बर्खाभरि सडक खन्न नपाइने नियम, तर सडकमा खाल्डाखुल्डी र धराप देखिनुको कारण यस्तो

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
सडक विभागले विगत केही वर्षदेखि असारदेखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडकको कुनै पनि संरचना नखन्न सूचना जारी गर्दै आए तापनि दिनहुँ काठमाण्डूसहितका देशका धेरै ठाउँमा त्यस्तो क्रम देखिन छाडेको छैन।
"सामान्यतः जेठ १५ गतेबाटै खन्न पाइँदैन। हामीले त्यसको सार्वजनिक सूचना जारी गर्दै आएका छौँ," सडक विभागका महानिर्देशक विजय जैसीले बीबीसीसँग भने। "कुनै आपत्कालीन अवस्थामा मात्र त्यस्तो काम गर्न सकिने हो।"
सडक विभागले त्यसरी बर्खाभर नयाँ सडक खन्ने काम रोक लगाइरहँदा पनि किन खाल्डाखुल्डी र हिलाम्य सडकले निम्त्याउने जोखिम सामना भइरहेको छ?
काठमाण्डूमा समस्याको कारण
राजधानीका हकमा काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतका पाइपहरू निरन्तर मर्मत गर्न परिरहने परिस्थितिले सरकारी सूचनाविपरीत नै काम भइरहेको सडक अधिकारीहरूको दाबी छ।
सामान्यत: नेपालमा मनसुन भित्रने मिति १३ जुन मानिए पनि यसपालि त्यसको १५ दिनअगावै मनसुन भित्रिएको छ।
"काठमाण्डूमा पानीका पाइप रसाउने र फुट्ने समस्या देखिनासाथ खानेपानी प्रदूषित हुन नदिन केयूकेएलले त्यस्तो मर्मतसम्भार गर्नैपर्ने हुन्छ," जैसी भन्छन्।
"तर त्यस्तोबेला तीनवटै जिल्लाका डिभिजन कार्यालयहरू तम्तयार अवस्थामा हुन्छन् र मर्मतका काम पूरा हुनेबित्तिकै त्यसलाई पुर्ने काम गर्छन्।"
मुख्य सडकमा धराप

तस्बिर स्रोत, RSS
सरकारले मनसुनी वर्षा सुरु हुनुअगावै निर्माण चलिरहेका काम सक्न र बर्खाभर सडकमा धराप थप्ने काम नगर्न भन्ने गरे तापनि त्यसको पालना नभइरहेको देखिन्छ।
महेन्द्र राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा बर्खाअगावै काम पूरा नभएपछि पछिल्ला एक साताका अधिकांश दिन सडक अवरोध भयो।
खास गरी दुम्कीबासको नयाँ विनयी पुल सञ्चालनमा नआउँदा र दाउन्नेको हिलाम्मे उकालो बाटोमा गाडीहरू गुड्न नसक्दा त्यस्तो परिस्थिति बनेको बताइएको छ।
एकातर्फ नदीमा बनेको 'डाइभर्शन' बगिरहने र अर्कोतर्फ नयाँ पुल सञ्चालनको मिति अझै टुङ्गो लागिनसक्दा सडक सहज रूपमा सञ्चालन हुने अवस्था अझै बनेको छैन।
"लगभग तयारी अवस्थामा रहेको नयाँ पुल एकदुई दिनमै प्रयोगमा ल्याउनका लागि अन्तिम मूल्याङ्कनका काम भइरहेको छ, त्यतिन्जेल हामी दाउन्नेको बाटो ग्राभेल गरेर बर्खामा चल्न मिल्ने बनाउँछौँ," महानिर्देशक जैसी भन्छन्।
करिब पाँच महिनाअघि विनयी नदीमा अत्यधिक भारका कारण पुरानो पुल भत्किएपछि त्यहाँ बन्दै गरेको अर्को पुल बर्खाअगावै सक्न ठेकेदारलाई आग्रह गरिएको थियो।
सडक अधिकारीहरू चालु कामका हकमा मौसमी परिस्थिति हेरेर अघि बढ्न सकिने विकल्पहरू भए नयाँ खन्ने वा पिच गर्ने काम दाउन्नेमा नहुने बताउँछन्।

तस्बिर स्रोत, RSS
"बर्खामा खन्नपर्ने विशेष अवस्थाका लागि सम्बन्धित पक्षले नै त्यसलाई पुर्ने जिम्मेवारी लिनुपर्छ। त्यस्तोमा हामीले पहिल्यै धरौटी जमानत राख्ने गरेका हुन्छौँ। त्यो काम अलपत्र परे धरौटी जफत गरेर हामी नै त्यसमा अग्रसर हुन्छौँ," जैसी थप्छन्।
"यस्तोमा धारा वा सडक खन्न नपाइने भन्ने मात्र हो, निर्माण नै गर्न नपाइने भन्ने होइन। पिच गर्नेजस्ता कामका लागि तापक्रम पुग्यो भने त्यो पनि गर्न नसकिने होइन।"
सूचनाविपरीत किन हुन्छ काम?
सडक विभागले आरोप लगाएझैँ केयूकेएल र नेपाल विद्युत् प्राधिकरण अनि उपभोक्ता समितिहरूसमेत बर्खामा सडक खन्ने काममा संलग्न भएको पाइन्छ।

तस्बिर स्रोत, RSS
केयूकेएल प्रवक्ता प्रकाशकुमार राई आफूहरूले सकेसम्म रातका बेला काम गरेर जोखिम कम गर्ने प्रयास गर्ने गरेको बताउँछन्।
"सकेसम्म बिहानसम्मै पूरा गर्ने गरी काम गरे पनि आयोजना कार्यान्वयन एकाइसँग जोडिएका कुनै काम केही दिन ढिलो भइरहेको यथार्थ हो," प्रवक्ता राई भन्छन्।
"ठूल्ठूला पाइपहरूका काम हुने हुँदा र अवरोधहरू पत्ता लगाउन दुईतीन ठाउँमा खन्नुपर्ने हुँदा त्यसमा केही बढ्ता समय लाग्ने हो।"
यसबीचमा मर्मतबाहेकका काम नगर्ने आफूहरूको नीति नै रहे पनि अत्यावश्यक अवस्थामा स्थानीय निकायसँग समन्वय गरेर उनीहरूको अनुमतिमा मात्र त्यस्तो काम गर्ने गरेको उनी बताउँछन्।
'गलत मनसाय'

तस्बिर स्रोत, RSS
एक अर्थविद् बजेट निकासा भएर पनि अरू बेला खर्च गर्ने क्षमता नदेखाउने र आर्थिक वर्षको अन्त्यमा जसरी भएर पनि काम देखाउने होडबाजीका लागि सरकार र ठेकेदार पक्ष दुवै सडक खन्न तम्सिने गरेको औँल्याउँछन्।
"त्यही दबावलाई कर्मचारी र ठेकेदार दुवैले भ्रष्टाचार गर्ने मौका ठानेर प्रयोग गर्छन्," विगतमा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा काम गरेका केशव आचार्य भन्छन्।
"असारभित्र जसरी पनि सक्ने भनिएपछि ठेकेदारसमेत सूपरभाइजर र इन्जिनियरहरूले समेत ध्यान दिएर हेर्दैनन्।"
सरकारी लेखापालहरूले आर्थिक वर्षको अन्त्यतिर मात्र महिनौँअघिदेखिका भुक्तानी दिने गर्दा असारमा धेरै खर्च देखिने गरेको समेत बताइन्छ।
अर्थविद् आचार्य थप्छन्, "देशमा काम गर्ने र सुपरिवेक्षण गर्ने यति धेरै संरचना हुँदाहुँदै पनि वर्षमा महिनैपिच्छेको कार्यतालिका बनाएर सोहीअनुसार काम नगर्दा र उनीहरूलाई उत्तरदायी बनाउन नसक्दाको असर पनि हो यो।"
सरकारसँगको सम्झौताको कामको भुक्तानी समयमै गर्न नसक्दा र आर्थिक वर्षको अन्त्यमा एकै पटक धेरै काम गराउने पछाडि सरकारी अधिकारीहरूको गलत मनसाय देखिने गरेको उनी बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








