ऋण काढेर यार्सागुम्बा खोज्न जाँदा ऋण थपेर घर फर्किनु परेपछि...

घर फर्किदै गरेको बताउने यार्सा टिप्नेहरू

तस्बिर स्रोत, Prakash Pant/BBC

    • Author, प्रकाश पन्त
    • Role, तरपरे रुपपाटन, डोल्पा

गत वर्ष कार्तिक १७ गते आएको भूकम्पले घर भत्कायो, त्रिपाल र अस्थायी टहराको कठिन बासपछि रुकुम पश्चिम आठबीसकोटकी रीता बीसी शाहीले ऋण गरेर एउटा स्थायी घर बनाइन्।

घर बनाउँदा लागेको ऋण तिर्ने सपना बोकेर जेठको दोस्रो सातातिर रीता र उनका श्रीमान् डोल्पाको रुपपाटन उक्लिए। यार्साबाट गतिलो कमाइ गर्ने आशा लिएको यो परिवारले यार्सा टिप्न जानुअघि तिलहरी धरौटी राखेर छिमेकीसँग ५० हजार रुपैयाँ ऋण काढेको थियो।

तर ठूलो सपना बोकेर यार्सा टिप्न पहाड उक्लिएका शाही दम्पती पाटन पुगेको ४–५ दिनमै घर फर्कन बाध्य भए।

भूकम्पले भत्काएको घर बनाउँदा करिब डेढ लाख रुपैयाँ ऋण लागेको शाही बताउँछिन्।

“त्यही ऋण तिर्न सकिन्छ कि भनेर यार्सा टिप्न आइयो”, उनले बीबीसीसँग भनिन्। “सोचेजस्तो यार्सा पनि पाइएन। उल्टै ५० हजार ऋण थपेर घर फर्किन बाध्य भयौँ। अब कहिल्यै यार्सा टिप्न पाटन आउँदैनौँ।”

ऋण तिर्न नसके महिनैपिच्छे ब्याज बढ्दै जाने भएकोले के गरेर ऋण तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनी बताउँछिन्।

घर बनाउँदा लागेको ऋण तिर्न भारतको कालापार जाने सोचमा शाही पुगेकी छन्।

कमाउन गएको उल्टो ऋण थपियो

यार्सा टिप्न जानेहरू

तस्बिर स्रोत, Prakash Pant/BBC

यार्साबाट गतिलो कमाइ गर्ने आशा बोकेर पाटन आएका डोल्पाका रमेशबहादुर बोहराको कथा पनि रीता शाहीको जस्तै छ।

“विगतमा जस्तो यसपालि यार्सा नपाउँदा प्रवेश शुल्क (यार्सा टिप्न जाँदा वन कार्यालयले लिने राजश्व) पनि उठेन। गतिलै कमा होला भनेर आइयो, उल्टै ऋण थपेर फर्किँदै छु,” उनले भने।

सामुदायिक वन उपभोक्ता समितिले रुपपाटनमा यार्सागुम्बा टिप्न आउनेहरूसँग १,००० देखि ३,५०० सय रुपैयाँसम्म प्रवेश शुल्क उठाउने गरेको छ।

समितिले वनका उपभोक्ताहरूसँग ५००, स्थानीय पालिकाका मानिससँग १,०००, डोल्पावासीसँग २,००० र बाहिर जिल्लाबाट आएकाहरूसँग ३,५०० रुपैयाँ प्रवेश शुल्क तोकेको छ।

विगतका वर्षहरू जस्तै यसपालि पनि यार्साबाट राम्रै कमाइको आशा बोकेर पाटन पुगेकी त्रिपुरा सुन्दरी नगरपालिका–३, डोल्पाकी विमला शाही पनि सोचेजस्तो यार्सा नभेटेपछि पाटनबाट २–३ दिनमै घर फर्किइन्।

 यार्सा पाइने पाटन

तस्बिर स्रोत, Prakash Pant/BBC

विगतका वर्षहरूमा कम्तीमा पनि ७०–८० हजार रुपैयाँ कमाइ गरेको उनी बताउँछिन्।

“यसपालि किन हो जरा यार्सा नै भेटिएनन्। तीन दिनमा तेह्र वटा पाएर घर फर्किएँ। कमाउँला भनेर गएको ऋण पो लाग्यो,” उनी भन्छिन्।

दश वर्षकी छोरी समेत लिएर रुपपाटन आएकी विमला शाही यार्सागुम्बाबाट कमाइ नभएपछि वर्षभरि घर व्यवहार चलाउने खर्चको चिन्तामा छिन्। यो क्षेत्रका कैयौँ मानिसहरूले वर्षको एक पटक यार्सा टिपेर कमाएको पैसाले वर्षभरिको खर्च पुर्‍याउने गरेको बताउने गरेका छन्।

यार्सा टिप्न पाटन गएका उनीहरूजस्तै धेरैले विगतमा जस्तो यसपालि यार्सा नपाइँदा ऋणको भारी बोकेर फर्किनु परेको गुनासो सुनाए।

पाटन गएकामध्ये कतिपयले अपेक्षित यार्सा नै भेटेनन् भने कतिपय लेक लागेर बिरामी हुँदा टिप्नै नपाएर घर फर्किन बाध्य भए।

बर्षभरिको खर्च जुटाउने चिन्ता

यार्सा टिप्नेहरु

तस्बिर स्रोत, Prakash Pant/BBC

श्रीमतीसहित यार्सा टिप्न डोल्पाको टाक्स पाटन पुगेका रुकुम पश्चिमका गङ्गाराम विक लेक लागेर बिरामी हुँदा ५० हजार ऋण लागेको गुनासो सुनाउँछन्।

तीन जना छोराछोरीको पढाइ खर्च जुटाउन र घर व्यवहार चलाउन आफूले पनि टिप्ने र अरूबाट पनि खरिद गर्ने सोच बनाएर उनी यार्सा टिप्न गएका थिए।

तर पाटन पुगेकै दिन लेक लागेर ज्यानै जाने अवस्था आए पनि ऋण गरेर लगेको पैसा उपचार र भाडामा सकिएको उनले गुनासो गरे।

रुपपाटन पुगेर घर फर्किँदै गर्दा लाहारमा भेटिएकी डोल्पा जुफालकी रुककुमारी सार्कीले बीबीसीसँग भनिन्, “सोचेजस्तो यार्सा नभेटेपछि तीन दिन पाटन घुमेर घर फर्किँदै छु। पैसा कमाउँला भनेर आएको झन् ऋण बोकेर घर फर्किँदै छु।"

यार्साको कमाइबाट छोराछोरीको पढाई खर्च जुटाउने र ऋणबाट मुक्त हुने योजनामा रहेकी उनी वर्षभरिको खर्चको जोहो जुटाउने चिन्ताले मन छटपटिन थालेको बताउँछिन्।

गत वर्ष यार्साबाट एक लाख भन्दा बढी कमाएको दाबी गर्ने डोल्पाकी वीरता विकले पनि यसपालि यार्साबाट पाँच हजार रुपैयाँ पनि कमाउन नसकेको बताइन्।

“यसपालि पोहर सालको भन्दा पनि बढी आम्दानी हुन्छ भन्ने सोचेकी थिएँ। नपाएर घर फर्किदा असाध्यै पिडा भएको छ,” उनले भनिन्।

अरू बेलाको कमाइले नुन तेल खान ठिक्क भए पनि यार्साको कमाइले भने उनको वर्षभरिको खर्च चल्थ्यो।

जेठो छोरालाई नेपालगन्जमा पढिरहेकी वीरता विक यसपालि यार्साबाट कमाइ नहुँदा छोराको पढाइ खर्च जुटाउने चिन्तामा परेकी छन्।

यार्सा नटिपे बर्षभरिको खर्च धान्न धौ धौ

भूकम्पले भत्काएपछि नयाँ बनाइएको घर

डोल्पासहित जाजरकोट, रुकुम पश्चिम, जुम्ला, मुगुका धेरैजसो मान्छेहरूले उच्च हिमाली पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाबाटै वर्षभरिको घर खर्च जुटाउँछन्।

नुन तेल, दाल चामल, लत्ता कपडा किन्न र छोराछोरीको पढाइमा खर्च गर्न सजिलो हुने भएकोले उनीहरू हरेक वर्ष ऋण सापट गरेर यार्सा टिप्न जेठ महिनामा पाटन जान्छन्।

करिब एक डेढ महिना यार्सा टिप्दा उनीहरूको घरमा अपाङ्गता भएका व्यक्ति, बुढाबुढी र साना बालबालिका मात्रै हुन्छन्।

विशेष गरी डोल्पालीको आयआर्जनको मुख्य स्रोत नै यार्सा भएकोले यो सिजनमा यार्सा नटिपे वर्षभरिको खर्च जुटाउन धौ धौ पर्ने डोल्पा त्रिपुराकोटकी चन्द्ररुपा धराला बताउँछिन्।

पोहर साल हिउँ धेरै भएकोले यार्सा भेटिएको थियो। यसपालि हिउँ नहुँदा सोचे जस्तो यार्सा भेटिएन ।

धेरै कमाउने आशाले ऋण सापट गरेर पाटन पुगेर उल्टै ऋण थपेर घर फर्किन बाध्य भएकाहरू सधैँ फाइदा नभए पनि आफूहरूका लागि यार्सागुम्बा आयआर्जन गर्ने ठूलो अवसर भएको बताउँछन्।

घरको उब्जनीले वर्षदिन नधान्ने उनीहरूको लागि यार्सा र जडीबुटीबाट हुने आम्दानीले जीवन धान्न सघाउने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।