बोधिचित्तको चिन्ता: करोडौँ रुपैयाँ आम्दानी हुने रूखको सुरक्षामा तारबारदेखि सीसीटीभीसम्म

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली, काभ्रेपलान्चोक
रूखको चोरी। त्यो पनि करोड रुपैयाँ मूल्य पर्ने।
सुन्दा अनौठो लाग्ने यो कहानी नेपालको काभ्रेपलान्चोक जिल्लामा धेरै पाइने त्यस्तो फल वा दानाको हो जुन सुन वा अन्य बहुमूल्य रत्नभन्दा महँगो हुन्छ।
अनि योसँग मानिसका सपना र आशा मात्र नभई केही समययता सुरक्षाको विषय पनि जोडिएको छ।
यसको गुह्य बुझ्न काभ्रेको रोशी गाउँपालिकामा दुई महिनाअघि भएको एउटा घटना महत्त्वपूर्ण छ।
‘रूख काट्ने चोर’
“बरु मलाई नै केही गरेको भए हुन्थ्यो नि! किन त्यो रुख काटिदिएको?” तरक्क आँसु चुहाउँदै दिलबहादुर तामाङ आफूले सानैदेखि हुर्काएको बोधिचित्तको रूख सम्झँदै बिलौना गर्छन्।
जीवनमा ५२ घुस्सा ५३ ठक्कर खाएको उदाहरण यदि कसैसँग मिल्न जान्छ भने दिलबहादुर तामाङसँग मिल्न जान्छ।
रोशी गाउँपालिकाको नागबेली भन्ने ठाउँमा जन्मेहुर्केका ४२ वर्षका दिलबहादुर तामाङले जीवनमा एकपछि अर्को हन्डर खाए।
दुई छाक टार्न र घरका लालाबाला हुर्काउन उनले कुनै बेला बालुवा बोके, कुनै बेला ढुङ्गा बोके अनि कुनै बेला कतारको गर्मीमा निर्माण कामदारको काम पनि गर्न भ्याए।
तर जब नियतिले उनको जीवनमा केही परिवर्तन ल्याउँदै थियो, उनी भन्छन्ः अपराधीहरूको अप्रत्याशित निसानामा उनको सबै सपना सखाप भयो।

तस्बिर स्रोत, Sher Bahadur Tamang
बोधिचित्त बन्यो ‘कल्पवृक्ष’
पहिले पहिले खासै मूल्य नआउने बोधिचित्तको रूख अहिले आएर बहुमूल्य बनेपछि दिलबहादुर तामाङको जीवनले नयाँ रङ्ग पाएको थियो।
आफू धेरै पढेलेखेको नभएपनि साहिँलो भाइ शेरबहादुर तामाङ अनि परिवारका अन्य सदस्यको सहयोगमा सगोलमा रहेको उक्त रूखको कमाइ करोडौँमा पुग्यो।
बितेको पाँच वर्षदेखि वार्षिक ९० लाख रुपैयाँमा एउटै रूखका बोधिचित्त दानालाई उनीहरूले बेच्ने गरेको शेरबहादुर तामाङले बताए।

तस्बिर स्रोत, Samip Tripathy
“हाम्रो सगोलको परिवारमा करिब २०-२२ जना छौँ। सबैलाई यही रूखले पालेको थियो,” शेरबहादुर तामाङले भने।
त्यो रूखले आफ्नो परिवारको वर्तमान मात्र नभई भविष्य पनि उज्यालो पारिदिएको उनी बताउँछन्।
“अर्को पाँच-सात वर्षसम्म सोही दरमा वर्षैपिच्छे उक्त रूखका दाना किन्ने आन्तरिक सहमति हाम्रो भइसकेको थियो,” तामाङको रूखको दाना किन्ने व्यवसायी समीप त्रिपाठीले बताए।
रु ९० लाखमा तामाङसँग रूखका दाना किनेपछि दाना प्रशोधन गरेर तिनलाई 'करिब तीन करोड रुपैयाँमा चिनियाँ व्यापारीहरूलाई बेच्ने गरेको' उनले सुनाए।
भौतिक इच्छा र आकाङ्क्षा पूरा गर्ने पौराणिक कल्पवृक्षकै रूपमा उक्त रूखले तामाङ परिवारको अवस्था बदलिदियो।
तर दु:खका दिन सकिए भन्ने उनीहरूको कल्पनालाई गत वर्ष चैत २९ (एप्रिल ११) गतेको राति भएको घटनाले धुलोमा मिलाइदियो।
त्यो रात '१०-१५ जना हतियारधारीको जत्थाले गोली पड्काउँदै बम बिच्छ्याउँदै घरमा आक्रमण’ गरेको सम्झँदा दिलबहादुर तामाङ भक्कानिन्छन्।
बरु मलाई नै केही गरेको भए हुन्थ्यो नि! किन त्यो रूख काटिदिएको?
सशस्त्र समूहको आक्रमण
“त्यो रूख सम्भवत: सबैभन्दा मूल्यवान्मध्येकै एक हो। त्यति धेरै मोल पर्ने रूख काभ्रे जिल्लामा औँलामा गन्न सकिने सङ्ख्यामा मात्र होला,” त्रिपाठीले भने।
दानादार फल वर्षको ८०-९० लाख रुपैयाँमा किनबेच हुने रूख ९-१० वटा मात्र भए पनि ४०-५० लाख रुपैयाँ पर्ने रूखचाहिँ निकै रहेको उनले बताए।
मूल्यवान् भएकै कारण दिलबहादुर तामाङको रूख आक्रमणकारीहरूको निसानामा परेको ठानिन्छ।
हुन त उनीहरूले रूख जोगाउन सक्दो उपाय गरेका थिए। मुख्य ठूलो रूख र वरपर अन्य साना बोधिचित्तका रूख भएको घरसँगैको जग्गामा उनले फलामको बार, ठूलो ताल्चा लगाइएको फलामे ढोका, माथि चारैतिर काँडे तारबार, अनि चारै दिशामा सीसीटीभी क्यामेरा जडान गराएका थिए।
तर चैत २९ को रात उनीहरूले नसोचेको घटना भयो।
मध्यरातमा हतियार बोकेका मानिसहरू आएको र तिनले सुरुमा ताल्चा फोडेको तामाङले बताए।
“तल एक हुल मान्छे थिए। दुई पटक बन्दुक पड्काए। बम राखे। हामी त घरबाट बाहिर निस्किन सकेनौँ। एक घण्टाभन्दा धेरै लगाएर ताल्चा फोडे अनि आरीले मुख्य रूखै काटिदिए। किन त्यसो गरेको हामीलाई अहिलेसम्म पत्तो छैन,” उनले भने।
शेरबहादुर तामाङले बीबीसीलाई उपलब्ध गराएको सीसीटीभी फुटेजमा केही व्यक्ति बन्दुकसहित आएको देखिन्छ।
घटनालगत्तै प्रहरीले थालेको छानबिन अझै जारी रहेको बताएको छ।
केही मानिसलाई लामो समय हिरासतमा राखेर अनुसन्धान गरेको प्रहरीले अझै सात जना फरार रहेको बताएको छ।

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
मौलाउँदो अपराध
शेरबहादुर तामाङका अनुसार सोही रूखमा २०७७ र २०७६ सालमा पनि दाना लुटपाट तथा कुटपिटका घटना भएका थिए।
बोधिचित्त धेरै पाइने तेमाल गाउँपालिका र रोशी गाउँपालिकामा यसको लेनदेनका विवादहरू निकै सङ्ख्यामा आउने गरेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
“हाम्रो गाउँपालिकाको न्यायिक समितिमा त करिब एकतिहाइ विवाद यही बोधिचित्तकै विषयमा आउने गरेको छ,” रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले भने।
तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरको गुनासो पनि उस्तै छ।
काभ्रे जिल्ला प्रहरी कार्यालयका अनुसार बोधिचित्तका कारण चोरी र झगडाका मामिला बेलाबेला आइरहन्छन्।
“हामीकहाँ आएका मामिलामा अनुसन्धान गर्छौँ र चाहिएको समयमा सुरक्षा पनि बढाउँछौँ,” काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बीबीसीलाई बताए।
तर उचित अभिलेख राख्ने प्रबन्ध नभएकाले यस्ता घटनाको स्पष्ट सङ्ख्या भने अधिकारीहरूले दिन सकेनन्।
गाउँ नै त्रसित
चैत २९ गते रोशीमा भएको घटनाले वरपरको गाउँ सबैमा त्रास छाएको छ। घटनास्थलबाट केही मिटर मात्र पर रहेको नारायण हुमागाईँको परिवार अझै पनि तर्सिएको देखिन्छ।
“मेरो घरमा दिलबहादुर तामाङले नै यसको बोट रोपिदिनुभएको थियो। मैले पोहोर २० लाख रुपैयाँमा दानाहरू बेचेको थिएँ। यस पटक पनि अझ बढी आम्दानी हुने आश छ। तर जे घटना भयो त्यसले हामी निकै डराइरहेका छौँ,” हुमागाईँले भने।
उक्त घटनापश्चात् उनले आफ्नो रूख जोगाउन घर वरपर आठवटा सीसीटीभी क्यामरा जडान गरे।
“छिमेकमै रूख काटिदिएको देखेपछि हामीकहाँ पनि त्यस्तै होला भनेर हामीलाई डर लाग्छ। मानिसहरूलाई ईर्ष्या, डाहा हुने रहेछ। गाउँठाउँमा खुट्टा तान्ने प्रवृत्ति पनि छ। मैले पोहोर चार लाख रुपैयाँ खर्च गरेर फलामको तारबार लगाएँ। यसपालि चाहिँ तीन लाख रुपैयाँ खर्च गरेर सीसीटीभी अनि अन्य प्रबन्ध मिलाएँ,” उनले सुनाए।
रोशीको घटनाको तरङ्ग तेमाल गाउँमा पनि पुगेको छ।
निश्चय पनि डर र चिन्ता त भइहाल्छ। हाम्रो गाउँमा पनि मूल्यवान् बोधिचित्तलाई लिएर विवाद त भइराखेका छन्
“निश्चय पनि डर र चिन्ता त भइहाल्छ। हाम्रो गाउँमा पनि मूल्यवान् बोधिचित्तलाई लिएर विवाद त भइराखेका छन्,” तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले भने।
स्थानीय शिक्षक डुवाङ दोर्जे लामाले पनि ९-१० बोट बोधिचित्त लगाएका छन्।
“रोशीको घटनाले स्वाभाविक रूपमा चिन्ता बढेको छ। हरेक घरपरिवारको निम्ति आय आर्जनको स्रोत बन्दै गएको बेला यस्ता घटना हुनु राम्रो होइन। राज्यले केही व्यवस्थापन गर्न जरुरी छ,” उनले भने।
बोधिचित्तको खेतीले किसानहरूलाई परम्परागत मकै खेतीमा मात्र भर पर्नु पर्ने अवस्थाबाट मुक्ति दिलाउने सम्भावनाका माझ यस्ता घटनाले चुनौती थपिदिएको स्थानीयबासीहरूले सुनाए।
“यो त भगवान्ले दिएको प्रसाद हो। तर हामीले ग्रहण गर्न जानेनौँ। घरभित्र दाजुभाइबीच नै झगडा हुँदो रहेछ। एउटाले एउटा व्यापारीलाई बैना गरेको हुन्छ। अर्कोले अर्कोलाई दिन्छ। त्यहीँबाट झगडादेखि चोरीचकारी सुरु हुने गर्छ,” रोशी गाउँपालिकाका दुधराज तामाङले भने।
बोधिचित्त दानाका स्थानीय व्यापारी उर्गेन तामाङ चोरीका घटना आफूहरूको निम्ति ठूलो टाउको दुखाइ बन्ने गरेको बताउँछन्।
“एउटा रूखबाट दुई लाख रुपैयाँभन्दा धेरै मूल्यको दाना आउने रहेछ भने हामी आफैँले केही सुरक्षाका उपाय अपनाउँछौँ। मानिसहरू पनि खटाउँछौँ। तर सबै रूखमा त्यसरी खटाउन सकिँदैन। त्यस्ता रूखमा चोरीका घटना एकदम धेरै हुन्छ,” तामाङले भने।
“पोहोर साल मैले किनेका रूखहरूमा पनि पाँच वटामा चोरीका घटना भएका थिए। कुनै रूखको सबै दाना चोरी भयो भने कुनैको आधि चोरी भयो। यसपालि झन् चोरी बढ्ला भन्ने चिन्ता छ,” उनले भने।
सुरक्षाको विभिन्न उपाय अपनाएको रूखमा नै आक्रमण भएको घटनाले व्यापारीहरू आशङ्कित भएको उनले बताए।
रूखको सुरक्षामा तारबार र प्रहरी गस्ती
तेमाल र रोशी गाउँ डुल्दा कतिपय ठाउँमा अलि अनौठा लाग्ने दृश्य देखिन्छन्।
ठूलाठूला रूखहरूलाई वरपर घेर्नेमात्र होइन, तिनलाई नदेखिने गरेर छोपिएको पनि पाइन्छ।
तेमालमा गाउँपालिका कार्यालयभन्दा केही पर त्यस्तै दृश्य देखियो जहाँ दर्जनौँ बोधिचित्तका रूखहरू भएको पूरै इलाका छोपिएको थियो।
सडकभन्दा केही मिटर तल रहेको उक्त क्षेत्रमा बलियो तारबार र ताल्चा लगाइएको फलामेढोका र ढोकाकै छेउमा कुकुर पनि थियो।
चोरडाँकाहरूबाट मात्र नभई ती रूखलाई असिनाबाट जोगाउन पनि उत्तिकै जरुरी हुने गरेको किसानहरू सुनाउँछन्।
“लगातार दुई वर्ष मेरा रूखहरूमा असिनाका कारण क्षति भयो। असिनाले लागेपछि दानाको गुणस्तर नै खस्कँदो रहेछ। त्यसपछि मैले अन्ततिर कसरी असिनाबाट रूख जोगाउँदा रहेछन् भनेर बुझेँ अनि रूख छोप्ने (जालीजस्तो) कुरा राखेँ,” तेमालको उक्त बगैँचाका मालिक देव लामाले बताए।

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
बहुमूल्य रूखहरू जोगाउन स्थानीय अधिकारीहरूले प्रहरी गस्तीको समेत व्यवस्था गरेका छन्।
तेमालको सो गाउँमा पनि साताको दुई-तीन दिन नियमित प्रहरी गस्ती हुने गरेको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले भने।
कुनै समय त व्यापारीहरूले सुरक्षित रूपमा दाना टिप्नका लागि हेलिकप्टर लिएर आएको पनि गाउँलेहरूले बताए।
काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले खास गरी दाना फलेर टिप्ने समयमा आवश्यकतानुसार प्रहरी खटाउने गरिएको बताए।
तर हतियार बोकेरै लुट्न आउनेहरूका निम्ति यस्ता प्रबन्धले पनि काम नगर्ने किसानहरूको चिन्ता छ।
दाना फलेर टिप्ने समयमा सुरक्षा आवश्यकताअनुसार प्रहरी खटाउने गरिएको छ
चिनियाँ सम्बन्ध
पहिले पहिले घरपाखामा त्यत्तिकै उम्रने अनि खासै बिक्री हुने नगरेका बोधिचित्तका दानाको मोल र महत्त्व बढ्नुमा ‘चिनियाँ कनेक्शन’ जिम्मेवार रहेको जानकारहरू बताउँछन्।
लगभग डेढ दशकयता बोधिचित्तको व्यवसाय फस्टाउन थालेको पाइन्छ। केही वर्ष यता गाउँघरमै चिनियाँ व्यापारीहरू पुगेर समेत यसको मोलतोल गर्ने गरिएको स्थानीय किसानहरूले सुनाए।
बोधिचित्त दानाका स्थानीय व्यापारी उर्गेन तामाङले चिनियाँ व्यापारीहरूलाई बेच्ने गरेको बताउँछन्।
“कतिपयले घरघरमै चिनियाँ व्यापारी लैजान्छन् भन्ने सुनेको छु। तर मैले चाहिँ किसानसँग मोलतोल गर्छु र मसँग सम्पर्क भएका चिनियाँ व्यापारीलाई बेच्छु,” उनले भने।
तेमाल गाउँपालिकाका किसान डुवाङ दोर्जे लामा यसको व्यापारलाई सरकारले नै व्यवस्थित गर्दा राम्रो हुने ठान्छन्।
हामीले त बेचेको दाना यहीँ चिनियाँ व्यापारीहरूलाई दिने गरेका छौँ। उनीहरूले के कसरी आफ्नो देश लैजान्छन् हामीलाई थाहा हुँदैन
“अहिले चिनियाँ व्यापारीसँग सम्पर्क भएका गाउँका व्यापारीहरूले लैजाने गरेका छन्। तर यसलाई अलि व्यवस्थापन गरेर सरकारले नै निर्यातको वातावरण मिलाएर चीनबाहेक भुटान, भारत, मङ्गोलिया, सिङ्गापुर, ताइवान, रुससम्म पुर्याउन सकिन्छ,” लामाले भने।
रोशीका किसान नारायणप्रसाद मैनाली चिनियाँहरूको बढ्दो चासोबाट छक्क छन्।
“हामीले यसलाई चिन्न बुझ्न सकेका छैनौँ। विदेशीले चाहिँ मरिहत्ते गरिरहेका छन्,” उनले भने।
तथ्याङ्क छैन
वर्षमा कति बोधिचित्त निर्यात हुन्छ भन्ने स्पष्ट तथ्याङ्क भन्सार विभागको प्रतिवेदनमा पनि पाइँदैन।
यो वर्ष चैतसम्म जम्मा पौने दुई लाख रुपैयाँजतिको मात्र निकासी भएको उसको अभिलेखमा देखिने विभागका एक अधिकारीले बताए।
तर दुई गाउँपालिकाहरूले उठाएको राजस्व हेर्दा त्योभन्दा धेरै निकासी हुने गरेको सहजै अनुमान गर्न सकिन्छ। तेमालले वर्षमा २० लाख रुपैयाँ जति अनि रोशीले ३०-३५ लाख जति राजस्व उठाउने गरेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
तेमालले बोक्रासहितको दानामा प्रतिकेजी २५ रुपैयाँ अनि बोक्रारहितमा प्रतिकेजी ५० रुपैयाँ राजस्व उठाउने गर्छ भने रोशीले चाहिँ किसान र व्यापारीबीचको सम्झौतामा उल्लिखित खरिद मूल्यको ५ प्रतिशत राजस्व उठाउने गर्छ।
व्यापारी समीप त्रिपाठीले बोधिचित्तको राजस्वबारे प्रश्न गरे।
“हामीले त बेचेको दाना यहीँ चिनियाँ व्यापारीहरूलाई दिने गरेका छौँ। उनीहरूले के कसरी आफ्नो देश लैजान्छन् हामीलाई थाहा हुँदैन। सायद उनीहरूबाट भन्सार शुल्क उठाउन सकियो भने राज्यको आम्दानी पनि बढ्ने थियो,” उनले भने।
के हो बोधिचित्त

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
बोधिचित्त वा बुद्धचित्त भनेको बयर प्रजातिको एउटा वनस्पति हो। यसको वैज्ञानिक नाम 'जाइजिफस बुधेन्सिस' हो।
“यो पतझड किसिमको बिरुवा हो र यसमा काँडा पनि हुन्छ। मध्यम आकारमा बढ्ने यसको काठ, दाउराको रूपमा बाहेक अरू प्रयोग हुँदैन। यसका रुख सुक्खा पहाडी ठाउँमा पाइन्छ। तर यो वनजङ्गलमा हुँदैन। मानिसहरूले रोपेका निजी वनमा वा खेतबारीको छेउमा यो पाइन्छ,” काभ्रेका डिभिजनल वन अधिकृत कृष्ण थापाले भने।
यो बयर जातको वनस्पति हो।
यो रूख रोपेको तीन वर्षदेखि नै दाना लाग्न थाल्ने किसानहरूले बताएका छन्। ती दानाहरूको प्रयोग बौद्धमार्गीहरूले मुख्यत: मन्त्र जप्ने माला वा बाला बनाउन प्रयोग गर्छन्।

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
काठमाण्डू बौद्धस्थित धर्मगुरु टुल्कु साङ्गे शेड्रुब तेन्जिन रिन्पोछेका अनुसार चार किसिमका कार्यहरूका निम्ति बौद्धमार्गीहरूले चार थरी माला प्रयोग गर्छन्।
“शान्तिको मन्त्र जप्ने माला सेतो वा शिशाको हुन्छ भने उदारकार्य मन्त्र जप्ने माला सुनको वा अन्य रत्नको बनेको हुन्छ। त्यस्तै वशिताकार्यको मन्त्र जप्ने माला चाहिँ रक्तचन्दन आदिले बनेको हुन्छ। क्रोधित देवताहरूको जप गर्ने माला चाहिँ रुद्राक्षको हुने गर्छ।”
“तर तीमध्ये पनि बोधिचित्तको माला चाहिँ श्रेष्ठ मानिन्छ किनभने ती चारैवटा कार्यको साधना गर्न यसबाट सकिन्छ।”
नेपालमा पाइने बोधिचित्त राम्रो गुणस्तरको मान्ने गरिएको उनले बताए।

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
कथा सुरु हुन्छ तेमालबाट
धुलिखेलबाट बीपी राजमार्ग हुँदै यात्रा गर्दा आइपुग्ने भकुण्डेबेसीबाट उत्तरतिर कच्ची बाटोबाट गाडीमा जाँदा एक डेढ घण्टामा पुगिन्छ सुन्दर तेमाल गाउँ।
आठौँ शताब्दीमा बौद्धधर्मका ठूला गुरु रिन्पोछे पद्मसम्भवले तपस्या गर्न तेमाल पुग्दा रोप्न भनी छाडेको हुनाले उक्त स्थानको बोधिचित्तको प्रसिद्धि फैलिएको मानिन्छ।

तस्बिर स्रोत, Shreejana Shrestha/BBC
अन्यत्र पनि बोधिचित्त तेमालबाटै फैलिएको मानिन्छ।
“छेउछाउका रोशी गाउँ होस् वा अन्यत्र यतैबाट बीउ लगेर बोधिचित्त रोपिएको पाइन्छ। एउटा भनाइ के पनि छ भने यहाँको तेमालको पाखोबाट जहाँसम्म देख्न सकिन्छ त्यहाँसम्म बोधिचित्त फल्न सक्छ,” तेमालका बोधिचित्त किसान तथा स्थानीय गुरु भीमलाल लामाले बताए।
रूख कसरी अनमोल हुन्छ
काभ्रे जिल्लाको तेमाल, रोशी गाउँपालिकामा मात्र नभई वरपरका रामेछाप, सिन्धुलीदेखि लिएर काठमाण्डू उपत्यकाको काठमाण्डू, ललितपुर र भक्तपुरमा पनि बोधिचित्तका बिरुवा पाइएका छन्।
खास गरी तेमाल र रोशीमा रहेका ६,०००-६,००० घरधुरीमध्ये अधिकांशमा केही न केही सङ्ख्यामा यसको बोट लगाएको पाइने ती गाउँपालिकाका अधिकारीहरूले बताएका छन्।
तर बहुमूल्य रूख भने अलि दुर्लभ नै हुने गरेको बताइन्छ। कुन रुख बहुमूल्य हो भनेर चिन्ने काम पनि अलि जटिल देखिन्छ।
“यसका दुइटा सूत्र रहेछन्। कि त सानो आकारको दाना हुनुपर्यो कि त धेरै सुर वा धेरै मुख भएको दाना हुनुपर्यो,” तेमालका बोधिचित्त किसान तथा स्थानीय गुरु भीमलाल लामाले बताए।
“सानामा सात मिलिमिटर व्यास भएका दानाहरू अनमोल हुन्छन्। त्यस्तै एकमुखे वा दुईमुखे दाना केही सयमा बिक्री हुन्छ भने छमुखे दानाको त एउटै दानाको तीन लाख रुपैयाँसम्म परेको हामीले सुनेका छौँ।”
मोल बढ्दै गएका कारण नै बौद्धमार्गीहरूले शान्ति र करुणाको निम्ति जप्ने यी माला हिजोआज मानिसहरूमाझ झैझगडा, ईर्ष्या र वैमनस्यको बीउ बन्न थालेको देखिन्छ।
(भिडिओ र थप रिपोर्टिङ सृजना श्रेष्ठबाट)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









