चिनियाँ यान चन्द्रमाको टाढाको भागमा अवतरण

चन्द्रमा

तस्बिर स्रोत, Twitter/CGTNofficial

चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ।

बेइजिङमा स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँग इ-४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण गरेको थियो।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ।

त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई 'अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो' भनेको छ।

किन यो फरक अभियान हो?

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ।

पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो।

चन्द्रमा

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चन्द्रमाको नजिकको भाग (देब्रे) र टाढाको भाग (दाहिने) बीच धेरै अन्तर छन्।

गत सप्ताहन्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

चन्द्रमाको उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो। सन् २०१३ मा चाँग इ-३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो।

अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ।

अवतरण हुनु अघि भौतिकशास्त्री एण्ड्र्यु कोट्सले बीबीसीसँग कुरा गर्दै भनेका थिए, - "यो साहसी अभियान एपोलोले गरेको ऐतिहासिक अवतरणको करिब ५० वर्षपछि गरिएको छ। सन् २०१९ को अन्ततिर यसले त्यहाँबाट नमूनाहरू ल्याउनेछ।"

चन्द्रमाको 'अँध्यारो' पाटो

चन्द्रमा

तस्बिर स्रोत, China National Space Administration

तस्बिरको क्याप्शन, चन्द्रमाको टाढाको भागको पहिलोपटक प्राप्त तस्बिर

'टाइडल लकिङ्' भनिने प्रक्रियाका कारण पृथ्वीबाट हामीले चन्द्रमाको केवल एउटा पाटो मात्र देख्न सक्छौँ। किनभने चन्द्रमाले आफ्नो अक्षमा घुम्दा लाग्ने समय र उसले पृथ्वीको एक परिक्रमा गर्न लाग्ने समय अवधि एकै हुन्छ।

चन्द्रमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चाँग इ-४ यानको नमुना

त्यसैले चन्द्रमाको उक्त परको क्षेत्रलाई 'अँध्यारो पाटो' भनिन्छ। यहाँ अँध्यारो भन्नाले प्रकाश नभएको नभइ नदेखिने पाटोको रूपमा बुझ्नु पर्छ। वास्तवमा चन्द्रमाका दुवै पाटाहरूमा दिन र रात हुने गर्छन्।

चाँग इ-४ अभियानले त्यहाँको भन कार्मान क्रेटरको अध्ययन गर्ने लक्ष्य राखेको छ। उक्त क्रेटर वा खाल्डो चन्द्रमाको सुरुवाती इतिहासमा भएको कुनै विशाल घटनाका कारण बनेको ठानिन्छ।

"यो ठूलो संरचनाको व्यास २५ सय किलोमिटर तथा गहिराइ १३ किलोमिटर रहेको छ," प्राध्यापक कोट्सले भने।