मनसुनभरि 'मुख्य सडकहरूमा अवरोध निम्तिन सक्ने', विकल्प खोज्दै सडक विभाग

तस्बिर स्रोत, RSS
- Author, विष्णु पोखरेल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
मनसुन सुरु भएसँगै राजधानी काठमाण्डूलाई देशका विभिन्न भागसँग जोड्ने र अन्य मुख्य सडकहरूमा बाढी र पहिरोका कारण विभिन्न प्रकारको क्षति पुगेको विवरण आइरहेका छन्।
यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा "सरदरभन्दा धेरै पानी पर्ने" प्रक्षेपण गरिएकाले "मानिसहरूको आवतजावत र अत्यावश्यक वस्तुको ढुवानीमा" व्यापक अवरोध निम्तिन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।
त्यस्तो अवस्था उत्पन्न हुन नदिन "सरकारले गरेको पूर्वतयारी पनि पर्याप्त भएको नदेखिएको" उनीहरू बताउँछन्।
अधिकारीहरूले चाहिँ "क्षति पुगेका संरचनाहरूको मर्मत जारी रहेको र सम्भावित विपद्लाई दृष्टिगत गरी पूर्वतयारी भइरहेको" बताएका छन्।
पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुनुको कारण

तस्बिर स्रोत, RSS
मनसुनी वर्षाका कारण विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण पूर्व-पश्चिम राजमार्गसहित कैयौँ मुख्य सडकहरू अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले मङ्गवार बिहान सार्वजनिक गरेको विवरणमा नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलाको बाढीले 'डाइभर्सन' सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
केही महिनाअघि पूर्व-पश्चिम राजमार्गमा अवस्थित पक्की पुल अत्यधिक भार भएको एउटा ट्रक पार गर्न खोज्दा भत्किएको थियो।
त्यसपछि पुल नभएको उक्त खोलामा 'डाइभर्सन' सडक बनाएर सवारीसाधनहरू चलाउने गरिएको थियो।
"एउटा पुल पहिले भाँचियो अनि अर्को बन्दै गरेको पूरा भएको छैन। त्यसैले सवारीसाधन चलाउनका लागि डाइभर्सन बनाइएको थियो त्यो पनि बाढीले बगाएको अवस्था छ," नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने।
उनका अनुसार साना सवारीसाधन र बसहरू अर्को साँघुरो बाटोबाट घुमेर गइरहेको तर भार धेरै भएका सवारीसाधनहरूलाई भने आवतजावत रोकिएको अवस्था छ।
"पानी परेन भने केही दिनमा फेरि डाइभर्सन बनेपछि मात्र ठूला सवारीसाधन पठाउनु पर्ने अवस्था छ," उनले भने।
अत्यधिक भार भएको ट्रकले पुल भत्काएको स्थानमा अहिले अर्को नयाँ पुल निर्माणाधीन रहेको छ।
"त्यो पुल अब २० दिनमा चलाउन मिल्नेगरी बनिसक्छ भनिएको छ। त्यसपछि केही सहज होला त्यस बेलासम्मका लागि हामीले वैकल्पिक रूपमा डाइभर्सन बनाएर नै चलाउनु पर्ने हुन्छ," उनले भने।

तस्बिर स्रोत, RSS
अरनिको राजमार्ग पनि अवरुद्ध
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न तीन स्थानमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार उक्त गाउँपालिकाका कोदारी, लार्चा र कोप्लाङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
चीनसँगको एउटा मुख्य नाका तातोपानीलाई नेपालको राजधानी काठमाण्डूसँग जोड्ने प्रमुख सडक भएकाले पहिरोका कारण सामानहरू बोकेका कैयौँ सवारीसाधन पनि सडकमै अलपत्र परेको अधिकारीहरूले बताएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, "सडक अवरुद्ध भएपछि यहाँ तातोपानीबाट सामान लिएर आएका सवारीसधानहरू पनि रोकिने अवस्था आएको छ। यो राजमार्गका विभिन्न ठाउँमा लगातार पहिरो खसिरहन्छ।"
"हामीले स्थानीयस्तरमा तत्काल पहिरो पन्छाउन आवश्यक कामहरू गरिरहेका छौँ र उपकरणहरू पनि राखिएका छन् तर केन्द्रीय तहबाटै विशेष पहल हुनु पर्ने भएकाले हामीले त्यसबारे जानकारी गराएका छौँ।"
प्रहरीका अनुसार गुल्मीमा पहिरो जाँदा कालीगण्डकी कोरिडोरको सडक र ललितपुरमा पहिरो जाँदा कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।
जुम्लामा पहिरो खस्दा बन्द भएको जुम्ला–मुगु सडक र धनकुटामा पहिरो जाँदा बन्द भएको रवि-राँके–भेडेटार सडक चाहिँ एकतर्फी खुलाइएको प्रहरीको भनाइ छ।

सडक विभाग कस्ता विकल्पमा काम गर्दैछ?
सडक विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्याल कतिपय मुख्य सडकहरूमा बाढी तथा पहिरोले अवरोध पुर्याएपनि त्यसलाई "तत्काल मर्मत गर्ने" व्यवस्था गरिएको दाबी गर्छन्।
"हामीले विभिन्न विकल्पअनुसार काम गरिरहेका छौँ। धेरै ठाउँमा हामीले हाम्रा मशिनहरू पनि राखेका छौँ। अवरोध हुने बित्तिकै हटाउनेगरी तयारी गरिएको छ," उनले बीबीसीसँग भने।
पूर्व-पश्चिम राजमार्गस्थित विनयी खोलामा नयाँ पुल ढलान भएको मङ्गलवार ११ दिन भइसकेको र त्यसलाई २१ दिनपछि चलाउन मिल्ने उनको भनाइ छ।
"त्यसपछि उक्त क्षेत्रमा समस्या हुँदैन र पूर्व-पश्चिम राजमार्ग राम्ररी चल्छ," अर्यालले भने।
उक्त राजमार्गकै दाउन्ने खण्डमा भने निर्माणाधीन सडकमा महिनौँदेखि देखिएका समस्याहरू समाधान भएका छैनन्।
पानी पर्ने बित्तिकै हिलाम्मे सडकमा दुर्घटना निम्तिने र लामो समयसम्म सवारीसाधनहरू जाममा पर्ने गरेका विवरण आएका छन्।
अर्यालले भने उक्त क्षेत्रमा सामान्य ग्राभेल गरेर वर्षाभरि सवारीसाधन चलाउने व्यवस्था मिलाउने बताए।
"त्यहाँ ग्राभेल गरेर बस, मिनिबस र साना सवारीसाधन चल्ने व्यवस्था गर्ने अनि सुनौली नाकाबाट छिर्ने धेरै भार भएका ट्रकहरूलाई अन्य नाकाबाट मात्र छिर्ने व्यवस्था गर्नेबारे हामीले प्रधानमन्त्री कार्यालयलाई अनुरोध पनि गरेका छौँ," अर्यालले बीबीसीसँग भने।
उनका अनुसार धेरै भार भएका ट्रकहरू गुडाउँदा दाउन्ने क्षेत्रको सडक भासिने र एउटा ट्रक पल्टियो भने पनि सयौँ सवारीसाधन लामो समयसम्म जाममा पर्ने भएकाले उक्त विकल्प अघि सारिएको हो।
अरनिको राजमार्गमा पनि दीर्घाकलीन रूपमा अहिले नै दिगो सडक बन्ने अवस्था नभएकाले अस्थायी रूपमा त्यसलाई चलाउने योजना उनले सुनाए।
त्यस्तै बीपी राजमार्गमा यो बर्खामा अस्थायी व्यवस्था मात्र हुने अवस्था रहेको उनको भनाइ छ।
उनले भने, "बीपी राजमार्गमा हामीले अस्थायी व्यवस्था गरेका छौँ र मशिनहरू पनि राखिएका छन् अनि एउटा खण्डको ठेक्का पनि लागिसकेको छ। अर्कोको पनि चाँडै ठेक्का लाग्छ।"
कालीगण्डकी कोरिडोर र अन्य क्षेत्रका सडकहरूको पहिरो पनि तत्काल पन्छाउने काम भइरहेको उनको भनाइ छ।
हरेक वर्षामा नेपालका सडकले किन दु:ख दिन्छन्?

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पुल्चोक क्याम्पसका सहप्राध्यापक तथा सडक, भवन र पुल संरचनाको डिजाइनसम्बन्धी विज्ञ जगतकुमार श्रेष्ठका अनुसार बर्खायाममा नेपालमा सडक अवरुद्ध हुनुका विभिन्न कारणहरू रहेका छन्।
त्यसमध्ये सबैभन्दा पहिलो कारण "कुनै पनि सडक तथा पुलको उपयुक्त प्राविधिक ढङ्गले रेखाङ्कन र निर्माण नहुनु" रहेको उनको बुझाइ छ।
उनले भने, "सडक र पुलहरू बनाउँदा पहिले नै बाढीपहिरो जाने वा माटो खुकुलो भएको स्थान छान्नु भएन। कडा चट्टान भएको स्थान छान्नुपर्छ।"
"माटो खुकुलो भएको स्थानबाट रेखाङ्कन गर्नु पर्ने भए पनि मिल्ने र दरिलो संरचना बनाउनु पर्छ। त्यसो नगर्दा समस्या हुन्छ।"
उनका बुझाइमा नेपालमा बर्खायाममा सडकहरू अवरुद्ध हुनुका अन्य कारणमा समयमा मर्मतसम्भार नहुनु, धेरै वर्षअघि बनेका सडक र पुल जीर्ण भइसक्नु, समयमा ठेकेदारले काम नगर्नु वा गर्दा पनि कमसल खालको गर्नुलगायत पनि हुन्।
"हाम्रो सडक र पुलले नधान्ने धेरै भार क्षमता भएका गाडी गुडाउँदा पनि समस्या निम्तिने गरेको छ," उनी भन्छन्।
विसं २०७२ सालको भूकम्पपछि नेपालको पहाडी क्षेत्रमा कैयौँ चिराहरू परेको र त्यसमा पानी पस्दा पहिरो गएको कतिपय अध्ययनले देखाएको उनको भनाइ छ।
"नेपाल भनेको कमजोर भौगर्भिक अवस्थाको पहाडी क्षेत्र हो। हामी हाम्रा पहाडलाई कान्छा पहाड पनि भन्छौँ। यस्तोमा छिटो काम गर्नु पर्नेमा ढिलो हुने र बनेका पनि मर्मत नहुने अनि बनिसकेकाको उपयुक्त अनुगमन नहुने समस्या छ," उनले भने।
त्यस्तै कमसल गुणस्तरको निर्माण सामग्रीको प्रयोग र उपयुक्त सीप नभएका व्यक्तिहरूले निर्माण गतिविधि गर्दा पनि यस्तो समस्या दोहोरिएको श्रेष्ठको बुझाइ छ।
सरकारले हाल देखिएका कमजोरीहरूलाई सुधार गरेमा मात्र हरेक बर्खायाममा दोहोरिरहने सडक अवरुद्ध हुने समस्या सम्बोधन हुन सक्ने उनको सुझाव छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








