'मोटरसाइकलमा धेरै जोखिम': काठमाण्डूमा हुने दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधनको सङ्ख्या अधिक

दुई मोटरसाइकल जुध्दा भएको दुर्घटना

तस्बिर स्रोत, Kathmandu Valley Traffic

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • भदौ १३ गते बिहान ३ बजेतिर काठमाण्डूको जडीबुटीमा एउटा बसमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
  • भदौ १० मै राति ९ बजेतिर काठमाण्डूको बूढानीलकण्ठमा मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक युवकको उपचारका क्रममा मृत्यु
  • भदौ १ गते राति बूढानीलकण्ठ नगरपालिकाकै स्पेशलचोकमा मोटरसाइकल र स्कूटर ठोक्किँदा दुई जनाको मृत्यु

भदौ महिनाको पूर्वार्धमा काठमाण्डूमा भएका यी तीन दुर्घटनाले मोटरसाइकल चलाउँदा हुने जोखिमको एउटा भयावह चित्र देखाएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

"दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाको विषय ट्राफिक प्रहरीका लागि अहिले निकै नै चुनौतीपूर्ण बनेको छ। अनि त्यो विगत केही वर्षयता नै देखा परेको प्रवृत्तिका रूपमा छ," उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपाने भन्छन्।

"काठमाण्डूका सडकमा यतिखेर राइड शेअरिङ व्यवसायका लागि हजारौँको सङ्ख्यामा उपत्यकाबाहिर दर्ता भएर आएका बाइकहरू थपिँदा त्यसको व्यवस्थापन झन् जटिल बनिरहेको छ। साँघुरो बाटोमा अत्यधिक चापबीच नियम पालना कमजोर हुँदा दुर्घटना बढिरहेको अवस्था छ," उनले भने।

सडक सुरक्षासम्बन्धी एक विज्ञ नेपालमा दुईपाङ्ग्रे सवारीसाधन गुडाउन जान्नुलाई नै चलाउन सक्षम ठानिनुले सडक असुरक्षित बन्न पुगेको ठान्छन्। नेपालको सडक सुरक्षाबारे अध्ययन गरिरहेका यूकेको यूनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्यान्डका अनुसन्धाता पुष्पराज पन्तका अनुसार मोटरसाइकलहरू सडकमा "सबैभन्दा जोखिमयुक्त" सवारीसाधनका रूपमा रहेका छन्।

त्यसैले चलाउने अनुमति दिनेदेखि सञ्चालन गर्दासम्मका लागि कसिलो नियम बाँध्न सक्नुपर्ने उनको धारणा छ।

दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना अधिक

हिमाल र पहाडहरूको शृङ्खला देखिने काठमाण्डूको एउटा सडकमा गुडिरहेका मोटरसाइकल र स्कूटरहरू
तस्बिरको क्याप्शन, राइड शेअरिङ व्यवसायकै लागि बागमती प्रदेशबाहिर दर्ता भएका १०,००० वटाभन्दा धेरै मोटरसाइकल काठमाण्डूमा थपिएको प्रहरीको आकलन छ

गत आर्थिक वर्ष २०८१/८२ मा काठमाण्डू उपत्यकाभित्र सवारी दुर्घटनामा परेर ज्यान गुमाउने १९० जनामध्ये १२८ जना दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनासँग सम्बन्धित रहेको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यसैवर्ष कुल ७,१६९ वटा दुर्घटना भएकामा दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित घटनाको सङ्ख्या ६,५३७ थियो।

विगत तीन वर्षमा औसतमा कुल सवारी दुर्घटनामध्ये ७३ प्रतिशत मृत्यु दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीसँग सम्बन्धित भएको पाइन्छ। तीव्र गति, मादक पदार्थ सेवन र सवारीचालक अनुमतिपत्र नलिईकनै सवारीसाधन चलाउनेहरू सङ्ख्या पनि उल्लेख्य छ। सडककै गुणस्तर र यान्त्रिक गडबडीका कारण पनि दुर्घटनाहरू भएका छन्।

गत वर्षको तथ्याङ्कलाई आधार मान्दा कुल ७,००० वटाजति दुर्घटनामा ४,५०० वटा लापरवाहीका कारण भएको देखिन्छ।

कुलमध्ये झन्डै दुईतिहाइ सवारी दुर्घटना दिउँसोको समयमा हुने गरेको देखिन्छ। यद्यपि मृत्यु हुने दर भने राति हुने दुर्घटनामा बढी रहेको प्रहरीले जनाएको छ।

"दिउँसोका दुर्घटना सवारीका सामान्य लापरबाही घटनामा भए पनि रातमा हुने दुर्घटनाहरू चाहीँ मादक पदार्थ सेवन, तीव्र गतिजस्ता कारणले हुने गरेका छन्," डीएसपी केशर न्यौपाने भन्छन्।

"तीव्र गतिका हकमा हामी चक्रपथको बाटोमा ललितपुरमा धेरै केन्द्रित भए पनि उपत्यकाभरि छ स्थानमा जडान गरिएका एएनपीआर (अटोमेटिक नम्बर प्लेट रिकग्निशन) क्यामराले तीव्र गतिमा हुइँकिएका गाडी पहिचान गरेर कन्ट्रोल रूपबाट अलर्ट गराउने गर्छन्।"

दुर्घटनामा पर्नेमा धेरै युवा

ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनामा १७ देखि ३५ वर्ष उमेर समूहका मानिसहरू सडक दुर्घटनामा ज्यान गुमाउने आधाभन्दा धेरै छन्।

हाल १६ वर्ष उमेर पूरा भएपछि मोटरसाइकल तथा स्कूटरजस्ता दुईपाङ्ग्रे सवारीसाधन चलाउन अनुमतिपत्र पाइने व्यवस्था छ। सवारी तथा यातायात ऐनको मस्यौदामा दुईपाङ्ग्रे साधनको लाइसन्स लिन उमेर बढाएर १८ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

अधिकारीहरूले कम उमेर समूहका किशोर तथा युवाहरूले चलाएका सवारीसाधन दुर्घटना धेरै भएको पाइएपछि लाइसन्सका लागि उमेर बढाउन प्रस्ताव गरिएको बताउँछन्।

चक्रपथमा स्पीडगन प्रयोग गरेर विपरीत दिशाबाट आएको सवारीसाधनको गति जाँच्दै एक ट्राफिक प्रहरी

तस्बिर स्रोत, ktmtraffic/FB

तस्बिरको क्याप्शन, ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा मोटरसाइकल चलाउँदा घातक दुर्घटनाहरू हुने गरेका छन्

तर विज्ञहरूले सडक दुर्घटनाका कारकहरू एकै प्रकारका नभएको ठान्छन्।

"सार्वजनिक सवारीसाधनको अवस्था कमजोर हुँदा काठमाण्डूमा धेरैलाई मोटरसाइकल निर्विकल्प आवश्यकताजस्तो भएको छ। अनुमान गर्न नसकिने यात्रासमयले गर्दा चालकहरू कार्यालय जानेआउने समयमा दबावमा पर्ने गर्छन्," सडक सुरक्षाका अनुसन्धानदाता पुष्पराज पन्त भन्छन्।

"त्यस्तोमा मोटरसाइकल कति असुरक्षित सवारी साधन हो भन्ने चालकहरू बिर्सने गर्छन्। यसमा केही परिहाल्दाको अवस्थामा हेल्मेटबाहेक अन्य सुरक्षाकवच केही हुँदैन। हेल्मेट नै पनि सवै परिस्थितिमा अचुक सुरक्षाकवच होइन।"

उनका अनुसार मोटरसाइकल चालक अनुमतिपत्र लिनका लागि दिइने लिखित परीक्षादेखि ट्रायलपाससम्म सबै कुरा महत्त्वपूर्ण हुनेमा त्यसलाई चारपाङ्ग्रे सवारीसाधनको तुलनामा बेवास्ता गर्ने गरिएको छ।

"साइडलाइट निकै संवेदनशील हुन्छ तर त्यसको प्रयोगमा हेलचेक्र्याइँ हुन्छ। कहाँ चलाउँदा कस्तो गति कायम राख्ने भन्ने सचेतना चालकमा पाइँदैन," पन्त भन्छन्।

विज्ञ पन्त र ट्राफिक अधिकारी न्यौपाने दुवै जना सडक छेउमा जथाभावी हुने गरेको पार्किङका कारण पनि समस्या निम्तिने गरेको बताउँछन्।

बाटोछेउ जथाभावी रोकेर राखिएका सवारीसाधनमा ठोक्किएर उल्लेख्य सङ्ख्यामा घातक दुर्घटना हुने गरेको ट्राफिक अधिकारीहरू बताउँछन्।

करिब दुईतिहाइ सवारी दुर्घटना मध्याह्न र मध्यरातबीचमा हुने गरेको पुरानो तथ्याङ्कले देखाएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।