रामबहादुर बमजन 'लिटल बुद्ध'को आश्रममा छापा मारेपछि प्रहरीले गर्‍यो सिलबन्दी

बमजन

तस्बिर स्रोत, Maitreya.info

'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेर प्रहरीले सिलबन्दी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाण्डूबाट आएका झन्डै ३० जना सम्मिलित प्रहरीको एउटा टोलीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा अनुसन्धान गरिरहेका छन्।

आश्रममा गएका बमजनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन थालेको छ।

प्रहरीले आश्रममा भइरहेको अनुसन्धान नसकिएसम्म उक्त क्षेत्र सिलबन्दी गरेर काम कारबाही अघि बढाइएको जानकारी दिएको छ।

तर बमजन आफैँ भने सिन्धुपाल्चोकमा नरहेको प्रहरीले पुष्टि गरेको छ।

हिजोआज उनी सिन्धुलीस्थित आश्रममा बस्ने गरेको बताइएको छ।

अनुमति

बमजनको आश्रममा छानबिन अघि बढाउन प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतबाट बिहीवार नै अनुमति लिइएको र विधिसम्मत रूपमा कारबाहीको प्रक्रिया चलाइएको जानकारी मरासिनीले बीबीसी नेपाली सेवालाई दिएका छन्।

बमजन

तस्बिर स्रोत, Maitriya.info

मरासिनीले भने, "हामीले विभिन्न किसिमका अनुसन्धान प्रक्रिया एकैचोटि अगाडि बढाएका छौँ, विभिन्न किसिमका विवरण सार्वजनिक भएकाले अहिले हामीले अगाडि बढेको प्रक्रियाको निश्चित उद्देश्य के हो भनेर भन्न सकिने अवस्था भने छैन।"

कानुनी प्रक्रिया पूरा गरेको र व्यवस्थित रूपमै सुरक्षा अधिकारीहरू परिचालित भएकाले आश्रममा बस्दै आएकाहरू र स्थानीय बासिन्दाले कुनै अवरोध नगरेको जानकारी उनले दिए।

हाल प्रहरीको एउटा टोली आश्रममा रहेको र आवश्यक परे थप टोली परिचालन हुने जानकारी मरासिनीले जानकारी दिए।

तर विभिन्न किसिमका गम्भीर आरोप लगाइएका बमजनविरुद्ध भने हालसम्म कुनै पनि किसिमको कारबाही थालिएको छैन।

बमजनविरुद्ध समाचार सार्वजनिक भएपछि बमजन आबद्ध संस्था बोधी श्रवण धर्म सङ्घले एक विज्ञप्ति निकालेर सञ्चारमाध्यममा उनीबारे आएका समाचारको खण्डन गरेको थियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line