पानीभित्र ६० फीटसम्म जान्छन् गोताखोरहरू: जोखिमपूर्ण काम, सेवा सुविधा कम अनि कस्ता कस्ता अनुभव?

पानीभित्र पस्दै गोताखोरहरू

तस्बिर स्रोत, BBC/Ishwor Joshi

    • Author, ईश्वर जोशी
    • Role, बीबीसी नारायणगढ
  • गोताखोर नायब प्रहरी निरीक्षक प्रह्लाद सिलवाल काठमाण्डूको टौदहमा कृत्रिम अभ्यासका लागि पानीभित्र डुब्नुपर्ने थियो। पानीभित्र जाँदा उनलाई पानीभित्र नभै अन्तै कतै पसेको जस्तो अनुभव भएको र पानीबाट बाहिर निस्कँदा बिरामी परेको उनले सुनाए। बिरामी परेर उपचार गर्दा नभएपछि झारफुकमा समेत गएको उनले सुनाए। यो घटना २०८० साल वैशाखको भएको उनी बताउँछन्।
  • विपद् व्यवस्थापन तालिम शिक्षालयका ससस्त्र प्रहरी नायब निरीक्षक तथा गोताखोर रमेश थापाले धादिङको घाटबेसीमा उद्धार गर्न जाँदाको सम्झना गर्दे भने- उद्धार गर्न पानीभित्र जाँदा भित्र खोचै खोच रहेछ, पानीको प्रेसरले धकेलेर झन्डै खोचभित्र परेको थिएँ।

जब जब यात्रुवाहक सवारी साधन भीरबाट खसेर वा अन्य कारणले पानीमा डुब्छन् तब तब गोताखोरहरू उद्धार कार्यमा सक्रिय हुन्छन्।

नेपालको पानीभित्र गएर खोज तथा उद्धार गर्ने काम निकै जोखिम पूर्ण हुने गरेको विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र प्रहरी नायब निरीक्षक तथा गोताखोर रमेश थापा बताउँछन्।

गोताखोरहरूले नेपालको हिमाल पहाड तराई लगायतका क्षेत्रमा नदी खोला तालमा मानिस डुबेमा पानीभित्र गएर खोजतलास गर्ने डुबेका मानिसको शव निकालेर आफन्तलाई बुझाउँदै आएका छन्।

पानीभित्र जाँदा पानीको बहावका साथै पानी भित्र हुने खोच, ढुङ्गा, काठ, तारजाली जस्तापाताहरूमा अल्झिन सकिने हुनाले निकै सावधानी अपनाउनुपर्ने थापा बताउँछन्।

नेपालमा गोताखोर कहिलेदेखि

गोताखोर नहुँदाका बेला दुर्घटना भएर पानीमा डुबेको अवस्थामा र्‍याफ्टिङ बोटको प्रयोग गरेर पानीको सतह माथिबाट खोज्ने गरेको अधिकारीहरू बताउँछन्।

धेरै मानिसहरू पानीमा डुब्ने गरी दुर्घटना हुँदा, सवारीसाधन र मानिस हराउँदा बाङ्ग्लादेशबाट गोताखोर ल्याएर खोज्ने गरेको इतिहास छ।

२०७६ साल वैशाखमा सशस्त्र प्रहरी बलले पहिलो पटक २५ जनालाई गोताखोरको तालिम लिन बाङ्ग्लादेश पठाएको थियो।

उनीहरू त्यस वर्ष वैशाखदेखि साउनसम्म चार महिना बाङ्ग्लादेशमा तालिम लिएर आएपछि नेपालमै गोताखोर उपलब्ध हुन थालेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारका प्रवक्ता रहेका वरिष्ठ प्रहरी उपरीक्षक जनक पुरी बताउँछन्।

पछि सशस्त्र प्रहरी बल १ बराह बाहिनी मुख्यालय सुनसरीमा नेपालमा पहिलो पटक गोताखोर तालिम सञ्चालन गरिएको बताइन्छ।

त्यसपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा दिइँदै आएको पुरी बताउँछन्। हाल नेपालमा १ सय २८ जना रहेको तथ्याङ्क छ।

अत्याधुनिक उपकरण आवश्यक

गोताखोरहरू पानीभित्र जाने तयारीमा फाइल फोटो

तस्बिर स्रोत, BBC/Ishwor Joshi

माग बढ्दै जाँदा गोताखोरहरू हाल ७ प्रदेशको ११ स्थानमा उपलब्ध रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका वरिष्ठ प्रहरी उपरीक्षक भरत खनिया बताउँछन्।

त्यसबेला यूएनडीपीको सहयोगमा २५ जनाले बाङ्ग्लादेशमा तालिम लिएर आएपछि यूएनडीपीकोकै सहयोगमा गोताखोरका लागि आवश्यक उपकरणहरू प्राप्त भएको र उक्त उपकरणको सहयोगमा नै देशका विभिन्न स्थानमा उद्धार कार्यमा गोताखोरहरू खटिँदै आएको पुरीले बताए।

२०७६ सालमा खरिद गरिएका उपकरणहरू प्रयोग गरेर गोताखोहरूले खोज तथा उद्धारको काम गर्दै आएका छन्।

२०७६ सालपछि गोताखोका लागि उपकरण खरिद नभएको बताइएको छ।

हाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा अन्डर वाटर ड्रोन, साइड स्क्यान सोनार, मल्टी बिम सोनार जस्ता उपकरणहरू रहेको बताइएको छ।

ती उपकरणहरूले धमिलो पानीमा काम गर्न नसक्ने पुरीले बताए। पुराना उपकरणहरू मर्मत गर्नुपर्ने अवस्थामा पुगेका र अत्याधुनिक उपकरण आवश्यक भए पनि खरिद हुन नसकेको उनी बताउँछन्।

च्याम्बरको आवश्यकता

पानीभित्रको प्रेसर र बाहिरको प्रेसर फरक हुने भएकाले पानीभित्र पसेर बाहिर निस्कँदा प्रेसर मिलाउन विशेष च्याम्बर आवश्यक पर्ने सशस्त्र प्रहरी बलका नायब प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताए।

"पानीभित्र जानु चुनौतीपूर्ण हो, भित्र जेसँग पनि सामना गर्नुपर्ने हुन्छ," उनी भन्छन्।

पानीभित्र जाँदा लगाउने ज्याकेट, अक्सिजन सिलिन्डर र डोरी अत्यावश्यक रहेको सिलवाल बताउँछन्।

नेपालमा गोताखोरहरू करिब ६० फीट तलसम्म जाने गरेका छन्।

स्वास्थ्यमा समस्या

गोताखोरहरू पानी भित्र धेरै समय बस्दा उनीहरूलाई निमोनिया, कान, छाती, फोक्सो र पेटमा समस्या हुने गरेको बताइएको छ।

जोखिम पूर्ण काम गर्ने यी गोताखोरहरूले खोज तथा उद्धारमा जाँदा दैनिक ३ सय रुपैयाँ अतिरिक्त भत्ता पाउने गरेका छन् भने १० लाख रुपैयाँ बराबरको बिमा रहेको बताइएको छ।

हालसम्म १ सय ५१ स्थानमा उद्धारका लागि खटेकामा ३ सय २४ जनाको घाइते अवस्थामा उद्धार र २ सय ७६ जनाको शव पत्ता लगाएर परिवारलाई बुझाएको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारले जनाएको छ।

सशस्त्र प्रहरी बलले १ हजार गोताखोर पुर्‍याउने लक्ष्य लिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।