नेपालको यस्तो ठाउँ जहाँ खाल्डो खनेर अनाज भण्डारण गरिन्छ

तस्बिर स्रोत, SIRJANA SIZZU
- Author, प्रकाश पन्त
- Role, बीबीसी न्यूज नेपाली
हुम्ला सर्केगाड–३, उनापानीका टेकबहादुर फडेराले खाएर बचेको अनाज बर्सेनि जमिनमुनि भण्डारण गर्छन्।
पाँच वर्षयताको चिनो, फापर, कोदो, गहुँजस्ता करिब ८–१० क्विन्टल अनाज उनले जमिनमुनि राखेका छन्।
उनले भने, ‘’खाइनसकेको अन्न वर्षौँसम्म माटामुनिको माटामुनि नै छ।’’
उनापानीको गुसामा अनाजलाई जमिनमुनि गाडेर राख्ने चलन बर्सौँ पहिलेदेखि चल्दै आएको छ।
घरभित्र भण्डार गर्ने ठाउँ नहुँदा गाउँलेले जङ्गलको छेउछाउ, देवी देवताका थान र घर वरिपरि खाल्डाहरू खनेर अनाज राख्ने गरेका छन्।
घरमा हुने आगलागी र चोरीबाट बचाउन पनि यो भेगमा जमिनमा अनाज गाडेर राख्ने चलन व्याप्त छ।
देउताको थान नजिकै गाडिन्छ अनाज

तस्बिर स्रोत, SIRJANA SIZZU
‘‘हामी बाहिर अन्न बिक्री गर्न जाँदैनौ, किन्न कोही आउँदैनन्। दु:ख गरेर उब्जाएको अन्न त्यसै खेर फाल्न पनि नसकिने भएकोले बर्सेनि जमिनमै भण्डार गरेर राख्न बाध्य छौँ,’’ वर्षभरि खाएर बचेको ५/६ क्विन्टल अनाज जमिनमुनि भण्डार गरेर राखेकी गुसाकै यान्जी थापाले भनिन्।
घरमा राख्ने ठाउँ र साधन नभएकाले जमिनमा अनाज गाड्न बाध्य गाउँलेले एउटै खाडलमा ४/५ क्विन्टलसम्म अनाज राखेका हुन्छन्।
नकुहियोस् भनेर पनि खाल्डो खनेर जमिनमा अनाज राखिन्छ। किरा र चिसोबाट जोगाउनका लागि भुसपात बेरेर खाडलभित्र अनाज भण्डारण गर्ने गरिन्छ।
चिनो, फापर, कोदो, गहुँ र सिमीलाई भोजपत्रले मोडेर अलग अलग खाल्डामा राखिन्छ।


ईश्वरमा धेरै विश्वास गर्ने स्थानीयहरूले विशेषगरी मन्दिर वरपर खाल्डा खनेर अनाज राख्ने गर्छन्।
देउताको थान (मन्दिर) नजिक अनाज राख्दा चोरी नहुने र नकुहिने विश्वास पनि उनीहरूको छ।
यद्यपि जमिनमा राखिएका अनाज लामो समय भएपछि वा पानी परेर पनि कुहिने सम्भावना रहने उनीहरू आफै स्वीकार्छन्।
त्यसैकारण वर्षमा एक पटक खाल्डोबाट निकालेर ती अनाजलाई चर्को घाममा सुकाइन्छ। लामो समय जमिनभित्र राखेको अनाज निकालेर खाँदा स्वादिलो भने नहुने गाउँलेहरू बताँउछन्।
हुम्ला जिल्लामै धेरै अनाज फल्ने उनापानी गाउँमा अहिलेसम्म पनि सडक सुविधा पुगेको छैन।
खाडल चिन्न सङ्केत

तस्बिर स्रोत, SIRJANA SIZZU
सडक नहुँदा ढुवानीको समस्याले गर्दा उनापानीबासीले आफूले उत्पादन गरेको आधा अनाज आफैँ खपत गर्ने र आधा अनाज खाडलमा राख्ने गरेका छन्।
प्रत्येकले आफ्नो अनाजको खाडल चिन्नका लागि सङ्केत राखेका हुन्छन्। ती सङ्केतको आधारमा गाउँलेले खाल्डो पहिचान गर्ने गर्छन्।
उनापानी गाउँका तीन सयभन्दा बढी घरधुरीले देउताको थान वरिपरि खाडल खनेर अनाजका साथै मह, स्याउ, आलु, चोतो र ओखर राखेका छन्।
‘‘गाउँमा चिस्यान केन्द्र छैन’’, टेकबहादुरले भने, ‘‘त्यसैले हाम्रा लागि जमिन नै चिस्यान केन्द्र हो।’’
उनापानी बाहेक गाउँलेहरूको जग्गा जमिन खडालेक, पाँदे, गुसा लेकमा पनि छ।
त्यहाँ पनि प्रशस्त अनाज उत्पादन हुन्छ।


कात्तिकदेखि चैत महिनासम्म उनापानी, साउन, भदौ र असोज महिना लेकमा अनि वैशाख, जेठ र असार महिनामा भने लेकबेसी दुवैतिर स्थानीयहरू बस्छन्।
मह, स्याउ, आलु, चोतो र ओखरलाई असोज कात्तिकमा जमिनमुनि राखेर वैशाख जेठतिर निकालेर खाने गरिन्छ।
सर्केगाड गाउँपालिकाको उनापानी, गुसा लेक, गोठीका साथै चंखेली गाउँपालिकाको दार्माजस्ता बढी अनाज उत्पादन हुने ठाउँमा यस्तो चलन छ।
यातायातको सुविधा पुगेकाले विगतको तुलनामा खाडलमा राख्ने चलन पनि बिस्तारै घट्दै गएको सामाजिक अभियन्ता देवेन्द्र शाही बताउँछन्।
‘‘कतिपय स्थानीय तहले रैथाने बालीलाई किनेर खाद्य संस्थानलाई बिक्री गर्न थालेपछि पनि किसानले खाडलमा राख्न छाडेका छन्,’’ उनले भने।
'राम्रो आम्दानीको सम्भावना'
कसै कसैले १२–१५ वर्षसम्म मौरीको मह जमिनमुनि नै राखेर खाने गरेको स्थानीयवासीहरू बताउँछन्।
सबैको घरमा पर्याप्त अन्न हुने भएकोले गाउँमा अनाज बिक्री हुँदैन।
सडक मार्ग विस्तार भएको अवस्थामा अन्यत्रबाट अनाज किन्न मानिसहरू आउने अपेक्षा गाउँलेहरूको छ।
‘‘मोटर बाटोको सुविधा भइदिएको भए अनाजबाट राम्रो आम्दानी पनि हुन्थ्यो,’’ कार्यपालिका सदस्य समेत रहेकी यान्जी भन्छिन्, ‘’ढुवानी समस्याले गर्दा अनाज बर्सेनि त्यतिकै थन्किरहन्छ।’’
हुम्लाका अरू ठाउँहरूमा प्रायजसो खाद्यान्न अभाव हुने भएकाले ती स्थानका मानिसले सुर्खेत, नेपालगन्जबाट चामल किनेर गुजारा गर्ने गर्छन्।
गाउँसम्म बाटो ल्याइदिएर आफूले उत्पादन गरेको अनाज बिक्री गर्न सजिलो बनाइदिन उनापानीवासीले सरकारसँग आग्रह गरेका छन्।
कर्णाली करिडोर निर्माण भएर गाउँहरू सडमार्गबाट जोडिए अनाज बेचेरै गाउँलेले राम्रो आम्दानी गर्न सक्ने स्थानीय विद्यमान थापाको बुझाइ छ।








