विज्ञान खोजः भारतले एन्टार्कटिका महादेशमा नयाँ वनस्पति पत्ता लगायो

नयाँ वनस्पति

तस्बिर स्रोत, Felix Bast

भारतीय वैज्ञानिकहरूले एन्टार्कटिका महादेशमा वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएका छन्।

ध्रुवीय जीवशास्त्रीहरूले सन् २०१७ मा उक्त हिउँले ढाकिएको महादेशमा काईको एउटा प्रजाति भेटेका थिए।

प्रजाति पहिचान लामो र गाह्रो प्रक्रिया भएका कारण वैज्ञानिकहरूलाई त्यो प्रजाति पहिलो पटक भेटिएको पुष्टि गर्न पाँच वर्ष लागेको हो।

सो खोजको बारेमा लेखिएको वैज्ञानिक लेख प्रख्यात अन्तर्राष्ट्रिय जर्नल, 'जर्नल अफ एशिया-प्यासिफिक बायोडाइभर्सिटी'मा छाप्न स्वीकार गरिएको छ।

भारतले एन्टार्कटिका महादेशमा चार दशक पहिले अनुसन्धान स्टेशन निर्माण गरेयता यसरी नयाँ वनस्पतिको प्रजातिको खोज गरेको पहिलो पल्ट हो।

एन्टार्कटिका मा भारतले सन् १९८४ मा पहिलो पल्ट स्थापना गरेको स्टेशन हिउँमा पुरिएपछि सन् १९९० मा बन्द भएको थियो।

सन् १९८९ मा स्थापित मैत्री र सन् २०१२ मा स्थापित भारती नाम दिइएका अनुसन्धान स्टेशन भने अहिलेसम्म चालु रहेका छन्।

पन्जाब केन्द्रीय विश्वविद्यालयका जीवशास्त्रीहरूले सो वनस्पतिलाई ब्राइअम भारतीएनसिस् नामकरण गरेका छन्।

भारती हिन्दु देवी सरस्वतीको एउटा नाम हो।

भारती स्टेसन भारतले सन् २०१२ मा स्थापना गरेको हो

तस्बिर स्रोत, PRADEEP TOMAR

तस्बिरको क्याप्शन, भारती स्टेसन भारतले सन् २०१२ मा स्थापना गरेको हो

भारतीय वैज्ञानिकहरूको ३६औँ अध्ययन भ्रमणमा सामेल रहेका प्राध्यापक फिलिक्स बास्टले सन् २०१७ को ज्यानुअरीमा दक्षिणी सागर नजिकै रहेको लार्समान हिल्समा गाढा हरियो रङ्गको काई भेटेका थिए। सो स्थान भारती अनुसन्धान स्टेशन नजिकै रहेको छ।

वनस्पतिलाई जीवित रहनका लागि नाइट्रोजन, पोटासियम, फोस्फोरस, सूर्यको किरण र पानीको आवश्यकता पर्छ। एन्टार्कटिकामा एक प्रतिशत भूभाग मात्रै हिउँले ढाकिएको छैन।

"सबैभन्दा ठूलो प्रश्न भनेको चट्टान र हिउँको स्थानमा काई कसरी बाँच्छ भन्ने हो," प्राध्यापक बास्टले भने।

वैज्ञानिकहरूले पेङ्गुइनहरूले ठूलो सङ्ख्यामा सन्तान उत्पादन गर्ने स्थानहरूमा काई हुने पत्ता लगाएका छन्। पेङ्गुइनको बिस्टामा नाइट्रोजन हुन्छ।

"यी काईहरू पेङ्गुइनको बिस्टाले जीवित रहन्छन्," प्राध्यापक बास्टले भने।

एन्टार्टिका

तस्बिर स्रोत, Felix Bast

तस्बिरको क्याप्शन, प्राध्यापक फिलिक्स बास्टले भारतीय वैज्ञानिकहरूको टोलीको नेतृत्व गरेका थिए

सूर्यको प्रकाश चाहिँ कहाँबाट पाउँछन्? वैज्ञानिकहरूले हिउँदको चिसो छ महिना हिउँले ढाकिएर र तापक्रम माइनस ७६ डिग्री सेल्सीअस हुँदा बिना सूर्यको प्रकाश काई कसरी बाँच्छन् भन्ने बुझ्न सकेका छैनन्।

वैज्ञानिकहरूले त्यो समयमा यी झन्डै बिउको अवस्थामा पुग्ने गरी निष्क्रिय हुनसक्ने र गृष्म याममा सूर्यको प्रकाशले पुनः उमारिने सम्भावना रहेको बताउँछन्।

नयाँ पत्ता लागेको काईको नमुनालाई भारतीय वैज्ञानिकहरूले पाँच वर्षसम्म डीएनए सिक्वेन्सिङ गर्दै अन्य प्रजातिका वनस्पतिसँग तुलना गरेका थिए। अहिलेसम्म एन्टार्कटिकामा १०० भन्दा बढी प्रजातिका काई भेटिएका छन्।

वैज्ञानिकहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर एन्टार्कटिकामा देखिन थालेको बताउँछन्।

"एन्टार्कटिका हरियो हुँदैछ। थुप्रै वनस्पतिहरू जुन त्यहाँको अवस्थामा जीवित रहन सक्दैन थिए आजकल त्यो महादेश तात्न थालेकोले जताततै देखिन थालेका छन्," प्राध्यापक बास्टले भने।