संसारकै ‘एक्लो भाले बिरुवा’को जोडी खोज्न एआईको प्रयोग

एआई

तस्बिर स्रोत, University of Southampton

संसारकै "सबैभन्दा एक्लो वनस्पति" मानिएको भाले बिरुवाको पोथी खोज्न वैज्ञानिकहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई)को प्रयोग गरेका छन्।

साउथह्याम्प्टन विश्वविद्यालयको एउटा अनुसन्धानअन्तर्गत दक्षिण अफ्रिकामा हजारौँ एकड जङ्गल क्षेत्रमा खोजी कार्य भइरहेको छ।

वैज्ञानिक नाम 'इन्सेफलार्टोस वुडीआई' (ई. वुडीआई) अहिलेसम्म दक्षिण अफ्रिकामा मात्र फेला परेको बिरुवा भएको बताइन्छ।

सो प्रजातिका सबै वनस्पति ई. वुडीआईको भालेका क्लोन रहेका हुन्। अर्थात् ती प्राकृतिक रूपमा प्रजनन गर्न सक्दैनन्।

ड्रोन तथा एआईको प्रयोग

एआई

तस्बिर स्रोत, University of Southampton

उक्त प्राचीन वनस्पति डाइनसोर अस्तित्वमा आएको समयभन्दा पहिलाको हो। त्यसलाई अतिलोपोन्मुख मानिन्छ।

साउथह्याम्प्टन विश्वविद्यालयस्थित अनुसन्धानकर्ता डा लाउरा सिन्टीले पोथी ई. वुडीआईको खोजीका निम्ति ड्रोन तथा एआईको प्रयोग गर्ने पहिलो परियोजनाको नेतृत्व गरिरहेकी छन्।

उनले भनिन्, “म ई. वुडीआईको कथा सुनेर निकै प्रभावित भएकी थिएँ, यसले एकतर्फी प्रेमको एउटा शास्त्रीय कथालाई प्रतिबिम्बित गर्छ।”

“मलाई कहीँ न कहीँ यसको एउटा पोथी बिरुवा छ जस्तो लाग्छ, आखिर एउटा समयमा भएकै हुनुपर्छ। प्राकृतिक प्रजनन प्रक्रियामार्फत्‌ लोप हुन लागेको यो बिरुवालाई जोगाउन सकिए गजब हुने छ।”

हालसम्म थाहा भएको एक मात्र ई. वुडीआई सन् १९८५ मा एन्गोय जङ्गलमा फेला परेको हो।

'संसारकै सबैभन्दा एक्लो'

ई. वुडीआई वनस्पति

तस्बिर स्रोत, University of Southampton

एकमात्र भाले वनस्पति भएको पत्ता लागेपछि उक्त प्रजातिका सबै बिरुवा भालेका क्लोन भएका मानिएको छ । यसको अर्थ यो बिरुवाले प्राकृतिक रूपमा प्रजनन गर्न सक्दैन।

ड्रोनले खिचेका तस्बिरहरूको विश्लेषण एआईबाट गरिँदै छ। अहिलेसम्म अनुसन्धानका लागि लक्षित १०,००० एकड क्षेत्रको दुई प्रतिशतभन्दा कम मात्र समेटिएको छ।

डा सिन्टी भन्छिन्, “आकारका आधारमा बिरुवाहरू चिन्न हामीले तस्बिर पहिचान गर्ने एल्गोरिदमको प्रयोग गरिरहेका छौँ।”

“हामीले बिरुवाका तस्बिरहरू बनाएका छौँ र पहिचान गर्नका निम्ति तिनलाइ फरक पर्यावरणीय अवस्थामा राख्छौँ।”

पोथी बिरुवा रहे वा नरहेको निर्क्योल गर्न अहिलेसम्म पूरै जङ्गलमा खोजी गरिएको छैन।

उक्त बिरुवा अहिले पनि लन्डनको क्यूस्थित रोयल बोटनिकल गार्डेन्समा अझै उमारिन्छ र विस्तार गरिन्छ। त्यहाँ उनीहरूले त्यसलाई “संसारकै सबैभन्दा एक्लो बिरुवा” भन्ने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।