर्किरहँदा सरकारले बारम्बार 'सच्चिनका लागि सूचना' जारी गर्दै ठेक्का तोड्ने चेतावनी दिँदै आए तापनि त्यसो गर्दा निर्माणको काम थप अलपत्र पर्ने व्यवहारिक कठिनाइले गर्दा अधिकारीहरू बारम्बार समय थप गर्ने विकल्प रोजिरहेको बताउँछन्।

आयोजना निर्देशक चूडाराज ढकालले गत वर्ष नै सो चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले कामबाट हात झिक्ने खोजेको अवस्थामा आफूहरूले "अलिकति तर्साउने, अलिकति फकाउने" तरिका अपनाएर काम अगाडी बढाएको बताउँछन्।

"हामीले कालो सूचीमा राख्दा उसका काम संसारभर प्रभावित हुन्छन् तर यसबीचमा स्थानीय अवरोध र सामग्री अभावजस्ता हाम्रो पक्षका केही कमजोरी पनि नभएका होइनन्," आयोजना निर्देशक ढकाल भन्छन्।

"वार्ताका क्रममा उनीहरूले त्यसका लागि लाग्ने पर्याप्त समय माग्ने गरेका छन्। म्याद थप्ने कामको हिसाब त्यसरी हुँदा अन्य व्ययभारको दायित्व समेत हुने हुँदा हामीले अब थपिने समयभित्र कम्तीमा सडकको मुख्य प्रयोजन देखिने चार लेनको काम सक्नुपर्ने सर्त अघि सारेका छौँ। सहायक कामको समय थप्दा हुने व्ययभारको उनीहरूले समेत दाबी नगर्ने गरी माइन्युटिङ गरिएको छ।"

कहिले हुन्छ सहज?

बर्खामा मालवाहक सवारी साधनलाई दाउन्नेको बाटो प्रयोग गर्न निरुत्साहित गरिएको छ
तस्बिरको क्याप्शन, बर्खामा मालवाहक सवारी साधनलाई दाउन्नेको बाटो प्रयोग गर्न निरुत्साहित गरिएको छ

आयोजना निर्देशक ढकालले त्यसो हुँदाका अवस्थामा दाउन्नेसहितको चार लेनको सडक ढिलोमा आउँदो माघभित्र पूरा हुने अवस्था रहेको बताउँछन्।

"अहिले दाउन्ने खण्डमा ९ किलोमिटर सडकको मुख्य काम हुन बाँकी हो भने अन्यत्रको १०० किलोमिटर सडकमा एकतर्फी डबल लेनको काम सकिसकेको छ जसले त्यहाँ हुने ढिलासुस्ती निकै घटाइसकेको छ," ढकाल भन्छन्।

"ठेक्का तोड्ने चेतावनी बारम्बार दिइरहँदा समेत म्याद थपेर जानु नै बुद्धिमत्ता हुने अवस्था देखिन्छ। यस सडकको कामको असर द्विपक्षीय सम्बन्धमै समेत पर्ने हुँदा कूटनीतिक माध्यमहरू समेत त्यसमा सक्रिय छन्।"

एसियाली मापदण्डको राजमार्ग बनाउने गरी १७ अर्ब रुपैयाँको यस काममा सुरुमा भएको कम बोलकबोलले अर्बौँ रुपैयाँको घाटा बेहोरिरहेको ठेकेदार पक्षको गुनासो हुने गरेको अधिकारीहरू बताउँछन्।

तर सुरुदेखि नै यसको निर्माणमा समस्या देखा परेको थियो। काम सुरु गरिएपछिको ६ महिनासम्म पूर्वतयारी नभएको भन्दै त्यसले गति लिन सकेको थिएन।

त्यसपछि कोभिड महामारी, ठेकेदारले काम थाल्नुअगावै सरकारले सक्नुपर्ने कतिपय कामहरू पूरा नहुँदा देखिका अन्य अवरोध देखा परेका थिए।

पश्चिम नेपाल र पूर्वी नेपाल जोडिने मध्यभागको बाटो एवम् राजधानी काठमाण्डूसँग जोडिने एउटा प्रमुख सडक मानिसहरूको दैनिक आवतजावत र व्यावसायिक दृष्टिबाट महत्त्वपूर्ण मानिन्छ।

एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोगमा बनिरहेको उक्त सडक परियोजना अन्तर्गत सडकको चौडाइ विस्तार, नाला सुधार, सडकको अलाइनमेन्ट सुधार, कालोपत्रे सुधार लगायत काम समावेश गरिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।