'चाँडै आउने, दशैँसम्म रहने': आसन्न मनसुनबारे चार विशेष कुरा

वर्षामा भिजेका महिला

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२५ को मनसुनमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ (फाइल तस्बिर)
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

कृषिमा आश्रित भईकन पनि कुल खेतीयोग्य जमिनको एकतिहाइ भागमा अझै सिँचाइ पुग्न नसकेकाले नेपालमा आकासेपानीको अत्यधिक महत्त्व छ।

त्यसैले हरेक वर्ष मनसुन वा बर्खा प्रणालीको अवधि तथा व्यवहारले नेपालीहरूको बालीनाली तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ। बर्खामा बाढीपहिरोका कारण धनजनको ठूलो क्षति हुँदै आएकाले पनि स्वाभाविक रूपमा कहिलेदेखि मनसुन सुरु हुन्छ र कत्रो पानी पर्छ भन्ने जान्न मानिसहरू इच्छुक देखिन्छन्।

यसपालिको मनसुनबारे सरकारी निकायले प्रक्षेपण गरिसकेको छ। जल तथा मौसम विज्ञान विभागले हालै जारी गरेको सूचनामा नेपालमा यो वर्ष औसतभन्दा १३ दिनअगावै अर्थात् जुन १ (जेठ १८ गते)मा मनसुन प्रवेश हुने जनाइएको छ।

नेपालमा भने बङ्गालको खाडीबाट मनसुन प्रवेश गर्छ। यसपालि मनसुनको अवधि १२२ दिनको हुने र सेप्टेम्बर ३० (असोज १४) मा मनसुन नेपालबाट बाहिरिने विभागको प्रक्षेपण छ।

भारतको मौसम विभागका अनुसार यो वर्ष अरब सागरबाट भारतको दक्षिणी राज्य केरलामा मे २४ मा मनसुन प्रवेश गरिसकेको छ। यसपालि भारतमा औसतभन्दा आठ दिनअगाडि मनसुन प्रवेश गरेको हो।

चाँडै सुरु, 'हिलेदशैँ'को डर

बङ्गालको खाडीबाट आउने प्रणालीमार्फत् भारतको आसामको केही भूभाग अनि भुटान र बाङ्ग्लादेशका पूर्वी भूभागमा मङ्गलवार मनसुनको आगमन भएको विभागले जनाएको छ।

अर्थात् यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुनको प्रवेश हुने उसले बताएको छ।

प्रक्षेपणअनुसार भयो भने यसपालि दशैँमा पनि वर्षा हुने देखिन्छ। यो वर्ष दशैँको घटस्थापना सेप्टेम्बर २२ (असोज ६) मा र विजया दशमी अक्टोबर २ (असोज १६) मा परेको छ। त्यसैले यसपालि 'हिलेदशैँ' हुने सम्भावना छ।

गत वर्ष सन् २०२४ मा मनसुनको प्रवेश १० जुनमा भएर बहिर्गमन चाहिँ १२ अक्टोबरमा भएको थियो।

औसत अनुमानमा नेपालमा मनसुनको प्रवेश जुन १३ अनि बहिर्गमन अक्टोबर २ मा हुने ठानिन्छ।

नेपालमा मनसुन आगमन र बहिर्गमन भएको मिति

मनसुन भित्रिने र बाहिरिने अवधि एकैनासको देखिँदैन।

कुनै वर्ष मनसुनको अवधि छोटो भएको तथ्याङ्कले देखाउँछ। सन् १९७९ मा २४ जुनमा भित्रिएको मनसुन ७३ दिनपछि ४ सेप्टेम्बरमै बाहिरिएको थियो भने सन् २०२२ मा ५ जुनमा भित्रिएको मनसुन १३४ दिनपछि १६ अक्टोबरमा बाहिरिएको थियो।

चाँडै मनसुन प्रवेश आरम्भ हुँदा खास गरी कृषिकार्यमा लागेकाहरूलाई त्यसैअनुसार खेतीपातीको समय मिलाउन आवश्यक पार्छ।

विपद्को पूर्वतयारीमा लाग्नेहरूलाई पनि बर्खाको समयको अनुमान गर्न यो जानकारीले सघाउ पुग्छ।

सरदरभन्दा धेरै पानी पर्ने

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।

"सरदरभन्दा धेरै वर्षा हुने सम्भावना धेरै देखिएको छ। तर सामाजिक सञ्जालमा कतैकतै देखिए जस्तो ३० वर्षयताकै भीषण वर्षा हुने छ भनेर हामीले भनेका छैनौँ," विभागकी प्रवक्ता विभूति पोखरेलले बीबीसीसँग भनिन्।

सामान्यतया मनसुन सक्रिय हुँदा १,५००-१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ।

गत वर्ष पनि सरदरभन्दा धेरै पानी परेको थियो। उक्त वर्ष १,७०० मिलिमिटरभन्दा धेरै वर्षा भयो। सन् २०२३ मा १,५७० मिमि वर्षा भएको अधिकारीहरूले बताएका थिए।

बर्खामा डुबानमा परेको ठाउँमा छाता बोकेर हिँड्दै एक व्यक्ति

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२४ मा मनसुन अवधिमा आएका बाढीपहिरोका कारण ४९५ जनाले ज्यान गुमाएका थिए

सन् २०२४ मा केही अनौठा घटनाक्रम पनि देखिए। जुलाई ७-८ मा २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्रको दोधारा वर्षा मापन केन्द्रमा ६२४ मिमिको 'अति भारी वर्षा' रेकर्ड गरिएको थियो भने सेप्टेम्बर २६-२९ को चारदिने अवधिमा भएको 'भारी वर्षा'ले काठमाण्डू र वरपरका जिल्लामा व्यापक जनधनको क्षति भएको थियो।

सन् २०२४ मा मनसुनको अवधिभरि भएका बाढीपहिरोका घटनामा परी ४९५ जनाको ज्यान गएको थियो। सेप्टेम्बर २६-२९ को बाढीपहिरोमा मात्रै २५० जनाको ज्यान गएको र ४५ अर्ब रुपैयाँजतिको हानि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

"यो वर्ष समेत सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएकाले विपद् पूर्वतयारीका निम्ति विशेष कार्ययोजना बनाइएको छ जसलाई बुधवार कार्यकारी समितिले अन्तिम रूप दिने छ," प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले भने।

प्राधिकरणले गरेको प्रक्षेपणमा यो वर्ष वर्षाका कारण हुने विपद्ले चार लाख ५७,००० घरपरिवारका १९ लाख ९७,००० मानिसलाई प्रभावित पार्न सक्छ।

तापक्रम पनि औसतभन्दा धेरै

पहाडी भेगमा खेतको एउटा गह्रामा रोपाइँ गर्दै किसानहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेपालको कृषि अझै पनि आकासेपानीमा निर्भर हुने गर्छ

धेरै वर्षा मात्र हुने नभई यो वर्ष औसत तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको प्रक्षेपण छ।

दुवैथरी तापक्रम – अधिकतम र न्यूनतम – सरदरभन्दा धेरै हुने भनिएको छ।

"हाम्रो यो आकलन भनेको जुनदेखि सेप्टेम्बरसम्मको औसत आकलन हो। सबै महिनामा एकैनासले बढी हुन्छ भन्न सकिँदैन," विभागकी प्रवक्ता पोखरेलले भनिन्।

उनका अनुसार प्रारम्भिक अनुमानमा जुन महिनामा अधिक वर्षा हुने सम्भावना धेरै छ।

"तर बिस्तारै विविध मौसम प्रणालीहरू विकसित हुँदै जाँदा हाम्रा मासिक प्रक्षेपणहरूमा केही परिवर्तन पनि हुन सक्छ," उनले भनिन्।

दुई मुख्य प्रणाली 'तटस्थ रहने'

विभागले मनसुनबारे उसले गरेको आकलन विश्वभरि तथा क्षेत्रीय स्तरका जलवायु केन्द्रहरूले गरेका हावापानी प्रारूपको आकलन अनि साउथ एशियन सीजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार गरिएको जनाएको छ।

दक्षिण एशियाली देशहरूमा आउने मनसुन प्रणालीलाई महासागरहरूमा देखा पर्ने प्रणालीहरूमा केही हदसम्म निर्भर रहन्छन्।

प्रशान्त महासागरको सतही तापक्रम तथा पर्यावरणीय अवस्थासँग सम्बन्धित 'एल निन्यो' तथा सदर्न असिलेशन (ईएनएसओ) र हिन्द महासागरमा देखा पर्ने इन्डिएन ओशन डाइपोल (आईओडी)का साथै अन्य वातावरणीय अवस्थाको अध्ययन गरेर आकलन गरिएको विभागको भनाइ छ।

उसले यसपालि ईएनएसओ र आईओडी दुवै प्रणाली मनसुन अवधिभरि 'तटस्थ' रहने बताएको छ।

"उदाहरणका लागि, 'एल निन्यो' सक्रिय हुँदा वर्षा कम हुने र 'ला निन्या' सक्रिय हुँदा वर्षा धेरै हुने गरेका देखिन्छन्। यसपालि ती प्रणाली तटस्थ रहने भनेको तिनमा धेरै फेरबदल नआउने भनिएको हो," पोखरेलले भनिन्।

तर मौसमको विषयमा किटान गरेर शत प्रतिशत प्रक्षेपण गर्न भने नसकिने उनले बताइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।