पहिरो, बाढी र चट्याङका कारण देशभरि दर्जनौँ मानिसको मृत्यु, कहाँको अवस्था के छ?

उद्धारमा खटिएका सशस्त्र प्रहरी

तस्बिर स्रोत, Nepal Armed Police

तस्बिरको क्याप्शन, धनकुटा जिल्लाको विभिन्न ठाउँमा उद्धार कार्य गर्दै सशस्त्र प्रहरी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो र बाढी अनि चट्याङ्गमा परी कम्तीमा ४४ जनाको ज्यान गएको जनाएको छ।

यसैबीच इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले भने इलाममा मात्रै मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको बताएकी छन्।

आइतवार दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार देशभरमा बेपत्ता हुनेको सङ्ख्या पाँच रहेको र १६ जना घाइते भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

केही व्यक्तिको उद्धारका लागि हेलिकप्टर इलाम पुगिसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन्। साथै भौतिक क्षतिको विवरण भने सङ्कलन हुने क्रममै रहेको प्राधिकरणले जनाएको छ।

कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै विपद्‌बाट बच्न सरकारले सचेत गराउँदै आएको छ।

आइतवार यसै विषयमा बैठक भएको र औपचारिक निर्णय आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

यसअघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले शनिवार साँझ सम्बोधन गर्दै नागरिकको सुरक्षा सरकारको चिन्ताको विषय रहेका कारण आवश्यक सहयोग लिन अप्ठेरो नमान्न सर्वसाधारणलाई आग्रह गरेकी थिइन्।

मानवीय क्षति कहाँकहाँ कति?

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–१० जवाङखोला नजिकै आइतवार बिहान खसेको सडकको पहिरो पन्छाइँदै

तस्बिर स्रोत, RSS

अविरल वर्षाका कारण भएका बाढी, पहिरो र चट्याङका घटनामा ज्यान गुमाएका ४४ मध्ये ३७ जना इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेका मानिसहरू रहेका प्राधिकरणले जनाएको छ।

"खोटाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। त्यस्तै उदयपुरमा पनि खोलाले बगाएर अर्का एक व्यक्तिको मृत्यु भएको छ। रौतहट जिल्लामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ," प्राधिकरण प्रवक्ता शान्ति महतले बीबीसीसँग भनिन्।

बाँकी दुई मृतक पाँचथरका हुन्।

बेपत्ता हुने पाँच जनामध्ये इलामको पहिरोमा एक जना हराइरहेको र रसुवास्थित लाङटाङ घुम्न गएका चार जना खोलाले बगाएर हराइरहेका प्राधिकरणले जनाएको छ।

इलामको पहिरोमा परी आठ जना घाइते भएका र बाँकी घाइतेमध्ये मकवानपुर, भोजपुर र खोटाङमा चट्याङ लागेकाहरू रहेको महतले बताइन्।

उद्धारका लागि इलाममा हेलिकोप्टर पुगे पनि घटनास्थलमा अवतरण गर्न अलि कठिनाइ भइरहेको भन्ने जानकारी आएको उनले बताइन्।

इलामको पछिल्लो अवस्था

प्राधिकरण र इलाम जिल्ला प्रशासन कार्यालयले इलाम जिल्लामा मात्रै ३७ जनाको ज्यान गइसकेको जनाएका छन्।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपालका अनुसार जिल्लाभरिका सातवटा पालिकामा ३७ जनाको ज्यान गएको छ र १ जना अझै बेपत्ता रहेका छन्।

"दुर्गम क्षेत्रहरूमा पहिरोका घटना भएका छन् र सडक अवरूद्ध भएका कारण उद्धारकर्मीहरूलाई घटनास्थलसम्म जान समय लागेको छ," उनले बीबीसीसँग भनिन्।

"सन्दकपुरमा पाँचजना घाइते छन् र त्यहाँ हेलिकप्टरबाट उद्धार गर्न पनि कठिनाइ भइरहेको छ।"

यसअघि इलाम जिल्लाकै अर्को ठाउँबाट एकजना गर्भवती महिला र दुईजना पुरुषलाई हेलिकप्टरबाट उद्धार गरी धरानस्थल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको उनले बताइन्।

देशैभरिका बाटोको अवस्था केकस्तो?

अलमलमा परेका पर्यटक

तस्बिर स्रोत, KrishnaMani Baral/BBC

तस्बिरको क्याप्शन, पोखराबाट काठमाण्डू जान हिडेको पर्यटक बस ट्राफिक प्रहरीले पोखराको विजयपुरमा आइतवार बिहान रोकिएको थियो

सडक विभागका अनुसार शनिवारदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध नागढुङ्गा-मुग्लिन सडक एकतर्फी खुलेको छ। वर्षौँदेखि बेलाबेला समस्या भइरहने गरेको नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा भने समस्या नरहेको विभागले जनाएको छ।

त्यस्तै मुग्लिन नारायणगढको तुइनखोला नजिकैको अवरोध हटाएपछि त्यहाँ ट्राफिक आवतजावत खुलेको छ। त्रिभुवन राजमार्गमा पर्ने उर्लेनी डाँडामामा आएको पहिरोका कारण सडक अवरुद्ध रहेको बताइएको छ।

नेपाल प्रहरीले आइतवार बिहान सार्वजनिक गरेको विवरणअनुसार भने काठमाण्डूको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाण्डूबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल सडक खण्डमा अर्को निर्णय नहुँदासम्मका लागि दुवैतर्फको सवारी साधन रोकिएको छ।

त्यस्तै बीपी र अरनिको राजमार्गमा पनि सवारीसाधन रोकिएको छ। अविरल वर्षाका कारण धुलिखेलदेखि प्रहरी चौकी दोलालघाट र काभ्रे-सिन्धुपाल्चोकको सिमानासम्म दुईतर्फी सवारीसाधन अनिश्चित समयको लागी रोकिएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गमा गत बिहीवारदेखि मङ्गलवारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्सलगायत अत्यावश्यक सेवाबाहेकका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो।

गत बिहीवारदेखि नै रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं २ घट्टेखोलास्थित पासाङ ल्हामु सडकखण्डमा सडकमाथिबाट ढुङ्गासहित सुकखा पहिरो खसेपछि त्यहाँको बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमाको तनहुँका केही क्षेत्रमा सामान्य पहिरो गए पनि सडक सञ्चालनमा रहेको गण्डकी प्रदेश प्रहरी कार्यलयका एसएसपी तुलबहादुर कार्कीले बताएका छन्।

गण्डकी प्रदेशतर्फका राजमार्ग सञ्चालनमा भए पनि वाग्मती प्रदेशतर्फका राजमार्ग पहिरोले अवरुद्ध रहेका कारण खास गरी लामो दुरीका ठूला बस चल्न रोक लगाइएको छ। यसले गर्दा पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकहरूलाई काठमाण्डू लगायतका क्षेत्रमा यात्रा गर्न समस्यामा भइरहेको पोखरा संवाददाता कृष्णमणि बराल बताउँछन्।

त्यस्तै मेची र कोशी राजमार्गका पनि कैयौँ ठाँउमा पहिरो गएका छन्।

कोशी ब्याराजमा उच्च सतर्कता

कोशी ब्याराज

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी नदीमा लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि कोशी ब्याराजमा देखिएको पानीको वेग

कोशी ब्याराजमा पानीको बहाव पाँच लाख १० हजार क्युसेक नाघेपछि उच्च सतर्कता जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

"पानीको बहाव लगातार बढ्दै गएपछि ब्याराजका सबै ५६ ढोका खोलिएका छन्। अहिलेसम्म मानवीय घटना भएको छैन। तर उच्च सतर्कता जारी गर्दै अत्यावश्यकीयबाहेकका सवारीसाधनको आवतजावत रोकेका छौँ," मिश्रले बीबीसीसँग भने।

जोखिम उच्च रहेपछि जिल्लाभरि नै सुरक्षाकर्मी खटिएको उनले बताए।

मौसममा सुधार

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार दिउँसो कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

"कोशी प्रदेश र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ," विभागले जनाएको छ।

अहिले देशभरि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको हो।

त्यस्तै रातको समयमा कोशी, मधेश, वाग्मती प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो जस्तै आइतवार राति पनि कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

झापामा बाढीप्रभावित क्षेत्रको बस्तीबाट मानिसहरूको रउद्धार गर्दै प्रहरी

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, पछिल्लो बाढीपहिरोले सबैभन्दा बढी कोशी प्रदेशमा क्षति पुर्‍याएको छ

आन्तरिक उडान धमाधम

देशका विभिन्न ठाउँमा अविरल वर्षा भएपछि शनिवार सडकमा गुड्ने सवारीसाधनमात्रै नभई आकाशमा उड्ने विमानसमेत प्रभावित भएका थिए।

आन्तरिक उडानहरू शनिवार स्थगित भए पनि आइतवार बिहानैबाट सुरु भएका छन्।

त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल भएपछि आन्तरिक उडानहरू हुन थालेको जनाएको छ।

विमानस्थलको वेबसाइटमा काठमाण्डूबाट लुक्ला, बिराटनगर, सुर्खेत, पोखरा, भैरहवा, नेपालगन्ज, भरतपुरमा उडानका लागि बोर्डिङ भइरहेको देख्न सकिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।