चन्द्रमाको रहस्यमयी भागमा के गर्दैछ चिनियाँ यान

चाँग इ-४ यानको नमुना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चाँग इ-४ यानको नमुना

चन्द्रमाको पृष्ठभागको यसअघि अध्ययन भएको छैन।

त्यसैले यो चिनियाँ अभियानले उक्त रहस्यमयी क्षेत्रबारे अनुसन्धान गर्ने अवसर दिएको छ।

हामीले सधैँ देख्ने चन्द्रमाको रूपभन्दा पृथ्वीबाट कहिल्यै नदेखिने उक्त भाग निकै फरक छ। सो भागको सतह बढ्ता बाक्लो छ र त्यहाँ धेरै खाल्डाखुल्डी छन्।

चाँग-इ ४ यानले चन्द्रमाको दक्षिणी गोलार्धको छेउतिर रहेको १८० किलोमिटर क्षेत्रफलको भन कार्मान नामक क्रेटर वा खाल्डोमा अवतरण गरेको बताइएको छ।

उक्त क्रेटर चन्द्रमाको अझ ठूलो खाल्डो रहेको दक्षिणी ध्रुवको एट्केन बेसिनकै क्षेत्रमा पर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चन्द्रमामा चिनियाँ यान

सो बेसिन चन्द्रमाको सबभन्दा पुरानो, सबभन्दा ठूलो र गहिरो क्रेटर हो जुन अर्बौँ वर्ष पहिले कुनै क्षुद्रग्रह ठोक्किएपछि बनेको भन्ठानिन्छ।

त्यस्तो क्षुद्रग्रह करिब पाँच सय किलोमिटर लम्बाइको भएको ठानिन्छ र त्यसको ठक्करका कारण चन्द्रमाको बाह्य सतहलाई छेडेर म्यान्टलसम्म प्रहारको प्रभाव परेको मानिन्छ।

चाँग-इ अभियानको एउटा प्रमुख उद्देश्य भनेको अझै सतहमाथि रहेको हुन सक्ने सो म्यान्टलका केही भागको अनुसन्धान गर्नु पनि हो। त्यसले चन्द्रमाको भित्री संरचना र इतिहासबारे ज्ञान दिन सक्छ।

उक्त यानले आफ्नो प्यानोरामिक क्यामेराको प्रयोग गरेर वरपरका स्थानको पहिचान गर्नेछ। साथै उसले भीएनआइएस नामक स्पेक्ट्रोमिटरको प्रयोग गरेर क्रेटरको सतहमा रहेका खनिज पदार्थबारे अध्ययन गर्नेछ।

खगोलशास्त्रको रिक्तता भर्ने

लामो समयदेखि चन्द्रमाको टाढाको भागलाई रेडियो खगोलशास्त्रको - खासगरी न्यून फ्रिक्वेन्सी ब्यान्डबारे - एक खास विधाको प्रयोग गर्न उत्तम स्थल मानिएको छ। किनभने त्यो क्षेत्र पृथ्वीबाट पैदा हुने रेडियो तरङ्गको कोलाहलबाट जोगिएको छ।

चन्द्रमाको दक्षिणी ध्रुव - एट्केन

तस्बिर स्रोत, NASA

दश मेगाहर्जभन्दा कम फ्रिक्वेन्सी ब्यान्डका रेडियोखगोलशास्त्रीय अवलोकन पृथ्वीबाट गर्न सकिँदैन। मानवसिर्जित रेडियो इन्टर्फेरेन्स तथा अन्य प्राकृतिक कारणले गर्दा पृथ्वीबाट त्यो सम्भव छैन।

चाँग-इ ४ यानले लो फ्रिक्वेन्सी स्पेक्ट्रोमिटर नामक उपकरण पनि बोकेको छ जसले न्यून फ्रिक्वेन्सी रेडियो अवलोकन गर्न सक्छ।

न्यून फ्रिक्वेन्सीमा 'रेडियो स्काई' को नक्साङ्कन गर्नु तथा सूर्यको व्यहार अध्ययन गर्नु पनि उक्त अभियानको लक्ष्य छ।

चन्द्रमाको टाढाको भागको पहिलो पटक प्राप्त तस्बिर

तस्बिर स्रोत, CHINA NATIONAL SPACE ADMINISTRATION

तस्बिरको क्याप्शन, चन्द्रमाको टाढाको भागको पहिलो पटक प्राप्त तस्बिर

सन् २०१६ मा बोल्दै चिनियाँ अन्तरिक्ष निकायका लिउ तोङ्जीले भनेका थिए, "चन्द्रमाको टाढाको भाग पृथ्वीबाट उत्पन्न हुने इलेक्ट्रोम्याग्नेटिक इन्टर्फेरेन्सबाट जोगिएको हुँदा सो स्थान अन्तरिक्षको वातावरण, सूर्यबाट पैदा हुने सोलार बर्स्ट तथा अन्तरिक्षका परका भागहरूबारे सोधखोज गर्न उत्तम स्थान हो।"

चन्द्रमाको विकिरण

कैयौँ अन्तरिक्ष निकायहरू निकट भविष्यमा मानवलाई चन्द्रमामा उतार्न चाहन्छन्। र उनीहरूलाई त्यहाँ धेरै समय पनि राख्न चाहन्छन्।

त्यसैले चन्द्रमामा विकिरणका सम्भाव्य जोखिमबारे जानकारी हुनु महत्त्वपूर्ण छ।

पृथ्वीमा त उसको वरपर रहेको बाक्लो वायुमण्डल र शक्तिशाली चुम्बकीय क्षेत्रले अन्तरिक्ष तथा सूर्यबाट आउने हानिकारक हुनसक्ने कस्मिक प्रकाश जस्ता तत्त्वबाट जोगाउँछ।

चन्द्रमामा विकिरण

तस्बिर स्रोत, Science Photo Library

तर चन्द्रमामा पुगेका अन्तरिक्ष यात्रुलाई त्यस्तो सुरक्षा उपलब्ध हुँदैन। प्रकाशको गतिमा आइपुग्ने त्यस्ता तत्वले उनीहरूको स्वास्थ्यमा प्रभाव पार्न सक्छ।

जर्मन अनुसन्धानकर्ताहरूले उपलब्ध गराएको लुनार ल्यान्डर न्युट्रोन्स तथा डोजिमेट्री (एलएनडी) प्रयोगले चन्द्रमामा विकिरणको अवस्थाबारे थप बुझ्न सघाउनेछ।

त्यसले भविष्यका अन्तरिक्ष अभियानलाई सहयोग पुग्नेछ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line