रामबहादुर बमजन बसेको घरमा फेला परेको रु ३ करोड र विदेशी मुद्राको स्रोत खोज्दै प्रहरी

राम बहादुर बमजन

कुनैबेला 'लिटल बुद्ध' उपनामले चिनिएका रामबहादुर बमजनलाई प्रहरीले सर्लाही जिल्ला अदालतमा उपस्थित गराउनु अघि सार्वजनिक गरेको छ।

उनी पक्राउ परेको भोलिपल्ट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधवार महाराजगन्जस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनी बसेको घरबाट ठूलो परिमाणमा नेपाली र विदेशी मुद्रा फेला परेको जानकारी दिएको छ।

प्रहरीका अनुसार बमजन दुई महिनादेखि आफ्नी श्रीमती र परिवारसहित काठमाण्डूमा बस्दै आएको खुलेको छ।

प्रहरीका अनुसार बमजन बसेको घरमा खानतलासी गरिएको र तीन करोड तीन लाख नेपाली रुपैयाँ तथा झन्डै ३०.९२ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको हो। प्रहरीका अनुसार उनीबाट बरामद विदेशी मुद्रा १७ देशका हुन्।

नगद

प्रहरीले बरामद भएको मुद्राको स्रोतबारे अनुसन्धान भइरहेको जनाएको छ।

नेपाली र विदेशी मुद्रा घरमा भएको शेफमा फेला परेको प्रहरीको दाबी छ। प्रहरीले शेफ खोलेर बरामद भएका नोट गणना गरेको थियो।

बमजनले विभिन्न जिल्लामा आफ्ना आश्रमहरू सञ्चालन गरेका थिए।

सिन्धुपाल्चोकको बाँडेगाउँबाट तीन जना र निजगढबाट एक जना हराइरहेको विवरण सार्वजनिक भएका थिए। 

पाँच करोड रुपैयाँको गाडी 'बुक'

राम बहादुर बमजन

प्रहरीका अनुसार बमजनको साथबाट दुई वटा महँगा गाडी समेत बरामद भएका छन्। साथै उनले पाँच करोड मूल्य पर्ने एउटा नयाँ गाडी 'बुक' गरेको र त्यसका लागि तीन करोड नगद नै भुक्तानी दिइसकेको प्रहरीले बताएको छ।

उनले हाल अर्का एक जना व्यक्तिको नाममा रहेको विलासी गाडी चढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले विभिन्न ब्रान्डका १४ वटा मोबाइलहरू, पाँच वटा आइप्याड र ट्याबहरू, ल्यापटप र २० वटा पेनड्राइभसहितका उपकरण बरामद भएको जनाएको छ।

मङ्गलवार साँझ ७: १५ बजे प्रहरी टोली पुग्दा बमजन घरको माथिल्लो तल्लाबाट हामफालेर भाग्न खोजेको प्रहरीले दाबी गरेको छ।

“घरभित्र प्रवेश गरी पक्राउ गर्ने क्रममा…आफू बस्दै आएको घरको चौथो तल्लामा रहेको दक्षिण तर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा यस ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको,” प्रहरीको विज्ञप्तिमा भनिएको छ।

चार विषयमा अनुसन्धान

राम बहादुर बमजन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बमजनविरुद्ध सर्लाही अदालतमा विचाराधीन रहेको बालयौन दुराचारको मुद्दासहित अन्य कसुरहरूमा पनि अनुसन्धान हुने जनाएको छ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बमजनविरुद्ध गैरकानुनी विदेशी मुद्रा राखेको विषयमा पनि अनुसन्धान भइरहेको छ।

“थप कुराहरू खुल्योभने त्यसबारे पनि अनुसन्धान हुँदै जान्छ,” अनुसन्धान प्रारम्भिक चरणमै रहेको जानकारी दिँदै आचार्यले भने।

प्रहरीका अनुसार बमजनको साथबाट दुईवटा गाडी र चारवटा मोटरसाइकल पनि बरामद गरिएको छ।

“उनलाई सर्लाहीमा मुद्दा चलिरहेको अवस्थामा त्यहाँ पठाइने छ। उनी बरामद भएको विषयमा नगद तथा विदेशी मुद्राको लागि छिट्टै अनुसन्धान गरिने छ,” उनले भने।

“यो कहाँबाट आयो, कसरी आयो? यत्रो ठूलो पैसा घरमा राख्नुलाई साधारण अवस्था मान्न सकिँदैन।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, सिन्धुलीस्थित बमजन आश्रम

प्रहरीले विभिन्न आश्रमहरूबाट कम्तीमा चार जना हराइरहेको भन्ने उजुरी आएको र त्यसबारे पनि अनुसन्धान हुने जनाएको छ।

कस्तो आरोप

रामबहादुर बमजन

तस्बिर स्रोत, bsds.org

तस्बिरको क्याप्शन, फाइल तस्बिर

प्रहरीका अनुसार बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी छ।

मध्यतराईको बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चाको चुलीमा पुगेका थिए।

त्यतिबेला १६ वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। तर पछि उनको नाम विभिन्न विवादमा मुछिन थाल्यो।

पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही "अनुयायी" त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो।

त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो।

विसं २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान थालेको थियो।

सर्लाही जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजी तीव्र पारिएको थियो।

को हुन् रामबहादुर बमजन

रामबहादुर बमजनका अनुयायीहरू

तस्बिर स्रोत, bsds.org

तस्बिरको क्याप्शन, फाइल तस्बिर

बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।

उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

"उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे," वेबसाइटमा उल्लेख गरिएको छ।

सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए।

उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले 'लिटल बुद्ध' को उपनाम दिएका थिए।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो।

सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।

ध्यानमा रुचि र बुद्धसँगको तुलनाका कारण उनी बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो।

अनुयायीहरूले धार्मिक ध्वजापताका चढाउन थालेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।

देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे।

त्यसै कारण उनले "भित्रभित्रै असीमित शक्ति" आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणमा उल्लेख छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।