राजमार्ग अवरुद्ध भएका बेला कहाँ जान कुन 'रूट' उपयुक्त?

तस्बिर स्रोत, DTPO Nawalparasi East
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
वर्षा लागेसँगै देशका कतिपय मुख्य राजमार्गहरू अवरुद्ध भएका बेला प्रहरीले ती राजमार्गको साटो वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रहरीका अनुसार काठ्माण्डूलाई चीनसँग जोड्ने अरनिको राजमार्ग यतिखेर पूर्ण रुपमा अवरुद्ध छ भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गतको पूर्वपश्चिम महेन्द्र राजमार्गका केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
केही दिनअघि बाढीले 'डाइभर्शन' बगाइदिएपछि विनयी त्रिवेणी गाउँपालिकामा अवरुद्ध भएको उक्त राजमार्ग एकतर्फी रूपमा खुले पनि दाउन्नेको जाम छिचोल्न नसक्दा कैयौँ सवारीसाधन तथा मानिसहरू बाटोमै अलपत्र परेका छन्।
त्यस्तै बीपी राजमार्ग र नारायणगढ–मुग्लिनलगायतका सडकमा आंशिक समस्या देखिएको जनाइएको छ भने बुधबार राति केहीबेर बन्द भएको बीपी राजमार्ग र म्याग्दीको बेनी–जोमसोम सडक बिहीवारबाट सञ्चालनमा आएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण राजमार्गमा अवरोध सिर्जनामा भइहाले पुन: खोल्नका निम्ति चार घण्टाभन्दा अधिक समय नलाग्ने गरी व्यवस्था मिलाइएको दाबी गर्दै आएको छ।
"केही स्थानमा एक दुई घण्टा तलमाथि हुनु भिन्नै कुरा भयो," मन्त्रालयका सचिव केशवकुमार शर्माले बीबीसीसँग भने, "हामीले उक्त लक्ष्यअनुरूप यन्त्रउपकरण तथा जनशक्ति आदिको व्यवस्थापन गरेका छौँ। देखिएका समस्याहरू समाधान हुन्छन्।"
प्रहरीले सुझाएको वैकल्पिक बाटो

तस्बिर स्रोत, RSS
नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत नारायणगढ–बुटवल खण्डमा दुई ठाउँमा समस्या देखिएको छ।
वर्षाका कारण विनयी खोलामा पानीको सतह बढ्न जाँदा सडक डाइभर्शनमा क्षति पुगेकाले सडक एकतर्फी खुल्ने र बन्द हुने भइराखेको छ भने दुम्कीबास–दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर र घ्यूखोला लगायतका स्थानमा वर्षाका कारण सडक चिप्लो हुँदा सवारी साधन फस्ने तथा चिप्लिने भई आवागमन असहज भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले बिहीवार एउटा सूचनामार्फत् सकेसम्म उक्त सडक भएर यात्रा नगर्न अनुरोध गर्दै सर्वसाधारणहरूलाई वैकल्पिक मार्ग सुझाएको हो।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारीसाधनले यतिखेर नारायणगढ, मुग्लिन, पोखरा, स्याङ्जा अनि बुटवल हुँदै गन्तव्यतर्फ लाग्नु उपयुक्त हुन्छ।
त्यस्तै काठमाण्डूबाट पश्चिम जाने सवारीसाधनलाई मुग्लिन, पोखरा, स्याङ्जा अनि बुटवल हुँदै त्यसतर्फ लाग्न भनिएको छ। पश्चिमबाट पूर्व जानेहरूलाई बुटवल, स्याङ्जा, पोखरा अनि मुग्लिन हुँदै जान भनिएको छ।
साना सवारीसाधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पीपलडाँडा सडकखण्डबाट यात्रा गर्न सुझाइएको छ।
"समस्या देखिएका स्थानहरूमा सयौँ सवारीसाधनको लस्कर छ। उहाँहरूमध्ये कतिपयले हिजोदेखि खानपिउन पनि पाउनुभएको छैन। दाउन्ने भएर यात्रा गर्दा दु:ख पाउनुको विकल्प नै छैन," जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक मधु नेपालले भने।
"सर्वसाधारणले दु:ख नपाऊन् र बाटोमा फस्नुभन्दा अलि लामो मार्ग अपनाएर भए पनि गन्तव्यमा पुग्न सकून् भनेर सूचना जारी गरेका हौँ।"
कहिलेबाट सहज हुन्छ नवलपरासी खण्ड?

तस्बिर स्रोत, DTPO Nawalparasi East
केही महिनाअघि नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा पूर्व-पश्चिम राजमार्गमा अवस्थित पक्की पुल अत्यधिक भार भएको एउटा ट्रक पार गर्न खोज्दा भत्किएको थियो। त्यसपछि पुल नभएको उक्त खोलामा 'डाइभर्शन' सडक बनाएर सवारीसाधनहरू चलाउने गरिएको थियो।
त्यही 'डाइभर्शन' केही दिनअघि बाढीले बगाइदिएको हो। त्यसपछि बनाइएका कामचलाउ 'डाइभर्शन'हरूले पनि समाधान दिन सकेका छैनन्।
नजिकै अर्को पुल बन्दै छ तर त्यसको निर्माण पूरा भएको छैन।
मन्त्रालयका सचिव शर्माले उक्त नयाँ पुल सातादश दिनमा सञ्चालनमा ल्याइने बताए।
"विनयी खोलामा देखिएको समस्या समाधानोन्मुख छ, नयाँ पुलमा भएको 'कङ्क्रिटिङ'को अवधि पुगेको छैन तर सातादिनजस्तोमै उक्त पुलबाट सवारीसाधन चलाउँछौँ," उनले भने, "त्योभन्दा जटिल देखिएको दाउन्नेमा चाहिँ बाढीपहिरोको नभई चिप्लो माटोको समस्या हो। हिँउदमा चट्टानजस्तो देखिने त्यहाँको माटो वर्षा लाग्नेबित्तिकै पग्लिहाल्ने भएकाले सवारी साधनहरू फस्न पुगेका छन्।"
"त्यहाँको सडक चौडा बनाउने क्रममा खनिएकाले पुरानो पिचले काम गरेको छैन। नयाँ माटोमा मालवाहक गाडीहरू चलाउँदा फस्ने, चिप्लिने र उकालोमा नतान्नेजस्तो समस्याहरू देखिएका छन्। त्यसैले अहिले माटोको काम रोकेर वर्षामा यातायात चलाउने हिसाबले 'ग्राभेल'लगायतका काममा केन्द्रित भएका छौँ।"
दाउन्नेको उकालोको दुवैतर्फ सयौँ गाडीहरूको लस्कर लाग्ने गरेको बताइएको छ।
चौबीस घण्टाभन्दा लामो समयसम्म अड्किएर बस्नुपरेको भन्ने यात्रुहरूको गुनासोबारे सोधिएको प्रश्नमा सचिव शर्माले ट्राफिक व्यवस्थापनमा उत्पन्न कठिनाइका कारण पनि समस्या बढेको बताए। "चालकहरूले लेन अनुशासन पालना नगरिदिँदा, अनावश्यक रूपमा उछिनपाछिन गर्दा र सडकमै ट्रकहरू रोकेर हिँडिदिदा पनि एउटै बिन्दुमा ट्राफिक व्यवस्थापन गर्न घण्टौँ लाग्ने गरेको छ," उनले भने।
"ट्राफिककै बीचमा निर्माणको काम पनि गर्नुपरेको छ, यद्यपि उक्त सडक खण्डको निकै काम सकिइसकेको छ। 'कल्भर्ट'हरूमा ढलाइ र पिचको काम सकिइसकेपछि आउँदो कार्तिक अथवा मङ्सिरदेखि दाउन्नेको समस्या राम्रोसँग समाधान भएको देख्न पाइने छ।"
अरनिको राजमार्ग

तस्बिर स्रोत, Department of Roads
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा केही दिनयता अवरुद्ध हुँदै आएको अरनिको राजमार्ग पनि अझै खुल्न सकेको छैन।
उक्त सडकले नेपाललाई चीनसँग जोड्छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार इकोपहिरो, कोप्लाङ र लार्चा गरी तीन स्थानमा सडक अवरुद्ध भएको हो।
"तीमध्ये कोप्लाङमा मर्मतको काम भइरहेको छ," खरेलले भने, "लार्चामा ह्युमपाइप नै बगाइदिएको छ भने इकोपहिरोमा मर्मतको काम सुरु हुनै बाँकी छ।"
उनका अनुसार उक्त राजमार्ग सञ्चालनमा आउन अझै केही दिन लाग्न सक्छ।
"उताका सवारी साधन उतै र यताका यतै अड्किएका छन्। पहिरो खस्न सक्ने जोखिम भएकाले पैदल हिँड्नेहरूलाई पनि सकेसम्म नहिँड्न भनेका छौँ।"
बीपी राजमार्ग

बुधवार राति वर्षापछि बाढी आउँदा काभ्रेको धुलिखेल नगरपालिकास्थित बाँझोखेतमा बीपी राजमार्ग केही बेर अवरुद्ध हुन पुगेको थियो।
"बाढीले लेदो बगाएर ल्याउँदा आधा घण्टाजति उक्त स्थानमा यातायात रोकिन पुगेको थियो, त्यो सफा गरिएसँगै यातायात दुइतर्फी रूपमै सञ्चालनमा छ" मन्त्रालयका सचिव शर्माले भने।
उनका अनुसार यो वर्षामा उक्त राजमार्गलाई सहज राख्न चुनौतीपूर्ण छ।
गत वर्षको वर्षामा उक्त राजमार्गको २१ किमिभित्र विभिन्न स्थानमा १२ किमि सडक बाढीले बगाइदिएको थियो। सामान्य मर्मतपछि दशैँदेखि यातायात सञ्चालन सुरु भए स्थायी ठेक्काको काम सुरु हुन सकेको छैन। ठेक्का लागिसकेको तर वर्षापछि मात्रै निर्माणको काम सुरु हुने सचिव शर्माले बताए।
"बीपी राजमार्गमा राति सवारी साधन चल्न नदिनेबारे छलफल गरिराखेका छौँ। घना वर्षाको प्रक्षेपणसँग तालमेल मिलाएर त्यसबारे निर्णय गर्छौँ। सडक मर्मतका निम्ति भन्दा पनि यात्रुको सुरक्षाका निम्ति रातिको समयमा उक्त राजमार्ग बन्द गर्न खोजिएको हो।"
सुझाव

तस्बिर स्रोत, DTPO Nawalparasi East
अधिकारीहरू प्रहरीद्वारा सुझाइएका वैकल्पिक मार्गका अलावा वर्षाको समयमा यात्रा गर्दा अन्य विभिन्न सावधानी अपनाउनुपर्ने बताउँछन्।
"वर्षाको समयमा सकेसम्म अत्यन्तै जरुरी नपरी यात्रा नगरेको र सकेसम्म रातिको समयमा यात्रा नगरेको राम्रो हुन्छ," सचिव शर्माले भने, "यात्रा गर्नुअघि मन्त्रालय तथा सडक विभागद्वारा जारी सूचनाहरू हेर्नुका साथै स्थानीय सुरक्षा बिन्दुहरूमा सोधपुछ गरेर मात्रै निस्किनु उचित हुन्छ।"
सचिव शर्माले सर्वसाधारणको जानकारीका निम्ति यातायात अवरुद्ध भएका र हुन सक्ने स्थानमा स्थानीय रेडिओहरूमार्फत् सूचना प्रवाहको व्यवस्थाको मिलाइएको बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








