बर्खायाममा राजमार्गका धेरै पुलमा क्षति, 'बेलिब्रिज' र अन्य विकल्पका लागि सरकारको तयारी यस्तो

विनयी खोला
तस्बिरको क्याप्शन, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबासस्थित विनयी खोलाले बिहीवार राति एउटा बस बगाएको थियो
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

बिहीवार राति नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा बाढीले बस बगाउँदा मानवीय क्षति नभए पनि त्यसले बर्खायाममा खोलामाथि वा नजिकै बनाइएका अस्थायी सडकको जोखिम देखाएको अधिकारीहरूले बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबासस्थित विनयी खोलामा बनाइएको 'डाइभर्शन' बिहीवार रातिको भेलले बगाउँदा एउटा बस बग्ने अवस्था आए तापनि यात्रुहरूको सकुशल उद्धार गरिएको थियो।

पछिल्ला केही दिनदेखि निर्माणाधीन दाउन्नेको हिलाम्य उकालो बाटो र सोही डाइभर्शन बाढीले बारम्बार बग्ने अवस्था बनेपछि त्यहाँ एक समय ३० घण्टाभन्दा बढी र कैयौँ किलोमिटर लामो जाम सिर्जना भएको थियो।

अधिकारीहरूले अबको झन्डै एक सातामा त्यहाँ निर्माणको काम लगभग पूरा भएको नयाँ पुल सञ्चालनमा आउन सक्ने बताएका छन्।

उक्त खोलामा रहेको पुरानो फलामे पुल भारी सामानसहित कुल ११० टनको 'ट्रेलर ट्रक' का कारण झन्डै छ महिनाअघि भत्किएपछि डाइभर्शन बनाएर गाडी वारपार गराउँदै आइएको थियो।

"उक्त खोला धेरै चौडा भएकाले त्यहाँ 'बेलिब्रिज' (अस्थायी पुल) राखेर सञ्चालन गर्न सम्भव थिएन। अन्यत्रका लागि हामीसँग यतिखेर एक दर्जनभन्दा बढ्ता यस्ता पुलका सेट छन्," भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बीबीसीसँग भने।

"चालिसदेखि पचास मिटर लम्बाइका त्यस्ता पुलका सेट हामीसँग छन्। विनयी त्रिवेणीजस्ता खोलालाई ती प्रयोगमा ल्याउन सकिँदैन।"

विनयी खोलाको चौडाइ झन्डै २५० मिटरको छ।

कस्तो अवस्थामा बेलिब्रिज?

खुर्कोटस्थित सुनकोशी नदिमा जडान गरिएको बेलिब्रिज

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, खुर्कोटस्थित सुनकोशी नदिमा जडान गरिएको बेलिब्रिज

सामान्यतः खोलाका दुई किनारबीच ५० मिटरभन्दा कम दूरी हुँदाको अवस्थामा बीचमा कुनै सहायता नराखीकन बेलिब्रिज प्रयोगमा ल्याउन सकिने अधिकारीहरू बताउँछन्।

बिचमा जग राख्नुपर्ने परिस्थिति सामान्य अवस्थामा बेलिब्रिजका लागि उपयुक्त नहुने हुँदा सोहीअनुसार प्राथमिकता निर्धारण गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन्।

उनका अनुसार राष्ट्रिय राजमार्गका हकमा यतिखेर अरनिको राजमार्गमा तीनवटा बेलिब्रिज जडान गरेर राखिएको छ।

मन्त्रालयका अनुसार काठमाण्डू-कोदारी सडकमा लार्चा, लिपिङ र खान्दल खोलामा, कान्ति लोकपथको बगुवा खोला र बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा बेली ब्रिज जडान गरिसकिएको अवस्था छ।

हिल्सा–सिमिकोट सडकखण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिब्रिज जडान अन्तिम चरणमा पुर्‍याउँदै हुम्लालाई राष्ट्रिय सडकसँग जोड्ने प्रयास गरिरहेको नेपाली सेनाले जनाएको छ।

मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज भाँचिएपछि त्यसलाई मर्मत गरिँदै गरेको अधिकारीहरूले बताएका छन्।

"आधा दर्जन जति सङ्ख्यामा अहिले प्रयोगमा छन्। एक दर्जन जति प्रयोगका लागि तयारी अवस्थामा छन्। सेनासँग यससम्बन्धी अलग्गै जनशक्ति भएकाले आवश्यक पर्दा उसलाई समेत भन्छौँ," सचिव शर्मा भन्छन्।

"साना खोलामा बेलिब्रिज उपयोगी भए पनि विनयी खोलाजस्तामा अझै पनि डाइभर्शन बनाएर सञ्चालन गर्नुको विकल्प हामीसँग थिएन।"

तर अधिकारीहरूले पुरानै पुलका आडलाई प्रयोग गर्दै महोत्तरीको रातु खोलाजस्ता ठाउँमा लामो पुल समेत बनाइएको अनुभवहरू आफूसँग रहेको बताउँछन्।

हिल्सा–सिमिकोट सडकखण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, हिल्सा–सिमिकोट सडकखण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका पुल पूर्वाधारसम्बन्धी विज्ञ सहप्राध्यापक जगत्‌कुमार श्रेष्ठले पुलमा असर पर्दै हुने बर्खे विपद्‍‌मा समाधानको एक उपाय भनेको बेलिब्रिज भए पनि त्यसका धेरै सीमितता हुने कुरा समेत बिर्सन नहुने बताउँछन्।

"यसका धेरैजसो पाटपुर्जा तयारी अवस्थामा हुने हुँदा त्यो आवश्यकताअनुसार जोड्नुपर्ने मात्र भएकाले एक हप्तामै पनि जोडिसक्न सकिन्छ। तर त्यसलाई बगाएर लैजान सक्ने जोखिम धेरै हुने भएकाले बीचमा बलियो जग बनाउन सक्ने अवस्थामा बाहेक लामो खोलाका लागि उपयुक्त मानिँदैन।"

यस्ता पुल स्वभावैकै 'अस्थायी स्वरूप'का हुने भन्दै त्यसलाई लामो समय प्रयोगमा राख्न उपयुक्त नहुने भए पनि नेपालमा वर्षौँ प्रयोगमा राख्ने गरिएका पाइन्छन्।

"एउटै लामो पुल बनाउन सकिँदैन। भारी सवारीसाधन गुडाउन सकिँदैन। बाढीपहिरोका बेला विकल्प यिनै हुन्। तर त्यसमा धेरै भर परेर भन्दा त्यसको निरन्तर निगरानी गर्दै बढीमा एकदुई वर्ष चलाउन सकिन्छ।"

अधिकारीहरूले आवश्यकता पर्दाका हकमा देशभर अवस्था सहज हुने गरी यस्ता बेलिब्रिजहरू विभिन्न डिभिजन कार्यालयहरूमा भाग लगाएर राखिएको बताउँछन्।

दुम्कीबासमा के विकल्प छ?

झन्डै छ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको पुल भत्किएको थियो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, झन्डै छ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको पुल भत्किएको थियो

दुम्किबासस्थित विनयी नदीमा भारकै कारण पुल भत्किएपछि बर्खाअघि त्यहाँ बन्दै गरेको पुल बर्खाअगावै सक्न ठेकेदारलाई आग्रह गरिएको थियो।

भत्किएको उक्त पुलछेवैमा नयाँ पुल निर्माणको सबैजसो काम सकिएपछि पनि २१ दिन अवलोकन गरेर मात्र सञ्चालनमा लैजान सकिने नियमअनुसार अझै एक साता बाँकी रहे पनि केही हलुका सामाग्रीका लागि त्यसअघि नै खुलाउन सकिने गरी ठेकेदार र परामर्शदातासँग छलफल थालिएको सडक विभागका अधिकारीहरू बताउँछन्।

"तीन सातापछि धेरै सहज हुने भए पनि २७ दिनसम्म समेत त्यो खुला गर्न पर्खने गरिन्छ। काम सकेर अवलोकनका लागि नियमित समय अहिले १५ दिन पुगेको छ। हामी छिटै खुलाउन सकिने विकल्प हेरिरहेका छौँ," विभागका महानिर्देशक विजय जैसी भन्छन्।

"पूर्वपश्चिम महेन्द्र राजमार्गका पुलहरू निकै पुराना भइसकेका अवस्थामा अकस्मात् समस्या आइलाग्न सक्ने हुँदा पूर्वतयारी सुरु गरिएको छ। डिजाइन गरिएभन्दा दुईतीन गुणासम्म बढ्ता तौल भएका गाडीहरू गुड्नु हाम्रो समस्या हो।"

अधिकारीहरू केही समयका लागि ठूला मालवाहक सवारीहरूलाई बुटवल र नारायणगढतर्फबाट अन्य बाटो प्रयोग गर्न भनिएको र भार जाँचपासको अनुगमन तथा कार्यान्वयनलाई गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई प्रयोग गरेर कडाइ गरिएको बताउँछन्।

दुम्कीबासको उक्त पुल भत्किएको चार महिनाकै अन्तरालमा त्यहीँनजिकैको चोरमारामा दोस्रो पुल 'भारी तौल'का कारण क्षतिग्रस्त बनेपछि सडक विभागका अधिकारीहरूले हाल त्यसलाई प्रबलीकरण गरेर सञ्चालनमा ल्याइएको बताएका छन्।

केही वर्षअघि सडक विभागले गरेको एक मूल्याङ्कनमा पूर्वपश्चिम राजमार्गमा मात्र ५० प्रतिशत पुलहरू पुनर्निर्माण हुनुपर्ने र तीसहित ८० प्रतिशतमा मर्मतसम्भार आवश्यक रहेको पाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।