मुख्य राजमार्गमा प्रीमनसुनमै समस्या देखिएपछि बर्खायाममा आवतजावतलाई लिएर चिन्ता

महेन्द्र राजमार्ग
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

वैशाख पहिलो साता भएको प्रीमनसुन वर्षासँगै नारायणगढ-बुटवल सडक खण्डमा पर्ने दाउन्नेमा दिनहुँजसो घण्टौँको अवरोध देखा पर्‍यो।

महेन्द्र राजमार्गको १४ किलोमिटर लामो उक्त खण्ड पार गर्न चार-पाँच घण्टा लाग्ने अवस्थालाई सामान्य मान्न थालेका यात्रुहरूले त्यसबीचको एक दिन झण्डै २४ घण्टा साँघुरो पहाडी सडकमा बिताए।

अवस्था अझै फेरिएको छैन। दिनहुँ हजारौँ सङ्ख्यामा गाडी गुड्ने सडकमा सामान्य वर्षा हुनासाथ फेरि घण्टौँ लामो जामको सकस सुरु भइहाल्छ।

"बर्खामा त्यो झनै जटिल बन्ने अवस्था देखिन्छ, त्यसैले मनसुनका बेला चल्न सक्ने अवस्थामा राख्ने उपायबारे हामी केही दिनमै छलफल गर्दैछौँ," सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले बीबीसीसँग भने।

"हाम्रो सोचमा त्यहाँनिर पर्ने निर्माणाधीन कल्भर्टहरू सकेसम्म सक्ने, थप कल्भर्ट र सडक वारपार हुने नाली नखन्ने र निकै जटिल अवस्था हुने ठाउँमा ग्राभेल गरेरै भए पनि सडक सुचारु राख्नुपर्छ भन्ने छ।"

तेस्रोपटक म्याद थप भएर पनि अझै पूरा नभएको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम अन्यत्र कम्तीमा दुई लेन पूरा गर्ने लक्ष्य राखिए तापनि दाउन्ने खण्डको काम भने नसकिनेमा अधिकारी तथा ठेकेदार दुवै पक्षले निर्क्यौल गरिसकेका छन्।

आपसी विकल्प आवश्यक

सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले दाउन्ने बाहेकका बाटोमा अन्य वैकल्पिक सडकहरू रहे पनि ती सडकहरूमा पनि जटिलताहरू रहेको बताउँछन्।

"विकल्पको रूपमा रहेको भनेको कालिगण्डकी कोरिडोर हो। जुन निकै घुमाउरो बाटो हुँदै पाल्पा पुगेर बुटवल आउनुपर्छ। बुटवल पुग्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड बर्खामा सधैँ अस्थिर नै रहन्छ," उनी भन्छन्।

बीपी राजमार्गको १२ किलोमिटर सडक बन्न कम्तीमा दुई वर्ष लाग्नेछ
तस्बिरको क्याप्शन, बीपी राजमार्गको १२ किलोमिटर सडक बन्न कम्तीमा दुई वर्ष लाग्नेछ

एकजना सडक सुरक्षासम्बन्धी विज्ञले देशका पूर्वपश्चिम जोडिने तीन मुख्य राजमार्गहरू एक अर्काको विकल्प बन्ने गरी योजना बनाउन नसक्दा बर्सेनि यस्तो जटिलता देखिएको टिप्पणी गर्छन्।

"हुलाकी सडक, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्ग झण्डै ५० किलोमिटर आसपास भएर पनि आवश्यक पर्दाका अवस्थामा ती एकअर्काका विकल्पका रूपमा सहयोगी बन्न सक्ने देखिँदैनन्," यूकेको युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डका अनुसन्धानदाता पुष्पराज पन्त भन्छन्।

"ती सडकलाई एकअर्कासँग ठाउँ ठाउँमा जोड्ने रणनीति हाम्रोजस्तो भौगोलिक जटिलता भएको ठाउँका लागि राम्रो उपाय हो।"

यतिखेर खासगरी राजधानी जोडिने सबैजसो राजमार्गमा यो वर्खायाममा निर्माणका कारण अपुरो अवस्थामा रहेको सडकको सास्ती झेल्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ।

गत मध्यअसोजको विध्वंसकारी बर्खाको मार परेका देशका धेरैतिरका सडक अझै पुरानै अवस्थामा आउन नसकेकाले यात्रुहरूका लागि कठिन हुने अवस्था देखिएको विभागले जनाएको हो।

धरापमा राजधानी जोडिने सडक

नारायणगढ-बुटवल

धुलिखेल र बर्दिबास जोड्ने बीपी राजमार्गको झण्डै १२ किलोमिटर खण्ड पूरै निर्माण गर्नुपर्ने अवस्था रहेकाले केही ठूलो पानी पर्दाको अवस्थामा त्यहाँ सवारी नै नचल्ने गरेको अधिकारीहरूले बताएका छन्।

"त्यहाँ केही अस्थायी काम गरिरहेका छौँ। तर त्यसको स्वरूप नै अस्थायी भएकाले केही अस्वाभाविक बर्खा भयो भने रोकिने अवस्था छ," प्रवक्ता अर्याल भन्छन्।

"अधिक वर्षा नहुँदाको अवस्थाका लागि कच्ची बाटोमा दुःख नै भए पनि बाटो सुचारु राख्ने प्रयास हामीले गरिरहेका छौँ।"

अधिकारीहरूले त्यस राजमार्गमा ठूला पहिरो खसेका कारण त्यहाँ अग्ला-अग्ला पर्खाल बनाउनुपर्नाका साथै खोलाछेउमा थप गहिरो जग राख्नुपर्ने अवस्था रहेको बताउँछन्।

त्यहाँ स्थायी स्वरूपको निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएसँगै ठेक्का आह्वान भएका छन्। अर्बौँ रुपैयाँ खर्च हुने उक्त काम सक्न कम्तीमा दुई वर्ष लाग्ने अधिकारीहरूको भनाइ छ।

पृथ्वी राजमार्ग अन्तर्गत विभिन्न खण्ड विभाजन गरेर स्तरोन्नतिका काम भइरहेकामा बर्खाअघि नै मुङ्लिन-पोखरा खण्डको काम धेरैजसो सकिएर सकस नहुने अवस्था बन्ने सडक विभागको भनाइ छ।

तर मुङ्लिनदेखि नागढुङ्गा खण्डमा भने एक तिहाइ पनि काम नसकिएको अवस्था रहेकाले हिलाम्य र खाल्डाखुल्डी सडकको सकस बेहोर्नुपर्नेछ।

"यसमा हामीले झ्याप्लेखोला र कृष्ण भीरजस्ता गत वर्षामा दु:ख दिएका ठाउँलाई आपत्कालीन अवस्था मानेर छिटो छिटो गरेर बर्खा अगावै काम सक्ने प्रयास भइरहेको छ," विभागका प्रवक्ता अर्यालले भने।

"तर पनि यो बर्खामा धेरैतिर यस सडकमा काम सकिने छैन र निर्माणाधीन अवस्थाका कारण समस्याहरू आउन सक्छन्। त्यसैले बर्खामा धेरै जोखिम भएका ठाउँमा मेसिन-औजार राखेर विशेष अवस्थामा बाहेक दुई घण्टाभित्र खुलाउने तयारीमा छौँ।"

सडकैपिच्छे समस्यै-समस्या

काठमाण्डू-कोदारी समेट्ने अरनीको राजमार्गमा गत असोजको बर्खाले तीनवटा पुल बगाएको थियो।

त्यसक्रममा त्यहाँ दुई वटा खोला लिपिङ र लार्चामा बेलिब्रिज जोडिएका छन् भने तातोपानी सुख्खा बन्दरगाह नजिकै थप एउटा जडान बर्खा अगावै सक्नेगरी काम भइरहेको सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्याल बताउँछन्।

"अर्कोतिर यही राजमार्गमा समस्या रहेको भनेको धुलिखेल-खावा खण्डमा हो। जहाँ धेरै वर्षदेखि काम हुन नसकेपछि ठेक्का तोडिएको र पुन: अदालती आदेश आएका कारण जटिलता उत्पन्न भएको अवस्था छ। तर त्यहाँ पनि सडक सञ्जालनमा राख्न विभागले केही अस्थायी काम गर्नुपर्ने अवस्था छ," उनी भन्छन्।

सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबामा सुरुङ बनेपनि यो बर्खामा त्यो प्रयोगमा आउनेछैन

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबामा सुरुङ बनेपनि यो बर्खामा त्यो प्रयोगमा आउनेछैन

त्यसबाहेक असोजकै वर्षाका कारण पुल बगेको मेची राजमार्गमा हेवा खोलामा मनसुन अगावै बेलिब्रिज जडान गरिसक्न लागि परे पनि त्यसबाहेकका ठाउँमा समेत पहिरोका जोखिम आसन्न बर्षायाममा रहने प्रवक्ता अर्याल बताउँछन्।

"गाईघाट र दिक्तेल जोडिने सगरमाथा राजमार्गमा एउटा पुल बगेको हुनाले बर्खायाममा फोक्सिङटारसम्म पुगेर सुनकोसी वारपार गर्न गाडी बदल्नुपर्ने अवस्था रहनेछ," अर्याल भन्छन्।

"यहाँ अस्थायी रूपले बेलिब्रिज जडान गरिएको छ जुन वैशाख अन्तिम वा जेठ १५ गतेतिरबाट निकालिनेछ। त्यहाँ १२० मिटरको पक्की पुल रहेकामा हामीसँग ५० मिटरको मात्र बेलिब्रिज भएकाले बर्खामा त्यो काम लाग्नेछैन।"

त्यसैगरी भैरहवा-पोखरा जोडिने सिद्धार्थ राजमार्गमा बर्खाका बेला सिद्धबाबाको भागमा ढुङ्गेपहिरोले दु:ख दिने गर्छ जुन अवस्था पछिल्लो प्री-मनसुन वर्षा हुने बित्तिकै समेत देखा परेको थियो।

त्यहाँ निर्माण गरिएको सुरुङको ब्रेकथ्रु भए तापनि बर्खामा त्यो सञ्चालन भई नहाल्ने अधिकारीहरूले बताएका छन्।

पोखरा मुङ्लिन जोडिने बाटो भने बर्खाअगावै धेरैतिर सहज हुने बताइएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पोखरा मुङ्लिन जोडिने बाटो भने बर्खाअगावै धेरैतिर सहज हुने बताइएको छ

सडक विभागका प्रवक्ता अर्यालले उक्त खण्डमा समेत बर्खामा समस्या आउन सक्ने भएकाले त्यहाँ समस्या आउँदाका बखत सुल्झाउने गरी तयारी थालिने बताउँछन्।

"त्यस खण्ड पहिलेदेखि नै बर्खामा ढुङ्गा खसेर बाटो अवरुद्ध हुने सडक भएकाले स्थायी समाधानका लागि सुरुङ बनाइएको हो। त्यसबाहेक भौगोलिक हिसाबले केराबारी खण्डमा पनि पहिरोको उच्च जोखिम छ।"

राजधानीलाई हेटौँडासँग जोड्ने कान्ति लोक पथको बागमती नदीमा पुल निर्माणको काम बर्खा अगावै सकिने भए पनि उक्त खण्डमा पुरानै चलायमान पहिरोको समस्या नसुल्झिएकाले बर्खाका बेला भरपर्दो विकल्प ठानिहाल्ने अवस्था नरहेको बताउँछन्।

कम्तीमा आउँदो एक वर्ष सडकका हिसाबले धेरैतिर समस्या हुने अवस्था यथार्थ भए पनि वर्षा केन्द्रित रणनीति बनाएर सडक विभाग सक्रिय हुने उनी दाबी गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।